मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार ७ हजार ५ सय ४८ जनामा कोरोना परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ५५ जना संक्रमित कोरोना मुक्त भएको जानकारी दिएकाे छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९ सय र काेराेना निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेना कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।
मकवानपुरमा एकैदिन थप २१ जनामा कोरोना
यस्तै मकवानपुरमा आज एकैदिन थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।साेमबार ४५ जनाको स्वाब परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हाे ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,बकैया र मनहरीका एकएक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिराका ३ जना रहेका छन् ।
मकवानपुर । सरकारले बैशाख मसान्तसम्मका लागि हेटौंडासहित १८ सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जेखिमलाई मध्यनजर गर्दै १८ प्रभावित सहरी क्षेत्रका विधालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
मकवानपुरको हेटौंडा, काठमाडौं उपत्यका, बिराटनगर, पोखरा,वीरगञ्ज, भरपुर, इटहरी, धरान, बनेपा, धुलिखेल, ,जनकपुर, भैरहवा, बुटबल, नेपालगञ्ज, धजगढी र भीमदत्त नगरका विद्यालयहरु बन्द गरेर अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । साेही अनुसार सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै विद्यालयहरु बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।
मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेकाे अविश्वासकाे प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन्। दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।
दुई मन्त्रीले दिए राजीनामा

यसैबीच लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राजीनामा दिएका हुन् ।
मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद खारेज भएपछि राष्ट्रियसभा सदस्यको पद रिक्त भएको छ । कानुनी व्यवस्था अनुसार रिक्त पदमा ३५ दिभित्र उपचुनाव गर्नुपर्ने हुन्छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।
सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी केपी पक्षमा लागेपछि माओवादीले उनको पद रिक्त गराउन संसद सचिवालयमा लिखित पत्र दिएको थियो ।
बादल २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
बादल पुनः गृहमन्त्रीमै नियुक्त
आइतबार राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पदमुक्त राम बहादुर थापा बादल आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । उनी पदमुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने २०७२ सालमा जारी भएकाे नेपालकाे सविधानकाे धारा ७८ मा व्यवस्था गरिएकाे छ । साेही धाराकाे उपदफा (२) मा नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने प्रावधान रहेकाे छ ।
संसदकाे सदस्य नभएकाे व्यक्ति मन्त्री हुन सक्ने नेपालकाे सविधानकाे व्यवस्था
७८. संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने ः (१) धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।
(२) उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ ।
(३) उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन ।
(४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।
मकवानपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ काे सांसद पद खारेज भएकाे छ । आइतबार राष्ट्रिय सभा सचिवालयले बादलकाे सांसद पद खारेज भएको सूचना जारी गरेसँगै उनी गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका पूर्व माओवादी नेता थापा बादल सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेकै कारण नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
