मकवानपुर । साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा अप्सरा तिमल्सिना विशेष कार्यक्रम गरिएकाे छ । शनिबार संगमकाे ३ सय ३३ औँ सन्ध्या अन्तर्गत अप्सरा स्मृति विशेष रचना वाचन गरिएकाे हाे ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको हेटौडा ४ मा रहेकाे भवनमा आयाेजना गरिएकाे कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गरी स्वर्गीय तिम्सिनाकाे सम्झना गरिएकाे थियाे । साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता र निर्मोही व्यासको प्रमुख आतिथ्यतामा भएकाे रचना वाचनमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ठ रहेका थिए ।
बाल सर्जक अनुसुया खनालका साथै अनिल कोइराला, बैकुण्ठ लामिछाने, आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिना, यश लामा, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, किशन पौडेल, पुरूषोत्तम आचार्य, गीतकार शम्भुजित बासकोटा, देवराज खरेल, जनार्दन खनाललगायतले रचना वाचन गरेका थिए ।
स्मृति विशेष रचना वाचनमा नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, कवि रमेश अधिकारी, टिका अविरल, सुवास खनाल, साहित्यसेवी मुक्तीगोविन्द वैद्य संगम सचिव डिबी बर्तौला, यमनदेव उत्प्रेरक, भवानी तिमल्सिना न्यौपाने, कुवेर पराजुलीलगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेपाली चलचित्र सरी ममकाे हेटौडामा विशेष प्रदर्शन गरिएकाे छ । शनिबार हेटौडा ४ स्थित ओम म्याक्स सिनेमा हलमा विशेष प्रदर्शन गरिएकाे हाे । हेटौडा उपमहानगरपालिका वडा नं. ४ काे मुख्य आयाेजना तथा हेटौडा लेडी जेसीज र एनआएफ क्रियसनकाे संयुक्त आयाेजनामा चलचित्र प्रदर्शन गरिएकाे हाे ।
लागुऔषध दुर्व्यसन विरुद्धकाे उक्त चलचित्र प्रदर्शन अघि आयाेजित कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य अनन्त पौडेलले पानी र बानी उकालो लगाउन धेरै गारो हुने भन्दै मानवीय जीवनमा उकालाे (प्रगती) तर्फ लैजान संघर्ष नै हुने बताए । ‘बानी एक पटक बिग्रिएपछि सुधार्न सहज छैन’ पौडेलले भने ‘आफ्नो नानीबाबुलाई घर परिवारले समय दिने, बेलाबेला उनीहरुका कृयाकलाप निरीक्षण गर्ने गर्दा उमेर बढ्दै जादा कुलतमा फस्ने सम्भावना कम हुन्छ ।’
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले स्थानीय तहले भौतिक निर्माणका अलावा शिक्षा सचेतनामुलक कार्य समेत विकास हो भनेर बुझ्नु पर्ने बताए । हेटौंडा ४ ले शिक्षा र चेतनामूलक कार्यमा लगानी गर्दै आएको सिग्देलले बताए । ‘समाज चेतनशील भए विकासले फड्को मार्छ हामीले नयाँ आर्थिक वर्षकाे सुरुवात सामाजिक कामबाटै सुरु गरेका छाै’ सिग्देलले भने । उनले स्कुलका भाइबहिनीहरु बढी संबेदनशील हुने भएकाले अभिभावकले उनीहरुका कियाकलाप निगरानी गर्नु पर्नेमा जोड दिए ।
सामाजिक अभियान सञ्जाल हेटौडा ४ काे मुल व्यवस्थापनमा कार्यक्रम गरिएकाे थियाे । सञ्जालकाे संयाेजक माया तामाङले समाजमा युवा उमेरमा आउने समस्यालाई परिवारले गम्भिर भएर निगरानी गर्नु पर्ने बताइन् । लागूऔषध मुक्त वडा घोषणा गर्ने गरि कार्य गरिएकाेमा सञ्जालकाे पुर्ण सहयाेग हुने तामाङले बताइन् । माइती नेपाल मकवानपुर प्रमुख समेत रहेकी उनले लागू औषध सेवनको लतले घर झगडा सुरु हुने र सम्बन्ध बिच्छेदसम्मको घटना समाजमा बढ्ने भएकोले बेलैमा सचेत हुनुपर्ने बाताइन् ।
यसैगरी मकवानपुर प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले दुर्व्यसनले अपराध बढाउने बताए । आत्महत्य, हत्या, बलात्कारजस्ता अपराधमा लाग्न उत्प्रेरित गर्ने तत्व लागू औषध भएकोले यस्तो कुलतबाट बेलैमा बच्नुपर्छ । मकवानपुर लागूऔषध ओसारपसारको क्षेत्र समेत भएको त्यस्को विकल्प समेत खोजी कुलत रहित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने कार्कीले बताए ।
हेटौंडा लेडि जेसिजकी वर्ष २०२३ अध्यक्ष दिलमाया घर्तीले सकारात्मक सोचका साथ लागुऔषध दुर्व्यसन अन्त्य गर्न सबैले पहल गर्नुपर्ने बताइन् । कार्यक्रम जेसीज वर्ष २०२३ अध्यक्ष घर्तीकाे सभाध्यक्षता भएकाे थियाे । लागुऔषध दुर्व्यसनीले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव तथा उचित व्यवस्थापनसँगै शैक्षिक जनचेतनामुलक सन्देश चलचित्रमा देखाइएकाे छ । चलचित्र ‘सरी मम’मा सरिता लामिछाने, सरोज खनाल.उत्तम केसी, प्रभात पाल,अलिश राई लगायतका कलाकारकाे अभिनय रहेकाे छ ।
आयुष बुढाथाेकीले लेखकाे चलिचत्रकाे कथा तथा स्क्रिनप्ले र कार्यकारी निर्माता बिनाेद लामा रहेका छन् । एनएफआई क्रियसन प्रालीबाट उत्पादन गरिएकाे चलचित्रकाे निर्देशन नविन बाेगटीले गरेका हुन् ।
मकवानपुर । सडक डिभिजन कार्यालयले हेटौडा उपमनहागर क्षेत्रमा पर्ने राजमार्ग क्षेत्रकाे २५ गज क्षेत्र भित्र पर्ने घरटहरा भत्काउन सूचना निकालेकाे समय सकिनै लाग्दा हेटौडामा प्रदर्शन भएकाे छ । हेटौंडाको मुख्य बजार क्षेत्र भएर जाने पूर्व पश्चिम राजमार्गबाट दायाँबायाँ २५ गज भित्र पर्ने घरटहर मुआब्जा बिना भत्काउन नहुने भन्दै व्यावसायी र घरधनीले शनिबार हेटौँडामा बिरोध प्रदर्शन गरेका हुन् ।
मकवानपुर उद्योग बाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा शनिबार दिउँसो हेटौँडाकाे बुद्धचाेकमा भेला भएर विरोध प्रदर्शन गरिएकाे थियाे । विरोध प्रर्दशनमा सहभागीले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।
डिभिजन सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालय र जनजागृती माविको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ । सूचनाकाे म्याद सकिए पछि अन्य स्थानमा समेत सडक विस्तार गरिने कार्यालयले बताउँदै आएकाे छ । गत असार १० गते कार्यालयले पूर्व पश्चिम राजमार्गकाे हेटौडा १५ राताेमाटेदेखि हेटौडा १० राप्तिपुल क्षेत्रसम्मकाे सडक दायाँबायाँ २५/२५ गज भत्काउने गरी सूचना जारी गरेकाे थियाे ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीका नौ बुँदे मागसहित मकवानपुर जिल्लामा क्रियाशील राजनीतिक दलको कार्यालय पुगेर संघले शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी र राप्रपा नेपालको पार्टी कार्यालयमा निर्माण व्यवसायीका सबै निर्माण कार्यहरुको भुक्तानीको मागसहित ज्ञापनपत्र बुझाइएको संघ कार्यबाहक अध्यक्ष सागर कटुवालले जानकारी दिए ।
राजनीतिक दलका नेताले ज्ञापनपत्र बुझ्दै निर्माण व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । संघ मकवानपुरले रोकिएको भुक्तानी तत्काल पाउनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था रोक्नुपर्नेलगायतका ९ बुदे माग राख्दै आएको छ ।
यस अघि संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा निर्माणसँग सम्बन्ध कार्यालयमा ज्ञापनपत्र बुझाएकाे थियाे । कार्यबाहक अध्यक्ष कटुवालसहित संघ द्वितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहासचिव दिनेश पनेरु, कोषाध्यक्ष अनल श्रेष्ठलगायतका निर्माण व्यवसायी राजनीतिक दललाई ज्ञापन बुझाउने कार्यक्रममा सहभागी थिए ।
मकवानपुर । हेटौंडामा रक्तसञ्चार सम्बन्धी रक्ततत्व सेवा सुरु भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रक्ततत्व निर्माण सेवा सुरु भएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरद्वारा निर्माण गरिएको रक्ततत्व निर्माण तथा वितरण केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिए संगै सेवा सुरु भएको केन्द्रले जनाएको छ ।
२०५२ सालमा स्थापना भएको रक्तसञ्चार केन्द्रले होल ब्लडको मात्र कार्य गर्दै आएको थियो । रक्ततत्व निर्माण तथा वितरण सम्बन्धी सेवाको सुरुवात भएसंगै हेटौंडामै प्लाज्मा, प्लेटलेट र प्याकसेल छुट्टाछुट्टै निर्माण गरी वितरण गर्न सकिने रक्तसञ्चार केन्द्र हेटौंडा इन्चार्ज टंक दाहालले जानकारी दिए ।
सेवा संचालनका लागि अमेरिकन रेडक्रसले रक्ततत्व वर्गिकरणको आवश्यक उपकरणहरु सहयोग गरेको थियो । यस्तै हेटौंडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिज सहितको उपकरण सहयोग गरेको दाहालले बताए ।
त्यसैगरी मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गरेको उनले बताए । रक्ततत्व निर्माण सेवाको बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले सेवाको उद्घाटन गरेका हुन ।