- यमुना अर्याल (काफ्ले)
सायद पूर्णिमाको दिन जस्तो लाग्छ, एकाबिहानै बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो। हतारहतार ढोका उघारें, आफ्नै जेठाजु र जेठानी दिदी आएका रहेछन्। आश्चर्य नै भयो, सितिमिति मेरो घरमा जेठाजु र जेठानी आउँदैनथे, आज त बिहानै दुवै जना आएका रहेछन् , के रहेछ त्यस्तो खास ?
मनमनै गम खाएँ एकैछिन। फेरि अर्को मनले भन्यो, यिनीहरू के विशेष कामको लागि आउँथे र ? केही नयाँ काम नपरी त आउने मान्छे पक्कै होइनन्। होस्। मनलाई एकातिर अल्मलाएर आतिथ्यता दर्शाएँ, ओहो एकाबिहानै आउनुभएछ, दाजु दिदी भित्रै बसौं न।
दुवै जना भित्र पसे, सामुन्नेमा भएको सोफा देखाउँदै दुवै जनालाई बस्न भनें। ‘तपाईंहरू बस्दै गर्नुस् म चिया पकाउँछु है।’ म भान्सातिर जान लाग्दै थिएँ, जेठानीले रोकिन्। ए शिलु पर्दैन … पर्दैन … चियासिया त खाँदै गरौंला नि हामी त अर्कै कामले आएका हौं।
अँ साँच्चि नानीहरू उठेका छैनन् ? अरू कुरा केही पनि नसोधी नानीहरूको बारेमा जेठानीले सोधेपछि एकैछिन त बिलखबन्धनमा परेजस्तै भयो। ‘छैन त दिदी। नानीहरू यति बिहानै के उठ्थे र? स्कुल बिदाको दिन हुने हो भने त मौका पाउँदा आठै पो बजाउँछन्।’
‘ओहो हो र ?’ निकै अनौठो मानेजस्तै गरिन्। ‘मस्त निद्रामा होलान्, सुतेका नानीहरूलाई उठाउने कुरा पनि भएन, फेरि तिम्रो जेठाजुलाई अफिस जानुपर्छ, मलाई त केही थिएन दिनभरि घरै बस्ने हो। उहाँलाई ढिलो हुने भो। ठूलो बाबा,आमा आउनु भाको छ भनिदेऊ न उठिहाल्छन कि!’
जेठानीले फेरि प्रश्न गरिन्।
खास के काम रहेछ मेरा छोरीहरूसँग ? न खुलेर कुरा गर्छन् ? न आफूले नै सोध्न भएको छ तिमीहरूलाई अरू बेला नचाहिने मेरा छोरी आज बिहानै किन चाहियो भनेर।जेठाजुले मुख फोरे। खासमा कुरा के हो भने नि शिलु, आज हामी दुवै जनाको ब्रत हो, आज पूर्णिमा भन्ने त थाहा पाएकी हौली। ब्रतको दिन घरका आफ्ना कन्यालाई टीका नलगाई, आफ्ना कन्याहरूको गोडा नढोगी के पानी खानु भनेर उठेर नुहाइधुवाइ, पूजापाठ गरी यहाँ आइहालेको नि। हुन त छिमेकीका छोरीहरू पनि आफ्नै अगाडि छन्। आफ्नै भाइका छोरी हुँदाहुँदै के अर्काका छोरी पुज्नु भनेर यहाँ आएको नि।
दुइटा छोराका धनी जेठाजु, आज ब्रतको दिन मेरा छोरी खोज्न आइपुगेछन्। मनमा धेरै कुरा खेले, जे जे भए पनि आखिर छोरी त काम लाग्ने रहेछन् भन्ने पनि लाग्यो। मनमा जे भए पनि देखाउने कुरा भएन। ‘ए उसो भए एकैछिन बस्नुस् म नानीहरूलाई उठाइदि हाल्छु।’ नानीहरूलाई झक्झकाएर उठाएँ। दुवै जना मुख धोएर ठूलोबाबा आमा भएको ठाउँमा आए, नमस्कार गरे।
अरू बेलामा खासै मतलब नगर्ने भए पनि दशैंमा, औंशी, संक्रान्ति, सानातिना चाडवाडमा छोरीहरूलाई बोलाउने, खुवाउने, दक्षिणा दिने गर्थे। आज पनि पूर्णिमा रहेछ, त्यो पनि सानोतिनो चाँडै भयो छोरीहरूको लागि। दुवै जनाले दुवै छोरीलाई काखमा लिए। टीका लगाइदिए, दक्षिणा दिए, गोडामा ढोगे, आशीर्वाद दिए, एक एकवटा खेलौना पनि ल्याइदिएका रहेछन् हातमा थमाइदिए।
‘ल हामीलाई ढिलो भयो लाग्यौं है।’ दुवै जना बिदा भए। दुवै जना बाहिरिए पनि मनमा अनेक प्रश्नहरू खेल्न थाले। म दोस्रो पटक आमा बन्दा त्यही छोरी त पाएकी हो के हेर्न जानु ? भनेर नाक खुम्चाउने मेरा जेठाजु, जेठानी मेरै छोरीको गोडा ढोग्न किन आइपुगे ? कान्छि दश, र ठूली बाह्र वर्षका छन्। दुवै छोरी बुझ्ने भएका छन्। उनीहरूमाथि आफन्त र समाजले गर्ने विभेदको सानोतिनो सुइँको पाइरहेका हुन्छन्, बेलाबेलामा आफैं अनुभूति पनि गरेका हुन्छन्।
त्यही भएर पोहोरसाल ठूलो बाबाको छोरालाई तिहारमा टीका लगाउन गएनन्, दिदीले बहिनीलाई टीका लगाइदिए। पटक-पटक ‘तिम्री आमाले एउटा भाइ पाउन सकिन, तिहारमा कसलाई टीका लाउछौ ?’ यही प्रश्न सुन्दासुन्दा हुर्किएका छोरीहरू आमाको खुसीको लागि भए पनि तिहारका एकअर्कालाई टीका लगाउँछन्।
‘आमा, ठूलो बाबाको छोराले भन्दा धेरै प्रगति गर्छौ, तपाईंलाई छोराको कमी हुन दिन्नौ’ भन्दै ढाडस दिन्छन् छोरीहरू। बाआमा दुवैका प्यारा छन् छोरीहरू। जेठाजु, जेठानीले जतिसुकै खिसी गरे पनि श्रीमानबाट साथ र सहयोग पाएको छु। यही खुसीको कुरा हो मेरो लागि। श्रीमानले कहिले पनि यी दुई छोरीलाई भेदभावको दृष्टिकोणले हेरेनन्।
जेठाजुका दुई छोरा छन, साना गफ गर्दैनन् उनीहरू। ‘यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ ? एउटा छोरा पनि नभएको घर के घर ? एउटा आँखाको केही भर हुन्छ र ?’ बेलाबेलामा निकै ताना मार्छिन् जेठानी।
‘आफू त मरे पनि सिधै स्वर्गमा पुगिन्छ, यत्रो सम्पत्ति भएर के गर्नु शिलु ? मरेपछि दागबत्ती दिने कोही छैन।’ गर्भको बच्चा चार पाँचपटकसम्म चेक गरेर, छोरा छ कि छैन ? ढुक्क नभएसम्म गर्भ तुहाएको कुरा कसले भन्दिने ? दुवै जना छोराका भक्तजस्तै हुन्। जेठानीले चोथौ पटकमा मात्रै छोरा पाएको कुरा उनकी आफ्नै बहिनीले सुनाएकी थिई।
जब छोरी भएको थाहा हुन्छ अनि अपरिचित ठाउँमा जाने, गर्भपतन गराउने काम पटक-पटक गरे। पाँचौं पटकमा पहिलो बच्चा छोरा जन्मियो। दोस्रो बच्चा पनि छोरै जन्मियो। भाग्यमानीलाई खातैखात, अभागीलाई पुर्पुरोमा हात भन्छिन् बेलाबेलामा।
सहरमा बसेको, शिक्षित भनेर के गर्ने ? सोच हाम्रा हजुरआमाको पालाको भन्दा गुर्जेको भएपछि। जेठाजु त लोग्ने मान्छे भए, उनीहरूको सोच अलिकति पुरूषवादी त हुन्छ नै तर आफैं छोरी भएर जन्मेकी जेठानीले समेत आफ्नो गर्भलाई छोरी भएकै कारण चार चार पटकसम्म मरुभूमी बनाइन्, उजाड बनाइन्।
अहिले तिनै जेठाजु जेठानी हप्तैपिच्छे ब्रत बस्छन्, पूजापाठ लगाउँछन, मन्दिर जान कहीँ बाँकी छैन। पून्यका काम निकै गर्छन्। अझ चाखलाग्दो कुरा त के हो भने मेरो सानी छोरीको न्वारानमा समेत दुवै जना आएनन्। के के न भएजस्तो न्वारान खान के जानु भनेर आएनन् रे भन्ने कुरा अर्कैको मुखबाट सुनियो।
खैर, केही छैन। उनीहरू नआए पनि मेरी छोरीको न्वारान भयो, न्वारान भएको पनि दस वर्ष भइसक्यो। उनीहरूलाई यस्ता कुरा सुनायो भने मन दुखाउँछन्। एकदम सकारात्मक कुरा मात्र भन्न खोज्छु तर कताकताबाट भेउ पाइहाल्ने रहेछन्।
‘आमा, तपाईंले किन लुकाउनु भएको ? हामीलाई मावलको हजुरआमाले भन्नु भा को’, …. यस्तो उस्तो सबै कुरा ओकल्छन्।
केही बोल्न मन लाग्दैन। बस यत्ति भन्न चाहन्छु गर्भका अवोध छोरीलाई छोरी भएकै कारण धर्तीमा पाइला टेक्न नदिने तपाईंहरू नै, छोरी भएपछि स्वर्गमा बास नपाउने पनि तपाईंहरू नै, छोरीमात्रै जन्माएपछि मर्दा नजल्ने तपाईहरू नै, छोरी भएपछि सम्पत्ति खाने मान्छे कोही नपाउने पनि तपाईंहरू नै फेरि तपाईंको ब्रत, पूजाआजाको लागि कन्याहरू किन चाहिन्छ ?
छोरीहरू किन चाहिन्छ ? छोराहरूलाई टीका लगाएर खान सक्नुहुन्न र ? छोराको गोडामा ढोगेर ब्रत पूरा गराउन सक्नुहुन्न र ? घर पूजामा पाँच कन्याको लस्कर लगाएर, कलश बोकाएर उनीहरूलाई किन अघि लाउनुहुन्छ ? छोरालाई लाउँदा हुन्न र ? गर्भका छोरी तुहाएर भए पनि संसार देखेका मेरा छोरीको खाँचो देख्दै, उनीहरूलाई खोज्दै मेरो घरसम्म पाइला राखेका मेरा आधुनिक जेठाजु जेठानीको ब्रत पूरा होस्। मनले चिताएको पूरा होस बस यतिमात्र भन्न चाहन्छु।
प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो। गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
हुन त हामी आधुनिक जमानाका कुरा गर्छौं,आफूलाई आधुनिक ठान्छौं तर छोरालाई कति महत्व दिन्छौं भन्ने कुरा हाम्रा भोगाइले, हाम्रा व्यवहारले प्रस्ट पार्छन्। मेरा कतिपय साथी, आफन्तलाई सबभन्दा पहिले हाम्रा सन्तान हुन्, सन्तान भएपछि मात्रै छोरा र छोरीको कुरा आउँछ भन्दा मलाई उडाएको पनि पाएँ।
उसका एउटा छोरा, एउटी छेरी छँदैछ, हाम्रो पीडा के थाहा ? अर्कालाई उपदेश दिन त सजिलो छ नि भन्दै खिसी गर्नेहरू पनि छन्। म आफैं छोरी भएर यतिको कलम चलाउन सक्छु। आफ्ना आवाज उठाउन सक्छु, दुई चार शब्द बोल्न सक्छु, दुई चार अक्षर पढ्न सक्छु भने मैले जन्माएकी छोरीले मैले भन्दा धेरै गर्न नसके पनि कम्तीमा मैलेजति कसो नगर्ली भन्ने मलाई लाग्छ।
अहिलेको जमानामा, शिक्षा र अवसर पाउने हो भने कुनै पनि छोराभन्दा छोरी कम छैनन् र हुँदैनन् पनि। गर्भका छोरी मारेर ब्रत सफल बनाउन कन्या खोज्ने हर्कत नगरौं।
गर्भदेखि सम्मान गर्न सिके पो तपाईंको ब्रत, जपतप सफल होला त महोदय ? भ्रुण हत्याको पाप कटाउन कति पूजापाठ गर्नुहुन्छ ? कति ध्यान, जप गर्नुहुन्छ ? जतिसुकै तामझाम गर्नुस् तपाईंको वास्तविकता त्यही हो जुन तपाईंबाट अपराधीको शैलीमा पटक पटक भइसक्यो।
औंशी पूर्णिमामा कन्या पुज्ने होइन गर्भमा अंकुराउन लाएको मुनालाई निमोठ्ने काम नगर्नुस्। आखिर कहीँ न कहीँ, कतै न कतै, कहिले काहीँ आक्कलझुक्कल छोरीको खाँचो त पर्ने रहेछ। शिलुका जुठाजु जेठानीको जस्तो हर्कत कसैको नहोस्।
छोरीको सम्मान होस्, छोरी भएकै कारण गर्भमा मारिने क्रम रोकियोस्। विशेष परिस्थितिमा खोजीखोजी पुज्ने होइन। छोरी भएर शानले बाँच्न पाइयोस्। भनिन्छ नि, भाग्यमानीको छोरा हुन्छ, शौभाग्यले मात्रै छोरी जन्मिन्छ। setopati.com बाट साभार गरिएकाे
क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् ।
क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए ।
नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिले अनशन तोडेका हुन् ।
मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए ।
उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन शुरु गरेका थिए ।
जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए ।
छलफलले जिल्ला सभापतिहरुले राख्ने सबै माग पूरा गर्ने सहमति भएपछि नेताहरु सिटौला, रिजाल र लेखक पार्टी कार्यालय पुगेका थिए । onlinekhabar.com बाट साभार
मकवानपुर । डा. मानवी भट्ट छायादेवी स्मृति सम्मान २०७८ बाट सम्मानित भएकी छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त डा. मानवी भट्ट शनिबार नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षिक साधरण सभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो ।
साधारण सभाको अवसरमा मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको प्रभाव बिषयक अन्तर सम्बाद कार्यक्रम गरिएकाे हाे । नेपाल मानव अधिकार संगठन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष बस्नेतले मानव अधिकार रक्षकलाई कोभिड–१९ ले पारेको असरका बारेमा कार्यपत्र तथा बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सर्मिला श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इन्द्र नेपाल, कानुन व्यावसायी कृष्णप्रसाद अर्याल, इन्सेक प्रतिनिधि गणेश भण्डारी लागायतले मन्तव्य व्यक्त गरेका थिए ।
- संगीता दाहाल
एउटाले भन्यो “आहा यो सृष्टिको संरचना कति सुन्दर छ।” अर्कोले भन्यो “यो त तिम्रो भ्रम मात्र हो, विनाश र विकार देखेनौ र ?”
–सृष्टिको सुन्दर संरचना हिमाल,पहाड,खोलानाला,बन् जंगल र अनगिन्ती प्राणीहरू।
–श्वेत वस्त्र ओढेर शान्त र सौम्य भै बसेको हिमाल तर उसको विकराल विनासकारी रूप “हिउँ पहिरो”! जसले बेला बेलामा कयौं प्राणी तथा मानव बस्ती निर्ममता पूर्वक खर्लाप्प निल्ने गर्छ।
–गम्भीर स्वभाव देखाउने विशाल पहाड रिसाउँदा आउने पहिरोले कयौं मानव बस्तीलाई पृथ्वीको गर्भ गृहभित्र समाहित गरिदिन्छ।
–त्यो सुन्दर देखिने खोलानालाको चपेटामा परेर कयौं उर्वरा जमीन मरु भूमिमा परिणत हुन्छ।
–बनजंगलको विनाशको कारणले प्राणीहरूको जीवन खतरामा परेको छ।
सृष्टिको संरचना सुन्दर भएता पनि, उ भित्र अनेक विकारहरू उथल पुथल भएर मडारिरहेका छन्।जुन सुकै बेला विनाश गर्न तत्पर रहे झै?सृष्टिको सुन्दरता तिमीले देखें जस्तो सुन्दर मात्र छैन।अब यो मात्र भ्रम बन्न पुगेको छ।
गोठाटार, काठमाडौं

तिनताका म ४०–४५ वर्षकी थिएँ । १५ वर्षकी छोरीको यस्तो भनाइ सुनेर झसंग भएँ । त्यस बेला कहिलेकाहीँ हाच्छ्युँ गर्दा, लामो समय हिँड्दा, अट्टहास गर्दा तुरुक्क पिसाब चुहिन्थ्यो (अहिले ठीक भइसकेको छ) ।
त्यस बेला मैले यो व्यथालाई खासै वास्ता गरेकी थिइनँ । तर छोरीले नै भनेपछि लाज लाग्यो । अरू साथी र चिनारुहरूले ‘तपाईंको जीउ गन्हाउँछ’ भन्दैनथे, उनीहरूलाई थाहा चाहिँ पक्कै हुन्थ्यो । छोरीले भनेपछि मैले हरेक ठाउँमा जाँदा एक जोर लुगा बोक्न थालें । अफिसमा पनि दुई जोर लुगा राख्न थालें । छोरीले त्यस बेला मलाई भनेको कुरा अहिले बिर्सी पनि सकिछन् तर त्यो मेरा लागि ठूलो पाठ भयो ।
हुन त पिसाब चुहिने समस्या धेरै महिलालाई हुने गर्छ तर यस विषयमा प्रायः कोही बोल्दैनन् । स्वस्थ जीवनशैली अपनाए, व्यायाम गरे यो समस्या कम हुन्छ । मेरो पनि योगासन गर्न थालेपछि झन्डै ८० प्रतिशत समस्या कम भयो । कतिपय महिलालाई महिनावारी सुकेपछि यस्तो समस्या आउन सक्छ, वा झन् बढ्न सक्छ । धेरै तौल तथा मधुमेह भएका महिलाहरूलाई पनि यसले सताउन सक्छ । गह्रौं भारी बोकिरहने≤ धेरै बच्चा जन्माएका गाउँघरका महिलालाई यस्तो समस्या हुने सम्भावना बढी हुन्छ ।
के हो पिसाब चुहिने समस्या ?
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इनकन्टिनेस’ भनिन्छ । यो रोग होइन, तर महिलाको दैनिक जीवनलाई यसले कठिन बनाउँछ । पिसाब चुहिने समस्याले पुरुषभन्दा महिलालाई बढी सताउँछ । विभिन्न अध्ययन अनुसार, विश्वमा करिब २० प्रतिशत महिलालाई यस्तो समस्या छ । यसको प्रमुख कारण महिलाको पिसाबथैलीको मांसपेशी कमजोर वा खुकुलो हुनु हो ।
हाँस्दा, हाच्छ्युँ गर्दा पेटको मांसपेशीका साथै पिसाबथैलीमा बल पर्छ र एक–दुई थोपा पिसाब तुरुक्क झर्छ । यस्तो समस्या हुने कुनै–कुनै महिलालाई छिटछिटो पिसाब फेर्न मन लाग्छ, शौचालय नपुग्दै पिसाब चुहिन्छ । भित्री लुगामा पिसाब चुहिँदा जीउ नै गन्हाउँछ, साथै पानीले सफा नगरे गुप्तांग चिलाउँछ, घाउ हुन्छ । यसबारे कसैलाई भन्न पनि गाह्रो हुन्छ । कतिपय महिलालाई यो मलाई मात्र होला, कसलाई भन्नु जस्तो लाग्न सक्छ । तर, यो धेरै महिलालाई हुने साधारण समस्या हो र केही साधारण उपाय अपनाए, कम हुन सक्छ ।
अरूको प्रजनन अंगसँग जोडिएको स्वास्थ्य समस्याबारे लेख्न मलाई कहिल्यै गाह्रो परेन । आफ्नो यस्तो समस्याबारे लेख्ने साहस जुटाउन भने निकै समय लाग्यो । १५ वर्षअघि मेरी छोरीले भनिन्, ‘आमा, कहिलेकाहीँ तपाईंको जीउमा ह्वास्स पिसाब गन्हाउँछ । समयसमयमा लुगा फेर्नुस् र न्वाउनुस् ।’
मूत्राशयमा संक्रमण हुँदा यो समस्या झन् बढी हुन सक्छ । पिसाब तप–तप चुहिरहँदा पानी पिउन डराउने महिलालाई मूत्राशयको संक्रमण हुन सक्छ । मूत्रनली र मूत्राशयमा बारम्बार संक्रमण भए, मृगौलामा संक्रमण हुने सम्भावना पनि बढ्छ ।
सुत्केरी भएपछि प्रजनन अंगको मांसपेशी बलियो बनाउने किगल व्यायाम गर्दा यो समस्या कम गर्न सकिन्छ । केहीअघि हामीले देशका थुप्रै गाउँमा धेरै महिलालाई यो व्यायाम सिकायौं । तीन महिनासम्म हरेक दिन यो व्यायाम गरेपछि धेरै महिलाको यस्तो समस्यामा ८० प्रतिशतसम्म कमी आएको थियो । पाठेघर खस्ने सम्भावना भएका महिलालाई पनि यो व्यायामले फाइदा भएको छ ।
के हो किगल व्यायाम ? कसरी गर्ने ?
यो व्यायामले प्रजनन अंगको मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ । सुरुमा पिसाब फेर्दा एक छिन रोक्ने, सास फेर्ने, जनेन्द्रियका मांसपेशीहरू माथितिर तान्ने कोसिस गर्दा ती खुम्चिन्छन् । यसरी १० सेकेन्डसम्म खुम्च्याएर राख्नुपर्छ, अनि पिसाब छोडिदिनुपर्छ । सुरुमा १० सेकेन्ड अड्याएर राख्न गाह्रो भए, ५ सेकेन्डसम्म अड्याउन सकिन्छ । अनि बिस्तारै समय बढाउन सकिन्छ । पिसाब फेरेपिच्छे चार–पाँच चोटि गरेपछि, हिँड्दा, बस्दा, काम गर्दा पनि जनेन्द्रिय मांसपेशी खुम्च्याउने व्यायाम गरिरहनुपर्छ । यसले बिस्तारै मांसपेशी बलियो बनाउँदै लैजान्छ । यसले पाठेघर झर्दा वा शल्यक्रिया गरेर निकाल्दा पिसाब चुहिने समस्या भएकाहरूलाई पनि मद्दत गर्छ । किगल व्यायाम नजिकैका स्वास्थ्यकर्मीसँग सिक्न सकिन्छ ।
त्यसै गरी केही योगासन दिनदिनै गरे यो समस्या केही कम गर्न सकिन्छ । सर्वांगासन, उष्ट्रासन, उत्कटासन, ताडासनले मेरुदण्ड र पुठ्ठाका साथै जनेन्द्रियको मांसपेशीलाई पनि बलियो बनाउँछ । २५–४० वर्षका महिलाहरूले सुत्केरी अवस्थादेखि नै यस्ता योगासन गरे पिसाब चुहिने समस्या कम हुँदै जान्छ । त्यसै गरी सुत्केरी अवस्थामा संक्रमण हुन नदिन नीम, तीतेपाती आदि पानीमा उमालेर जनेन्द्रिय धुनुपर्छ । चिसो पेय पदार्थ, चिनी आदि सकेसम्म खानु हुँदैन ।
महिनावारी सुक्ने बेला शरीरमा ‘एस्ट्रोजोन’ हर्मोनको कमी हुन्छ । अनि बिस्तारै पाठेघर र पिसाबथैलीका मांसपेशी पातलो हुँदै जाँदा तुरुक्क पिसाब चुहिने भएकाले यसलाई ‘उमेरले ल्याउने समस्या’ पनि भन्न सकिन्छ । धूमपान गर्ने महिलालाई बारम्बार खोकी लाग्ने भएकाले उनीहरूमा यो समस्या बढी हुन सक्छ । त्यसैले धूमपान त्यागेकै बेस ।
यस्तो समस्या भएर महिलाको शरीरबाट पिसाबको गन्ध आयो भने उनलाई अपहेलना गरिन्छ । यस अर्थमा यो ‘सामाजिक समस्या’ पनि हो । पिसाब चुहिने समस्या भइरहे महिलालाई भोज, सभा–समारोहमा जान गाह्रो हुन्छ । समयमै परामर्श नपाउँदा वा उपचार नगर्दा यो समस्या झन् बढ्न सक्छ । इकान्तिपुरबाट साभार