मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले ५ जना व्यक्तित्वलाई सम्मान गरेकाे छ । समाजले शुक्रबार ४ पुरस्कारबाट ५ जना व्यक्तित्वलाई सम्मान गरेकाे हाे ।
समाजले श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई सम्मान गरेकाे छ । उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित भएका छन् । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार रुपैया राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिएकाे समाज अध्यक्ष माधव पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मानबाट २ जना सम्मानित भएका छन् । उक्त सम्मानबाट हेटौंडाका शिक्षाविद् रामचन्द्र आचार्य ‘फुर्सती’ र महिलातर्फ अमर माध्यमिक विद्यालयका प्रअ मालती उप्रेती सम्मानित भएका छन् ।
समाजले असार ६ गते शनिवार २ जना व्यक्तित्वलाई हेटौंडामै सम्मान गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए । शनिबार समाजले महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गर्ने भएको छ ।
महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै उक्त पुरस्कारकाे २१ औं सस्करण भट्टराईलाई प्रदान गरिने भएकाे हाे । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै शनिबार नै केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । श्रेष्ठ मकवानपुर क्याम्पसका पत्रकारिता विषयका प्राध्यापक समेत हुन् ।
मकवानपुर । हेटौँडा बजार क्षेत्रकाे सडक विस्तार सम्बन्धमा व्यवसायीहरुले मकवानपुरका राजनीतिक दलकाे ध्यानाकर्षण गराउएका छन् । हेटौडाका व्यवसायीहरुले शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सडक विस्तारकाे विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भरत पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सागर थापालाई बुझाएका थिए ।
सडक डिभिजन कार्यालयकाे उक्त सूचनाको विरुद्धमा व्यवसायीहरुले कुनै सल्लाह नै नभई सूचना जारी भएको र सूचनाकाे म्याद भित्र व्यवसाय स्थानान्तरण गर्न समस्या भएकाे भन्दै ध्यानाकर्षण बुझाएका हुन् ।
राजनीतिक दलका प्रमुखहरुलाई बुझाइएकाे ध्यानाकर्षण पत्रमा सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने/ वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्नेलगायत उल्लेख गरिएकाे छ ।
यसअघी व्यवसायीहरुले सडक विस्तार सम्बन्धमा सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिका र ध्यानाकर्षण पत्र बुझाएका थिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको सडक २५ मिटर विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौँडाले असार १० गते सूचना जारी गरेकाे थियाे । ३५ दिने सूचनामा सूचनाकाे म्यादसम्म घर–टहरा हटाउन सम्बन्धित घर धनीलाई सार्वजनिक सूचना जारी गरेको हाे ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै थलोमा ७ जना व्यक्तित्वलाई पुरस्कार सहित सम्मानित गर्ने भएको छ । असार ५ गते शुक्रबार (आज) ५ जना र ६ गते शनिवार २ जना व्यक्तित्वलाई हेटौंडामा पुरस्कार समर्पण कार्यक्रम गर्दै सम्मान गर्न लागिएको मातृभूमिले जनाएको छ ।
महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । यो पुरस्कार र सम्मान असार ६ गते प्रदान गरिने बताइएको छ ।
महालक्ष्मी साहित्य पुरस्कारको २१ औं सस्करण रहेको समाजका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । पत्रकार श्रेष्ठ शनिबार सम्मानित हुनेछन ।
यसैगरी समाजले आज शुक्रबार ४ पुरस्कार बाट ५ जना व्यक्तित्वलाई सम्मान गर्दैछ । समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गर्ने भएको छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित हुने भएका छन । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिने समाज अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ ।
मकवानपुर / निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर काम नगरि रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरेबापत झन्डै १६ लाख डलर विलम्ब जरिबाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेन्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलको पुरानो हेटौंडा सबस्टेशनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीको नयाँ भरतपुर सबस्टेशनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ झन्डै १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट झन्डै ९० मेगावाटमात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
निर्माण कार्य नसकिदै विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकदेखि हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभ-याङमा निर्माणाधीन सबस्टेशनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट) का दुई वटा टावर निर्माण भइरहेको छ । यो काम आउँदो भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।
यता भरतपुर–बर्दघाट खण्ड साउनभित्र पुरा हुने भएको छ । आयोजना अन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आउँदो साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतदेखि यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो ।
जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन । सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । एक दशमलव सात किलोमिटर तार तान्न अहिले काम शुरु गरिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाले सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण अभियान सुरु गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले मंगलबारबाट सुर्तिजन्य पदार्थ बिक्री नियन्त्रण अनुगमन सुरु गरेकाे हाे ।
अनुगमन समितिले हेटौंडा–२ नगरपालिका रोडमा रहेका १४ वटा पसल व्यवसायहरु अनुगमन गरेको थियो । उपमहानगरसँगै रहेकाे राजदेबी भोजनालय तथा खाजा घरमा अनुगमन गर्दा सुर्तिजन्य पदार्थ बिक्री गरिहेको फेला परेपछि होटललाई २ हजार रुपियाँ जरीवाना गरेको उपमहानगरपालिकाले जनाएकाे छ । उपमहानगरले साउन १ गतेबाट सुर्तिजन्य पदार्थको प्रतिबन्धका लागि माइकिङ गरेसँगै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन थालेको छ ।
उपमहानगरले नेपाल सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनको आधारमा निर्देशिका २०७७ कार्यान्वनमा ल्याएकाे छ । साेही निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न थालेको उपमहानगरपालिकाले जानकारी दिएकाे हाे । उपमहानगरको १३ औं नगरसभाले नगरक्षेत्रमा साउन १ गतेबाट सुर्तिजन्य पदार्थमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेकाे छ ।
नियमन सार्वजनिकस्थलहरू, विद्यालय क्षेत्र , सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, चौकी रहेका क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय उपमहानगरले गरेको छ । उपमहानगरको निर्देशन नमान्ने जोकोहीलाई २ हजारदेखि २५ हजारसम्म जरिवाना हुने र निषेधित ठाउँबाहेकका होटेल तथा रेस्टुरेन्टहरूमा छुट्टै ध्रुमपान गर्ने ठाउँ (स्माेकिङ्ग जोन)को व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।
यस अघी उपमहानगरपालिकाकाे बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा मंगलबार भएकाे बैठकले अनुगमनलाई तिब्रता दिने निर्णय गरेको थियो । उपप्रमुख बानियाँले उपमहानगरले गरेको निर्णय कार्यान्वयनकामा लैजाने बताए । उनले जाे कसैले सुर्तिजन्य पदार्य बिक्री गरी गलत गरेको पाइएमा कारवाही गरिने बताए । पहिलाे चरणमा बिद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थल र धार्मिक स्थाल क्षेत्रलाई बिशेष निगरानी गरिने र अन्य क्षेत्रलाई बिस्तारै नियमनकाे दायरामा ल्याउने उपमहनागरपालिकाकाे याेजना रहेकाे बताइएकाे छ ।
वडा अध्यक्ष बिष्णुगाेपाल महर्जन, जिल्ला प्रशासन कार्यालयल, खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता राष्ट्रिय हित मञ्च, नेपाल उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि समेतकाे उपस्थितिमा उपमहानगरले अनुगमन थालेकाे हाे ।