मकवानपुर । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-२ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधान अनुसार मुख्यमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारकाे मुख्य कानुनी सल्लाहकार समेत हुनेछ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने ३६ वर्षीय पेमा लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटालेले जानकारी दिए ।
सापकाेटाका अनुसार, जिल्ला अदालत मकवानपुरको २०७७ साल असोज ६ गतेको फैसलाले चेक अनादर मुद्दामा फरार लामालाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रहरीले जनाइएको छ ।
मकवानपुर । बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले देश विकासमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । एकीकृत प्रगतिशील इन्जिनियर समूहको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकका हरेक क्षेत्रमा निर्माण गरिने भौतिक संरचना, विकास निर्माणका आयोजना र त्यसको, गुरु योजना, विस्तृत परियोजनालगायतमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने ‘इन्जिनियरबिना समृद्ध नेपालको कल्पना गर्न सिकदैन ।’
त्यस्तै बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान इन्जिनियरहरुले कुनै लोभ लालचमा नपरी आफ्नो पेशाप्रति प्रतिवद्ध भएर काम गर्नुपर्ने सुझाव सहित शुभकामना दिएकी छिन् । कार्यक्रममा खानेपानी, उर्जा तथा सिंचाईमन्त्री बसन्त मानन्धरले शुभकामना मन्तव्य राख्दै आसन्न निर्वाचनबाट सक्षम, सबल र इन्जिनियरहरुको हकहितका लागि काम गर्न सक्ने नेतृत्व चयन हुन पर्ने बताए ।
नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी माघ ७ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम आइतबार हेटौंडामा भएको छ । एशोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति र बागमती प्रदेशको दोस्रो कार्यकारिणी समितिको निर्वाचनका उम्मेदवारहरुले आफ्नो परिचयसंगै चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सुभेच्छुक इन्जिनियर्सहरुले एकीकृत प्रगतिशील इन्जिनियर्स समूह नामक चुनावी प्यानल बनाई निर्वाचनमा जान लागेका हुन् । सो प्यानलबाट केन्द्रीय सभापति र बागमती सभापतिको उम्मेदवारमा क्रमश डा. हरिराम पराजुली र गिरीधर मिश्र रहेका छन् ।
एशोसिएसनको केन्द्रीय उपाध्यक्षमा आ.न्हसला तुलाधर, महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा, कोषाध्यक्षमा इ. श्याम नारायण चौधरी, सह कोषाध्यक्षमा इ. स्मिता भट्ट प्यानलबाट उम्मेदवार रहेका छन् । त्यस्तै बागमती प्रदेशतर्फ उपाध्यक्षमा इ. शिवप्रसाद भण्डारी, सचिवमा इ. अमरचन्द्र निराला, सह सचिवमा इ. कमल पोखरेल र कोषाध्यक्षमा इ. उमेशजंग थापा उम्मेदवार छन् । परिचयात्मक कार्यक्रममा केन्द्र र बागमती प्रदेशका विभिन्न पदका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
एकीकृत प्रगतिशील इन्जिनियर समूह प्रचार प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले अध्यक्षता गरेका थिए भने आयोजकको तर्फबाट इन्जिनियर रविन पाठकलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुर अध्यक्षमा ज्ञानेन्द्र लामिछाने चयन भएका छन् । संघकाे ८ औं जिल्ला अधिवेशनले पुनः लामिछानेकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बेलीकुमारी दोङ र एक्काबहादुर डंगोल, सचिवमा जयराम धिताल, कोषाध्यक्षमा पञ्चबहादुर लामा, सहसचिवमा पुर्णबहादुर घलान र रेशम कोईराला तथा सदस्यहरुमा धर्मदत्त कुईकेल, दिपक लामा, हेमकान्त पौडेल, रोहित गिरी, शिवराज सञ्जेल, भरत कार्की, मोहन स्याङ्तान, विनोद श्रेष्ठ, श्रीकृष्ण भण्डारी, सन्तोष खड्का, रामकुमार बिक, विष्णु मुक्तान, बोधराज दुलाल, दिलबहादुर चौधरी, गोमा न्यौपाने, सीता बर्तौला रहेका छन् ।
हेटौंडामा भएको कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मानकुमारी नेपालीको प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका बागमती प्रदेशका उपाध्यक्ष प्रेमबाहादुर पुलामी (छिन्तु)को विशेष अतिथ्य रहेको थियो । अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादुर रेग्मी (किरण), युवा ईन्चार्ज जनक शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती प्रदेश अध्यक्ष शिव पोखरेल, प्रदेश सदस्य बिष्णु राना, अखिल नेपाल औद्योगिक मजदुर संघका बागमती प्रदेश अध्यक्ष होमबहादुर खड्का, अखिल नेपाल ट्रेड युनियन महासंघका मकवानपुर अध्यक्ष गंगा प्रसाद भट्टराई, पूर्व संयोजक प्रकाश पौडेल, संगठन विभाग प्रमुख रामशरण घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला सम्मेलनले १५ सदस्यीय युवा मजदुर र १५ सदस्यीय महिला मजदुर कमिटी पनि गठन गरेको छ ।
मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा–९ मा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ७३ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९, हेटौंडा सिमेण्ड उद्योग लिमिटेड र सिआन पुनर्स्थापना केन्द्रको सहयोगमा शिविर शिविर राखिएको थियो ।
शिविरमा मुटु, नसा, सुगर, हाडजोर्नी तथा पाठेघरको जाँच गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । स्वास्थ्य जाँच गराएका मध्ये १ सय ६० जनाको पाठेघरको जाँच गरिएको थियो । जाँच गराएका महिलाहरुमा जटिल स्वासथ्य समस्या नदेखिएको भण्डारीले बताए । सामान्य समस्या भने जचाँएका मध्ये ६० प्रतिशतमा रहेको पाइएको शिविरमा उपस्थित स्त्री रोग विशेषज्ञ डाक्टर तरन्नुम खातुनले जानकारी दिइन् ।

शिविरको लागि वीरगंजका डाक्टर खातुनसहित मुटु, पेट, छाती, डाइविटिज रोग विशेषज्ञ डाक्टर रोशन कुर्मी, नसा रोग विशेषज्ञ डाक्टर परमानन्द शाह, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ अजय यादव तथा प्रेसर तथा चिनी रोग विशेषज्ञ डाक्टर जमिल अख्तर तथा हेटौंडाकी डाक्टर सुस्मा हुज्दार ले स्वास्थ्य जाँच गरेका थिए ।

साथै वीरगंजबाट नै आएका अहेबहरु, परिवार नियोजन संघका स्टाफ नर्सहरु, चुरेहिल अस्पतालका स्टाफ नर्स तथा लामसुरे शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सहयोग गरेकाे हेटौंडा सिमेण्ड उद्योग लिमिटेडका स्वास्थ्य अधिकृत विनाेद लामीछानेले बताए ।
वडावासीको स्वास्थ्यप्रति सचेत हुनु आफ्नो जिम्मेवारी भएकोले वार्षिक रुपमा यस्ता शिविरहरु राख्दै आएको अध्यक्ष भण्डारीले बताए । शिविरमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको समेत उपस्थिती रहेको थियो । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महतले नागरिक स्वास्थ्यमा समयमै चासो राख्नाले ठुला जोखिमहरु टार्न सकिने भएकोले सचेत हुन आग्रह गरे ।
तस्बिर साैजन्य:विनाेद लामीछाने