थाहानगर/ उत्तरी क्षेत्रको एकमात्रै उच्च शिक्षा प्रदान गर्ने पालुङ बहुमुखी क्याम्पसलाई प्रदेश सरकारबाट निरन्तर सहयोग हुने बागमति प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।
पालुङ बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेलाको उद्घाटन गर्दै पालुङ क्याम्पसको लागि यो बर्ष पनि सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँ बिनियोजन गरेको बताइन ।
मन्त्री मोक्तानले थाहा नगरबाट सामाजिक बिकास मन्त्रालयमा शैक्षिक व्यवस्थापन, सुधार, बिकासकालागि प्राप्त भएको सबै योजनालाई संबोधन गरिएको बताइन ।
परिषद् भेलामा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले क्याम्पसको बार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्दै पालुङ क्याम्पसलाई मकवानपुर उत्तरी क्षेत्रको महत्त्वपूर्ण शैक्षिक गन्तब्यको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए ।
परिषद् भेलामा क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको सहितको प्रतिवेदन प्रस्तुत गरे । क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नारायणी यातायात ब्यवशायी संघका महासचिब सरोज कुमार खनाल, जनकल्याण माबिका प्रधानाध्यापक तथा क्याम्पस ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सानोभाई कार्की, थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा, भूमि सम्बन्धि आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा, नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादव रायमाझी लगायत परिषद सदस्यहरु, क्याम्पस संचालक समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम व्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरिएको थियो । सोहि अवसरमा उत्कृष्ट प्राध्यापक अंग्रेजी विषयका गोपाल उप्रेती, बिगत १३ बर्ष क्याम्पस प्रमुखको जिम्मेवारीमा रही क्याम्पसको प्रगतिको लागि खटिएकोमा पूर्व क्याम्पस प्रमुख रामहरि अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै क्याम्पसको सुचना प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याएबापत श्रवण लामालाई सम्मानित गरिएको थियो।
यसैबिच शुक्रबार भएको परिषद् भेलाले पुनः बिष्णु बहादुर बिष्टको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सहदेव ढकाल,सरोज कुमार खनाल, सगुन कुमार ढकाल, रिता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमल कुमार ढकाल, सुदर्शन कार्की र मनोज कुमार अधिकारी रहेको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
निर्वाचित संचालक समितिको पहिलो बैठक फागुन ९ गते बस्ने र बैठकले पदाधिकारी र अन्य सदस्यहरुको मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बिष्टले बताए ।
मकवानपुर । हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को खेलमा मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजकको मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जीतमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए ।
सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मनाङका कमल थापाले गोल गरे ।
मकवानपुरको लागि एक गोल साहिदले गरेका थिए । शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच खेल हुनेछ ।
मकवानपुर। मकवानपुरकाे बकैया गाउँपालिकामा भएकाे निःशुल्क आखाँ शिविरमा ३७ जनाकाे अप्रेशन गरिएकाे छ । बकैया जेसिसको आयोजनामा पूर्वि मकवानपुरको बकैया ४ गरगरेमा भएकाे शिविरकाे दाेस्राे दिनसम्म ४ सय २४ जनाले सेवा लिएका छन् ।
बकैया आधारभूत अस्पतालमा तीन दिनसम्म सचालन हुने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरको पहिलाे दिन १ सय ७५ र दोस्राे दिन आज २ सय ४९ जनाकाे आखाँ परीक्षण गरिएकाे हाे । बकैया जेसिसकाे आयाेजना तथा बकैया गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा ५० जनामा मोतिविन्दुको समस्या देखिएकोमा ३७ जनाको सफल परिक्षण गरिएको बकैया जेसिसका कार्यकारी उपाध्यक्ष जितेन्द्र दाहालले बताए ।
आँखा सम्बन्धी समस्याका बिरामीलाई लक्षित गर्दै बकैया जेसिजले गाउँपालिका, आँखा अस्पताल त्रिपुरेश्वर र आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । जेसिसका कार्यकारी उपाध्यक्ष शुसिल घिमिरेको संयोजनमा भएको कार्यक्रममा बकैयाका सयौँ आँखामा समस्या भएकाहरुलाई सहयोग गरेको छ । शिविरले आँखामा समस्या भएपनि अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरुलाई राहात दिएको हो । शिविर विहीबारसम्म सञ्चालन हुने जेसिसका सचिव सरोज ढुंगेलले बताए ।
हिमालयन शेर्पा अन्तिम ८ मा प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौ अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै शेर्पाले अन्तिम ८ मा प्रवेश पाएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको चौथो खेलमा शेर्पाले बागमतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरे । वागमतीको तर्फबाट सनम धिमालले ६५औ मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे ।
बुधबार प्रतियोगिताको पाचौ खेल एभिनर एफसी क्यामरुन र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ । विरगन्ज युथले सोमबार एनाआरटी क्लब काठमाडौलाई पराजित गरेको थियो । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन क्लब, एक अन्तराष्ट्रिय क्लब र ४ मोफसलका टीमले सहभागिता जनाएका छन ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
झरनाले १० स्रष्टाहरूलाई सम्मान गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ काे अवसरमा सष्ट्रा सम्मान गर्न लागिएकाे हाे ।
झरना साहित्य परिवारले हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानकाे जानकारी गराएकाे हाे । यस बर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान २०७९ बाट डा. जीवेन्द्र देव गिरी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।
यसैगरी साहित्यको मुक्तक विधातर्फ सरु भक्तलाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेकाे शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएकाे हाे । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेकाे झरना साहित्य परिवारले जनाएकाे हाे ।
जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नवराज शर्मालाई बाबुलाल-भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् । यसैगरी पत्रकारितकाे माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएकाे भन्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो । उक्त सम्मानकाे राशी नगद ११ हजार १ सय ११ रहेकाे छ । उक्त पुरस्कार गौतमको माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेकाे खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेकाे सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेकाे सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेकाे खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । याे पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव उपासकले बताए । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने जनक माध्यामिक विद्यालय भीरकाेट बकैयामा हुने सचिव उपासकले जानकारी दिए ।
उनका अनुसार पहिलाे दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी बकैया बिशेष रचना वाचन पनि पहिलाे दिन नै हुनेछ । यसैगरी कला साहित्य महाेत्सवकाे दाेस्राे दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहश, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएकाे छ ।