मकवानपुर । मकवानपुरे कवि छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह गृह विमोचन गरिएको छ । गत चैत १८ गते नेपाली लेखक संघकाे केन्द्रीय अधिवेशनमा पोखरामा विमोचन गरिएको कविता संग्रहको मकवानपुरे साहित्यकार छविले शुक्रबार आफ्नै जिल्लामा विमोचन गराएका हुन् ।
बरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशी र छवि अनित्यका बुवा आमाले तुइनको बाटोको गृह विमोचन गरेका हुन् । समकालीन विश्व साहित्य र नेपाली कवितामाथि साहित्यकारद्वय एलबी क्षेत्री र सुमन पोखरेलले चर्चा गरेका थिए ।
कृतिमा अझै निखार ल्याउने प्रयत्न रहेको बताउँदै कार्यक्रममा छविले “फुलको बिम्बमा कविता”, “तिमी जो कोहीँ हौँ” र “राष्ट्रवाद” शिर्षकका कविता बाचन गरेका थिए । २ दशकदेखि कविता लेख्न सुरु गरेका छवि अनित्य नेपाली लेखक संघ मकवानपुर अध्यक्ष हुन् । शिक्षण पेशामा आवद्ध उनकाे ८ वर्ष अघि ‘हल्ला’ कविता संग्रह प्रकाशित भएकाे छ ।

मकवानपुर । नेपाल विवेकशील पार्टीले हेटौंडा १७ मा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार भएकाे पार्टीको वडास्तरीय भेलाले सुमन आचार्यको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । आसन्न स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट १७ नम्वर वडाध्यक्ष उम्मेदवार कृष्णदेव भण्डारीको चुनावी अभियानलाई अघि बढाउने उद्देश्यका साथ समिति गठन गरिएको बताइएकाे छ ।
स्थानीय निर्वाचन परिचालन समिति सदस्यहरुमा अमोद भण्डारी, रविभक्त दाहाल, नविन विष्ट, निररमण रुपाखेती, मिलन ढकाल, सृष्ठि कठायत, सृष्ठि विश्वकर्मा, सन्तोषी खड्कालगायत रहेका छन् । चैत २६ गते शनिवारबाटै चुनावी अभियानलाई तीव्र पारिने समितिका संयोजक आचार्यले बताए । १७ नम्बर वडा अध्यक्षका उम्मेदवार भण्डारीले आफूहरु मानवता, स्वतन्त्रता, समानता र स्वाभिमान पहरेदार भएको बताउँदै यस पटक जनताले आफूहरुलाई नै मौका दिने र जनहितका थुप्रै काम गर्ने योजना रहेकाे बताए ।
भेलामा पार्टीको बागमती प्रदेश समिति संयोजक सिंहबहादुर मोक्तान, र प्रदेश समिति सदस्य सुजन मल्लले सम्बाेधन गरेका थिए।
मकवानपुर । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) र पार्टी को संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरि,बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति बनाएको छ ।
बैठकमा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला,केन्द्रीय सदस्यहरु बालकृष्ण कार्की र अम्बिका खतिवडा,जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
हेटाैडाकाे १६ वडामा एमालेकाे वडा अध्यक्ष सिफारीस
Tags: No Comments
मकवानपुर /स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १६ वटा वडाका अध्यक्षहरू सिफारिस गर्ने काम टुङ्याएको छ ।
उपमहानगरपालिकाको मेयर उपमेयरबारे आज २५ चैतमा उमेदवार टुङ्याउने भनिएता पनि आगामी २७ चैतसम्मको लागि म्याद लम्ब्याईएको छ । पार्टी भित्र आकाक्षि बढि भएपछि मिति लम्ब्याईएको हो ।
बागमती प्रदेश राजधानी तथा प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाको वडा ३, १० र १७ बाहेक अन्य वडामा वडाअध्यक्ष भने टुङ्याएको छ । पार्टी अध्यक्ष एकालाल श्रेष्ठका अनुसार यी मध्ये केहि वडाहरुमा सर्वसम्मत उमेद्वार छनौट भएका छन्, भने केहि वडाले वडा अध्यक्षमा ३ जनासम्मको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।
वडा अध्यक्षको लागि हेटौंडाको वडा नम्बर १ मा सर्वसम्मत उमेद्वार छनौट भएको छ । १ नम्बर वडामा उत्तमप्रसाद पौडेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा कमिटीको अध्यक्ष समेत रहेका पौडेलको नेतृत्वमा वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् ।
वडा नम्बर २ बाट बर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेद्वार बनेका छन् । वडा कमिटिको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाएको हो । वडा नम्बर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी रहेका छन् ।
वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ । एमाले ४ नम्बर वडा कमिटीको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरेको छ । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएको छ भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।
एमालेले हेटौंडा–५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटीले वडा अध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती बिक अहिले पनि वडा सदस्य हुन्, भने राई र सिलवाल नयाँ हुन् ।
हेटौंडा–६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन् । वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । अन्य सदस्यहरू नाम सिफारिस बाकी रहेको छ ।
यस्तै एमाले ७ नम्बर वडा कमिटीले वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई सवसम्मत उमेदवार बनाउने निर्णय गरेको हो । यस्तै सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना बिक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । रिमाल हाल जिसस सदस्य हुन् ।
त्यसैगरी हेटौंडा ८ को अध्यक्षमा एमालेको तर्फबाट तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा युवा नेता बोलबहादुर कार्की, यसोधा उप्रेती र रमेशकुमार पौडेल छन् । वडा सदस्य खुल्लामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस हुनु भएको छ । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफासिर हुनु भएको छ ।
त्यस्तै एमालले वडा नम्बर ९ मा युवा नेता नरेन्द्र भण्डारी सहित ३ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरेको छ । पार्टी वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली हालपनि पनि वडा सदस्य हुन भने अर्याल नयाँ हुन् ।
हेटौंडा–११ को वडा अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ । दाहाल र न्यौपाने हाल वडा सदस्य हुन् ।
यसैगरी हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौंडा– १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा आशिष थापा, बुद्द गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मतरुपमा सिफारिस भएको पार्टी अध्यक्ष श्रेष्ठले बताए।
त्यस्तै वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष सिफारिस भएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालले हेटौँडा–१६ बाट बसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले लामिछानेलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा बिश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै एमालेले हेटौँडा–१८ मा हालका अध्यक्ष अनिलकुमार बानीयाँलाई नै वडाध्यक्षमा उम्मेद्वार बनाएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष समेत रहेका बानीयाँलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । सदस्यहरुमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुईकेल र दलित महिला सदस्यमा पुजा मग्रातीलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१९ मा अध्यक्षका लागि तीनजना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बैठकबाट अध्यक्षका आकांक्षी बाहालवाल वडा अध्यक्ष नरनाथ सुवेदी सहित रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ । सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएका छ्न । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । इन्दिरा तामाङ र शान्ति बिक हाल पनि वडा सदस्य हुन् ।
बाकी ३ वटा वडामा सक्दो चांडो उम्मेदवारी टुङ्याइने पार्टीले जनाएको छ ।
मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान आजबाट सुरु हुदैछ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा आज शुक्रबारदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएकाे छ ।
निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उक्त अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।
खोप अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएको छ । ८० प्रतिशतभन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले बताए । प्रदेशमा खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना स्वास्थ्यकर्मी, १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुने छन् । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटिएका छन् ।
यसैगरी मकवानपुरमा खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गर्ने छनन् । खाेप अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचारप्रसार, खोपको उपलब्धतालगायत तयारी पूरा भएको स्वास्थ्य कार्यालयका खाेप कार्यक्रम फाेकल पर्सन बासुदेव रिमालले बताए । सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको उनले बताए ।
मकवानपुरमा संचालन हुने खोप अभियानमा १ लाख ८ हजार ४ सय ८६ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले बताए । गुरागाईका अनुसार जिल्लामा कुल ६ सय ८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै जिल्लामा अभियानमा ८ सय ७० जना खोपकर्ता र १ हजार ३ सय ९० जना स्यमसेवक परिचालित हुने छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १ सए ६३, थाहा नगरपालिकाका ८ हजार ६ सय १६, बागमती गाउँपालिकाका ६ हजार ६ सय २८, बकैयाका ८ हजार ९ सय ४८, मनहरीका १० हजार ३ सय ७२, राक्सिराङका ५ हजार ६ सय ९२, कैलाशका ४ हजार ८ सय ३८, भीमफेदीका ४ हजार ७ सय ५८, मकवानपुरगढीका ५ हजार ३ सय ३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको गुरागाईले जानकारी दिए । लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत उनले बताए ।
यसै गरी हेटौंडा उपमहानगरपालिकामा खोप अभियान चैत २५ देखि बैशाख ५ गतेसम्म चल्ने हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले बताए । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ । देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियानले सहयाेग पुग्ने बताइएकाे छ ।
मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ । ३ वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । विगत ५ वर्षको तथाङ्क हेर्दा हरेका वर्ष ४ लाख ५० हजार जनामा टाइफाइडको संक्रमण देखिने गरेको छ ।
‘हेटौंडा उपमहानगरपालिकामा ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई घरमै निमन्त्रणा कार्ड पठाइएकाे छ’ चौलागाईले भने, ‘उपमहानगरपालिकामा १ सय १५ विद्यालय केन्द्र र २० वटा स्वास्थ्य संस्था केन्द्र निर्धारण गरेका छौ ।’ कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटेपछि मात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्ने बताइएकाे छ । यस खोप लगाए पस्चात सामान्य ज्वरो आउने,सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने जस्ता सामान्य असर देखिने सक्ने बताइएकाे छ ।
सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।