मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तानले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् । सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिकाप्रसाद दाहालले जानकारी दिए ।
यसैगरी उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले सभापतिका अर्का उम्मेदवार नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १ सय ५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने बदर भएको मतदान अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए ।
कुल ४५ सदस्यीय गाउँ कमिटीका लागि असाेज ९ गते भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा १६ जना प्रतिनिधिहरु निर्वाचित भएका छन् । १८ जना प्रतिनिधि भने समानुपातिक तर्फका रहने व्यवस्था रहेको छ । श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे आज असाेज ९ गते शनिबार मकवानपुरका १० वटै स्थानीय तहमा गाँउ–नगर अधिवेशन हुँदैछ । असाेज ८ गते शुक्रबार १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइएको कांग्रेस मकवापनुरले जनाएकाे छ । मकवानपुरको १० स्थानीय तहमध्ये सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुने कांग्रेस मकवानपुरको कार्यबाहक सभापति विष्णु लामिछानले बताए ।
गत भाद्र २० गते भएको वडाअधिवेशनले मकवानपुरको १ सय २ वडाबाट क्षेत्रिय प्रतिनिधिमा १८ सय ३४ जना चयन गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नगर सभापतिमा आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । हेटौंडा उपमहानगर सभापतिमा देउवापक्षका उत्सब इटेनी र रामचन्द्र पौडेल गुटका महेन्द्र राउत प्रतिस्पर्धामा छन् । उनीहरु दुवैलाई सहमति गराउने प्रयास जारी भएपनि शुक्रबार सहमति हुन नसकेपछि हेटौंडामा मतदान हुने भएको कांग्रेस मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । हेटौंडामा ४ सय २० जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्ने छन् ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकाको १२ वडाबाट १ सय ९८ जना क्षेत्रिय प्रतिनिधि, मकवानपुरगढीमा १ सय ३७, राक्सिराङ १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १ सय ६३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्न पाउँनेछन् । यसमध्ये काग्रेस मकवानपुर सभापति, संघीय सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएकाे छ ।
मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका स्थानीय तहका १ सय २ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएकाले गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार असाेज ९ गते शनिबार ६४ जिल्लामा पालिकामा अधिवेशन हुँदैछ । यसअघि वडा अधिवेशन भईसकेका जिल्लाका गाउँपापालिका, उपमहानगरपालिका र नगरपालिकामा पालिकास्तरीय अधिवेशन हुने भएको हो । क्रियाशिल विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लामा भने अधिवेशनको मिति अझै टुंगो लागेको छैन ।
मकवानपुर । सिस्नुपानी नेपालकाे मकवानपुर जिल्ला शाखा अध्यक्षमा राजकुमार लामिछाने चयन भएका छन् । हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपाल मकवानपुर शाखकाे साहित्य संगम–सिस्नुपानीको सभाकक्षमा भएको भेलाले लामिछानेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो ।
भेलाले सिस्नुपानी मकवानपुरको उपाध्यक्षमा मीनप्रसाद लामिछाने, सचिवमा गोबिन्द पौडेल, कोषाध्यक्षमा शुभद्रा हुमागाई चयन गरेकाे छ । यस्तै सदस्यमा चिरञ्जीवी लामिछाने, सानुभाइ बिश्वकर्मा र सम्प्रस पौडेल चयन भएका छन् ।
२०७४ सालमा ‘पुत्लाको पावर’ शीर्षकको हाँस्यव्यङ्ग्य कृति प्रकाशित गरेका लामिछानेको दोस्रो कृति प्रकाशोन्मुख छ । यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका लामिछानेले सर्वसम्मत अध्यक्ष भएका हुन् । हेटौंडा–४ निवासी लामिछाने निजामति सेवामा आबद्ध छन् ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । प्रशासनले विशेष गरी दसैँ, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना ल्याएको हाे ।
नेपालीहरूको प्रमुख चाडपर्वको समयमा जिल्लाभित्र भरपर्दो शान्ति सुव्यवस्था कायम राख्न र कोभिड-१९ को सन्दर्भमा जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्वहरू मनाउनु पर्ने बाध्यतात्मक परिस्थिति समेतलाई दृष्टिगत गर्दै सुरक्षा याेजना ल्याइएकाे जिल्ला प्रशासन कार्यालयले शुक्रकार प्रेस विज्ञप्ति जारी गरी जनाएकाे हाे । योजनाको कार्यान्वयनबाट सम्पूर्ण क्षेत्रमा सुरक्षित एवं भयरहीत वातावरणको प्रत्याभूती एवं जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै, गराउँदै हर्षोल्लासका साथ चाडपर्वहरू मनाउने तथा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरणको सिर्जना हुने विश्ववास समेत प्रशासन कार्यालयले लिइएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजनामा सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउनेदेखि चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना समेटिएका छन् । साथै सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानुनी दायरामा ल्याउने योजना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।
लोक मार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सैं घण्टा स्टेण्डवाई राखिने छ भने यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको चार्ड पर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई आवश्यक सहयोग गर्ने योजना रहेको छ ।
यस्तै मर्मत गर्नुपर्ने सडकहरू समयमा नै मर्मत गर्न पालिकाहरूलाई अनुरोध गर्नुका साथै जिल्लास्थित राष्ट्रिय सडक एवं आफ्नो अधिकार क्षेत्रभित्रका सडकहरू समयमा नै मर्मत गर्न सडक डिभिजन कार्यालय, मकवानपुरलाई अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सार्वजनिक सवारी साधनहरूको टिकट सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने, अवैध चिज वस्तुको ओसारपसार नियन्त्रण गर्ने तथा त्यस प्रकारका वस्तुहरू ओसारपसार हुनसक्ने नाकाहरूमा विशेष निगरानी राख्ने जनाएको छ ।
जिल्लाको प्रवेश नाका तथा मुख्य–मुख्य चेक प्वाइन्टहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनेदेखि राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरू एवं यात्रुहरूलाई भरपर्दो सुरक्षा प्रदान गर्न जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, नं. १४ गण, मकवानपुरले संयुक्त रूपमा गस्ती गर्नुका साथै रातको समयमा समेत गस्तीको व्यवस्था मिलाउने योजना रहेको छ ।
प्रशासन कार्यालयले बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरूसँग नियमित समन्वय गर्ने जनाएको छ ।
बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि जस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने र कानुन विपरीतका क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने,घरेलु मदिरा उत्पादन तथा बेचबिखनमा रोक लगाउने र जुवा तास, कौडा खेल्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।
चाडबाडका बेला प्रयोग गरिने पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसार पसार, विक्री वितरण एवं प्रयोगलाई नियन्त्रण गरिनेछ भने जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, मकवानपुरले बजार इलाकामा थप पिकेट डिउटी तथा निरन्तर गस्ती पट्रोलिङको व्यवस्था मिलाइने छ ।
राजमार्ग छेउछाउका होटेलहरूको नियमित अनुगमन गरी दूषित खाद्य पदार्थको विक्री वितरण एवं अधिक मूल्य लिने कार्यलाई नियन्त्रण गर्ने योजना पनि मकवानपुर प्रशासनले अघि सारेको छ ।
यसैगरी मठ मन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सहज वातावरणमा पूजाआजा गर्ने व्यवस्था सम्बन्धित पक्षले मिलाउने जनाउँदै धार्मिक स्थानहरूमा भिडभाडको समयमा गरगहना लुटपाट तथा चोरी हुने कार्यलाई नियन्त्रण गर्ने भनेको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम, चिट्ठा विक्री वितरण एवं खोल्ने कार्यमा पूर्ण रूपमा रोक लगाउने तथा तिहारको अवसरमा खेलिने देउसी भैलोलाई व्यवस्थित गर्न समय निर्धारण गरिने भएको छ ।
चाडपर्वको मौका छोपी तस्करी, निषेधित पदार्थ ओसारपसार, दुर्व्यसनी लगायतका अवैध एवं गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्न विशेष योजना अघि सारेको जनाउँदै चाडपर्वको मौकाको फाइदा उठाउँदै हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार लगायतका अन्य क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।