मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयतको सपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
‘भदौ २३ गते बुधबार दिउँसो हेटौंडा १० स्थित प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलन गर्न रोक्नु नेपालको संविधान २०७२ को मुल मर्मभित्र रहेको प्रेस स्वतन्त्रताको ठाडो उलंघन हो ।’ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिक महासचिवले कृष्ण सारु मगरले भने– ‘ संविधानले निषेध गरेका विषय बाहेक अन्य सबै विषयमा स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने पत्रकारहरुको अधिकारमाथि भएको प्रहारले प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार आम सञ्चारक्षेत्रमाथि निरंशुकता लाद्न उद्धत रहेको महासंघको ठहर छ ।’
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आज प्रेस विज्ञप्ति जारी गर्दा भनेकाे छ ‘आगामी दिनमा यस्ता कमजोरी सच्याई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने बातावरण निर्माणको लागि सम्बन्धित सबैपक्षसँग माग गर्दछौं । अन्यथा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकारका सबैखाले सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्न बाध्य हुनेछौं ।’
आज बागमती प्रदेश प्रमुख कार्यालयमा ६ जना मन्त्री र ४ जना राज्यमन्त्रीको सपथग्रहण कार्यक्रममा समाचार संकलन गर्न पत्रकारलाई रोक लगाइएको थियो । तर, पत्रकार भन्दा बाहेकका चालक, जग्गा व्यावसायी, होटल व्यावसायी र आम युवाहरु सपथग्रहणको हलमा प्रवेश गरेएकाे भन्दै पत्रकारहरुले सामाजिक सजालमा समेत विराेध जनाएका छन् ।
पत्रकारलाई समाचार संकलनमा रोक लगाएपछी नेपाल पत्रकार महासंघ मकवानपुर साखाको अगुवाइमा प्रदेश प्रमुखको कार्यालयको मुल गेटमानै पत्रकारहरुले धर्ना दिएका थिए ।
यसअघि पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सपथग्रहणका वेला राती ११ बजे पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । बहु विवाह र चाेरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
रौतहट जिल्ला अदालतको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष कैद र ५ हजार रुपैया जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी फरार प्रतिवादी नितेश कुमार केशरीलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
पर्सा घर भई हाल जिल्ला हेटाैडा उपमहानगरपालिका १० बस्ने ३४ बर्षीय केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २३ गते बुधबार हेटाैडा १० बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहट पठाईएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालत हेटौडाको २०४८ साल साउन २३ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ३ दिन कैद र र ३ हजार रुपैया जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी फरार प्रतिवादी दिल बहादुर राउत क्षेत्रीलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
हेटाैडा उपमहानगरपालिका ६ बस्ने दिल बहादुर राउत क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २३ गते हेटाैडा ६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको प्रवक्ता रिमालले बताए।
मकवानपुरमा । मकवानपुरमा १४ जना काेराेना संक्रमित थपिएका छन् । आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उक्त सख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १४ जनामा कोरोना पाेजेटिभ देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार आजै थप १४ जनामा कोरोना संक्रमण निकाे भएकाे छन ।
जिल्लामा हाल ३ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ३ सय ५ जना घरमा र १२ जना अस्पतालमा उपचाररत रहेका छन् ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले हेटाैडमा राँके जुलुस निकालेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा युवाहरुले सरकार विरुद्ध राँके जुलुुस निकालेका हुन् ।
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट युवा संगठनका युवा नेताहरुले एमसीसी रद्दकाे माग गर्दै गरेकाे प्रदर्शनकाे क्रममा नेपाल प्रहरीले आफ्नो संगठनका नेताहरु पक्राउ गरेकोमा विरोध प्रदर्शन गर्दै राँके जुलुस निकालिएको युवा संगठन नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले हेटौंडा-५ को पुष्पलाल पार्कदेखि सिमाचोकसम्म राँके जुलुस प्रदर्शन गरिएको जानकारी दिए । उनले पक्राउ परेका संगठनका नेताहरुको रिहाइको माग समेत गरेका छन् ।

मंगलबार दिउँसो काठमाण्डौमा शान्तिपूर्ण प्रदर्शनमा रहेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेताहरु कैलाश कटुवाल,मनि सिंखडा,गुण राजभण्डारी ,नगेन्द्र देउजा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । राप्रपा अध्यक्ष कमल थापाले शान्तिपूर्ण प्रदर्शनमा रहेका संगठनका नेताहरु पक्राउको भत्सर्ना गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

मकवानपुर । मकवानपुरका १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधीले एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गर्नका लागि भदौ २२ गते मंगलबार अन्तिम दिनसम्मको समयावधिमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्य लगायत गरी ३९ जना जनप्रतिनिधीले एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादी राेजेका हुन् ।
सनाखतको अन्तिम दिन आज बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर ४ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । यो संगै एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३९ जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा पालिका अनुसार यस प्रकार रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर तितुङ, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी विश्वकर्मा (रसाइली), हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।
थाहानगरपालिका
थाहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ र वडा सदस्य उर्मिला सुनुवार, वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, वडा सदस्य मैया विश्वकर्मा र वडा सुनिल लामाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
कैलाश गाउँपालिका
कैलाश गाउँपालिकाबाट एकीकृत समाजवादीमा सनाखत गर्नेमा पालिका अध्यक्ष टंकबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ र वडा सदस्य अनिता बल, कैलाश गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश ९ का वडा सदस्य लालीमाया भुलुन रहेका छन् ।
मनहरी गाउँपालिका
मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ र वडा सदस्य उमाकुमारी नेपाली, मनहरी ९ का वडा सदस्य गंगा सुनार, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी र सदस्य अम्बिका दमाई, वडा नम्बर ५ का इन्द्रकुमारी सार्कीले एमाले छाडी एकीकृत समाजवादी रोजेको छन् ।
इन्द्रसरोबर गाउँपालिका
इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन र वडा सदस्यहरु कृष्ण जीत लामा, इमान लो, गाउँकार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बाले एकीकृत समाजवादी रोजेको छन् ।
बकैया गाउँपालिका
बकैया गाउँपालिकाका ४ जना जनप्रतिनिधीले एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट निर्वाचित भएकाहरु वडा नम्बर १ का वडा सदस्य लालीमाया विक, गाँउकार्यापालिका सदस्य विष्णु भुजेल, बकैया २ का वडा सदस्य सम्झना परियार र बकैया २ का वडा सदस्य जीतबहादुर जिम्बाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
बागमती गाउँपालिका
बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले एमाले छाडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीनले समाजवादी रोजेका छन् ।
मकवानपुरगढी र राक्सिराङका सबै जनप्रतिनिधी एमालेमै
मकवानपुरको मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एमालेबाट निर्वाचित सबै जनप्रतिनिधी एमालेमै रहेका छन् । विभाजनपछि बनेको एकीकृत समाजवादीमा उनीहरुले सनाखत गरेनन् ।
बागमती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी
बागमती प्रदेशसभाबाट एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरु माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवाल रहेका छन् ।
बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद् १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।
भदौ १५ गतेबाट आज मंगलबार भदौ २२ गतेसम्म एमालेमै रहने वा एकीकृत समाजवादीमा आबद्घ हुनका लागि दिइएको समयावधिमा प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।