मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।
शनिबार हेटौंडा उपमहानगरपालिका १३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उक्त कुरा बताइकी हुन् । साधारणसभाको उद्घाटन गर्दै माेक्तानले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताईन् । ‘सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले ऐन, कानून बनाउँदा पत्रकार, यातायात, बालबालिका, महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’ दुग्ध उत्पादकसहित धेरै किसानलाई प्रदेश सरकारले प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिई रहेको भन्दै उनले जनतालाई सरकारले धेरै लाभ दिन किसान लक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा रहेको बताईन् ।
गाउँगाउँमा रहेको कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गर्दै उनले उत्पादन बढाउँदै उद्योगसँग जोड्न पनि आग्रह गरिन् । कार्यक्रममा सहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो । ३ करोड ३५ लाख ७६ हजार रुपैंया बचत र ३ करोड २६ लाख ४९ हजार रुपैंया लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताईएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको विशेष आतिथ्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो । हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लिलाकुमार घलान, स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिङ, नारायणी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाका अध्यक्ष रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशन अन्तर्गत शनिबार हुने तय भएकाे निर्वाचन प्रक्रिया स्थगित भएकाे छ । नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासकाे लागि पुष २५ गते आइतबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको हाे ।
नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको भन्दै निर्वाचन प्रक्रिया आइतबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका रामेश्वर रानाले जानकारी दिएका हुन् । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बेलुकादेखि नै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार अबेर रातीसम्ममा उम्मेदवारी दर्ता गरेर दावीविरोध, उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी शनिबार बिहानदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । सहमतिको प्रयास गरिएको भन्दै निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय लम्याउँदै आएको थियो ।
शनिबार दिउँसो निर्वाचन समितिले सहमतिकै लागि निर्वाचनको प्रक्रिया स्थागित गरिएको जानकारी गराएको छ । निर्वाचनको प्रक्रिया अगाडि नबढाएको भन्दै अधिवेशन प्रतिनिधिले भने नारावाजी गरेका छन् । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षका लागि एकालाल श्रेष्ठ र बद्रिप्रसाद लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।
योसँगै एमाले मकवानपुरको ३३ जिल्ला कमिटी सदस्य निश्चित भइसक्दा ५ पदाधिकारीसहित ७२ जनाको लागि १ सय ६६ आकांक्षी बिच मतदान हुने भएको हाे । जसमा १२ जना भने पदाधिकारीमा उठेकाले स्वतः सदस्य पदको उम्मेदवार पनि रहने गरी दोहोरिएका छन् । चुनाव हुनेमा ५ पदाधिकारीका लागि १२ जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । १६ खुला सदस्य पदमा ५२ जनाबिच र १४ महिला खुला सदस्य पदमा २२ जनाबिच मतदान हुने भएको छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीआर परीक्षणमा ६ सय ९६ र ३ हजार ५ सय २ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी थप ९ सय ४४ जना काेराेना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै साेही अवधीमा २ सय ९७ जना काेराेना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरमा ९४, भक्तपुरमा २५, कञ्चजनपुरमा ५१, कास्कीमा २०, मकवानपुरमा १३, कैलाली र पर्सामा १०/१० जना, दाङमा ९ जना, बाँकेमा ८ जना, रुपन्देही, चितवन र सुनसरीमा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुर । नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले आफुलाई भोटगरी बिजयी गराउन अनुरोध गरेका छन् ।
उप्रेतीलाई उत्कृष्ट ८ मा पु¥याउन भोट गर्ने आज अन्तिम दिन भएकाले आज साँझ ८ बजेसम्म भोट गर्न उप्रेतीले अपिल गरेका हुन् । जेनिस भ्वाइस अफ किड्सको उत्कृष्ट १६ मा छन् । आजको भोटको आधारमा ८ जना बाहिरिने छन् भने ८ जना फाईनर राउण्डमा प्रवेश गर्नेछन् । जेनिशलाई उत्कृष्ट ८ मा पुग्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगितामा अगाडि बढाई दिनुहुन अनुरोध गरेका छन् । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।
को हुन् जेनिस
जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनका बाबु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् । ४ बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए ।
सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।
द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए । जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए ।
जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् ।
हेटौडामा जन्मेको २ बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको ४ बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।
द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ । लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हात हुँदैन । कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ । अहिले लाइभ राउण्डमा ४ जना कोचका ४–४ जना गरी कुल १६ जनाप्रतियोगि रहेका छन् ।
कसरी भोट गर्ने ?
जेनिसलाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।
मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । विहीबार हेटौंडामा भएको फोनिज बागमती प्रदेश अधिवेशनबाट रामेछापका श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यसै गरी उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) महिलातर्फ, महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा , पासाङ घिसिङ (ललितपुर), रविन्दू सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन भएका छन् । २१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि १ जना मनोनयन गरिने जनाएको छ ।
दोस्रो प्रादेशिक अधिवेशनबाट संघीय प्रतिनीधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरिएको छ । प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन भएका छन् । राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।