मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको छ ।
३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा १ सय ३४ जना ग बर्ग (पहेँलो कार्ड ) का अपाङ्गता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रतिब्यक्ति ५ हजार ४ सय रुपियाँसहित ग बर्गको अपांगता परिचयपत्र गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वितरण गरेका हुन् ।
राज्यले पूर्ण अपाङ्गता (क र ख वर्ग) भएका व्यक्तीलाई भत्ता वितरण गर्दै आएको तर आंशिक अपाङ्गता भएका व्यक्तीहरु कहिल्यै नसमेटिएकाेले स्थानीय सरकारले जिम्मेवारी वहन गरेकाे कालाखेतीले बताए । ‘उहाँहरुको पीडा पूर्ण अपाङ्गता भएकाहरुकाे तुलनामा कम भएपनि पीडा फरक छैन’ कालाखेतीले भने ‘त्यसैले उहाँहरुलाई पनि केहि निर्वाह होस् भन्ने अभिप्रायले गाउँपालिकाले भत्ता वितरण गरेकाे हाे ।’ अपाङ्गता भएका ब्यक्तिको सहज जीवन यापनका लागि गाउँपालिकाले आगामी दिनमा अझै बजेट बृद्धि गरी भत्ता उपलब्ध गराउने अध्यक्ष कालाखेतीले बताए ।
गाउँपालिकाबाट आंशिक अपाङ्गता भएका ब्यक्तिले पनि परिचय पत्र र भत्ता प्राप्त गरेकाेमा अपाङ्गता क्षेत्रमा क्रियाशील संघसंस्था र ब्यक्तिहरुमा खुसी छाएकाे अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बो बताए ।
मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, महिला तथा बालबालिका विकास शाखा प्रमुख शिला अधिकारी, एमआईएस अपरेटर दीपक अधिकारी, अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष स्याङ्बोलगायतको सहभागिता थियो ।
नेपाल सरकारको तर्फबाट क बर्गमा बर्गीकृत अपाङ्गता भएका व्यक्तिलाई मासिक ४ हजार रुपियाँ, ख बर्गमा बर्गीकृत अपाङ्गता भएका ब्यक्तिलाई मासिक २ हजार १ सय २८ रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।

चितवन । नारायणगढ लेडि जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ चयन भएकी छिन् । जेसीजको चौथो साधारणसभा तथा २७ औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् ।
युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नारायणगढ लेडि जेसिज वर्ष २०२४ का लागि श्रेष्ठले नेतृत्व सम्हाल्ने भएकी हुन् ।
समुदायमा सकारात्मक प्रभाव सृजना गर्न, नवीन विचार, सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित स्थापित लेडि जेसीजको अध्यक्ष निर्वाचित श्रेष्ठ सानैदेखि सामाजिक कार्यहरुमा रुचि देखाउँदै र कार्यहरु गर्दै आइरहेको, विभिन्न सामाजिक संघ, संस्थाहरुमा समेत आवद्ध छिन् ।
श्रेष्ठले लेडि जेसीजको वर्ष २०२२ मा महासचिव र वर्ष २०२३ मा कानुनी सल्लाहकार पदमा काम गरिसकेकी छिन् । यस्तै लेडि जेसीजको २७ औँ अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा कोपिला गुरुङ र सुमिता सिंह, उपाध्यक्षमा दीपा अधिकारी, गंगा कुँवर थापा, सीता बराली(सितास्मा) र सोनिसा श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी निर्देशकमा रन्जु घिमिरे, वर्षा श्रेष्ठ, सुजना अधिकारी र स्वेता शाक्य चयन भएका छन् ।
मकवानपुर । मकवानपुर हेटौंडा ६ का हिमाल पौडेल र भीमसेन पौडेलले आफ्नो बुवा र श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति शनिबार प्रदान गरिएको छ ।
हिमालले आफ्नो बुबाको नाममा स्थापना गरेको छात्रवृत्ति ११ कक्षामा अध्ययनरत २ जना छात्रालाई र भीमसेनले स्वर्गीय श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति विद्यालयमा अध्ययनरत १ जना छात्र र २ जना छात्रालाई प्रदान गरिएको हो ।
हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वािर्षक साधाणसभामा उक्त छात्रवृत्ति प्रदान गरिएको हो । संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ ।
त्यसैगरी सञ्चारकर्मी तथा समाजसेवी भीमसेन पौडेलले स्वर्गिय श्रीमती दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ ।
छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त छात्रवृत्ति रकम पौडेलद्वयका आमा कृष्णकुमारी पौडेलले प्रदान गरेकी थिइन् ।
मकवानपुर । यात्राकाे क्रममा रहेकी एक महिलाकाे आफै चढेको बसले किच्दा मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको बस्ने ७० बर्षीया कान्छी माया घलानका आफै चढेकाे बसले किच्दा ज्यान गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडी बडाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई ठक्कर किचेर गम्भीर घाइते बनाएको थियो ।
उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाईएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाईएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शव फेला
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हेटाैंडा बजार क्षेत्रमा प्लाष्टिक बटुलेर दैनिकी चलाउँदै आएका थिए ।
मकवानपुर । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षीक साधाणसभा शनिवार भएको छ ।संस्थाका अध्यक्ष हिमाल पौडेलको समाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा गरेको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र महिला उपसमितिकी संयोजक रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
२ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख रहेको छ । यस्तै निक्षेप २१ करोड १५ लाख र ऋण लगानी २० करोड ५ लाख रहेको छ ।
साधारणसभामा सहकारीले संस्थापक शेयर सदस्य खिल प्रसाद गौतम, रघुप्रसाद आचार्य, रमेश प्रसाद लामिछाने, प्रल्हाद शर्मा आचार्य, ज्येष्ठ शेयर सदस्य ईन्द्र सि थिङ, राममाया डिमडुङ, मासिक बचतकर्ता सानोकान्छा थिङ, बबिता थापालाई सम्मान गरेको छ ।
त्यसैगरी उद्यम ब्यवसायी तर्फ सुशिला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोवारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती र सञ्चारकर्मी श्रीराम दाहाललाई सम्मान गरेको थियो ।
संस्थाले साधारणसभामा बाल बचतकर्ता, धेरै सदस्य बनाउने र एकैदिन सदस्यता लिने जोडीलाई समेत सम्मान गरेको थियो । साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य शंकर कालाखेती, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्री बहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।