मकवानपुर । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, पल्पसारोडमा रहेकाे सहकारीकाे साधारणसभा अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा भएको हो ।
सहकारी अध्यक्ष उपाध्यायले दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरको अग्रस्थानमा रहँदै अब बागमती प्रदेशकै अग्रणी सहकारीको रुपमा स्थापित हुने बताइन् । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ७ सय ८६ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले ५१ करोड ४२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
सामुदायिक रेडियो समेत सञ्चालन गरिरहेको सहकारीले खाद्य तथा तेल उद्योग, सहकारी उपभोक्ता पसल, साबुन उद्योग, गोलभेँडा प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीले हेटौंडा–२ स्थित मुख्यालयसहित जिल्लाभित्र १० वटा र ललितपुरको बागडोल तथा चितवनको भरतपुर–१०, चौबीसकोठीमा पनि सेवा केन्द्र सञ्चालन गरेको छ ।
साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् । पार्टी मकवानपुरको ११ औँ अधिवेशनमा नेतृत्व चयनका लागि आकाँक्षीहरु धेरै देखिएपछि पुस २३ गते सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियाे ।
अध्यक्ष पदमा बद्रीप्रसाद लम्साल र एकलाल श्रेष्ठले उम्मेदवारी दिएका थिए ।
मकवानपुर । पतंजली योग जिल्ला कार्यसमितिको अध्यक्षमा रामकृष्ण थापा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न साधारणसभाले थापाको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाबाट शशिकला थापाको अध्यक्षतामा २९ सदस्यीय महिला पतंजली योग जिल्ला समिति र राजु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय युवा पतंजली योग जिल्ला समिति पनि चयन गरिएको छ । शनिबार नै अक्कलसिं लामाको अध्यक्षतामा १५ सदस्यीय हेटौंडा उपमहानगर समिति र सिताराम दाहालको अध्यक्षतामा ११ सदस्यीय बकैया गाउँपालिका समिति चयन गरिएको हो ।
मकवानपुर जिल्लामा ४ सय भन्दा बढी संख्यामा तालिम प्राप्त योग शिक्षक रहेको र एक सय भन्दा बढीको संख्यामा योग शिक्षक सक्रिय छन् । पतंजली योग जिल्ला समिति मकवानपुरको अग्रसरतामै मकवानपुरका ४ स्थानमा नियमित योग अभ्यास भइरहेको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । पतंजली योग जिल्ला कार्यसमितिका अध्यक्ष थापाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

यसैगरी पतंजली योग बागमती प्रदेश समितिको तेस्रो वार्षिकसभा शनिबार हेटौंडामा भएको छ । बागमती प्रदेश समितिका अध्यक्ष ग्रोवेन तौजलेको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा प्रदेश समितिको वार्षिक सभा भएको हो ।
वार्षिक सभामा बागमती प्रदेशका १३ वटै जिल्लाका योग समिति, महिला तथा युवा समितिका अध्यक्ष तथा प्रतिनिधिले आफ्ना गतिविधिबारे जानकारी गराएका थिए । प्रदेश समितिको वार्षिक सभामा केन्द्रीय प्रभारी लवदेवको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।
शनिबार हेटौंडा उपमहानगरपालिका १३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उक्त कुरा बताइकी हुन् । साधारणसभाको उद्घाटन गर्दै माेक्तानले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताईन् । ‘सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले ऐन, कानून बनाउँदा पत्रकार, यातायात, बालबालिका, महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’ दुग्ध उत्पादकसहित धेरै किसानलाई प्रदेश सरकारले प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिई रहेको भन्दै उनले जनतालाई सरकारले धेरै लाभ दिन किसान लक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा रहेको बताईन् ।
गाउँगाउँमा रहेको कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गर्दै उनले उत्पादन बढाउँदै उद्योगसँग जोड्न पनि आग्रह गरिन् । कार्यक्रममा सहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो । ३ करोड ३५ लाख ७६ हजार रुपैंया बचत र ३ करोड २६ लाख ४९ हजार रुपैंया लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताईएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको विशेष आतिथ्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो । हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लिलाकुमार घलान, स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिङ, नारायणी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाका अध्यक्ष रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) मकवानपुरको अध्यक्षमा संगम चौलागाई सर्वसम्मत चयन भएका छन् । चौलागाई पुनः अध्यक्षमा चयन भएसँगै नेल्टाको ११ औं जिल्ला अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
नेल्टा मकवानपुरको उपाध्यक्षमा उत्तम अर्याल, सचिवमा सञ्जय कुमार बस्नेत, कोषाध्यक्षमा रोशनी पौडेल तथा सहसचिवमा सुरेश रेग्मी चयन भएका छन् । यसैगरी सदस्यहरुमा भानुभक्त पाठक, छविलाल बिकल, दीपक अधिकारी, सरस्वती अधिकारी, विवश थापा, रुपचन्द्र गोपाली, कृष्णप्रसाद पौडेल र रामप्रसाद सापकोटा रहेका छन् ।
कार्यक्रममा नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, नेल्टा केन्द्रीय समितिका कोषाध्यक्ष अशोक सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर प्रसाद उपाध्याय, नेल्टा बागमती प्रदेश समितिका महासचिव किशोर पराजुलीको पनि आतिथ्य रहेको थियो ।
नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो ।