डा. टाेकराज पाण्डे (अनुप )
मलाई महिनामा रुघा जम्मा दुई पटक लाग्छ र प्रत्येकको अवधी पन्ध्र पन्ध्र दिनको रहन्छ । यही कारणले होला कोरोना माहामारीले उग्र रुप लिन लागेपछि अधिकांश शुभचिन्तकले मेरो स्वास्थ्यको ख्याल गर्दै जोगिन सल्लाह दिए । नमागीकन सल्लाह दिनेलाई “राय बहादुर” भनिन्छ । अधिकांश रायबहादुरहरुले तातोपानी र बेसार, कसैले गुर्जोको झोल । कसैले हनी वाटर, कसैले हट लेमन त कसैले अनेक औषधीका नाम सुझाए ।
यसो गरे होला की त्यसो गरे होला भन्ने चक्करमा मुलकका पाटन, अल्का लगायत अधिकांश प्रतिष्ठीत र भारतको मेदान्तसम्मको दर्शन नाकले पायो । पाथिभरा आयुर्वेदका लात्ती डाक्टरदेखि छातीकालागि पुष्पा मल्लसम्मकोमा पुगियो । केही महिना पशुपति होमीयोप्याथीदेखि हिमालय आयुर्वेदसम्मको सहारा लिइयो । कहिले प्रणायाम त कहिले जलनेति । जे गरेपनि विहान उठेपछि गोडा बीसेक पल्ट हाच्छीउ र दर्जनको दर्जनपल्ट सुकुर सुकुर नगरी पछिल्लो ५ वर्षदेखि मेरो कुनै दिन वितेको छैन ।
प्रत्येक हप्ताको शनिवार कम्तिमा १४ कीलोमिटर हिडेर ज्यान वनाएको टोलीको मनमा त्यतिवेला पहिरो गयो जतिवेला अनलाईन खवरले यातायातवाट सरुवा भएका र विदाई गरिएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको खवर छाप्यो ।
स्वास्थ्य भन्दा मित्र ठूला । मेरो डिक्सनरीमा अलि मोटा अक्षरमा लेखिएको छ । कहिलेको लक डाउन कहिलेको निषेधाज्ञा । कर्ण, गगन, गणेश, अर्जुन जस्ता रौसे साथी । के चाहियो कहिले लाकुरी भन्ज्यांग त कहिले शिवपुरी । अजिंगरको आहार दैबले जुटाउछ भनेजस्तै जतिसुकै वन्दावन्दीमा पनि हाम्रो स्वादे जिव्रोले नंया नंया स्वाद पाइ राख्यो । झोला बोक्यो केही प्याकेट विस्कुट, चाउचाउ र पानीका वोतल वोक्यो हिड्यो लखर लखर । शहरको कोलाहल भन्दा पर भएपछि मन तन सबै शान्त हुने । मानिससंग डराउनपनि नपर्ने ।
मान्छे नै मान्छे संग डराइरहेको शहरलाई छोडेर हरेक शनिवार हामी हिड्यौ जनावरसंग डराए पुग्ने एक्ला वनहरुमा । प्रतिकुलतामा अनुकुलता खोज्नुपर्छ । जस्तो सुकै कठिनाइमा पनि रमाउनुपर्छ भनेर हिडेको टोली कोरोना कहरवाट जसोतसो जोगिदै थियो । कर्णका कर्णप्रिय गीत र बांकीका नचाईले पछिल्ला पिडा खुसीमा बदलीदै थिए ।
यत्तिकैमा आइलाग्यो “द च्याम्वर अफ सेक्रेट ग्रुप”लाई विपत्ती । हाम्रा खुसीमा कस्का आंखा लागे ? हरेक खोल्सामा पुग्दा भयरलाई, डांडामा देउराली र खोलामा जलदेवलाई पाती चढाउन कसैले विर्सिएन । फरक फरक भूगोलवाट भएपनि हाम्रा चालचलन र रीति रिवाज मिल्दा थिए । खोला छेउमा पिसाव फेर्न समेत दहकस मानेको टिममा एकाएक सन्नाटा त्यतिवेला छायो जतिवेला हामी शिवपुरीवाट फर्किएका मात्र थियौ । झन्डै दश वर्ष म वसेको घरका घरवेटी पाल्पाली वुवा ७७ वर्षको उमेरमा कोरोनाका कारण स्वर्गे हुनु भयो । खवरले अत्यास लागेको केही क्षणमा आफ्ना वारेमा आएको खवरले मलाई केही वेर किंकर्तव्यमुढ वनायो ।
प्रत्येक हप्ताको शनिवार कम्तिमा १४ कीलोमिटर हिडेर ज्यान वनाएको टोलीको मनमा त्यतिवेला पहिरो गयो जतिवेला अनलाईन खवरले यातायातवाट सरुवा भएका र विदाई गरिएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको खवर छाप्यो । लामो समय काम गरेको, आउजाउ भइरहने ठांउ एवं विभागका महानिर्देशकसंग निरन्तर र नजिकको भेटघाट भएकाले उहाकै सल्लाह अनुसार अहिले म लगायत द चेम्वर अफ सेक्रेट ग्रुपका मित्रहरु सेल्फ क्वारेन्टाइनमा वसेका छौ । अर्जुन सर र म वारीपारी देखा देख हुन्छौ कुरा फोनवाट मात्र हुन्छ । ढ्याम्म ढाडमा ठाप हानेर वोल्ने वानी लागेका हामी यसरी वोल्न र वस्न पर्दा उकुसमुकुस भएका छौ । कर्णको मेसेज आउछ शकस भएको छ । तर हामीसंग विकल्पहरु थोरै छन । आफू सुरक्षीत रहने र अरुलाई सुरक्षीत राख्ने ।
घरमा वृद्ध र दमकी रोगी आमा, सानी छोरी भएको म अझवढि साबधान हुनपर्ने अवस्थामा छु । चैत्र ११ देखि शुरु भएको असहज अवस्थाका जुनसुकै दिन कार्यालय पुगेको म आज पहिलोपल्ट पुरै दिनमा घरमा, त्यसमा पनि वन्द कोठामा वस्दै ढोकामा कतिवेला खानेकुरा आइपुग्ला भनेर चिहाउनु पर्दा अनौठो लागि रहेको छ ।
कोभीडको प्रभाव परे नपरेको क्लीयर हुन अरु केही दिन पर्खिनु पर्ने छ । गगनसरको जांचले हाम्रो अवस्था निर्धारण गर्ने भएकाले सावधानी अपनाउनुको विकल्प छैन । पछिल्लोपटक विस्तारित सदस्यता पाउन सफल वद्री सर समेत क्वारेन्टाइनमा वस्नुपर्दा दुख लागेको छ । हामी सबै सतर्क छौ डराएका छैनौ । कोरोना कहरलाई तपाई हामी सबैले जित्न सकौ । आगे सुरक्षीत रहने तपाइको जिम्मा । लेखक नेपाल सरकारका सहसचिव छन ।
मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भनेेेको तर जथाभावी हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका संक्रमितको फोन ट्रयाकिङ सुरु गरिएको छ ।
छुट्टै कोठा, शौचालयलगायतको सबै प्रकारको भौतिक व्यवस्था तथा भौतिक दुरी कायम राख्दै होम आइसोलेशनमा बस्ने भनेर सामुदायिक आइसोलेशनमा नगएका संक्रमितहरुले न्युनतम मापदण्ड पुरा नगरेको गुनासो टोलका छिमेकबाट आएपछि होम आइसोलेसनमा बसेकाको ट्रयाकिङ थालेको छ ।
संक्रमितको सम्पर्कमा पुगेकाको हेटौंडा अस्पतालबाट मोवाइल एप मार्फत ट्रयाकिङको काम सुरु गरिएको हो । फोनबाट ट्रयाकिङको काम सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए । हेटौंडाका सबै वडामा एप मार्फत संक्रमितको अवस्था पत्ता लगाउनका लागि ट्रयाकिङ सुरु गरिएको बताइएको छ । सुपरीटेण्डेन डाक्टर श्रेष्ठका अनुसार उपमहागरको वडा ४, १ र ६ मा यो काम सुरु भैसकेको छ ।
यसै बिच उपमहानगरमा कोरोना संक्रमित बढ्दै गएपछि सचेतना अभिवृद्धि गर्नको लागि हेटौंडा उपमहानगरले सबै वडामा टोली परिचालन गरको छ । दैनिक रुपमा संक्रमणको दर बढ्दै गएपछि वडा स्तरमै टोली परिचालन गरेको उपमहानगरका मेयर हरीबहादुर महतले बताए । वडा स्तरबाटै जनचेतनाका जानकारीसँगै संक्रमितको र परिवारको अवस्था बुझने र आवश्यक सहयोगको लागि वडा अध्यक्षको नेतृत्वमा जनप्रतिनिधिको टोली परिचालन गरिएको मेयर महतले बताए । ‘उपमहानगरभित्र संक्रमित भएर होम आइसोलेसनमा रहेकाको मनोभावना बलियो बनाउन र हौसला बढाउनका लागि घरघरमा जानका थालेका हौं’ मेयर महतले भने । वडाका प्रतिनिधिहरु घरमै पुगेर दुरी कायम गरेर भेट्न भनिएको उनले बताए ।

शनिबार साँझसम्म उपमहानगरमा २ सय ८१ जना संक्रमण पुष्टि भएको छ । जोखिमका अवस्था हेर्दा संक्रमितहरु उपमहानगरको ४, ५, १०, ९, ६ बढि मात्रामा छन् । उपमहानगरमा २ सय जना होम आइसोलेसनमा रहेको उनले जानकारी छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोना संक्रमितको अवस्था बुझ्नका लागि वडा अध्यक्षको नेतृत्वमा होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि टोलि परिचालन गरिएको उपमेयर मिना कुमारी लामाले बताइन् ।
संक्रमितको दर अनुसार सबै वडामा मेयर र उपमेयर पुग्न संभव नभएपछि वडा तहबाटै टोली परिचालन गरिएको उनले बताइन् । केही बृद्धबृद्धाको अवस्था बुझ्न र हौसला बढाउनका लागि मेयर महत आफै पुग्ने गरेका छन् । मेयर महत, उपमेयर मिना कुमारी लामा हेटौंडाको बसपार्क, टिसीएनरोड, आनन्दटोल लगायतका क्षेत्रमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अवस्था बुझन गएका थिए ।
मकवानपुर । दुबै मृगौलामा समस्या आएपछि मकवानपुरका एक युवाले आर्थिक सहयोगको याचना गरेका छन् । मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली निवासी ३३ वर्षीय रामकृष्ण बजगाईले दुबै मृगौलामा समस्या आएपछि आर्थिक सहयोगको याचना गरेका हुन् ।
२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मृगौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । मकवानपुर जिल्ला बकैया गाउँपालिकाका स्थानीय शिक्षक हरिहर खनालका अनुसार बजगाई विगत ७ महिनादेखि उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका थिए । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाई हप्तामा २ पटक डाइलेसिस गर्नका लागि आइतवार र बुधवार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डाइलेसिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डाइलेसिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।
बजगाई करिव ७ वर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए । चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको कारणले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीय किशोर बजगाइले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेका हुन । चिकित्सकका अनुसार उनको दुबै मृर्गौलाले काम गर्न छाडेका छन् ।
बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।
मकवानपुर । मुस्लिम युवा समाज मकवानपुरले शुक्रबार रक्तदान कार्यक्रम गरेकाे छ । शुक्रबार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तानतरण गरेर कार्यक्रम उद्घाटन गर्दै काेरोना भाइरस संक्रमणको कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेकोमा समाजलाइ धन्यवाद दिए। आवश्यक रगत उपलब्ध गराउन कठिन भएकाले स्वास्थ्य सावधानी अपनाएर सबै रक्तदातालाई रक्तदान गर्न खुलालले अाग्रह गरे ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै स्वास्थ्य सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिए ।
मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडालगायतको सहभागिता थियो ।
चितवन । चितवनका अस्पातलमा उपचाररत दुइ जनाकाे शुक्रबार मृत्यु भएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिला कोरोना संक्रमितको शुक्रबार विहान मृत्यु भएको हाे । त्यसै गरी पुष्पाञ्जली अस्पतालमा उपचाररत एक जना पुरूषकाे समेत अाजै विहान मृत्यु भएकाे छ ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको विहान ६ः ५० बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
यसै गरी चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररच एकजना पुरूषकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको बताए । ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ । भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित भएर मृत्यु हुनेमा चितवन जिल्लाका चारजना, मकवानपुरका तीनजना र कैलालीका एकजना छन् ।

