मकवानपुर । नेकपा (एमाले) मकवानपुरमा मनोनित गरिएका जिल्ला सदस्यले सपथ लिएका छन् । मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले पद तथा गाेपनियताकाे सपथ लिएका हुन् ।
बिधान अनुसार एमाले मकवानपुरको दोस्रो बैठकले जिल्ला सदस्यमा २७ जनालाई मनोनित गरेको थियो । जिल्ला कमिटि सदस्यमा मनाेनित हुनेहरुमा बिष्णु ढकाल, नरेन्द्र रिजाल, ईश्वर मैनाली, उपेन्द्र अधिकारी, कुमार केसी, जगन्नाथ पाण्डे, टेकबहादुर डिमडुङ, धरम लामा, प्रेम बोलखे, बखतलाल चेपाङ, मिलन पाठक रहेका छन् ।
यसै गरी राजन दंगाल, विमला बर्तौला, शालिकराम ढकाल, शिवहरि दाहाल, शुभराज थिङ, सन्तोष चौलागाई, सन्तोष पौडेल, सरिता परियार, सानुभाई विष्ट, सुधिर थापा, सुनिल लोप्चन, सुरेन्द्र विष्ट, सुवोध रिमाल, विष्णु चौंलागाई, रामचन्द्र न्यौपाने, शिशिर सुवेदी पनि मनोनित सदस्यमा रहेका छन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए ।
एमालेले पछिल्लो समय जिल्लाभर निर्वाचन अभियान सञ्चालन गरिरहेको छ । जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल,राष्ट्रियसभा सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।
मकवनपुर । मकवनपुर प्रहरीले ४२ किलाे गाजाँसहित ४ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले मकवानपुरकाे मनहरीबाट मंगलबार उक्त परिमाणकाे गाजाँसिहत उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मनहरी ६ स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख ४४०९ नं. को ट्रकलाई जाचँ गर्दा चालक बस्ने सिट पछाडी लुकाई ल्याएको लागुऔषध गाँजा ४२ किलो फेला गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा ट्रक चालक मनहरी गाउँपालिका वडा नं. ६ बस्ने ३१ बर्षको ईश्वर पाठक, सहचालक हेटौंडा ११ बस्ने २२ बर्षको सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम १२ बस्ने ६० बर्षको राजेश प्रसाद रौनियार र सोही स्थान बस्ने ४० बर्षकी रेश्मा भरलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको हो ।
४ जनालाई लागुऔषध गाँजा र ट्रकसहित नियन्त्रणमा लिइएको विषयमा थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यसमितिमा १० जना सदस्य मनोनित गरेका छन् । सभापति लामाले विधानको धारा १२(७) को ड बमोजिम १० जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा प्रभातकुमार दाहाल, रामबहादुर बानीयाँ, गोपिलाल विक, अर्जुन चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्यय, मोमला दोङ, भुवनलाल श्रेष्ठ, नरोज पौडेल रहेका छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बोमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार आपसी विवादको क्रममा विकले सुनारलाई कुटपिट गरि धकेल्दा अचेत भएका उनकाे हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सीमान्तीकृत र विपन्न समूहलाई लाभ पुर्याउने गरी कार्य गर्नु बताएका छन् । हेटौँडामा जातीय छुवाछुत अन्त्यका लागि सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख शर्माले कानुनी व्यवस्था तथा संरचना थप प्रभावकारी बनाउँदै जातीय वर्ग वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्नु पर्ने बताएका हुन् ।
सम्पूर्ण दलित अधिकारकर्मी, अभियान्ताहरुलप्रति सम्मान व्यक्त गर्दै भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गर्न अहिलेकाे आन्दोलनले मात्र नपुग्ने शर्मा बताए । उनले भने, ‘कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुनुहुँदैन,मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गर्न अझै नीति तथा कार्यक्रम निर्माण गर्न आवश्यक रहेको छ ।’
कार्यक्रममा बागमती प्रदेश सभासदस्य मुनु सिग्देलले दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको उल्लेख गर्दै २१ औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताइन् । उनले जब सम्म आर्थिक र समाजिक विकास हुँदै तव सम्म छुवाछुतको अन्त्य नहुने उद्घोष गरिन्। निर्णय तहमा पिछडिएका समुदायका व्यक्तिहरु पुग्न जरुरी रहेको भन्दै अबको स्थानिय तहमा महिलालाई आगडि बढाउन महिलाले नै अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
नेकपा माओवादि केन्द्रका सचिव भिम पाख्रिनले निति निमार्ण बनाउन सरकारले खुट्टा कमाईरहेको बताए। उनले विभिन्न ऐन, नियम व्यवस्था बने पनि जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन अन्त्य नभएको भन्दै सरकारले नै यस बिरुद्ध अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका अवधारण पत्र प्रस्तुत गर्दै मानव अधिकारी तथा जातिय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष कमल कुमार विश्वकर्माले सरकारमा बस्नेहरुकै कारण जातीय भेदभाव तथा छुवाछुत भएकाे बताए । उनले विभिन्न दलित अधिकारीकर्मीहरु तथा अभियान्ताहरुले सदनदेखि सरकार र गाउँदेखि शहरसम्म विभिन्न कार्यक्रम गरेता पनि सरकारले यस दिवसलाई वेवास्ता गरेको बताए । सामाज जातीय भेदभाव निर्मुल नहुने कारण सरकारको उदासीनता भएको विश्वकर्माले बताए ।
जातीय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने सहभागिहरु त्था अधिकारकर्मीहरुको माग छ । छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत सहभागिहले जोड दिएका छन् ।
मानव अधिकार तथा जातिय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष विश्वाकर्मा तथा बागमती प्रदेश प्रमुख शर्माको प्रमुख आथित्थ्यतामा भएकाे कार्यक्रममा हेटौँडा उपमहानगर पालिकाकी उपमेयर मिना लामा,नेपाल उत्पिडिन जातीय मुक्ति समाजका केन्द्रीय सदस्य केशव रसाईली,गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष आरती पाठक, सामाजिक विकास मन्त्रालयकी चन्द्रा ब्यान्जन्कार,मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंग बहादुर विक लगायतले छुवाछुत तथा जातिय भेदभाव अन्त्यको गर्न सरकार लाग्नुपर्नेमा जोड दिएका थिए ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सज् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । हेटाैडमा पनि मानव अधिकार तथा जातिय भेदभाव सरोकार केन्द्र नेपालको आयोजनामा ५७ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइएको हो ।