मकवानपुर । नर्सिङ दिवसको अवसरमा मकवानपुरका अग्रज नर्सहरु सम्मानित भएका छन् । ६० औं नर्सिङ दिवसको अवसरमा शनिबार मकवानपुरका अग्रज ३ जना नर्सहरुलाई सम्मान गरिएकाे हो ।
मकवानपुर सहकारी अस्पतालले मकवानपुरका अग्रज नर्सहरु बुनु शर्मा, चम्पा कोजु र धन राईलाई सम्मान गरेको छ । सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा अग्रज नर्सलाई सम्मान गर्नुका साथै स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भिमसागर गुरागाईंलाई स्वागत एवम् सम्मान गरिएको थियो ।
यस्तै सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको छ।
मकवानपुर । मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना विद्यार्थीलाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरिएकाे छ । सिविन नेपाल, बाल हेल्पलाईन मकवानपुरले आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेकाे हाे ।
विद्यार्थीलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीमा कपि, कलम, झोला, विद्यालय पोशाक, स्वेटर, क्यालकुलेटरलगायत रहेका छन् । सिविनबाट प्राप्त शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष गाैतमले अभिभावकबिहिन विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले नै अभिभावकत्व ग्रहण गरी बालबालिकाको अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने बताए। विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विभिन्न सहयोगी संस्थासँग समन्वय गरेर विद्यार्थीको अध्ययन कार्यलाई निरन्तरता दिन सहयोग गरिने बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक ईश्वर रिाजल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुस्मिता बस्नेतलगायतको सहभागिता रहेको थियो ।

मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशले आफ्नो लोगो र स्लोगन सार्वजनिक गरेको छ ।परिषदले प्रतिस्पर्धाको आधारमा छनाैट भएकाे लोगो र स्लोगन शुक्रबार एक कार्यक्रमको विच सार्वजनिक गरेको हो ।
प्रदेश युवा परिषद्को नियमावली २०७७ को दफा ४ को उपदफा २ मा परिषदको छुट्टै छाप हुने ब्यवस्था रहेकाे छ । ‘छापमा प्रयाेगकाे लागि लोगो छनाैट गरिएकाे हाे ’ प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाई भने– ‘ प्रतिष्पर्धाकाे आधारमा परिषद्काे स्लोगन समेत छुट्टै कायम गरिएकाे छ । परिषद्ले लोगो र स्लोगनकाकाे लागि ३ पटकसम्म राष्ट्रिय पत्रिकामा विज्ञापन गरिएकाे थियाे । प्राप्त लोगोहरु मध्ये ५ जना विज्ञको टोली र परिषद्का सदस्यहरुले उत्कृष्ठ ३/३ वटा लोगो र स्लोगन छनोट गरेको थियो ।
उत्कृष्ठ ३ स्लोगन मध्ये मकवानपुरका पत्रकार तथा साहित्यकार केशव सुवेदी समर्पणको ”सिर्जनशीलता र उद्यमशिलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण ”लाई परिषद्ले पारित गरेको उपाध्यक्ष चौलागाईले बताए । त्यस्तै उत्कृष्ठ ३ लाेगाे मध्ये मकवानपुरकै निश्चल पराजुलीकाे बनाएकाे त्रिकोणको बीचमा बागमती प्रदेशको नक्सा रहेको लोगो परिषद्ले पारित गरेका उनले बताए ।
परिषद्ले पारित गरेकाे स्लोगन निर्माण गर्ने सुवेदी समर्पणलाई ३० हजार र लोगो निर्माण गर्ने पराजुलीलाई ५० हजार प्रदान गरिएको छ ।

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको छ मन्त्रालयले जनाएकाे छ ।
साेही अवधीमा काेराेना संक्रमित १० जनाको मृत्यु समेत भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ । यसैगरी विगत २४ घण्टाकाे अवधीमा ५ हजार ४ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । याे सँगै हालसम्म ८ लाख ४२ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय ५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण
मकवानपुरमा पछिल्लाे २४ घण्टामा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १ जनामा पीसीआर र १ सय ६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना पुष्टि भएकाहरुमा ५९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि,९ जना थाहा नगरपालिका भित्रका,१० जना मनहरी गाउँपालिका भित्रका र २ जना भीमफेदी गाउँपालिका भित्रका रहेका छन् भने १ जना राक्सिराङ्ग गाउँपालिकाको रहेका छन् ।
यसैगरि,जिल्लामा आज थप २ सय ४६ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार १७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।
मकवानपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ गठबन्धन दल चुनावबाट भाग्न खाेजेकाे बताएका छन् । सरकारले स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागे मुलुकले थेग्नै नसक्ने आन्दोलन हुने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरले विहीबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार निर्वाचन सार्ने दाउ हेरिरहेको भन्दै नेकपा एमालेका जनवर्गीय संगठनले त्यसको सशक्त प्रतिकार गर्ने बताए ।
सत्तागठबन्धन दलले स्थानीय तह प्रदेश संघीय तीनै तहको चुनाब एकै पटक गर्ने गरी भनाइहरु सार्वजनिक भइरहेकाेमा बस्नेतले उक्त भनाइ कुनै तर्क नभइ कुतर्क रहेको बताएका छन् । नेता बस्नेतले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् । एमाले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको रहेको समेत उनले दाबी गरे ।
नेता बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम नेकपा एमालेलाई कमजोर बनाउने षड्यन्त्रमै केन्द्रीत भइरहेको समेत आरोप लगाएका छन् । स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई आफ्नो मन्त्रालयको के काम हो भनेर थाहा नभएको अरुकाे बिरोध गर्नमै व्यस्त रहेको उनले आरोप लगाएका छन् । सरकारका मन्त्रीहरु मन्त्रालयको काम कारवाहीमा केन्द्रित हुन नसकेको उनले बताए ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले चरणवद्धरुपमा वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने बताए । पाैडेलले सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध युवासंघ संघर्षमा उत्रिन बाध्य भएको बताए । पौडेलले अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि बिहीन बनाउन लागेको आरोप लगाए ।
प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बतौला, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ ,युवा संघ केन्दिय आर्थिक विभाग प्रमुख सन्तोष चौलगाई लगायतको उपस्थिती थियो ।