बढी भाडा लिने सवारी साधनलाई कारवाही
Tags: No Comments
मकवानपुर । बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाही गरेकाे छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको हाे ।
यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेर बढी लिएकाे भाडा रकम यात्रुलाई फिर्ता गरेकाे छ । दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २५० रुपियाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवान गरिएको समेत आचार्यले बताए । ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ सय ३७ सवारी र यात्रुकाे टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको छ ।
हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग १८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको उनले जानकारी दिए । सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएकाे छ ।
त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।
मकवानपुर । नेपाल तरुण दल मकवानपुरले शुक्रबार खाद्यान्न सहयाेग गरेकाे छ । उसले ७१ औं स्थापना दिवसकाे अवसरमा खाद्यान्न सहयाेग गरेकाे हाे ।
तरुण दलले स्थापना दिवसको अवसरमा हेटौंडा–१४, मयुरथधापस्थित अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमै गएर दाल, चामल, नुन, तेल, प्याज तथा आलुलगायत खाद्यान्न सहयाेग गरेको हो । नेपाल कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस मकवानपुर पूर्वसभापति रघुरमण न्यौपाने, तथा सचिव इश्वर पाठकले संस्थाका अध्यक्ष रामहरि कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
‘आफ्नो संगठन सदैव सामाजिक क्रियाकलापमा क्रियाशील रहेको छ’ तरुण दल मकवानपुरका कार्यवाहक अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) भने ‘हामीले स्थापना दिवसलाई रचनात्मक तवरबाट मनाउने क्रममा खाद्यान्न सहयाेग गरेका हौं ।’ सापकाेटाले अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई वर्षेनी सहयोग गर्ने गरेको बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट तास खेलीरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ ।
विहीबार साँझ हेटौंडा–७, देवी बन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार के.बी., भरत तितुङ, हेटौंडा–७, बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, सबिन चौलागाई, गोकुल नाथ पौडेल र हेटौंडा–१५ बस्ने ओम घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाडाबाट हेटौडा तर्फ आउदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो दुर्घटनामा मकवानपुर गढी ७ सुकौरा बस्ने २३ वर्षीय मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बा,सुकौरा बस्ने २९ वर्षीय कृष्ण बहादुर योन्जन निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीय दिल माया योन्जन, २२ वर्षीय हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा सवारी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
असोज ९ गते बिहान हेटौडा १५ रातोमाटेस्थित पुर्व पश्चिम सडक खण्डमा चुरियामाई मन्दिर तर्फबाट हेटौडातर्फ आउदै गरेको ना.१ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा चालक र सहचालक घाइते भएकोमा सहचालकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
क्रेन दुर्घटनामा सहचालक बिपिन महतोको उपचारको क्रममा मृत्यु भएको छ भने चालक दशरथ पासवान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार दुर्घटनामा चालक पर्सा जिल्ला बिरगजं ३० लालपर्सा बस्ने ३० वर्षीय पासवान सामान्य घाईते भएका थिए । साथै सहचालक पर्सा बिश्रामपुर बस्ने १८ वर्षीय महत्तोलाई क्रेनले च्यापिएकोमा उद्धार गरी दुबै जनालाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा सहचालक महतोको उपचारको डक्टरले मृत घोषणा गरेका थिए ।
घाइते चालक पासवानको हेटौंडा अस्पताल उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।