हेटौँडा । मकवानपुरको एकजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । साउदी अरबबाट आएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ३५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
हेटौँडाको कोरोना आइसोलेसन वार्डमा असार १८ गतेबाट रहेका उनमा आज कोरोना भाइरस पुष्टि भएको हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताउनुभयो । साउदी अरबबाट उनीसँग करिब २ सयको संख्यामा नेपालीहरु यात्रा गरेर नेपाल फर्किएका थिए ।
हेटौंडा / बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ ।
समितीले दिएको जानकारी अनुसार १० प्रतिशत महिलाहरुको लागि सुरक्षित थरी उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २÷२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५० ÷५० वटा आईसोलेशन बेड तयार गरीने छ । यसैगरी बैदेशिक रोजगारमा गई स्वदेश फर्कने नेपाली नागरिकहरुलाई त्रिभुवन विमानस्थल देखि जिल्ला सदरमुकाम सम्म पुग्ने यातायातको व्यवस्था खर्च बैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकाम देखि स्थानीयतह सम्मको यातायातको व्यवस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ ।
यसैगरी सम्बन्धित मुलुकले नै हवाइ यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थल देखि सम्बन्धित जिल्ला सदरमुकाम सम्मको यातायात खर्च प्रदेश सरकारले व्यवहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसंग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।
यसैगरी विदेशबाट आउने बागमती प्रदेशका नागरिकहरुलाई सुरक्षित रुपमा काठमाण्डौमा रहेको होल्डिङ सेन्टर देखि जिल्ला सदरमुकामसम्म पुर्याउन उपत्यकाका ३ जिल्लाका कोभिड संकट ब्यबस्थापन समितिले समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ । कोभिड १९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मध्ये केन्द्रबाट प्राप्त हुने औषधी तथा उल्लेख भएका सामाग्रीहरु बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, प्रदेश स्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समतिको निर्णय छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट ब्यबस्थापन समितिले स्थानीयतहसंग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नु पर्ने भएमा लागत अनुमान लगाएतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने, आइसोलेशन वार्ड संचालनको कार्य जिल्ला कोभिड संकट ब्यबस्थापन समितिलसंगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
कोभिड १९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट ब्यबस्थापन समितीले पूर्ण बन्दाबन्दी गर्न सिफारिस गरेमा संघीय सरकारको कोभिड संकट ब्यबस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी घोषणा गर्न सक्ने व्यवस्था भएकोले यस्तो अवस्था आइपरेमा सम्बन्धित जिल्लाको कोभिड संकट ब्यबस्थापन समितिले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बागमती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा रु १६ करोड ३१ लाख ५१ हजार र संघीय शसर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमण झाले वताए। नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा सेवा बिस्तार भई काम सुरु गरिएको छ । अरु वडामा भने अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको थियो ।
अहिले उपमहानगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था संचालन गरिएको र स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज भएको मेय महतले वताउनुभयो । स्वास्थ्य संस्थाबाट प्रबाह गरिने सेवा विस्तार गर्न, प्रभावकारी र दिगो बनाउन स्वास्थ्य संस्थाहरुको छुट्टै भवन निर्माणको कार्य अघि बढाइएको झाले वताए । हेटौंडाको वडा नंम्बर १, १२, १४, १६, १८ र १९ मा स्वास्थ्य संस्थाहरुको निर्माण कार्य चालु बर्ष भित्र नै सम्पन्न हुने अवस्थामा रहेको वताइएकाे छ ।
विभिन्न किसिमका दीर्घ रोगबाट थलिएर बसेका बिरामीहरुलाई नियमित रुपमा घरदैलोमा गई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने कार्यक्रम प्यालिएटिभ केयर संचालन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता भई हालै प्रतिष्ठानबाट यस उपमहानगरपालिकाका ४ जना स्वास्थ्यकर्मीले आवश्यक तालीम लिएर आएको र तत्कालै सेवा सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ ।
हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी थालेको छ । हेटौंडामा रहेको जिल्ला अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरेको सरकारले प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका ८ मा राख्ने तयारी गरेको छ ।
जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको लगानीमा उपमहानगरको-८ नम्बरमा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा अध्यापनसहित प्रष्तिठानको कार्यालय राख्ने तयारी सरकारले गरेको हो ।
प्रतिष्ठान राख्ने तयारी स्वरुप मुख्यमन्त्री डोरमणि पौडेलले भवनसहित कार्यालय रहने स्थलको स्थलगत अवलोकन गरेका छन् । पार्कको ५ बिगाह ७ कठ्ठा ८ धुर क्षेत्रफलभित्र निर्माणाधीन पक्की भवनको अवलोकन गरेका हुन् ।
निर्माण भैरहेको १ तल्ले भवनमा प्रतिष्ठानका लागि आवश्यक अध्यापनसहित कार्यालयको व्यवस्थापन गर्न थप एक तला उठाउन जरुरी रहेको मुख्यमन्त्री पौडेलले बताएका छन् । ‘आउदो आर्थिक बर्षबाट सबै काम थाल्छौं, त्यसैको तयारी स्वरुप स्थलको अवलोकन गरीएको हो,’ उनले भने ।
यसै वर्ष कार्यालय स्थापनाको तयारी थालेको सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ करोड रुपैयाँ विनियोजन छ । आउँदो आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्र लागि चिकित्सक उप्पादन गर्ने उद्देश्यसहित अध्यापनसहितको काम थालिने भएको छ ।
सरकारले प्रतिष्ठान सञ्चालनको लागि उपकुलपति नियुक्तिको प्रकृया थालेको छ । उपकुलपति नियुक्तिको लागि नियमावली निर्माण अन्तिम चरणमा रहेको बताइएको छ ।
भबनको अवलोकनपछि हेटौंडा-८ का वडाध्यक्ष गोपालबहादुर श्रेष्ठले प्रतिष्ठानको कार्यालय आउनु र अध्यापनको काम यहीबाट हुनु भनेको हाम्रो लागि अवसरका भएको बताए ।
अध्यापनमा आएका विद्यार्थीको बसोबाससहित वडाको विकासका लागि प्रतिष्ठान स्थापना हुनु महत्वपूर्ण भएको बताए ।
हेटौडाः मकवानपुरको मनहरी र पदमपोखरीको एक एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डबाट कोरोना मुक्त भएका २ जना सहित ३ जना डिस्चार्ज भएका छन् । कुबेतबाट आएका मकवानपुरगढि गाउँपालिकाका २९ बर्षिय एक पुरुषको पनि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
पदमपोखरीकी ६५ बर्षिय कोरोना संक्रमित महिला र मनहरी गाउँपालिकाको २६ बर्षिय पुरुषको चौथौ पटक कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।
आज आइसोलेसन वार्डमा २३ जना रहेका छन् । उनीहरु मध्ये २१ जनाको स्वांब संकलन गरेर कोरोना परिक्षण गर्न हेटौंडा–१०, स्थित कोरोना प्रयोगशालामा पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ । आज आइसोलेसन वार्डमा भारतीय ८ जना, ७ जना बागमती गाउपालिकाका, ३ जना हेटौंडाका, २ जना बकैयाका, २ जना कैलाशका र १ जना मनहरी गाउँपालिकाका नागरिक रहेको आइसोलेसनका इन्चार्ज चौलागाईले जानकारी दिनुभयो ।