मकवानपुर । गत स्थानीय तह निर्वाचन र उपनिर्वाचनमा समेत आफूले अपेक्षित मत ल्याउन नसके पनि नेकपा एमाले जनताको माझ जनआवश्यकतालाई सम्बोधन गर्न लागि परेको छ ।
हार जित आफ्नो ठाउँ छ, जनताको समस्याको सम्बोधन पार्टीको कर्तव्य सम्झेर लागि परेको एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताए । हेटौडा उपमहानगरपालिका -१२ स्थित बीचरोडदेखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु गरेपछिको प्रतिक्रियामा श्रेष्ठले यस्तो बताएका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु गरिएको हो। निर्माण कार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवं सांसद श्रेष्ठले बजेटको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिए । उनले हेटौडा उपमहानगरमापछि गाभिएका वडाहरूको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाईलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताए ।
१२ नम्बर वडाका निर्वाचित वडा सदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौडा १२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरू पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा गरे । साथै आगामी वर्षमा पनि अन्य योजनाहरूको लागि समेत श्रेष्ठसँग आग्रह गरे । यस योजनामा हेटौडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बिरन घिसिङले जानकारी दिए ।
कार्यक्रममा हेटौडा १२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगर लगायतको सहभागिता थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे फोहाेर संकलन दौड प्रतियोगिता आयाेजना गरिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल ९ नम्बर वडा कमिटिले आयोजना गरेकाे फोहोर संकलन दौडमा दिवस लामा प्रथम भए ।
हेटौंडा ९ कर्रास्थित गुम्बा चोकदेखि मानव सेवा आश्रमसम्म ४० मिनेटभित्र फोहोर संकलन गर्ने गरी नियम बनाईएको दौड प्रतियाेगितामा ६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै लामा प्रथम भएका हुन् । यस्तै ५ दशमलब ९४ के जी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितीय हुँदा ५ दशमलब ०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैया पुरस्कार प्राप्त गरे । युवा संघ नेपाल लेखा आायोग संयोजक सन्तोष चौलागाईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
युवा सहभागिता सचेतना र सरसफाईलाई प्रस्तुत गर्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएकाे छ । ६० जना युवाहरु सहभागी प्रतियोगीमा सहभागीलाई फोहोर संकलन गर्न प्लास्टिकको झोला प्रदान गरिएको थियो । तोकिएको समयभित्र धेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेहरुबाट प्रथम, द्वितिय र तृतीय चयन गरि पुरस्कृत गरिएकाे युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ का अध्यक्ष सुदर्शन भट्टराईका अनुसार प्रतियोगितामा सहभागी ६० जनाले ८० किलो प्लाष्टिजन्य फोहोर संकलन गरेका छन् ।
युवा संघ नेपाल हेटौंडा–९ का अध्यक्ष भट्टराईको सभाध्यक्ष तथा युवा संघ नेपाल लेखा समिति संयोजक चौलागाईको प्रमुख आतिथ्यमा भएकाे दौड प्रतियोगिता कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, बागमती प्रदेश कमिटि सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतकाकाे उपस्थित रहेकाे थियाे ।
मकवानपुरमा एसइईकाे २८ केन्द्र, कैलाशमा पहिलाे पटक केन्द्र थप
Tags: No Comments
मकवानपुर । २०८१ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) काे लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएकाे छ । २८ वटा परीक्षा केन्द्रबाट नियमित र ग्रेडवृद्धि गरी ७ हजार ४५६ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् ।
आगामी ७ चैतबाट सुरु हुने एसइई परीक्षाकाे लागि नियमिततर्फ ५ हजार ८ सय ६५ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा फारम भरेकाे शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएकाे छ । इकाईका अनुसार जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसइईमा विद्यार्थी सहभागी हुँदैछन् ।
मकवानपुरको कैलाश गाउँपालिकामा पनि यस वर्षदेखि एसईईको केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले एसइईकाे लागि कैलाश गाउँपालिका ९ नामटारस्थित कालिका माविमा समेत केन्द्र निर्धारण गरिएको विवरणमा सार्वजनिक गरेको छ । इकाईका अनुसार गत २५ माघमा बसेको माध्यमिक शिक्षा परीक्षा समन्वय समिति मकवानपुरको बैठकले प्राविधिककाे लागि एक तथा कैलाशमा एक समेत गरी २८ वटा परीक्षा केन्द्र निर्धारण गर्ने निर्णय गरेको इकाई प्रमुख सुदिप गिरीले जानकारी दिए ।
प्राविधिक विषयको लागि एउटा केन्द्र र कैलाशमा एउटा केन्द्र थप भएसँगै मकवानपुर जिल्लामा यस वर्षदेखि एसइईको केन्द्र २८ वटा पुगेको छ ।मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको छ । गत वर्षको एसइईमा राक्सिराङ गाउँपालिकामा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस वर्षदेखि प्राविधिक विषयका विद्यार्थीका लागि हेटौंडा ४ कर्रास्थित श्रमिक माविमा केन्द्र तोकिएको छ ।
एसइई परीक्षाकाे लागि मकवानपुरकाे बागमती गाउँपालिकाकाे जनता मावि फापरवारीमा केन्द्र ताेकिएकाे छ । उक्त परीक्षा केन्द्रमा ४ वटा विद्यालय नियमित तर्फ १५९ जना तथा ग्रेडवृद्धितर्फ ५६ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् । यसैगरी बकैया गाउँपालिका हात्तीसुडेस्थित बुद्ध मावि परीक्षा केन्द्रबाट ७ विद्यालयका नियमित तर्फ २४५ जना र ग्रेडवृद्धितर्फ ११२ जना परीक्षार्थी एसइईमा सहभागी हुने छन् ।
यस्तै बकैया गाउँपालिका महेन्द्र मावि छतिवन परीक्षा केन्द्रमा ६ विद्यालयका २४१ जना नियमित तथा ४३ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थीले परीक्षा दिने छन् । हेटौंडा उपमहानगरपालिका हटियाकाे जनप्रीय मावि परीक्षा केन्द्रमा ७ वटा विद्यालयका नियमित २०१ जना र ग्रेडवृद्धि तर्फ ६० जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यसैगरी महेन्द्र मावि भीमफेदी परीक्षा केन्द्रमा ५ विद्यालयका नियमिततर्फ ११३ जना र ग्रेडवृद्धि ६० जना परीक्षार्थीले परीक्षा दिने छन् ।
थाहानगर पालिकास्थित जनकल्याण मावि पालुङ्ग परीक्षा केन्द्रमा ८ विद्यालयका नियमित तर्फका १७२ जना तथा ग्रेडवृद्धि तर्फका ४४ जना परीक्षामा सहभागी हुने छन् भने थाहा नगरकै मत्स्य नारायण मावि परीक्षा केन्द्रमा ३ विद्यालयका १०२ जना नियमित तथा ४५ जना ग्रेडवृद्धिका परीक्षार्थीले परीक्षा दिदैछन् । सरस्वती बालबाेधनी मावि मार्खु परीक्षा केन्द्रबाट ५ विद्यालयका नियमित तर्फ ९० जना र ग्रेडवृद्धि तर्फ २० जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
मनहरी गाउँपालिकाकाे राष्ट्रिय राेटरी मावि परीक्षा केन्द्रमा ४ विद्यालयका नियमिततर्फ १७३ जना तथा ग्रेडवृद्धि तर्फ २२ जना परीक्षामा सहभागी हुने भएका छन् भने मनहरीकै महेन्द्र किरण मावि ज्यामिरे परीक्षा केन्द्रबाट ४ वटा विद्यालयका नियमिततर्फ १४८ जना र ग्रेडवृद्धितर्फ २३ जना विद्यार्थीले एसइई दिने छन् ।
हेटौंडा उपमहानगरपालिका बसामाडीस्थित महेन्द्र किरण मावि केन्द्रबाट ३ वटा विद्यालयका नियमिततर्फ १९९ जना र ग्रेडवृद्धि तर्फ ८९ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । हेटौंडा १९ बस्तिपुरकाे निर्मल मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका नियमित १९२ जना र ग्रेडवृद्धितर्फ १२५ जना परीक्षार्थी सहभागी हुनेछन् । हेटौंडा ६ स्थित वंशगोपाल मावि चौघडा परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका १५७ जना नियमिततर्फ र २२ जना ग्रेडवृद्धितर्फका परीक्षार्थीले परीक्षा दिने भएका छन् ।
हेटौंडाकै आधुनिक मावि परीक्षा केन्द्रबाट ८ वटा विद्यालयका नियमिततर्फ ३९८ र ग्रेडवृद्धितर्फ ७५ जना विद्यार्थीले परीक्षा दिने भएका छन् भने बालज्योति मावि हेटौंडा पिप्ले परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका नियमित ४२९ र ग्रेडवृद्धितर्फ २४ जनाले एसइई परीक्षा दिदैछन् । हेटौंडा १० ज्ञानदा मावि परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका नियमिततर्फ १९२ र ग्रेडवृद्धि ३ जना परीक्षार्थीले परीक्षा दिदैछन् । हेटौंडा ४ स्थित भुटनदेवी मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका ३९३ जना नियमिततर्फ र ४० ग्रेडवृद्धितर्फका परीक्षार्थीले परीक्षा दिने भएका छन् ।
हेटौंडा २ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका ३४२ जना नियमिततर्फ र ७३ जना ग्रेडवृद्धितर्फका विद्यार्थीले एसइई दिने भएका छन् । मकवानपुरका २ वटा संस्थागत विद्यालयमा समेत एसइईकाे परीक्षा केन्द्र निर्धारण गरिएकाे छ । हेटौंडा ५ स्थित जीएस निकेतन परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका २३० जना नियमिततर्फ र ५७ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् भने हेटौंडा १० स्थित साेलिड्यारिटी इङ्गलिस एकेडेमी परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका ११९ जना नियमिततर्फ र ३० जना ग्रेडवृद्धितर्फका परीक्षार्थी सहभागी हुनेछन् ।
हेटौंडा ९ स्थित प्रगति मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका नियमित तर्फ २७९ र ग्रेडवृद्धितर्फ १०८ जना विद्यार्थी एसइईमा सहभागी जनाउँदै छन् । थाहा नगरपालिका स्थित बज्रवाराही मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका २०६ जना नियमित तर्फ र ३३ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी एसइईमा सहभागी हुने छन् । हेटौंडा १ स्थित अमर मावि परीक्षा केन्द्रबाट २ वटा विद्यालयका नियमिततर्फ २२३ जना र ग्रेडवृद्धितर्फ २१ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
मकवानपुरगढी ६ स्थित जालपादेवी मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका नियमिततर्फ १३१ जना र ग्रेडवृद्धितर्फ ५९ जना विद्यार्थीले परीक्षा दिने छन् । हेटौंडा ८ स्थित चन्द्रोदय मावि परीक्षा केन्द्रबाट ६ विद्यालयका २१४ जना नियमिततर्फ र ४० जना ग्रेडवृद्धितर्फका परीक्षार्थीले एसइई दिने भएका छन् । प्रजा जागृति मावि राक्सिराङ परीक्षा केन्द्रबाट ५ वटा विद्यालयका नियमिततर्फ १३९ जना र ग्रेडवृद्धितर्फ १०७ जना परीक्षामा सहभागी हुने भएका छन् ।
यस्तै यस वर्ष थप गरिएकाे कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका मावि परीक्षा केन्द्रमा ५ वटा विद्यालयका नियमित तर्फ १४९ र ग्रेडवृद्धितर्फ ६७ जना एसइईमा सहभागी हुने भएका छन् । यस्तै प्राविधिक तर्फका परीक्षार्थीहरुकाे लागि थप गरिएकाे हेटौंडा ४ स्थित श्रमिक मावि परीक्षा केन्द्रबाट १० वटा विद्यालयका नियमिततर्फका २२९ जना र ग्रेडवृद्धितर्फ १३३ जना विद्यार्थी एसइईमा सहभागी हुदैछन् ।
एसईईका लागि शिक्षा विकास तथा समन्वय इकाईले उत्तरपुस्तिका परीक्षा केन्द्रमा पठाउने कार्य २४ फागुन शनिबारबाट सुरु गरेको जनाएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरणको कार्यक्रम समेत गरिने इकाई प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार एसईईका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे छ ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बा ४० प ५३०६ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक बकैया ४ बस्ने ३३ वर्षीय रुपक दियालीकाे उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हात्तिसुडेबाट ठुलोदमार तर्फ आउँदै गरेकाे उक्त माेटरसाइकल मंगलबार बिहान बकैया जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा घुम्तिमा मोडने क्रममा दुर्घटना हुँदा दियालीकाे टाउकोमा चोट लागि घाईते भएका थिए । उनलाई उपचारको लागि बकैया अस्पताल पठाएकोमा थप उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहानै दियालीलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सुरु दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी सुरुवात गरेका छन् ।
हेटौंडा भेट्रान्स क्लबकाे आयोजनामा बिहीबारबाट सुरु प्रतियाेगिताकाे उद्घाटन खेलमा बानेश्वर भेट्रान्सले वीरगंज सिटी भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेकाे हाे । बानेश्वरको तर्फबाट हरिहर थापाले गरेको १ मात्रै गोल निर्णायक बन्यो । उनले खेलकाे अन्तिम समयमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।
यसैगरी बिहीबार नै भएकाे दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज युथलाई २–० गोल अन्तरले पराजीत गर्यो । बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले समान १/१ गोल गरे । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भए । यस्तै आजै भएको तेस्रो खेलमा एबीसी भेट्रान्स पोखरा र भुटनदेवी भेट्रान्स भएकाे खेलकाे निर्धारित समय गोल रहित बराबरी भएकाे थियाे । समय अभावका कारण आज विजयीकाे छिनाेफानाे हुन सकेन । उक्त २ टिमबिच शुक्रबार विहान ट्राईब्रेकर मार्फत विजयीकाे घाेषणा हुनेछ ।
यसैगरी प्रतियोगिता अन्तरगत शुक्रबार ४ खेल खेलाइने छ । पहिलो खेल फ्रिडम फाइटर र चितवन भेट्रान्स बिच दिउँसो १ बजे हुने छ भने दोस्रो खेल सिमरा भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडा बिच दिउँसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो खेल बगर भाईखलक पोखर र एन.जे.जे.भीसी सिमरा बिच दिउँसो ३ बजे तथा चौथो खेल अपराह्न ४ बजे किङकम भेट्रान्स र बुटवल भेट्रान्स बिच हुने आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारकाे समेत व्यवस्था छ । सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर विधामा पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक मणिराज गौतमले जानकारी दिए । उनका अनुसार विधागत उत्कृष्ठ हुनेलाई जनही ५ हजार रुपैंया नगद प्रदान गरिने छ । यस्तै प्रतियाेगिताकाे म्यान अफ द सिरिजले १० हजार रुपैंया प्राप्त गर्ने छन् ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौंडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको आयोजक क्लब अध्यक्ष रमेश उप्रेतीले बताए । प्रतियोगितामा हेटौंडाकाे २ वटासहित १४ वटा भेट्रान्स क्लबकाे सहभागिता रहेकाे छ । २०७२ सालबाट रोटरी क्लव अफ मकवानपुरसँगको सहकार्यबाट सुरु गरिएको प्रतियोगिता २०७४ साल देखि हेटौंडा भेट्रान्स क्लब आयोजक भई हेटौंडा भेट्रान्स कप ८ ए साईड राष्ट्रिय फुटबल प्रतियोगीता संचालन हुँदै आएकाे संयोजक गौतमले जानकारी दिए ।
पछिल्लो समय फुटबल खेल क्षेत्रमा भेट्रान्स खेलाडीहरुको सक्रियता उत्साहजनक भईरहेको, देशैभर ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरु भेट्रान्स खेलमा आकर्षण बढ्दो रुपमा रहेकाे, ४० वर्ष माथि उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिताले देशैभर रौनकता थप्दै आएको अवस्थामा भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरुको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले यो प्रतियाेगिता आयोजना गरिएकाे उप्रतीले जानकारी दिए ।
यसैबीच हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताएकी छिन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने बताइन् ।
बिहान तथा बेलुकाको समय व्यवस्थापन गर्दै खेलमा लगउान सके स्वस्थ्य बन्न सकिने उनले बताइन् । भेट्रान्स खेलले फुटबल खेलको विकासमा योगदान पुर्याउदै आएकाे बत्ताउदै उनले भनिन् ‘खेलाडीहरू बिच सुमधुर सम्बन्ध प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै आएकाे छ ।’ हेटौडा भेट्रान्सले मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेको उनले बताइन् ।
प्रतियाेगिता उद्घाटनमा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देललगायतका अन्य वडाका अध्यक्षहरु, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बागमती प्रदेश फुटबल संगका महासचिव लवराज ठकुरी, निबर्तामान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।