मकवानपुर । मकवानपुरका विद्यालय र शैक्षिक संस्था आजबाट खुल्दै छन् । कोरोना संक्रमण दर बढेसँगै गत बैशाख १५ गतेबाट मकवानपुरका विद्यालय बन्द गरि वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन गरिदै आएकाे थियाे ।
करिब ५ महिना पछी कोरोना संक्रमण दरमा कमि आएसँगै जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका विद्यालय तथा शैक्षिक संस्था खाेल्न दिने निर्णय गरेसँगै १० वटै स्थानीय तहका शैक्षिक संस्था खुल्ने भएका हुन् ।
गत भदौ १७ गते बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न दिन् निर्णय गरेको थियो। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा विद्यालयकाे सम्बन्धमा प्रतिवेदन पेश गर्न समिति गठन भएकाे थियाे ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार १० वटा स्थानीय तहमा रहेको शिक्षा विकास महाशाखाले महाशाखा अन्तर्गत पर्ने विद्यालयलाई विद्यालय संचालन सम्बन्धि कार्यढाचाँ सहित व्यवस्थापन समितिको निर्णय पठाउन विद्यालयलाई पत्राचार गरेको थियो। पत्रचार अनुसारनै १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजि विद्यालय आज भदौ २७ गते आइतबारबाट खुल्ने भएका हुन । सम्बन्धित विद्यालयले सुचना जारी गर्दै विद्यालय आइतबारबाट खोल्ने जनाएका छन्।
विद्यालय संचालनमा आएपनि स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड हुने सामुहिक कार्य नगर्न नगराउन भनिएको छ। साथै विद्यालयले विद्यार्थीहरुकाे राेल नम्बर अनुसार विद्यालय आउने गरी तालिका बनाएकाे छ । जस अनुसार जाेर बार जाेर राेल नम्बर भएका विद्यार्थी र विजाेर बार विजाेर राेल नम्बर भएका विद्यार्थीहरुकाे पठन पाठन हुने सिद्धार्थ माध्यामिक विद्यालयका अंग्रेजी माध्यम संयाेजक गणेश हुमागाईंले जानकारी दिए ।
मकवानपुर । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका वडा नं. ७ काे वडा कमिटी गठन गरिएकाे छ । शनिबार गठन गरिएकाे कमिटी अध्यक्षमा राजु अधिकारी चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यता तथा अध्यक्ष श्रीधर पोखरेल र सचिव विष्णु दाहालको उपस्थितीमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ मा प्रथम वडा भेला गर्दै अधिकारीको नेतृत्वमा २१ सदस्यीय कमिटि गठन गरिएको नेकपा (एस)का नेता सफल अधिकारीले जानकारी दिए।
शनिबार हेटौंडा-७ मा गठन गरिएको कमिटि हेटौंडा उपमहानगरकै पहिलो कमिटि रहेको जनाइएको छ। छिट्टै नगरका अन्य वडा तथा जिल्लाभर वडा कमिटि गठन गरिने अधिकारीले बताए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरकाे अध्यक्षमा जिल्ला कमिटी गठन गरिएकाे छ । शनिबार हेटाैंडामा बसेकाे एमाले जिल्ला कमिटी बैठकले तत्कालिन उपाध्यक्ष लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हाे ।
शनिवारकाे बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको हो । सोही निर्णय अनुसार तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सह–सचिवमा लालबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको हो ।
२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादी राेजे पछी एमालेकाे पुरोनै संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा शनिबार बैठक बसेको हो ।
बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ । बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो ।
मकवानपुर । जनसाहित्यिक मञ्च बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका छन् । जनसाहित्यिक मञ्च नेपालको शनिबार भएकाे भर्चुअल भेलाबाट मञ्चकाे बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका हुन् । यस अघी उपासक मञ्चकाे सचिवालय सदस्य थिए ।
मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । शनिबारकाे भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ ।
मकवानपुरको दुई जनाले यो पटक केन्द्रमा स्थान पाएका छन् । मसान सँगै मकवानपुरका सुनिल गौतम केन्द्रिय सदस्य चयन भएका छन् । साथै प्रदेशमा मकवानपुरका गणेश तिमल्सिना चयन भएका छन् । बागमती प्रदेशमा संयोजक मसान उपासक र सदस्यमा तिमल्सिना सहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, चितवनका अम्बिका कार्की चयन भएका छन् ।
भेलाले राम बिनयको संयोजकत्वमा १ सय ५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । उपासक नेकपाको दुई साहित्यिक संस्था एकताको समयमा पनि संयोजक रहेका थिए । वास्तविक (रजिष्टर्ड) नाम मिनप्रसाद सञ्जेल रहेका उपासक मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल नाम हाे ।
मकवानपुर । रेडियो सरोबर ९२.५ मेगाहर्जले मकवानपुरका स्थानीयतहका उप–प्रमुख तथा उपाध्यक्षहरुलाई सम्मान गरेको छ । हेटौंडामा रहेको एफएमले तिज विशेष कार्यक्रमको आयोजना गरी ‘सरोबर चेली सम्मान’ मार्फत मकवानपुरका उपमहानगरपालिकाका उप प्रमुख र गाउँपालिका उपाध्यक्षहरुलाई सम्मान गरेको हो ।
मकवानपुरमा रहेर विभिन्न सामाजिक तथा राजनैतिक क्षेत्रमा योगदान पुर्याएका उपप्रमुख तथा उपाध्यक्षहरुलाई ‘सरोबर चेली सम्मान’ स्वरूप सम्मान गरिएको रेडियो सरोबरका स्टेसन मेनेजर राजु लामिछानेले बताए ।
सरोबरले हेटौडा उपहानगरपालिकाकी उपमेयर मिना लामा, बकैया गाउँपालिकाकी उपप्रमुख सरला वोलाखे, भीमफेदी गाउँपालिकाकी उपप्रमुख पार्वती राना, इन्द्र सरोबर गाउँपालिकाकी उपप्रमुख उमाकुमारी लामा, राक्सिराङ गाउँपालिकाकी उपप्रमुख निर्मला डिमडुङ, मनहरी गाउँपालिकाकी उपप्रमुख मनिला विष्ट, गढी गाउँपालिकाकी उपप्रमुख हर्क माया रुम्बा, बागमती गाउँपालिकाकी उपप्रमुख धनमाया स्याङ्तान र कैलाश गाउँपालिकाकी उपप्रमुख सुकुमाया थिङलाइ सम्मान गरेको हो ।
एफएमले चेली सम्मान संगै दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगिता गरेको छ । चाडपर्व र कला सस्कृतिको जगेर्ना गर्नका लागि एफएमले हरेक वर्ष खुला दुना टपरी तथा बत्ति काट्ने प्रतियोगिता तथा मकवानपुरे चेलीलाई तिजको अवसरमा सम्मान गर्ने गरेको लामिछानेले बताए ।

कार्यक्रममा दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगितामा १० जनाले सहभागी जनाएका थिए । प्रतियोगितामा तेस्रो सिता अधिकारी, दोस्रो सिता मैनाली र प्रथम वेगम बराल भएका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई विभिन्न चांदीका उपहार र प्रमाण-पत्र वितरण गरिएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।