मकवानपुर । नेपालमा ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको छ। यसअघि शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ थियो। पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २ सय ३१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसअघि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ।
पशुपतिनाथका विद्यार्थीलाई व्यवसायिक यौन शोषण विरुद्ध कार्यक्रम
Tags: No Comments
मकवानपुर /मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोला स्थित पशुपतिनाथ माविका विद्यार्थीहरुलाई व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत माइती नेपाल मकवानपुरको आयोजनामा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
मनहरी– ४ हाँडिखोला मसिनेका किशोर किशोरीलाई समेट्ने गरी पशुपतिनाथ माविको कक्षा ८, ९ र १० का १५ जना किशोरी तथा ५ जना किशोरहरुलाई अभिमुखिकरण गरिएको हो । व्यवसायिक यौन शोषण विरुद्ध सचेतनामुलक अभिमुखिकरण कार्यक्रममा पशुपतिनाथ माविका सहायक प्रध्यानाध्यपक शुसिल गौतमको समेत उपस्थिति रहेको थियो ।
विद्यालय स्तरका किशोर किशोरीहरुलाई यस्ता व्यवहारीक ज्ञान आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमहरु समय समयमा विद्यालयहरुका ल्याउनको लागि सहायक प्र.अ गौतमले आग्रह गरे ।
कार्यक्रममा सहजिकरण गर्दै माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बालबालिकाहरुमाथि पछिल्लो समय व्यवसायिक यौन शोषणको घटनाहरु बढेको बताइन् ।
विभिन्न समस्या र चुनौतिबाट बच्नको लागि यस्ता कक्षा सञ्चालन कार्यलाई विभिन्न विद्यालयहरुमा निरन्तर जारी राखिने लामाले बताइन् । बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण, मानव बेचविखन, लैङ्गिक हिंसालगायतको बारेमा अभिमुखिकरण गराइएको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सुरु गरिएको यो कार्यक्रम विभिन्न समूहका किशोर किशोरीहरुलाई निरन्तर जारी रहने लामाले बताइन् । कोरोना भाइरसको संक्रमणको कारण वैकल्पिक सिकाइलाई व्यवहारिक गराउनु पर्ने बाध्यात्मक अवस्थासँगै इन्टरनेटको प्रयोगबाट पनि बालबालिकामाथि व्यवसायिक यौन शोषणको संभावना बढेको उनले बताइन् ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सावधानी अपनाई कार्यक्रम आयोजना गरिएको लामाले बताइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सामान्य ज्ञानको प्रश्नावली सोधेर उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । साथै कार्यक्रममा सहभागी २० जना किशोर किशोरीहरुलाई स्टेशनरी समेत सहयोग गरिएको माइती नेपाल मकवानपुर सहजकर्ता सरिता तामाङ्गले बताइन् ।
लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तरगतका दिवसहरू सकिए पनि हिंसा विरूद्वकाे अभियान वर्षैभरी जारी रहने भएकाेले माइती नेपाल सधैंभरी अभियानमा सक्रिय रहेकाे प्रमुख लामाले बताइन् । कार्यक्रममा पशुपतिनाथ मावि शिक्षक बिबता अधिकारीकाे पनि उपस्थिति रहेकाे थियाे ।

काठमाडौं । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ निर्माण गरेका छन् ।
‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक समेत रहेका पाण्डेले नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथालाई समेटेर ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनाएको बताए ।नेपालमा आकस्मिक रुपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रीत रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले जानकारी दिए ।
यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा रिलिज हुँदैछ । लकडाउनका बेला मानिसहरु घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टिम यो डकुमेन्ट्री बनाउन ब्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अबिनाश लामाले क्यामरामा कैद गरेका छन् । काठमाडौँका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन् । एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरुको सेवामा निस्किए ।
अरुको सेवा गर्दागर्दै उनी कोरोना संक्रमित भए । कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनी आफै दंग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशंका समेत गरे । गभर्वती श्रीमतीलाई घरमै छाडेर आइलोशनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोनो जितेर फर्केपछिको उनको भोगाइ यो डकुमेन्ट्री फिल्ममा कैद गरिएको छ ।
यसैगरी, भक्तपुरकै अरुण सैंजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए । सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए । नेपालको पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलबासीबाटै अपमानित हुनुुपरेको थियो । जीवनमा पहिलोपटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन् ।
अहिलेसम्म ३४ भन्दा बढीको शव ब्यवस्थापन गरिसकेका उनीहरुको प्रेरणादायी कथा, जंगलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइशोलेशन बसाईं र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ ।
‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको बिभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं ।’
साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री रहेकी छिन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन् । आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५ सय ३६ जना रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
मकावनपुर । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा हेटौंडा उपमहानगरपालिकाले शनिबार ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
वर्षभरी आफ्ना क्षेत्रमा महत्वपुर्ण काम गरेको भन्दै हेटौंडा ५ की मिना चौरेल, हेटौंडा १० की भागिरथी चालिसे, हेटौंडा १२ का पार्वती नगरकोटी, हेटौंडा १४ की पार्वती नगरकोटी र हेटौंडा १५ की सोविता थापालाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सम्मान गरेका हुन् ।
‘कोभिड–१९ को रोकथाम र स्वास्थ्यका लागि संयुक्त कार्यः महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भूमिका अपरिहार्य’ भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत नबराज घिमिरे, सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सिना, स्वास्थ्य अधिकृत भोला चौलागाई लगायतको उपस्थिती रहेकाे थियो ।