मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बागमती प्रदेशको मुख्य कार्यालय र मकवानपुर जिल्ला समितिकाे कार्यालय पुष ३ गते शनिबार हेटौंडामा उद्घाटन गरिएको छ । नेकपा समाजवादीको केन्द्रिय ईन्चार्ज राजु कार्की, बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना, प्रवक्ता मान बहादुर तामाङ लगायतले संयुक्त रुपमा प्रदेश र जिल्ला कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रदेश र जिल्ला कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले ७ प्रदेश मध्ये पहिलो पटक हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताए । ‘समाजवादी पार्टीले अब शान्तिपूर्ण लडाई लड्ने छ’ कार्कीले भने– ‘अबको चुनावमा नेकपा समाजवादी बैकल्पिक शक्तिको रुपमा उदाउने दावी गर्दछु ।’
नेकपा समाजवादी पार्टीले आजै बागमती प्रदेश र जिल्ला कमिटी समेत घोषणा गर्दैछ ।

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आगामी पुस २३ र २४ गते हुने भएकाे छ । एमाले मकवानपुरको सचिवालय बैठकले अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरेकाे हाे ।
अधिवेशन तयारीका लागि जिल्ला कमिटी बैठक पुस ७ गते हेटौंडामा गर्ने निर्णय भएको एमाले मकवानपुर अध्यक्ष बद्री लम्सालले जानकारी दिए । अधिवेशनका लागि १ हजार सदस्य प्रतिनिधि हुने अनुमान गरिएको छ । मकवानपुरको प्रत्यक स्थानीय तहको वडा स्तरबाट अधिवेशन प्रतिनिधि छनौट गरिने उनले बताए ।
सचिवालय बैठकले नेकपा माओबादी केन्द्रबाट एमलोमा प्रवेश गर्नुहुने कैलाशका नरेन्द्र रिजाल, थाहा नगरपालिकाका नारायण बल र अर्काे १ जनालाई जिल्ला कमिटी सदस्यमा राख्ने निर्णय गरेकाे छ । यस्तै बलराम बललाई भने एमाले बागमती प्रदेश कमिटीको सदस्य पदमा सिफारिस गरिएको सचिब एकलाल श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । मकवानपुर जिल्लाकाे पूर्वी क्षेत्रमा रहेका बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गरेका हुन् । केन्द्रमा शुक्रबारदेखि नै आँखा जाँच कार्यक्रम शुरु भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताए । उनले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने जानकारी दिए ।
नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनपूर्वदेखि नै आँखा सेवा पुर्याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा गर्न पाएको खुशी व्यक्त गरे ।
केन्द्रमा आँखाजाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरहरुको पनि कार्यक्रम रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले जानाएको छ । बागमती गाउँपालिकाले आँखा केन्द्र स्थापनाका लागि भवनको व्यवस्थापन गरेको हाे । तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ बराबरको उपकरण केन्द्रमा राखेको छ ।
यस्तै बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एकजना नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको मासिक तलब खर्चवापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । उद्घाटनको दिन ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने छन् ।
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिता अन्तरगत एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा यी दुबै टिम फाइनल खेलका लागि प्रवेश गरेका हुन् ।
सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४-० गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले, १६ औं मिनेटमा सञ्जय गुरुङले एक/एक गोल गरेका थिए भने ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित भएका छन् ।
त्यस्तै, दोस्रो भएको सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेको छ । नागस्वतीले बगर भाइखलक ए लाई २-० गोलअन्तरले हराएको थियो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औं मिनेटमा नरेल लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नरेन लिम्बु भएका थिए ।
नागस्वती भेट्रान्स र एविसी पोखराबीच शनिबार दिउँसो १ बजे फाइनलमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।
मकवानपुर । मकवानपुरका युवा गायक अणराज तामाङ मोक्तानको अलराइट गीत सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा कार्यक्रमको आयोजना गर्दै गायक तामाङको अलराइट गीतकाे म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
मकवानपुरका पुराना लोक गायक सुर्य तितुङको प्रमुख अतिथ्यता तथा गायक तामाङकै अध्यक्षतामा युवट्युव च्यानल अणराज तामाङ मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । ७ वर्ष पछि गायक तामाङले नयाँ गीत सार्वजनिक गरेका हुन् । सन् २०१३ मा द एबिएस नामक सोलो एल्बम ल्याएका थिए । सोल्टिनी, हिमाली छायाँ, सिमसिमे पानी लगायतको गितबाट दर्शक/श्रोताको मनमा बस्न सफल तामाङकाे अलराइट १२ औं गित हो । कक्षा ६ अध्ययन गर्दा नै व्याण्ड बनाएर सांगीतिक यात्रा शुरू गरेका मकवानपुरे गायक तामाङले दि एबिएस व्याण्ड पनि बनाएका थिए ।
तामाङको शब्द, संगीत तथा स्वर रहेको गीतमा विना राउत, विनु शाक्य, पुजा श्रेष्ठ र तामाङको अभिनय रहेको छ । फराज अर्पणको निर्देशन तथा सम्पादनमा निर्माण भएको गीतकाे म्युजिक भिडियाेको कोरियोग्राफर प्रविण तामाङ रहेका छन् ।
गीत सार्वजानिक कार्यक्रममा गीतका निर्देशक फराज अर्पण, नेपाल तामाङ घेदुङ संघ प्रदेश अध्यक्ष लिलाबहादुर भ्लोन, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, सचिव विक्रम लुङ्वा, सल्लाहकार सानु लामा, कलाकार अभिराम मोक्तान, कोरियोग्राफर रविन्द्र बज्रचार्य, सुनिल मोक्तान लगायतको अतिथ्यता रहेको थियो ।