मकवानपुर । माइती नेपाल मकवानपुरले संस्थाको ३१ औं बार्षिक उत्सवको अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
माइती नेपाल मकवानपुरको आयोजनामा हेटौंडाको बसपार्कमा सामुदायिक प्रहरी सेवाको समन्वयमा आज सचेतनामुलक कार्यक्रम गरिएको हो ।
हेटौंडा बसपार्क रहेका सवारीका यात्रुहरू, चालकहरू र आसपासको होटलहरूमा माइती नेपालको सचेतनामुलक प्रकाशन बितरण गरिएको हो । साथै सार्वजनिक स्थलहरूम सचेतनामुलक पर्चाहरू टांसिएको थियो । मानव बेचबिखन विरुद्ध, सुरक्षित वैदेशिक रोजगारबारेको सन्देशमुलक प्रचाहरू टांस्ने तथा बितरण गर्ने काम गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् ।

कार्यक्रममा प्रहरी चौकी इन्चार्ज रामनारायण यादब, प्रहरी हवल्दार सीता खत्री, सानाहातहरू नेपालका दिकम्बर रूपाचा, माइती नेपाल मकवानपुरको मन लामा, संस्थाको विभिन्न तालिममा सहभागी किशोरीहरूको सहभागीता रहेको थियो ।

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश बर्तौलाले नेपालकै पहिलो हेटौडा काठमाडौँ रोप-वेको उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन ।
नेकपा एमाले संसदीय दलको सचेतक समेत रहेका बर्तौलाले विहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै २०२० सालमा हेटौडाको चौकिटोलबाट काठमाडौँको मातातिर्थसम्म करिव ४२ किलोमिटर लामो रोप-वे संचालनमा आएकोमा २०५६ सालबाट बन्द रहेको उल्लेख गर्दै नेपाल सरकारले २०५९ सालदेखि औपचारिक रुपमा बन्द गराएको बताए ।
‘अहिले खिया लागेर जिर्ण अवस्थामा रहेको उक्त रोप-वे आफ्नो निर्वाचन क्षेत्रको जनताको छानोमाथि तुन्द्रुंग-तुन्द्रुंग झुन्डिएर रहेको छ’ उनले भने कुनै पनि समयमा त्यो लट्ठा चुंडेर हुने मानवीय तथा भौतिक क्षतिले समस्या आउन सक्छ ।’ शुन्य समयमा सांसद बर्तौलाले त्यसको उचित व्यवस्थापन गर्न सदनमा सरकारको ध्यानाकर्षण गराए ।
जिर्ण रोप-वेको संरचनाको ८ वटा टर्मिनल छन् भने ७ स्टेशन छन् । त्यतिबेला ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग हुन्थे । झण्डै एक हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको यो रोप-वेले विहानदेखि बेलुकसम्म झण्डै २५० टन सामान ओसार्थ्यो बर्तौलाले संसदमा जानकारी गराए ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा काठमाडौँमा अनिकाल परेपछि मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप-वे लाइन बनाएका थिए । यही रोप-वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गरेर काठमाडौँको अनिकाल टारेका उनले संसदमा भने गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी यिनै डिब्बामा लोड गरिन्थे । यो रोप-वेलाई जुद्धसम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए र त्यसपछि यसको लम्बाई ४२ किलोमिटर भयो ।
‘२०११ मा बाढीले धोर्सिङको पावर हाउसमा क्षती पुग्यो र रोप-वे बन्द भयो । त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजना ९२०१३-२०१८० मा यो रोप-वे विस्तारको योजना बनायो । २०१६ सालबाट काम थालियो’ उनले रोप वेको इतिहास सम्झाउदै भने ‘अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर रोप-वे विस्तार गरियो । त्यो समयमा एक किलो सामग्री ढुवानी गर्न ५ पैसा लाग्थ्यो र त्यसभन्दा अघि त झन् एक पैसा मात्रै लाग्थ्यो । २०५४ सालमा रोप-वेको भैंसेस्थित सबस्टेसनमा समस्या आयो र ट्रान्सर्फमर बिग्रियो । उक्त ट्रान्सफर्मर मर्मत गर्न ४-५ लाख आवश्यक पर्यो । तर, सरकारले खर्च गरेन र बन्द भयो ।’
बन्द भएका दिनमा चलिरहेका डिब्बा जहाँ-जहाँ आइपुगेका थिए, आज पनि त्यहीँ अड्किएर झुण्डिरहेका छन् । २०५९ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा रोप-वे खारेजीको निर्णय भयो । २०७६ माघ १३ मा बागमती प्रदेश सरकारद्वारा रोप-वे पुनः सञ्चालनमा ल्याउने भनेर निर्णयत भयो तर यसको कुनै काम अघि नबढेको बर्तौलाले संसदमा जानकारी गराए ।
त्यसो त वर्तमान पुस्ताले हेटौँडा–काठमाडौं छोटो दुरीको मार्गको भैसे भिमफेदी क्षेत्रमा देख्ने तारमा झुण्डिएका फलामका डम्बा गिज्याएर बसिरहेको छ ।
रोपवेको तारमा कतिपयले कपडा सुकाउने गरेको भेटिन्छन् । केहि ठाउँका सामग्रीहरू चोरी भएको खबरसमेत आइरहन्छ । पर्याप्त यातायातको सुविधा नभएको समय १९६३ सालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पहलमा अमेरिकी सहयोगबाट निर्माण भएको रोपवे सामग्री ढुवानीका लागि ‘नेपाल रोपवे’का नामबाट स्थापना भएको थियो ।
तर, हाल उक्त रोपवे एक इतिहास बनेको छ । यही रोपवेलाई पुनः सञ्चालनमा ल्याउने नेकपा एमालेले घोषणा समेत गरे पछि फेरि चर्चामा आएको छ । एमालेले निर्वाचनको समय ताका काठमाडौंमा घोषणापत्र जारी गर्दै रोपवेलाई पुनः सञ्चालन गरी काठमाडौं केन्द्रित मालसामान ढुवानी गरिने महत्वकांक्षी योजना अघि सारेको थियो । त्यही घोषणालाई कार्यान्वयन गर्नु पर्ने भन्दै सांसद तथा एमाले सचेतक बर्तौलाले आज संसदमा आवाज उठाएका हुन । शून्य समयमा देशका जल्दो बल्दो समस्याहरु केन्द्रित रही सांसदहरुले आफ्नो धारणा राख्ने गर्छन् ।
तर, एमालेले घोषणा गरेको तथा सांसद बर्तौलाले संसदमा धारणा राखे जस्तो रोपवे पुनः सञ्चालनमा ल्याउन सहज भने देखिदैन । पुरानो भएको तथा खियाको कारण रोपवेका फलामे संरचनाका कुनै पनि सामग्री पुनःप्रयोग गर्न नहुने अवस्थामा पुगिसकेको जानकारहरु बताउँछन् । एमालेले हेटौँडा–काठमाडौं रोपवे पुनः सञ्चालन मात्र नभई देशका अन्य स्थानमा समेत सम्भाव्यता हेरी रोपवे सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो ।
२०१६ सालमा विकासको पूर्वाधारमध्ये रोपवे एक मेरुदण्डका रुपमा रहेकोे थियो । तर, रोपवे संरक्षण मर्मतको कमीले बन्द भयो । आफूले निर्माण गर्नुको सट्टा अरुले बनाइदिएको संरचनालाई संरक्षण र मर्मत सम्भार गर्न नसक्दा रोपवे बन्द हुन पुगेको हो । करोडौं लगानी गरेर अमेरिका र ब्रिटिस सरकारले बनाइदिएको हेटौंडा–काठमाडौं रोपवेको एउटा सानो मेसिन मर्मत सम्भार गर्न नसक्दा बन्द मात्र भएन, उपकरण र सामग्रीहरूसमेत बेवारिसे र अलपत्र परेका छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि रोपवे बन्द भएको थियो । कोइराला २०५६ चैत ९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । रोपवे वैशाख २०५६ देखि बन्दभएको थियो । कांग्रेस सरकारकै पालामा २०५९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट रोपवेलाई खारेजीको निर्णय भएको थियो ।
मकवानपुरको भैंसेस्थित सवस्टेसनमा बिग्रेको तार र ट्रान्सफर्मर मर्मत सम्भारका लागि सरकारले रकम उपलब्ध गराउन नसक्दा २०५६ सालबाट बन्द रोपवे सञ्चालन नै गर्न नसकिने गरी जीर्ण बनेको हो । तत्काल मर्मतका लागि सरकारले ४ लाख रुपैयाँ छुट्याउन नचाहेपछि रोपवे चलाउनै नसकिने गरी जीर्ण अवस्थामा पुगेको थियो ।
रोपवेलाई यसअघि निजीकरण गर्न खोज्दा पनि सफल हुन सकेको थिएन । अर्थ मन्त्रालयले २०६१ मै मूल्याङ्कनकर्ता नियुक्त गरी निजीकरणको प्रयास थालेको थियो । २०६२ मा रोपवे सञ्चालन गर्न अर्थले आशयपत्र मागेपछि तीनवटा कम्पनीले प्रस्ताव पेस गरे पनि कुनै निर्णय हुन सकेको थिएन ।
मकवानपुरको धोर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म सञ्जाल रहेको रोपवेको त्यस समय काठमाडौंको भन्सार टेकुमा रहेका कारण मातातीर्थसम्म रोपवेबाट पुगेका सामग्रीहरू ट्रली निर्माण गरी टेकु पुर्याउने गरिएको थियो । २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावरहाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरियो र २०१६ सालमा फेरि रोपवे हेटौँडा–मातातीर्थ–टेकुसम्मनिर्माण गरी २०२० सालबाट सञ्चालन हुन थालेको थियो ।
सामान ढुवानी गर्दा सहज तथा लागत समेत कम पर्ने हुँदा रोप वे संचालनको समयमा नयाँयुगको सुरुवात भएको मानिने गरेको जानकारहरु बताउँछन् । तर अहिले तारमा झुण्डिएका डब्बाहरूमा झार उम्रिएका छन्, रोपवेका कारण घर नबनेका स्थानहरूमा अहिले धमाधम घर निर्माण हुन थालेका छन् ।
रोपवेको सञ्चालन देशका विकट जिल्लाहरूमा उपयुक्त हुन सक्छ । पेट्रोलियम पदार्थको उच्चमुल्यले ढुवानी लागत बढेको र महंगीको समयमा कम खर्चमा सामान ढुवानी गर्ने रोपवेको महत्व सान्दर्भिक देखिएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन् ।
ईन्द्रसरोवर गाउँपालिका १ मार्खुमा रहेको ईन्द्रसरोबर तालमा ढुङ्गामा चढेर ताल परिक्रमा गर्नेक्रममा डुबेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
काठमाडौ छैमले ३ बस्ने ३३ वर्षिय राजकुमार सुबेदी डुङ्गाबाट खसेर बेपत्ता भएका हुन् । ढुङ्गामा चढेर घुम्नेक्रममा लडेका उनको खोजि भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सुवेदीले लगाएको ज्याकेट, जुत्ता र उनको मोबाईल भने डुङगामा नै भेटिएको छ । सुवेदी स्थानीय पुस्कल थिङले चलाएको डुङ्गामा सवार थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षको लागि लेखा व्यवस्थापन तालिम सुरु गरिएको छ । हेटौंडाका २ वटा वडाका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको लागि लेखा व्यवस्थापन तालिम सुरु भएको हो ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा सुरु गरिएको तालिममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको सहभागिता रहेको छ । चैत २० गतेबाट २२ गरेसम्म ३ दिने लेखा व्यवस्थापन तालिम शुरू गरिएको नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारी बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुबेढीको प्रमुख आतिथ्यतामा तथा नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगर सदस्यहरू ठिसाङ लामा, अन्जु पन्डित, लोकेन्द्र सुर्खेति, श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा १९ का अध्यक्ष देवेन्द्र अर्याल, वडा समन्वय समितिका अध्यक्ष रोशन गोले लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा माधब गौतम चयन भएका छन् । आइबार सम्पन्न अभिभावक भेलाले तेस्रो कार्यकालका गौतमलाई अध्यक्ष चयन गरेको हो ।
दुई कार्यकाल विब्यस अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षकका बीचमा लोकप्रिय बनेका थिए । स्रोत साधनको अभावमा पनि विद्यालय ब्यवस्थापन समितिमा रहेर उत्कृष्ठ काम गरेको भन्दै यसअघि बागमती प्रदेश सरकारले गौतमलाई प्रदेशदीप प्रदान गरेको थियो ।
विब्यस भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति ईन्द्रबहादुर बानियाँले पशुपतिनाथ माविको भौतिक र शैक्षिक विकासका लागि आफू सदैब लागिरहने बताए । विद्यालयको भौतिक प्रगति राम्रो भएको र आगामी दिनमा शैक्षिक उपलब्धी बृद्धिकालागि सबै पक्ष एकताबद्ध भएर लाग्न समेत उनले आग्रह गरे । विद्यालयको पुस्तकालय भवन निर्माण गर्न आफूले बोलेको सहयोग जारी राख्ने बानियाँले बताए ।
यसैगरी मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकमा सकारात्मक उर्जा रहेकोले विद्यालयकाे शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धीमा वृद्धि हुने बताए ।
विब्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्बवडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, विब्यस पूर्बअध्यक्षहरु रामहरि ढकाल, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेबी शंकर न्यौपाने, उद्धब बिष्टलगायतले मन्तव्य राखेका थिए ।