मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा माधव नेपाल पक्षले अघि सारेको ” वृहत कम्युनिष्ट एकता ” के कसरी सम्भव छ ? भनेर प्रश्न गरेका छन् । उनले जनता जागरुप भैसकेको भन्दै जनतामा भ्रम सृजना गरेर झुठको खेती नर्गन बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल समूहलाई सुझाव समेत दिएका छन् ।
उनले माधव नेपालले अघि सारेको ‘बृहत कम्युनिष्ट एकता’ आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रपञ्च भएको शंकेत गरेका छन् । उनले सञ्जालमा लेख्दै प्रश्न गरेका छन दिनहुँ बुढानिलकण्ठ, सानेपा कांग्रेस पार्टी कार्यालय धाएर, एमाले विरुद्ध अप्राकृतिक गठबन्धन गरेर बृहत कम्युनिष्ट एकता संभव छ ?
उनले माधव नेपाल एण्ड कम्पनी भन्दै चुनाव फेस गर्न समेत अनुरोध गरेका छन् ।

काठमाडौं । एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्।
राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए। यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पार्टी एकताको पक्षमा छलफल भइरहेको जानकारी दिए। ‘पार्टी एकताको पक्षमा सार्थक छलफल भइरहेको छ’, नेता नेम्बाङले भने, ‘यो निरन्तर जारी रहन्छ।’ अध्यक्ष ओलीले दोस्रो तहकै नेताहरूको पहलमा जेठ २३ मा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन तयार रहेको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। नेपालले ओलीको उक्त प्रस्तावलाई जालझेल र षड्यन्त्रपूर्ण भन्दै अस्वीकार गरेका छन्।
ओली र नेपालीबीच तत्कालीन नेकपामा हुँदादेखि नै विवाद थियो। उनीहरूबीच पछिल्लो पटक वैशाख ३१ गते करिब चार घण्टा संवाद भएको थियो। उक्त वार्ताकै आधारमा दुवै पक्षबाट पाँच/पाँच जना सम्मिलित एकता कार्यदल बनाइएको थियो। कार्यदलले काम थालेकै बेला नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेपछि एकता प्रक्रिया खलबलिएको थियो।
दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन्। दुवै पक्षमा रहेका ‘केही अतिवादी’ले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरूको निष्कर्ष छ। एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुवै पक्षका दोस्रो तहका नेताको निश्कर्ष छ।
मध्यमार्गी लाइनमा गौतम
एमाले नेता वामदेव गौतमले ओलीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक छिटोभन्दा छिटो बोलाउनुपर्ने प्रस्ताव गरेका छन्। गौतमले मध्यमार्गी लाइन प्रस्तुत गर्दै जेठ २ गते कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयमा छलफल गरी सही मार्गदर्शन गर्न सुझाव दिएका छन्। ओलीको प्रस्तावमा जालझेल र कुटिलता भए पनि स्थायी कमिटी बैठक राखेर समाधान गर्नुपर्ने पक्षमा गौतम देखिएका छन्।
गौतम संयोजकत्वको एकता अभियानको बैठकले अध्यक्षको वक्तव्यमा आफ्नै प्रंशसालगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोगका बाबजुद एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट आगडि बढाइने भन्ने विषय सकारात्मक भएकोे निश्कर्ष निकालेको छ।
‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसालगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ भनेको विषयलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको छ’, बैठकपछि गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ। सोही बुँदामा एकताको पक्षमा उभिएको आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहने उनको भनाइ छ। अन्नपूर्ण पाेष्टबाट

- डा. सुभाष पाेखरेल
सामान्य आयु भएको मानिसले आफ्नो जीवनकालको करिब २६ वर्ष सुतेर बिताउँछ। अनि २६ वर्षको सुताइ अवधिमध्ये झण्डै ६ वर्ष मानिसले सपना देख्छ। प्रत्येक रात स्वस्थ मानिसले सपनाको ५ चक्र पूरा गर्छ भन्छ अध्ययनले। यसरी मानिसले आफ्नो जीवनको लामो अवधि सुत्नमा बिताएको पाइन्छ, सपना देख्छ। सुत्न मानिसले खर्चिने लामो समय उत्पादनशील काममा लगाउन सके उत्पादकत्व बढथ्यो, उन्नति/प्रगति हुन्थ्यो भन्ने सोच हुनु अन्यथा होइन। प्राचीनकालदेखि नै निदाउनुलाई थकान मेटाउने कार्य मानियो अनि धेरै अध्ययनले सुत्दा विभिन्न किसिमको शारीरिक फाइदा हुने, प्रतिरोधात्मक क्षमता बढ्ने देखाएको छ। तर सपनाले यथार्थमा के गर्छ त भनी लामो समयसम्म खासै जानकारी थिएन। केही समुदायले सपनालाई भविष्यवाणीका रूपमा हेर्ने गरेका भए पनि त्यसको वैज्ञानिक कारणको अध्ययन गर्न भने लामो समय कुर्नुपर्यो। सपनाका सम्बन्धमा भएका अध्ययनको जानकारी गराउनु यो लेखको उद्देश्य हो।
निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखिएको छ।
मानव शरीरमा झण्डै ९० अरब स्नायु (न्युरोन) कोस हुन्छन्। जीवनको विभिन्न चरणमा हाम्रा साथी बन्ने र टाढिने क्रम निरन्तर चलेझैं स्नायु प्रणालीका अरबौँ कोस एकअर्कासँग जुटने र छुट्टिने क्रम चलिरहन्छ। कुनै मित्रता दीर्घकालीन अनि कुनै क्षणिक भएझैं स्नायु कोसका समागमसमेत कुनै कमजोर अनि कुनै स्थायी प्रकृतिका हुन्छन्। न्युरोनका कमजोर संसर्गले सूक्ष्म स्मरण शक्ति दिन्छ भने दह्रो बन्धनले दीर्घ स्मरण राख्छ। ब्रेनका कोसहरू एकापसमा जुट्ने र छुट्टिने प्रक्रियालाई वैज्ञानिक भाषामा ‘ब्रेन प्लास्टिसिटी’ भनिन्छ। ‘ब्रेन प्लास्टिसिटी’ का कारण स्मरण क्षमता अस्तित्वमा आउने हो। कुनै निश्चित घटना स्मरणका खातिर जुटेका न्युरोन पछिल्ला दिनमा छुट्टिँदा उक्त परिदृश्य हाम्रो दिमागबाट हराउँछ। तर महत्वपूर्ण घटना स्मरणका लागि जुटेका न्युरोनका बन्धन जिग्री दोस्तको सम्बन्ध जस्तो बलियो हुन्छ अनि त्यस्ता परिदृश्य हाम्रो दिमागमा चिरस्थायी हुन्छ।
समाजमा जन्मँदै आँखा नदेख्ने मानिसको समेत स्मरण क्षमता राम्रो देखिन्छ। एक पल्ट सुनेको कुरा लामो समयसम्म उसको स्मरणमा रहन्छ। आखिरमा त्यस्तो किन हुन्छ त ? सहजै भेटियोस् भन्नाका लागि घरायसी सामान भवनको विभिन्न भागमा भण्डारण गरेझैँ हामीले देखेका, सुनेका, भोगेका र पढेका कुराहरूसमेत मस्तिष्कको भिन्न–भिन्न भागमा ‘स्टोर’ हुन्छन्। भण्डारणका कारण आवश्यकताअनुसारको सामान घरायसी प्रयोजनका लागि सहजै निकाल्न सकिएझैं विगतको अनुभव हाम्रो मस्तिष्कबाट अविलम्ब निस्कन्छ।
अन्धो मानिसले आफ्नो नजिकको चिजबिजलाई ‘इकोलोकेसन’ मार्पmत पहिल्याउँछ। ‘इकोलोकेसन’ विधिमा व्यक्तिले निकाल्ने सुस्केरा नजिकको वस्तुमा ठोक्किँदा पैदा हुने प्रतिध्वनिका आधारमा मानिसले चौतर्फी चिजबिज ठम्याउने हो। आवाज कुनै पनि वस्तुमा ठोक्किँदा पदार्थको चरित्रका आधारमा फरक फरक प्रतिध्वनि निस्कने भएकाले सुरदासले खाली बाटो, बस, कार तथा अन्य जीव ठम्याउँछ। ‘इकोलोकेसन’ विधिमा दृष्टिबिहीन मानिसले केबल वस्तुको पहिचानमात्र होइन बरु चिज कति टाढा छ भनी ठम्याउँछ। धेरै वर्षअघिदेखि नै आँखा नभएका व्यक्तिले कसरी मनको नजरले हेर्छ भन्ने ठहर भए पनि कसरी अन्धो मानिसले त्यस्तो शक्ति प्राप्त गर्छ त भन्ने प्रश्नको उत्तर भने सहज छैन।
हाम्रो आखाले देखेका कुरा स्मरणका लागि मस्तिष्कको ‘भिज्युयल कर्टेक्स’ मा स्टोर हुन्छ। त्यसैले जन्मँदै आँखा नदेख्ने मानिसको ‘भिज्युयल कर्टेक्स’ खाली हुनुपर्ने हो। तर वैज्ञानिक उत्खननमा त्यसो देखिएन। जन्मै आँखा नदेख्ने व्यक्तिको समेत ‘भिज्युयल कर्टेक्स’ भागमा ‘मेमोरी’ ‘स्टोर’ भएको पाइयो। आखिर त्यसो किन हुन्छ त भनी अध्ययन गरियो।
सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गर्छ।
वैज्ञानिक उत्खननका लागि स्वस्थ स्वयमसेवकहरू छनोट गरियो। अनि, सहभागीहरूलाई दुई भागमा विभक्त गरियो। एक समूहका सहभागीहरूको महाभारतकी गान्धारीझैं कालो कपडाले आँखा छोपियो भने अर्को समूहलाई यथास्थितिमा राखियो। अनि, दुवै पक्षलाई अन्धाको ‘ब्रेल भाषा’ पढाइयो। ब्रेल अध्ययनका क्रममा आँखा छोपिएका समूह अर्को पक्ष भन्दा अबल देखिए, जाँचमा राम्रो गरे। आँखामा पट्टी बाँध्ने शिष्यलाई अधिक चलाख देख्दा अनुसन्धानकर्ता चकित परे अनि ‘बायोलोजिकल’ कारण खोजियो। ब्रेल सिकाइका क्रममा गान्धारी ढाँचाका सहभागीको दिमागको क्रियाकलाप अध्ययन गर्दा हेराइले मात्र क्रियाशील हुने ‘भिज्युयल कर्टेक्स’ अर्को समूहको भन्दा अधिक सक्रिय देखियो। खुला आँखा भएका व्यक्ति भन्दा आँखामा पट्टी बाँधेका व्यक्ति ‘ब्रेल लिपि’ अध्ययनका क्रममा अधिक सफल देखिएको परिदृश्यलाई ‘भिज्युयल कर्टेक्स’ को अस्वाभाविक क्रियाशीलताले एकीन गर्यो। ‘बायोलोजिक स्टडी’ ले आँखा बन्द हुँदासमेत दिमागी आँखा क्रियाशील हुन्छ भन्ने पुष्टि गर्यो।
उल्लिखित अध्ययनमा ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलताले दिमागी दृष्टिका लागि बाहिरी आँखा खुला हुन आवश्यक छैन भन्ने मान्यता स्थापित भयो। थप उत्खननका लागि सुताइ र सपनीका बखत मस्तिष्कमा के÷कस्तो परिवर्तन आउँछ त भनी एकीन गर्न वैज्ञानिकहरू अनुसन्धानमा लागे। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका ‘न्युयोलोजी’ का प्राध्यापक डेभिड इगलम्यानको विचारमा सपना देख्दा ‘भिज्युयल कर्टेक्स’ अत्यधिक क्रियाशील हुन्छ र उक्त प्रक्रिया दिमागी स्वास्थ्यका लागि अति आवश्यक छ। सुतेका बखत सपना नदेख्ने हो भने ‘भिज्युयल कर्टेक्स’ लामो समयसम्म निष्क्रिय हुने अनि त्यसले ‘ब्रेन प्लास्टिसिटी’ मा नकारात्मक असर पार्ने ठान्छन् डा. इगलम्यान। देखेको सपना जागा भएपछि स्मरणमा नआउने भए पनि सबै स्वस्थ व्यक्तिले अनवरतरूपले सपना देख्छन् र उक्त विधि मानसिक स्वास्थ्यका लागि आवश्यक छ भन्ने कुरा धेरै अध्ययनले पुष्टि गरे। त्यसैले सपना देख्नुलाई ‘डिफेन्सिभ ब्रेन एक्टिभिटी’ भनिन्छ।
सुतेका बखत प्रत्येक ९० मिनेटमा मानिसको आँखा अत्यधिक चलायमान (र्यापिड आइ मोभमेन्ट) हुन्छ अनि त्यसबेला व्यक्तिले सपनी देख्छ। र्यापिड आइ मोभमेन्ट र सपनाका बीच प्रत्यक्ष सम्बन्ध देखिएको थियो। सपना देखेका बखत स्नायु प्रणालीका विशिष्ट कोसलगायत ‘भिज्युयल कर्टेक्स’ समेत क्रियाशील हुने भएकाले सुत्दासमेत आन्तरिक आँखा खुला हुन्छ। ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलता ‘ब्रेन हेल्थ’ का लागि अत्यावश्यक हुने भएकाले सपनी देख्नु प्रकृतिको बवरदान मान्छन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस एन्जलसका वैज्ञानिक डा. डान भाउन। उमेरको बढोत्तरीसगै ‘र्यापिड आइ मोभमेन्ट’ चक्र कमजोर हुँदै जान्छ। परिणामस्वरूप वृद्धावस्थामा सपना कम देख्ने अनि अन्ततः दिमागी शक्ति कमजोर हुँदै जाने ठान्छन् अनुसन्धानकर्ताहरू।
प्राध्यापक इगलम्यानलगायतका वैज्ञानिक समूहले मस्तिष्कको विकास र सपनाबीच कुनै सम्बन्ध भए/नभएको ठम्याउन बाँदरका २५ जातिलाई जन्मदेखि मृत्युसम्म अध्ययन गरे। ‘र्यापिड आइ मोभमेन्ट’ का बखत सपनी देख्ने भएकाले उक्त प्रक्रियालाई अध्ययनको मुख्य आधार बनाइयो। बाँदरमा गरिएको अध्ययनले अत्यधिक सपना देख्ने प्रजातिका जन्तु बौद्धिकरूपले चलाख पाइए। बाँदर र मानव धेरै हिसाबले समान भएको ‘प्राइमेट्स’ मा गरिएको उक्त अध्ययन सार्थक देखियो।
जन्मै अन्धो व्यक्तिको ‘ड्रिम (सपनी) सर्किट’ सकुशल हुँदैन। त्यसैले आजन्म आँखा नदेख्ने व्यक्तिले सामान्य व्यक्तिको जस्तो ‘मुभी’ प्रकृतिको सपना देख्दैन बरु अन्य ज्ञानेन्द्रिय अनुभूति दर्शाउने ‘ड्रिम’ देख्ने हो। सूरदाशमा कानले सुनेका तथा स्पर्शमा आधारित सपनीको चरित्र हुनु अस्वाभाविक भएन। तर बायोलोजिक उत्खनन गर्दा अन्धोले देख्ने विशेष प्रकृतिको सपनाले समेत आँखाको ज्योतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने दिमागको ‘भिज्युयल कर्टेक्स’ लाई नै क्रियाशील गर्ने भएकाले आजन्म अन्धो व्यक्तिको समेत दिव्य दृष्टि भने सकुशल रहन्छ भन्ने मान्यतालाई थप बल दियो।
सुत्नु स्वास्थ्यका लागि अत्यावश्यक छ। दैनिकरूपले ६ देखि ८ घण्टा निदाउने व्यक्ति मानसिक तथा शारीरिकरूपले स्वस्थ हुन्छ भनी धेरै अध्ययनले देखायो। निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखियो। सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गरेको छ। स्वस्थ शरीर तथा दिमागका लागि पर्याप्त निद्रा र सपना आवश्यक देखिएको छ। नागरिकबाट
काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् ।
यही सकसका कारण निकै महत्वपूर्ण मानिएका गृह, उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालय केही समयदेखि मन्त्रीविहीन हुँदै आइरहेका छन् । तीलगायत सातवटा मन्त्रालय रिक्त रहँदा मन्त्रालयले गर्ने महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित हुँदै आएका छन् ।
मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा लागेका छन् । यसअघि मन्त्री नभएका र पार्टीमा इमानदारितापूर्वक लामो त्याग गर्दै आइरहेकालाई मन्त्री बनाउन प्रधानमन्त्री माथि दबाब परेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि सो प्रयासले सार्थकता पाउन सकेको छैन । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरे पनि नेपाल–खनाल समूहले ६ बुँदे प्रस्तावमा आशंका गर्ने ठाउँहरू बढी पाइएको भन्दै अससहमति जनाएको थियो ।
६ बुँदे प्रस्तावमा नेपाल–खनाल समूह सन्तुष्ट नदेखिएपछि भने ओलीले सो समूहबिना नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी अघि बढाएका छन् ।
यसअघि, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षलाई समेटेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन आफैंसँग राखेका छन् । यी सबै महत्वपूर्ण मन्त्रालयको रूपमा रहेका छन् ।
गृह मन्त्रालयमा को जाने भन्नेमा हाल पार्टीभित्र हानथाप परेको छ । गृहमा युवा नेता महेश बस्नेतको चर्चा बढी छ । प्रधानमन्त्री ओलीले अहिलेको समयमा गृह हाँक्नका लागि सक्षम व्यक्ति बस्नेत नै रहेको भन्दै बस्नेतलाई नै गृहमन्त्री बनाउने मनस्थिति बनाएको बताइएको छ । यद्यपि, केहीले बस्नेतलाई सञ्चार मन्त्रालयमा लैजान सुझाउँदै आएका छन् ।
यस्तै खगराज अधिकारी र कर्णबहादुर थापाको नाम पनि गृहमन्त्रीका रूपमा चर्चामा छ । मन्त्री हुने चर्चामा रहेका अन्यहरूमा विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत छन् ।
यता, नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरूले पनि केही महत्वपूर्ण मन्त्रालय माग गरेको स्रोतले बतायो । मौजुदा मन्त्रिपरिषद्मा माओवादी केन्द्र परित्याग गरेका कोही मन्त्रीहरू अहिले अटाएका छैनन् । यसअघि, गृहमन्त्री रामबहादुर थापा बादलसहित सात मन्त्री सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ६ जेठमा पदमुक्त भएका थिए । माओवादी केन्द्रबाट आएका नेताहरूले सातवटै मन्त्रालय माग गर्दै आएका छन् ।
यसअघि, प्रधानमन्त्री ओलीले झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरूको साथ छाड्ने दुई जनालाई मन्त्री बनाइसकेका छन् । रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । राजधानीबाट
मकवानपुर । अहिले देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले आज देशभर मौसम बदली रहने तथा केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।
बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सवैमा अनुरोध समेत गरेकाेछ।