स्थानीय तह निर्वाचन नजिकिएको छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी प्रचार/प्रसार तथा घरदैलोमा जुटिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकामा पनि चुनावी अभियान सुरु भइसकेको छ । निर्वाचन आउन अब दुई हप्ता मात्रै बाँकी रहँदा आफ्नो जित सुनिश्चित गर्नको लागि हेटौंडाका मेयर/उपमेयर, वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरू दौडधूपमा छन् ।
यसै क्रममा हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा गठबन्धनबाट मेयर पदको उम्मेदवार हुन् । लामालाई एकातिर गठबन्धन दलहरूसँग मिलेर मत माग्न छ भने अर्कातिर हेटौंडामा विरासत जोगाउँदै ठूलो शक्तिको रूपमा रहेको नेकपा एमालेको तर्फबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेललाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी लामा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी आबद्ध छिन् । एकीकृत समाजवादी मकवानपुर जिल्ला उपाध्यक्षसमेत रहेकी लामाले हेटौंडाको मेयरमा विजयी भएपछि डिजिटल हेटौँडा बनाउने योजना अघि सारेकी छन् । लामासँग आगामी योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर सुनिता विष्टले गरेको संवाद :
हेटौँडाको मेयरमा तपाईंको उम्मेदवारी किन ?
पाँच वर्षसम्म उपमेयर भएर कार्यभार सम्हालिरहँदा धेरै आधारहरू हामीले बनाएका छौँ । त्यो आधारहरूमा योजनाको प्रमुख भएर मैले काम गरेँ । त्यो योजनाहरू अहिले पनि निरन्तर रूपमा चलिरहेका छन्, र अब पनि धेरै कामहरू गर्न पनि बाँकी छ । ती योजनाहरू सम्पन्न गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।
हेटौँडाको मेयर बन्नुभयो भने तपाईंको एजेण्डा के छन् ?
बागमती प्रदेशको राजधानी रहेको यस हेटौंडालाई डिजिटल हेटौँडा बनाउने, साथै आर्थिक स्रोत पनि बढाउने मेरो मुख्य एजेण्डा हो । त्यसको साथै शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो निर्माण पनि समेट्ने छु । हामीले बनाएको चुनावी घोषणापत्र अनुसारका काम गरेर आमनागरिकलाई समृद्ध बनाउने योजना छ ।
त्यस्तै, हाम्रो हेटौंडा एक औद्योगिक शहर हो । यस औद्योगिक क्षेत्रलाई पनि समन्वय गरेर नागरिकलाई रोजगारको सुनिश्चितताका लागि पनि लागी पर्ने योजना पनि छ ।
अघिल्लो कार्यकाल पनि उपमेयर त हुनुहुन्थ्यो नि, त्यस अवधीमा हेटौंडामा कतिले रोजगारी पाए त ?
पाँच वर्षको कार्यकाल उपमेयर भएर बिताइसकेको मैले यो अवधीमा धेरैलाई राजगारीको सुविधा प्रदान गर्ने कामको पहल गरेकी छु । मेरो मात्रै पहलमा प्रत्यक्ष रोजगारी कमैलाई दिइयो होला, तर विभिन्न प्रकारका सीप विकास तालिम उपमहानगरपालिकाले सञ्चालन गर्यो । कृषिमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेर कृषि औजार वितरण गरियो ।
युवालाई रोजगार सिर्जना हुने तालिम, महिला दिदीबहिनीलाई चप्पल बनाउने तालिमदेखि सिलाइकटाइ, ब्युटिसियन, कौसीखेती लगायतका धेरै तालिममार्फत पनि स्वरोजगार बनाउने अभियान चलाएका थियौँ । अब मैले नेतृत्व पाउन सफल भएँ भएको खण्डमा यसलाई अझै व्यवस्थित गरेर रोजगारीको अवसर सृजना गर्ने छु ।
चार राजनीतिक दलहरूसँगको गठबन्धनबाट मेयरको उम्मेदवारी पाइरहँदा, गठबन्धनका दलहरूको साथ कत्तिको पाइएला जस्तो लाग्छ ?
केन्द्रबाट नै पाँच राजनीतिक दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन सफल बनाउन निर्देशन दिइरहँदा अहिले मकवानपुरमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । अहिले चार दलहरूको गठबन्धन रहेको अवस्थामा मैले भरपूर साथ पाउँछु भन्ने विश्वास छ ।
हामीले गठबन्धन समितिसँग छलफल गरिसकेका छौं । केन्द्रीय समितिसँग बसेर पनि छलफल गरिसकेका छौं । गठबन्धन भनेकै एकले अर्कोलाई साथ दिने भन्ने हो । मलाई चार दलकै नेता तथा कार्यकर्ताले सहयोग पक्कै पनि गर्नुहुनेछ । हेटौँडाको मेरा प्यारा जनसमुदायले मलाई जिताउन मतदान गर्नुहुनेछ । म यसमा ढुक्क छु । कुनै दुविधा छैन ।
कुन चिह्नबाट निर्वाचनमा सहभागी हुनुहुन्छ ?
म मेरो नेकपा एकीकृत समाजवादी पार्टीले दिएको आफ्नै कलम चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुन्छु ।
तपाईंको चुनाव चिह्नका कारण पनि मत कम आउला कि जस्तो लाग्दैन ? पहिले सूर्यमा भोट हालेर उपमेयरमा जिताएका मतदाताले तपाईंलाई पत्याउलान् ?
हाम्रो चुनाव चिह्नका हिसाबमा हामी नयाँ छौँ भन्ने हिसाबले सबै जना सजग हुनु, शंका गर्नु स्वभाविक हो । तर, अहिले प्रविधिको युग छ । हातहातमा मोबाइल छ । यसै प्रविधिको उपयोग गर्दै सबै नागरिकले हाम्रो पार्टी, हाम्रो चुनाव चिह्न देखिसकेका छन् । त्यति मात्रै नभई हामी घरदैलो कार्यक्रम गरेर मतदाता शिक्षा पनि प्रदान गर्ने छौँ । चुनाव चिह्नकै कारणले मत नआउला भन्ने छैन । हामी मतदातालाई बुझाउने छौँ । मतपत्रको ढाँचा लिएर हामी बुझाउने छौँ ।
कांग्रेसका साथीहरूलगायत सबैले हेटौँडाको मेयरको लागि कलम चिह्नमै मत माग्नुहुनेछ । यसरी नै जनसमुदायमा जाने निर्णय भइसकेको छ । नपत्याउलान् भन्दा पनि पत्याउने बलियो आधार मैले उपमेयर भइरहँदा पनि बनाएको छु । अवश्य पत्याउनुहुनेछ । त्यसमा पनि म एक महिला उपमहानगरपालिकाको नेतृत्व गरेर विकास गर्छु भन्दा नपत्याउने भन्ने हुँदै हुँदैन ।
ठूलो शक्तिको रूपमा रहेको एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनको तयारी कस्तो छ ?
अहिले अरू पार्टीभन्दा पनि आफ्नो गठबन्धनको कुरा गर्न चाहान्छु । हामी यो निर्वाचन सफल बनाउन चाहान्छौँ । यो निर्वाचन सफल बनाउनका लागि हामी गठबन्धनका दलहरू कटिबद्ध भएका छौँ । त्यसैले हामी विजयी हुन्छौँ भन्नेमा विश्वस्त छौँ ।
गठबन्धनबाटै मेयरको उम्मेदवार बनिरहँदा पनि गठबन्धनको ठूलो दल कांग्रेसबाटै तपाईंको विरोध पनि भइरहेका, रूखभन्दा अरूमा चुनाव चिह्नमा भोट दिन्नौँ भन्ने पनि छन् नि होइन र ?
अहिले यो निर्वाचनसम्बन्धी कांग्रेसमा तिक्तता थियो । किनभने एउटा इतिहास बोकेको पार्टी पनि हो । जुन लामो समयसम्म लोकतन्त्र स्थापना गर्दादेखि नेपालको पहिलो पार्टी जसले धेरै नेताहरू पनि उत्पादन गरेको छ । धेरै नेताहरूले रगत-पसिना बगाएर योग्य व्यक्तिले जीवन नै यसमा बिताइरहनुभएको छ । सक्षम कार्यकर्ताहरू उत्पादन भएको छ । उहाँहरूले यो विषयमा आफ्नो पक्षमा नेतृत्व हुनुपर्छ भन्ने स्वभाविक नै हो । हामीले अहिले जुन गठबन्धनबाट चुनाव लड्दै छौँ । यो तत्कालको निर्णयले भएको पनि होइन । फरकधारबाट
स्थानीय तहको निर्वाचनकोे मिति नजिकिँदै गर्दा मकवानपुर जिल्लामा चुनावी सरगर्मी बढेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकालाई स्थानीय तह निर्वाचनका लागि चासोको विषयले हेरिएको छ । हेटौँडा उपमहानगरपालिकामा १ जना मेयरका लागि २१ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौँडाले कुन राजनीतिक दलबाट स्थानीय सरकार पाउला भन्ने सबैको चासो छ ।
त्यसो त हेटौँडाको मेयरका लागि नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका अनन्त पौडेल र गठबन्धनका दलबाट उम्मेदवारी दिएकी मीनाकुमारी लामाबीच टकराव पर्ने देखिन्छ । पूर्वसंविधानसभा सदस्यसमेत रहेका पौडेल गठबन्धनसँग एमालेले डराउनु नपर्ने तर्क गर्दै आइरहेका छन् । आफू संविधानसभा सदस्य हुँदा निर्माण गरेको संविधानलाई स्थानीय तहमा कार्यान्वयन गर्न हेटौँडामा मेयरको उम्मेदवारी दिएको बताउँदै आएका पौडेलसँग हेटौँडाको लागि रहेका योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर सुनिता विष्टले गरेको कुराकानी ः
हेटौँडा उपमहानगरपालिमामा तपाईंको उम्मेदवारी किन ?
हेटौँडाको मेयरमा मेरो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासमो निम्ति हाम्रो उम्मेदवारी हो । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको छ । अघिल्ला समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि मेरो उम्मेदवारी हो । विषेशगरी हेटौँडा प्रदेशको राजधानी पनि भएको छ । अब यसको स्तरोन्नतिका लागि पनि हेटौँडाको मेयरमा मेरो उम्मदवारी हो ।
तपाईंको नेतृत्वमा हेटौँडाको स्थानीय सरकार बन्यो भने मुख्य एजेण्डा के हुनेछ ?
हेटौँडा उपमहानगरपालिका जितिरहँदा हेटौँडाका जनताले स्वास्थ्य, शिक्षा र भौतिक विकासमा पछि परेका वडाहरुको संरचना निर्माणलगायत विकास गर्ने योजना छ । हेटौँडाको केही वडाहरु यस्ता छन्, जहाँ जान अहिले पनि अर्को पालिकाको बाटो भएर मात्रै पुगिन्छ । यस्ता ठाउँमा साँच्चै सफा, सुन्दर र विकासले कायापलट गरेको उपमहानगरपालिका हो भन्ने बनाउने उद्देश्य छ ।
संविधानसभा सदस्य भइसकेको मान्छे स्थानीय तहमा आउनुको कारण ?
विकास जहाँ बसेर पनि गर्न सकिन्छ । संविधानसभाको सदस्यमा म संविधान बनाउन गएको थिएँ । त्यो संविधानको स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा म स्थानीय तहको सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्न आउन चाहेको हुँ ।
गठबन्धनलाई पराजित गर्न एमालेका एजेण्डा कस्ता छन् ?
नेकपा एमाले पटक–पटक गठबन्धनसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेको पार्टी हो । कहिले कांग्रेस र राप्रपाको गठबन्धन भएको थियो । कहिले माओवादी र कांग्रेसको गठबन्धन भएको थियो । ०७४ सालको निर्वाचनमा पनि हेटौँडामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकै थियो । तर, पनि हामीले जित हासिल गर्यौं । यो वर्ष हामीबाट असन्तुष्ट भएका केही मान्छे गठबन्धन गर्न उता गएका हुन् । एमालेलाई हराउने एउटा मात्रै लक्ष्य बोकेर हिँडेको गठबन्धनको भित्र स्वार्थ भाव लुकेको छ । अहिले असन्तुष्ट भएर गठबन्धनमा गएका मान्छेको संख्या जे छ, त्यसलाई म्यानेज गरिसकेका छौँ ।
एमालेलाई हेटौँडामा आफ्नो नेतृत्व बनाउन चुनौती त होला नि ? चार राजनीतिक दल एक हुँदा एक्लो एमालेले जित्ला त ?
अहिले यो राजनीतिक दलको गठबन्धनसँग जनता वाक्क भएका छन् । गठबन्धनले केन्द्रीय तहको सरकारमा पनि अस्थिरता ल्यायो । यो गठबन्धनले प्रदेश तहको सरकारमा पनि अस्थिरता ल्यायो, र यो अस्थिरताले मुलुकलाई केही पनि दिन सकेन । यो अस्थिरताले थप महँगी, थप शोषण, थप उत्पीडन दियो र मुलुकलाई टाट पल्टाउने परिस्थिति निम्त्याएको । त्यसले गर्दा अब यो केन्द्र र प्रदेशमा भइरहेको अस्थिरतालाई स्थानीय तहमा पनि सार्ने प्रयास भइरहेको छ । यो मुलुकका लागि कलंकको विषय हो । हामीले जनतालाई बुझाउन सक्यौँ भने गठबन्धनलाई हामी हराउन सक्छौँ । जनतालाई महसुस गराउन हामीले सक्नुपर्यो । यति भयो भने गठबन्धनसँग एमालेलाई चुनाव जित्न कुनै चुनौती हुने छैन । हामीले सजिलै जित हासिल गर्न सक्छौँ ।
एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीकी मीना लामा गठबन्धनबाट तपाईंको प्रतिद्वन्द्वी बन्दा एमालेलाई घाटा कति छ ?
हामीलाई हराउनकै लागि आफ्नो पुरानो घर छाडेर अरु सँग मिल्न गएकाहरुसँग एमाले डराएको छैन । गठबन्धन हुँदैमा जित्ने निश्चित पनि हुँदैन । एमाले लामो समयदेखि हेटौँडाको ठूलो दलको रुपमा स्थापित छ । भोलि पनि रहिरहनेछ । समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै पार्टीसँग असन्तुष्टि भएर राजीनामा दिएको अवस्थामा हामी किन डराउनु ! समाजवादीको लामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिइरहँदा यतिबेला हेटौँडामा एमालेलाई घाटा शून्य बराबर नै छ भन्दा पनि फरक पर्दैन । झन् फाइदा हुन्छ ।
एमालेको निर्वाचन केन्द्रित प्रचार–प्रसार कसरी भइरहेको छ ?
हेटौँडामा एमालेको स्थानीय तहको सरकार बनाउनको लागि उपमहानगरपालिकासँगै १९ वटै वडामा चुनाव प्रचार–प्रसार कार्यालय खोलेका छौँ, समिति गठन पनि गरेका छौँ । अब त्यसको मार्फत १६ गतेबाट जनताको घरघरमा मत माग्न जानेछौँ । १६ गते पनि उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि आधिकारिकता पनि प्राप्त हुन्छ । त्यसपछि हामी व्यापक प्रचार–प्रसारमा लाग्नेछौँ । समय थोरै मात्रै बाँकी भएको कारण घर दैलो भ्याइएन भने पनि प्रत्येक टोल र वडामा जाने काम हुनेछ । समयको सीमिततालाई ख्याल गरेर निर्वाचन प्रचार गर्नुपर्ने हुन्छ । फरकधारबाट
राष्ट्रिय खेलाडीको रुपमा पहिचान बनाएका सुशिल घिमिरे आसन्न स्थानीय तहको निर्वाचन २०७९ को लागि नेकपा एमालेको तर्फबाट हेटौंडा–५ को वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चुनावी तयारीमा लागेका घिमिरेसँग यसै पेरीफेरीमा गरिएको कुराकानीको सार:–
चुनावि तयारी के के हुँदैछ, केही नयाँ अनुभुति हुँदै छ की ?
तयारीमा बेस्सरी जुटेका छौ, हिजोको सामाजिक काममा लाग्दा र आज सि·ो वडाको विकासमा जनप्रतिनिधिको हैसियतमा देखा पर्ने जमर्को गर्दैगर्दा केही फरक अनुभुति त भएकै छ ।
हिजो खेल क्षेत्रमा बढी लागि परेको थिए, आज समग्र पाटोको चिन्तन गरिरहेको छु । हेटौंडाको यो ५ नम्बर वडा संभावना, समस्या र चुनौति सबै भएको वडा हो । यहाँ केही समस्या छन्, समाधान गर्नु छ । केही संभावनाहरु छन्, फैलाउनु छ फुलाउनु छ । केही चुनौतिहरु छन्, तिनीहरुलाई अवसरमा बदल्नुछ ।
सबैकाम चरणबद्ध रुपमा गर्दै जानु छ । दुव्र्यसनी विरुद्धको कार्यक्रम, वृद्ध आमाबुबाको आँसु पुछ्ने कामहरु बाँकी छन्, विकास निर्माण योजनावद्ध रुपमा गर्नु पर्नेछ । जस्तैः बाटो मात्रै बनाएर हुन्न, त्यहाँ ढलनिकासको अनिवार्यताको कुरा छ । वर्षायाममा डुवानको समस्या छ, यस वडाको धार्मिक, पर्यटकीय संभावनाको कुराहरु छन् । वडामा गर्नुपर्ने कुरा र योजनाहरु धेरै छन् । म र मेरो टिम निर्वाचित भएर आएमा हामीले वडाको विकास र जोखिमबाट बचावटको लागि काम गर्नु छ । यसबारे हामीले प्रतिबद्धता पत्र तयार गर्दै छौ ।
हामीले ५ वर्षमा गर्न सक्ने कुरा मात्रै घोषणा / प्रतिबद्धता पत्रमा राखेका छौ । हेर्दा आकर्षक देखिने तर काम गर्नै नसकिने गरेर घोषणा/प्रतिवद्धता पत्र बनाउने छैनौ । र हामीले कामको जिम्मेवारी पाएपछि चरणबद्ध रुपमा योजनाहरुलाई टिक लगाउँदै कामको प्रोसेस अगाडि बढाउने छौ ।
एउटा सामाजिक व्यक्ति किन राजनीतिमा आउनु भयो ?
भनिन्छ गरिबि केवल कमआयको परिणाम होईन । यो त शक्ति सम्बन्धको दुस्परिणाम पनि हो । त्यसैले हामी शक्तिमा हैन, हामी जनताको माझ आएका छौं । म एउटा माध्यम मात्रै हो, वडाको विकास वडाका सबै मिलेर गर्ने हो । म वडावासीको लागि वडावासीसँगै बसेर वडाको विकासमा नयाँ आयम थप्ने जमर्को बोकेर आएको छु । आज मेरो टिमले वडावासीसँग सहयोगको अपेक्षा गरेका छौ ।
हेटौंडा ५ नम्म्बर वडालाई विकासको नयाँ मोडेलमा देख्नको लागि हाम्रो टिमले समन्वय गर्ने छ, हामी वडाका अनुभवहरुको साथ र मायाले वडाको समग्र विकासमा लागि पर्नेछौ ।
कुरा रह्यो सामाजिक व्यक्ति किन राजनीतिमा भन्ने सवालको । राजनीति आफैंमा नराम्रो क्षेत्र हैन, कही कसैले नराम्रो ग¥यो होला, तर राजनीति गर्ने हुन्न भन्ने हैन । राजनीतिमा हामी जस्ता सामाजिक व्यक्तिकै खाँचो छ । म हिजो जुन क्षेत्रमा थिए, यो मेरो लागि अपुग भयो । यसैले पनि म आज यो वडामा जनप्रतिनिधिको हैसियतमा आउन चाहेको हँु । स्थानीय स्तरबाटै विकास निर्माणको सही गति आवश्यक छ । टोल–टोल, वडा–वडा,नगर र जिल्ला हुँदै हामीले देशको विकास गर्ने हो ।
हो, म पहिले देशको झण्डा बोकेर हिडेरको मान्छे हुँ । खेलाडी भएको नाताले पनि खेल क्षेत्रको बढी माया छ, देशको माया छ । म सामाजिक क्षेत्रमा सक्रिय हुँदा पनि स्थानीयवासीसँगै साबेल बोकेर विकास निर्माणमा हिडेको मान्छे हुँ र भोली जनप्रतिनिधि हुँदा त झनै लागिपर्नुपर्ने कर्तव्य हुन आउँछ ।
- हरेक क्षेत्रमा दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था गर्ने ।
- वृद्धावृद्धाका लागि घुम्ति स्वास्थ्य सेवा र शहरि स्वास्थ्य केन्द्र मार्फत समयसमयमा विशेज्ञष डाक्टर मार्फत उपचार गर्ने ब्यवस्था गरिनेछ ।
- एक घर, एक उद्यमि अन्तरगत सिप सिकेका व्यक्तिलाई सिपको व्यवसायिकताको लागि उद्यममा सघाइने छ ।
- सिंचाईटोलको मुक्तिनाथ मन्दिरदेखी क्याम्पासम्म साईकल लेन तथा पर्यटन मार्ग बनाईनेछ ।
- राईटोल मनकामना मन्दिर जाने सिंडिलाई पर्यटकिय पदमार्गकोरुपमा विकास गरिनेछ । ठाँउठाँउमा सेल्फिपोईन्टहरु बनाईनेछ ।
- ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री पार्क निर्माण गरिनेछ ।विभिन्न प्रतिभाहरुको पहिचान गरी उनीहरुको क्षमता र सिर्जनशिलता विकास गर्न उपर्युक्त प्लेट फर्म प्रदान गरिनेछ ।क्याम्पा रंगशालालाई १० हजार दर्शक क्षमताको बनाइनेछ ।खेलकुद एकेडेमि निर्माण गरिनेछ ।
तपाईसँग के त्यस्ता योजनाहरु छन् जसले गर्दा तपाईको टिम अर्थात नेकपा एमालेले उम्मेदवार बनाएको टिमलाई मतदान दिनुपर्ने ?
हामीले प्रतिवद्धतापत्र मार्फत पनि हाम्रा योजनाहरु सार्वजनिक गर्ने नै छौ । यद्यपि म यहाँ छोटकरीमा भन्नु पर्दा हाम्रो टिमसँग वडाको चौतर्फि विकासको योजनाहरु छन् । वडाको शिक्षाको धरोहर बालज्योति मा.विलाई नमुना विद्यालयकोरुपमा विकास गरिनेछ । यसका लागि आवश्यक भौतिक पुर्वाधार, प्रविधिहरुको विकास गरिनेछ । त्यसै विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुको रहेको आवासियरुपमा अध्ययन अध्यापन गर्ने भवनहरुको स्तरोन्नती गरिनेछ र बर्खामा डुबानको समस्यालाई समाधान गरिनेछ । वडाको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारको लागि पहल गरिनेछ । प्राविधिक शिक्षा (कृषि, इलेक्ट्रीक, इलेक्ट्रोनिक, मेकानिकल इत्यादी) लाई व्यवस्थित गराइनेछ ।
अनौपचारिक÷सिपमुलक शिक्षा (सिलाई, बुनाई, कटाई, बुटिक, मुडा बनाउने, हस्तकला इत्यादी) लाई
घरेलु उद्यमको रुपमा विकास गरिनेछ । डिजिटल पुष्तकालयको व्यवस्था गर्ने, पुष्पलाल स्मृति पुस्तकालको स्तरोन्नती गर्ने योजना छ । वडाका उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग गरिनेछ । यसका लागि शिक्षा सम्बन्धि कोष निर्माण गरिनेछ ।
अनि स्वास्थ्य क्षेत्रमा ?
हामी स्वास्थ्य क्षेत्रको विकासको लागि पनि केही योजनाहरु बनाएका छौ । शहरि स्वास्थ्य केन्द्रको
स्तरोन्नती, पारामेडिकल स्वाथ्य केन्द्र स्थापना, कोभिड जस्तै आकष्मिक रोगहरु रोग लाग्न सक्ने विषयमा सचेतना मुलक कार्यक्रम गर्ने, वृद्धावृद्धाका लागि घुम्ति स्वास्थ्य सेवा र शहरि स्वास्थ्य केन्द्र मार्फत समयसमयमा विशेज्ञष डाक्टर मार्फत उपचार ब्यवस्था, योग शिविरहरु सञ्चालन गर्ने योजना बनाएका छौ ।
पछिल्लो समयमा शैक्षिक बेरोजगारहरु बढेको सवालमा यसलाई सम्बोधन गर्न तपाईको टिमसँग के कार्ययोजना छन् ?
यो सवाललाई पनि हामीले ध्यान दिएका छौ । विभिन्न सिपविकास सम्बन्धि तालिमहरुको श्रृजना तथा उनीहरुको व्यवसायिकताको लागि घरेलु उद्योम विकास गर्ने, रोजगारदातामा पहुच र समन्वय गर्ने, फोहरलाई मोहर बनाउने अभियान अन्तरगत कुहिने फोहर सामानबाट जैविक मल बनाउने तालिम, कृषिजन्य उत्पादनमा युवाहरुको पहुँच विकास गर्ने,स्थानिय उत्पादनहरु विक्रि वितरण गर्न श्रोत केन्द्रको विकास गर्ने, एक घर, एक उद्यमि अभियानलाई सार्थक बनाउन प्रविधि हस्ताण्तरण सहित सिपमुलक तालिम प्रदान गर्ने, महिलालाई घरमै बसेर स्वरोजगार बन्ने अभियान सञ्चालन गर्ने योजनाहरु हामीसँग छन् ।

वडामा नयाँ पहिचान दिनसक्ने केही योजनाहरु छन् कि ?
हो हामीसँग यस्ता पनि योजनाहरु छन् जसले हेटौंडा उपमहानगरपालिका वडा –५ को छुट्टै पहिचान बनाओस् । जस्तै : वृद्धावृद्धाका लागि घुम्ति स्वास्थ्य सेवा र शहरि स्वास्थ्य केन्द्र मार्फत समयसमयमा विशेज्ञष डाक्टर मार्फत उपचार गर्ने ब्यवस्था, सिंचाईटोलको मुक्तिनाथ मन्दिरदेखी क्याम्पासम्म साईकल लेन तथा पर्यटन मार्ग,राईटोल मनकामना मन्दिर जाने सिंडिलाई सेल्फिपोन्ट समेतको पर्यटकिय पदमार्ग, जेष्ठ नागरिक तथा बालबालिका मैत्री पार्क,विभिन्न प्रतिभाहरुको पहिचान गरी उनीहरुको क्षमता र सिर्जनशिलता विकास गर्न उपर्युक्त प्लेट फर्म दिने कार्यक्रमहरु हाम्रो वडाको विशेष आकर्षणको कार्यक्रम रहने छ ।
यसैगरी क्याम्पा रंगशालालाई १० हजार दर्शक क्षमताको बनाइनेछ, खेलकुद एकेडेमि निर्माण गरिनेछ, वातावरण मैत्री वडा निर्माण गरिनेछ, सडकको दुई किनारामा स्वास्थ्यबद्र्धक विरुवाको वृक्षारोपण गरिनेछ, खानेपानीको सुलभ र सुपथ उपलव्ध, जंगलको संरक्षण र विकासको लागि उपयुक्त नीति नियम निर्माण, सार्वजनिक जग्गा, जमिन, खोल्सा खोल्सीको संरक्षण, वन तथा वातावरणको संरक्षणको क्षेत्रमा स्थानीय सामुदायिक वनहरुसंग समन्वय गरिनेछ।
यसैगरी सामाजिक विकास, धार्मिक विकास, पर्यटकिय पार्क तथा पूर्वाधारहरुको विकास,शान्ति पार्कको निर्माण र विस्तार, पर्यटकिय क्षेत्रको परिकल्पना, विभिन्न जातजातीका संस्कृति झल्किने संग्रहालयको निर्माण, पर्यटन प्रवद्र्धनका लागि मत्से विकास केन्द्र पछाडिको पोखरीलाई तालको रुपमा पहल गरिने कार्यक्रमका योजनाहरु छन् ।
हाल भएका भएका पार्कहरु जेष्ठ नागरिक मैत्री, अपाङग मैत्री, वातावरण मैत्री बनाईनेछ,सुरक्षाको लागि सुरक्षा चौकीको व्यवस्था,राजनितिक सहिष्णुताका लागि सामाजिक अभियान्ताको परिकल्पना, पहिचान र परिचालन गर्ने,किशोरीहरुको सुरक्षा हेतु आवश्यक तालिमको व्यवस्था गर्नेछ । भौतिक विकासका कुरा त छंदैछन्, सबैलाई उत्तिकै प्राथमिकता दिएर क्रमशः काम गर्ने छौ । यावत कार्ययोजनाहरु छन् । जसको लागि फिल्डमै उत्रन हामीलाई वडावासीको तर्फबाट अमुल्य मतको खाँचो छ । सबैको रोजाइमा म आएको हुँ । सबैको सुझाव लिएर काममा लाग्ने छु, मात्रै मलाई वडाको विकास लाग्न बाटो दिनुस् अमुल्य मत दिएर ।
‘महिलाकाे उम्मेदवारी जित्ने ठाउँमा चाहियाे, मेराे दाबि उपमेयरमा हाे’
Tags: No Comments
उम्मेदवार छनौटको प्रकृया संघारमै आइसकेको अवस्थामा मैले हेटौंडा उप महानगरको उपमेयरमा दावी गर्ने आकांक्षा राखेको छु । पार्टीको विधि पद्धति अनुसार उपलब्ध गराइने फोरमबाट मेरो दावी घोषणा हुनेछ र आफ्नो कुरा राख्नेछु र अधिकारप्राप्त कमिटीले त्यसको निर्णय गर्नेछ जसमा सफलता प्राप्त गर्ने कुरामा म विश्वस्त छु ।
नेकपा एमाले भ्रातृ संगठन अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टीको हेटौंडा नगर सह-इञ्चार्ज सुमित्रा काफ्ले विगतदेखि नै महिलाको सवाललाई लिएर पार्टी भित्रै संघर्ष गर्दै आएकी महिला हुन् । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा उनीसँग महिलाको नेतृत्वको सवालको पेरीफेरीमा सहीखबर डेक्सले गरेको कुराकानीको सारः
स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा व्यस्तता के छ ?
पार्टी र संगठनकै काममा निकै व्यस्त छु । मैले अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी लिएको भोलि चैत्र २७ गते एक वर्ष पूरा हुँदैछ । त्यस अघि अनेमसंघको नगर कमिटीमा करिव १५ वर्ष विभिन्न जिम्मेवारीमा रहेँ । म अविराम पार्टीको नेतृत्वदायी र समन्वयकारी भूमिका मै व्यस्त छु । जिल्ला अध्यक्षको जिम्मेवारी पाएपछि अलि फरक र सुदृढ ढंगले काम अघि बढाउने योजनामा थिएँ । त्यसै बीचमा कोरोना महामारीको कारण अलिकति ढिलै योजना बनाएर जिल्लाका सबै पालिकाहरुमा संगठन विस्तार र सदस्यता वितरणको प्रक्रिया अघि बढायौं ।
जिल्लाको १० वटै पालिकामा संगठन विस्तारको काम सम्पन्न भएको छ । यस बीचमा हाम्रा नियमित चाडपर्वको व्यस्तता, पार्टीको राष्ट्रिय महाधिवेशन, जिल्ला अधिवेशन,नगरको अधिवेशन सम्पन्न गर्नु थियो । ती कामकार्यसँगै हामीले संगठन विस्तारलाई पनि जोडिरह्यौं । अहिले जिल्लाको करिव ८० वटा वडा कमिटी गठन भइसकेको छ, बाँकि ठाउंमा पनि निरन्तर कामहरु भइरहेका छन् । हेटौंडा नगरको १९ वटै वडामा वडा कमिटी गठन र वडाले टोल कमिटी निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
हेटौंडाको १९ मध्ये धेरै वडामा पार्टीबाट वडा अध्यक्ष निर्विरोध पनि भइसक्नु भएको छ । तर केहि बाँकी छन् । ती बाँकि सिफारिस भएर आएका नामहरुमा महिला पनि छन् । त्यसैले म महिलाहरुले वडाको नेतृत्व पाउने कुरामा आशावादी छु। त्यसले एउटा नयाँ सुरुवात पक्कै हुनेछ ।
यसरी हेर्दा पार्टीकै वडा कमिटीहरुको रफ्तारमा महिलाहरुको संगठन पनि परिचालित भएको छ । यो कुराको पुष्टि गएको ८ मार्च को सन्दर्भमा आयोजित कार्यक्रममा महिलाको उपस्थितिले पनि देखाएको छ । यतिबेला हामी निर्वाचन केन्दृत जिल्ला, पालिका र वडा स्तरिय प्रशिक्षण कार्यक्रमहरुको लागिरहेका छौं । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत सहितको १ नम्बर पार्टी बनाउने अभियानमा छौं ।
स्थानीय तहमा महिलालाई नेतृत्वमा लैजान अनेमसंघको योजना के छ ? महिलाहरु संधै उपाध्यक्ष र सदस्यमा मात्रै सिमित हुने हो ?
हैन, त्यसो हुँदैन । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीलाई र यसभित्र महिलाको उपस्थिति कसरी स्थापित गराउने भन्ने रणनीतिका साथ तयारीमा छौं । संवैधानिक व्यवस्था अनुसार त हामीलाई सिटहरु दिइन्छ, त्यहाँ सुरक्षित नै छौ । तर त्यसबाहेक पनि हामीले महिलाको उपस्थितिलाई अब्बल बनाउनु छ। गत निर्वाचनलाई हेर्ने हो भने पनि हामीले ८ पालिकामा महिला उपप्रमुखहरुले जितेका थियौं । अझै पनि हामी ६ जना छौं । उहाँहरुको अनुभवलाई यतिखेर माथि उठाउँदै प्रमुख पदमा महिलाहरुको समान सहभागिता हुनुपर्छ भन्ने नै हाम्रो मुख्य एजेण्डा हो ।
त्यति मात्र नभई मकवानपुरमा १०२ वटा वडा छन्, जहाँ हालसम्म एउटा पनि वडाको नेतृत्व महिलाले पाउनु भएको छैन । गत निर्वाचनमा भिमफेदीले २ वटा र मकवानपुरगढीले एउटा वडाध्यक्ष महिलालाई उठाएको थियो । त्यहाँ हामी पराजित भयौं, अहिले विश्लेषण गर्दा त्यो पराजय निश्चित भएको वडामा महिलालाई दिइएको रहेछ ।
यसरी त झन् महिलालाई असफल देखाउन उठाइएको प्रष्टै भयो । यो देखाउनको लागि दिइएको हामीलाई मान्य छैन । अब हाम्रो माग भनेको जहाँ महिलाले विगत ५ वर्ष काम गरेर स्थापित हुनु भएको छ, जनताको बीचमा विश्वास जित्नु भएको छ, जहाँ जित सुनिश्चित छस त्यहीँ महिलालाई टिकट दिनु पर्छ । हार्ने ठाउँमा, देखाउनको निम्ति, उल्टै कमजोर बनाउनको लागि बरु टिकट नदिए हुन्छ भनेर लबिङ गरिरहेका छौं ।
यतिखेर यसो भन्दै गर्दा हामीले आफ्नो अवस्था पनि विश्लेषण गरेका छौं । भोलि जितेर जाँदा उहाँहरुको कार्यक्षमतामा समेत प्रश्न नआउने गरी हामीले सुरुवातमा कम्तीमा ३३ प्रतिशत नै नभए पनि १५ देखि २० प्रतिशत महिलालाई प्रमुख पदमा उठाउन माग गरेका छौं ।
जिल्लामा ८ वटा गाउँपालिका, एक नगर र एक उपमहानगर छ । गाउँपालिकाको कम्तीमा एउटा जित निश्चित भएको एक वडामा वडा अध्यक्ष महिलालाई दिनु पर्यो । त्यो उम्मेदवारी यस्तो हुनु पर्यो कि महिलाको योग्यता, क्षमतासँगै जित सुनिश्चित होस् , जसले राम्रो सन्देश दिन सकोस् । हेटौंडा नगरका हकमा हामीले कम्तीमा ५ वटा वडा अध्यक्ष महिला मागेका छौं । जसको लागि जिल्लाको केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्व सकारात्मक रहेको पाएको छौं।
वडा अध्यक्षहरुमा महिला पुग्ने संभावना कत्तिको बलियो छ, अब त अन्तिम अन्तिम भैसक्यो त ?
हो हामी अन्तिम अन्तिम चरणमा छौं । हेटौंडाको १९ मध्ये धेरै वडामा पार्टीबाट वडा अध्यक्ष निर्विरोध पनि भइसक्नु भएको छ । तर केहि बाँकी छन् । ती बाँकि सिफारिस भएर आएका नामहरुमा महिला पनि छन् । त्यसैले म महिलाहरुले वडाको नेतृत्व पाउने कुरामा आशावादी छु। त्यसले एउटा नयाँ सुरुवात पक्कै हुनेछ ।
अब तपाईले पनि स्थानीय तह दाबि गर्ने बेला भयो कि ?
म मकवानपुरमा पार्टीसँग आवद्ध भएर काम गरेको झण्डै २ दशक भएको छ । पार्टी कामको अनुभव, जनसम्पर्कको अवस्था, पारिवारीक व्यवस्थापन, आर्थिक सबलता एवं सबै खालको व्यवस्थापन गरेर म अब अगाडि बढ्न सक्छु । पार्टी कामको कुरा गर्ने हो भने मैले लामो समय वडामै काम गरे ।
त्यसपछि पार्टीको हेटौंडा नगर कमिटिको सदस्य हुँदै पछि सचिवमा निर्वाचित भई जिम्मेवारी पूरा गरेको छु। यसरी नगर कमिटीमा सचिव हुँदै पश्चिम विशेष नगर इलाकाको संयोजक भई काम गरिरहेको सिलसिलामा पार्टीको १० औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपश्चात् फेरी पनि नगरको सह-इन्चार्जको रुपमा यही भुगोलमा काम गरिरहें । र अहिले ११ औं जिल्ला अधिवेशन पछि सचिवालय सदस्य तथा हेटौंडा नगरको सह-इन्चार्जको जिम्मेवारीमा छु ।
यस जिल्लामा पार्टीमा लामो समयदेखि काम गरेका अग्रजहरु हुनुहुन्छ । मेरो हकमा विद्यार्थीकालको राजनीति फरक जिल्लामा भएको कारण मकवानपुरमा देखिएन होला, तर म निरन्तर पार्टीमा आबद्ध छु । यसरी निरन्तर पार्टीमा लाग्ने काम निकै चुनौतीपूर्ण छ।
छोटो समयमा नेतृत्वमा पुग्नेहरुमा मेरो चर्चा हुने गर्छ र यसको प्रमुख कारण भनेको पार्टी र संगठनको कामलाई सधैँ पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु नै हो जस्तो लाग्छ ।
अहिले देखिएको प्रवृत्ति भनेको धेरै ठाउँमा जिम्मेवारी लिने र भूमिका निर्वाह नगर्ने प्रवृत्ति हो, त्यसैले मैले जहिले देखि संगठनको जिम्मेवारी लिएँ, मैले पूर्ण समय यसैलाई नै दिएँ । यस कुराले नै मलाई सधैं सफलता उन्मुख पुर्याइरह्यो ।
खुलेरै भन्दिनुस् न अबको चुनावमा तपाईंको आकांक्षा के मा हो ?
यो प्रश्न अहिले मलाई धेरैले सोध्दै आउनु भएको छ । यतिखेर म पार्टी र संगठनको नेतृत्वमा रहिरहँदा मैले आफ्नो आकांक्षाको बारेमा पहिले नै बोल्नु हुँदैन भन्ने मेरो मान्यता हो। त्यसैले अहिले सम्म माथिका सवालहरु बारे मैले लबिङ गरिरहें र मेरो बारेमा नेतृत्वले मुल्यांकन गरेर जे जिम्मेवारी दिन्छ । त्यसमा जाने मेरो सोच हो तर नेतृत्वले यहि भनेर बोलेको अवस्था छैन । फेरि पनि उम्मेदवार छनौटको प्रकृया संघारमै आइसकेको अवस्थामा मैले हेटौंडा उप महानगरको उपमेयरमा दावी गर्ने आकांक्षा राखेको छु ।
पार्टीको विधि पद्धति अनुसार उपलब्ध गराइने फोरमबाट मेरो दावी घोषणा हुनेछ र आफ्नो कुरा राख्नेछु र अधिकारप्राप्त कमिटीले त्यसको निर्णय गर्नेछ जसमा सफलता प्राप्त गर्ने कुरामा म विश्वस्त छु ।
मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा काेराेनाकाे जस्ताे लक्षण देखिएमा पीसीआरु परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । ओमिक्राेनलाई सामान्य रुपमा हेर्न नहुने उहाँकाे भनाइ छ ।
यही विषयमा डा. रक्षा गौतमसँग गरिएकाे कुराकानी :
अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिरामीकाे चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गएकाे दुईहप्ता देखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।
लक्षणका आधारमा आम सर्वसाधारणले काेभिड १९ काे डेल्टा हाे कि ओमिक्राेन कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।
फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको । हामीले बिरामीहरुलाई हेर्दाखेरी पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्लुयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पीसीआर गर्नैपर्छ ।
मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरी ओपीडीमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो ।
प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तिन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ डिग्री भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै कमजाेर हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडीमा ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।
यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुईथरी बिरामी हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै जँचाउन आउनुहुन्छ । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । आराम गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छन् आधा भन्दा बढी । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ धेरैलाई । कति चाहीँ धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन अस्पताल । श्वास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दीर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।
अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौँ । डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने भ्रम छ हामीकहाँ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईँहरुलाई भन्न सक्दैनौँ । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त ।
त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपीडीमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई मेराे आग्रह छ ।उज्यालाे अनलाइन डटकमबाट