मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी
Tags: No Comments
मकवानपुर / स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक पालिका र वडाको प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् ।
१० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका हुन् । जसमा एक महिलालाई हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर मिलेको छ भने ३ महिलालाई वडाको नेतृत्व गर्ने अवसर जुटेको छ ।
बागमती प्रदेशको एकैमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकामा मिना लामाले अबको ५ बर्ष नेतृत्व गर्नेछिन । उनले सत्ताधारी गठबन्धनको तर्फबाट मेयर पद जितेकी हुन् । हेटौंडाको पुर्व उपमेयर समेत रहेकी लामा नेकपा एकीकृत समाजवादी आवद्ध हुन् । अबको ५ बर्ष हेटौंडामा लामाले अभिभावकत्व गर्ने छिन् ।
यसैगरी हेटौंडाकै एउटा वडामा महिला नेतृले चुनाव जितेकी छिन् । हेटौंडाको वडा नम्बर ११ मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेकी जुना दाहालले पनि अबको ५ बर्ष वडामा नेतृत्व गर्ने अवसर पाएकी हुन् ।
पुर्व वडा सदस्य समेत रहेकी दाहालले आफ्नो निर्वाचन क्षेत्रमा आगामी दिनमा दलको एजेन्डा भन्दा माथि उठेर स्थानीय सवालमा लागि पर्ने बताइन् । “बिगत ५ बर्षमा धेरै काम सिकेको छु, अब थप जिम्मेवारी प्राप्त भएको छ, कुसलतापुर्वक पुरा गर्ने छु” दाहालले भनिन् ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका कांग्रेसका २ नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर इतिहास रचेका छन् ।

वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुबैले चुनाव हारेका थिए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाईवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदावार बनेकी सरला बोलखे बिजयी भएकी थिइन्, भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।
यस पटक दुबैजनाले नेपाली काँग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने याेजनाले अब वडा बनाउने बताएकी थिइन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । बिजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको बिकासमा लागिपर्ने जिम्बाले बताइन् ।
१० स्थानीय तह रहेको मकवानपुरमा लामा मात्रै एक महिला स्थानीय तह प्रमुख भएकी हुन् । अन्य ९ पालिकामा ९ प्रमुख पुरूष नै चुनिए । यतिमात्रै हैन गठबन्धनको कारण अघिल्लो निर्वाचनमा भन्दा यसपटक महिलाको प्रतिनिधित्व भने खुम्चेको छ । अघिल्लो पटक १० मध्ये ९ वटा पलिकामा महिला उपप्रमुख थिए, यसपटक गठबन्धनको कारण मकवानपुरमा उपप्रमुखमै पनि महिला आउन पाएनन् ।
यसपटक जिल्लाको १० मध्ये ६ वट पालिकामा प्रमुख उपप्रमुख दुबै पुरूष निर्वाचित भएका छन् । ४ वटा पालिकामा मात्रै लैङ्गक समाबेशी प्रतिनिधित्व भएको छ ।
प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिवार्य भनिएता चुनाव जित्नकै लागि राजनीतिक दलहरू गठबन्धन गर्दा महिला पाखा लागेका हुन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेकपा एमालेका फुर्वा दोर्जे लामा विजयी भएका छन् । शुक्रबार सार्वजनिक मत परिणाम अनुसार ९ सय ७२ मत प्राप्त गरी लामा वडाध्यक्षमा विजयी भएका हुन् ।
लामाका प्रतिस्पर्धीहरु नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रमेशद्वज कार्कीले ६ सय ८४ मत र नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार सन्तोष न्यौपानेले ३ सय ८ मत प्राप्त गरेका छन् । वडामा २ हजार ४ सय २२ मत खसेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को अध्यक्षमा ललित घलान विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणनाकाे नतिजा अनुसार अनुसार, घलान २ हजार २ सय ७८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । यस्तै, उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २ सय ७२ मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २ सय १६ मत प्राप्त गरेका छन् । हेटौंडा १२ मा ४ हजार ५ सय २५ मत खसेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को अध्यक्षमा सुकराम केसी विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणना अनुसार वडाध्यक्ष पदमा केसी २ हजार ३ सय २२ मतसहित निर्वाचित भएका हुन् ।
केसीले अर्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीलाई ९ सय ८० पराजित गरेका हुन् । पराजित भण्डारीलाई १ हजार ३ सय ४२ मत प्राप्त भएको छ । केसी यस अघी २०७४ सालकाे स्थानीय तह निर्वाचनमा साेही वडाकाे वडा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए ।
नेकपा एमाले विभाजन पछी केसीले नेकपा एकिकृत समाजवादी राेजेका थिए । गठबन्धनकाे तर्फबाट नेकपा एसबाट वडा अध्यक्षकाे उम्मेदवार भइ विजयी भएका हुन् । एक कार्यकाल सँगै काम गरेका निवर्तमान वडा अध्यक्ष भण्डारीलाई केसीले हराएका छन् । हेटाैडामा नेकपा एकिकृत समाजवादी वडा अध्यक्षमा ९ नम्बर वडामा मात्र जीत हासिल गरेकाे छ ।
मकवानपुर । बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सर्केश घलान तथा उपाध्यक्षमा नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिना विजयी भएका छन् ।
शुक्रबार सम्पन्न मत गणना अनुसार घलान ७ हजार ३ सय ८४ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलानले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २ सय १८ मतान्तरले पराजित गरेका हुन् । पराजित मगरलाई ६ हजार १ सय ६६ मत प्राप्त भएको छ ।
यस्तै, पालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका तिमल्सिना ७ हजार ९ सय ३५ मतसहित निर्वाचित भएका हुन् ।