मकवानपुर । हेटाैडामा मकवानपुर जिल्ला विद्यालय स्तरीय व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ । बैशाख ३ गते शुक्रबारबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा व्याडमिन्टन प्रतियाेगिता हुन लागेकाे हाे ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बैशाख ३ गतेबाट ५ गते सम्म मकवानपुर जिल्लाका विद्यालयहरू बीच व्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मिरा चाैधरीले जानकारी दिइन ।समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी मकवानपुरमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएकाे छ ।
खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता संचालन गर्न लागिएको प्रवक्ता चौधरीले बताइन् ।
प्रतियोगितामा मकवानपुर जिल्ला अन्तर्गतको बिभिन्न सामुदायीक एवम् निजी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा रहने छ । तीन दिन सम्म संचालन हुने प्रतियोगिताको प्राविधीक सहयोग जिल्ला ब्याटमिन्टन संघ मकवानपुरले गर्ने भएकाे छ ।
कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल्स तथा पुरुष तर्फको डबल्स गरी ५ वटा बिधामा प्रतियोगिता संचालन गरिने छ ।
प्रतियाेगितामा १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । १२ बर्ष माथि उमेर समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् भने पुरूष डबलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले समेत क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् ।
हेटाैडा ११ थानाभर्याङ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको कभर्ड हलमा प्रतियाेगितका सबै खेलहरू संचालन हुने छन् । प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ३० जना खेलाडीहरुलाई २ महिना सम्म निशुल्क प्रशिक्षण प्रदान गरिने छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागूऔषध गाँजासहित३ जनालाई नियन्त्रणमा लिएको छ । हेटाैडा उपमहानगरपालिका ११ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित हेटौंँडा उपमहानगरपालिका ११ का ४० वर्षीय चतुरमान मोक्तान, राक्सिराङ गाउँपालिका १ का ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मायाँ तामाङलाई नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङका प्रहरी सहायक निरीक्षक सुबोध ठाकुर मैथिलको कमाण्डमा खटिएको प्रहरी चेकीङ टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । बैशाख १ गते बुधबार उक्त सडकखण्डमा ना १ ह ९०९९ नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई ल्याएको २ वटा पोकामा २३ किलो गाँजा फेला सहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
अटो चालक हेटौँडाका मोक्तान, अटोमा सवार राक्सिराङकी तामाङद्वयलाई गाँजा सहित नियन्त्रणमा लिइ आज बिहिबार जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
जवरजस्ती करणी गर्ने १ जना पक्राउ
यसैगरी प्रहरीले जवरजस्ती करणी गरेकाे आराेपमा बुधबार १ जनालाइ पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरीले पर्सा बिरगंज महानगरपालीका २३ घर भई मकवानपुर हेटाैडा उपमहानगरपालिका ६ डेरा गरी बस्ने बर्ष २१ को बिशाल पासवान करणी गरेकाे आराेपमा प्रक्राउ गरेकाे हाे ।
बैशाख १ गते बुधबार राती २२:३० बजेको समयमा हेटाैडा ६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक जना नावालिकालाई सामुहिक करणी भएको भन्ने सूचनाकाे आधारमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक समेतको टोली खटिई गई घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटना सामुहिक करणी नभई निज केटीको केटासाथी पासवानबाट भएकाे पाइएकाेले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी मकवानपुरले जनाएकाे छ।
मकवानपुर । २०७७ साल चैत ११ गते सरकारले काेराेना भाइरस जाेखिमकाे कारण गरेकाे लकडाउनकाे विभिन्न समयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका मकवानपुरका ७ जना पत्रकारलाई बिमा रकम हस्तातरण गरिएको छ ।
बुधबार नयाँ वर्ष २०७८ सालको अवसरमा आयोजित एक कार्यक्रबीच कोरोना संक्रमित भएका ७ जना पत्रकारहरु हरि हुमागाई, राजन दाहाल (खुशराज), गणेश दर्पण अधिकारी, जिबराज बखरेल, सहनशिला ढकाल, सुजन बिडारी र अनिष लुइटेल लाई एक लाख रुपैयाँ बिमा रकमको चेक हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष नानीमाया कार्की (सम्झना), नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम र अग्रह पत्रकार कौशल पाण्डेले संयुक्त रुपमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्ष हरि हुमागाई, राममणि दाहाल, पत्रकार महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी विश्वकर्मा, प्रेस चौतारी बागमती प्रदेशका संयोजक प्रकाश दाहाल र बागमती प्रदेश नेपाल पत्रकार महासंघका सल्लाहकार गिरिजा अधिकारीले मनतव्य व्यक्त गरेका थिए ।
साथै, सो कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बिमा बापत पाएको रकमबाट १० हजार रुपैया पत्रकार पेन्सन कोषमा सहयोग गरेका छन । उनले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मकवानपुर । गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा भानु मिनि पिचमा जारी तेश्रो संस्करणको मकवानपुरगढी फुट्सल प्रतियोगिताको नकआउट चरणका खेल आज मंगलबारबाट सुरू हुँदैछ । चैत ३० गते फुट्सल अन्तरगत समुह चरणका खेल सकिए सँगै नकआउट चरकाे खेल सुरू हुने भएकाे हाे ।
१५ टिमले भाग लिएको फुटसल प्रतियाेगितामा ८ टिम दोस्रो चरण नकअाउटका लागि छानिएका छन् । ७ टिमको यात्रा समुह चरणबाटै सकिएको छ ।
समुह ए बाट प्रतिभा युवा क्लब बी र कालिखोला एफसी, समुह बी बाट गढी स्टार स्पोर्टस् क्लब र सयपत्री फुटबल क्लब, समुह सि बाट सौजन्य युवा क्लब ए र मकवानपुरगढी–५, समुह डि बाट प्रतिभा युवा क्लब र सौजन्य युवा क्लब बि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै प्रतियोगितामा समुह चरणबाट बाहिरिएका टाेलीमा समुह ए मकवानपुरगढी गाउँपालिका र युटिसी गुम्बा, समुह बी बाट नेस्तकला टिम, समुह सि बाट युवक क्लब र स्पोर्टस समुह, पिवाईसी भेट्रान्स र नागरिक सचेतक रहेका छन् ।
प्रतियोगिताको बिजेता हुने टोलीले ट्रफिसहित नगद ५० हजार र उपबिजेता हुने टोलीले नगद २५ हजार प्राप्त गर्नेछन् । मकवानपुरगढी गाउँपालिकाका १५ वटा टोलीको सहभागिता रहेको छ ।मकवानपुरगढी गाउँपालिकाकाे प्रायोजक रहेकाे प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाका मात्रै खेलाडीले सहभागिता जनाएका छन् ।
मकवानपुर । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्धमा माविले जितेको छ । बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो ।
यस्तै बकैयाकै महेन्द्र माविले ४ स्वर्ण,४ रजत र ३ कास्य पदक सहित दोस्रो र थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन । २०७४ साल र २०७५ साल दुवै बर्ष लगातार जनक माविले शिल्ड लगेको थियाे ।
जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो । प्रतियोगितामा भलिवल,कव्वडी,एथलेटिक्स, कराते ,तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।