मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
थापाले आज मङ्गलवार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका थिए । थापाकाे पार्टीबाट अलग हुने घाेषणा लगत्तै बसेको राप्रपाको बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ ।
‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

मकवानपुर । प्रहरीले मकवानपुरकाे राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी गरेकाे छ । लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली उक्त स्थानमा २९ बिगाह १० कठ्ठामा लगाइएकाे लागुऔषध गाँजा र २१ बिगाहमा लगाइएकाे अफिम खेती फडानी गरी नष्ट गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जिल्ला भित्रका बिभिन्न स्थानहरुमा हुने “अवैध लागुऔषध गाँजा/ अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्तर्गत माघ २१ शुक्रबारदेखि माघ २३ आइतबारसम्म ३ दिनकाे अवधीमा उक्त परिणामकाे लागु औषध फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा कमाण्डमा ५० जना राक्सीराङ गाउँपालिका अन्तर्गतका वडाहरुमा र प्रहरी निरीक्षक कविर प्रधानको कमाण्डमा ५० जना कैलाश गाउँपालिका अन्तर्गतका वडाका २ स्थानमा सय जना जना नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपालको ३० जनाको टोली संयुक्त रुपमा गाँजा तथा अफिम खेती फडानी कार्यमा खटिएकाेमा उक्त परिणामकाे लागु औषध फडानी गरेकाे निरीक्षक देवेन्द्र दासले बताए ।
उक्त टाेली २ सय किलो बराबरको काटी सुकाई राखेको गाँजा समेत नष्ट गरिएको प्रहरीले जनाएकाे छ
मकवानपुर । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गर्ने निर्णय गरेको छ । साेमबारकाे मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले वैशाख ३० मा सवै स्थानीय तहकाे निर्वाचन गर्ने एकै पटक गर्ने निर्णय गरेकाे हाे । सत्तागठबन्धन ३ दलको आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र २ चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठकाे मिति प्रस्ताव गरेकाे थियाे । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ मा कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरेको थियो ।
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेशका विभिन्न स्थानमा भइरहेकाे विकास निर्माण र विद्यालयहरुको अनुगमन गरेकी छन् । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा १ दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको मन्त्री मुक्तानले अनुगमन गरेकी हुन् ।
मन्त्रालय अन्तर्गत निर्माणाधिन तथा संचालित विद्यालय र बहुप्राविधिक शिक्षालयहरुको भवन, प्रयोगशालाहरु, निर्माणाधिन कभर्ड हल, १ विद्यालय एक उद्यम कार्यक्रम अन्तर्गत विद्यालयहरुमा संचालित हाँस पालन, धान खेती लगायतको मन्त्री मुक्तान सहितकाे टोलीले अनुगमन गरेको हाे ।
मन्त्री मोक्तानसहितको टोलीले भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यमिक विद्यालय, नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर २२ स्थित निर्माणाधिन कभर्ड हल, भरतपुर २३ स्थित भरतपुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको थियो । साथै, माडी नगरपालिकामा निर्माणाधिन कभर्ड हल, माडी ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा प्रविधि सहयोग, तटबन्धन र वाल निर्माण, माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयको हाँस पालन र धान खेती, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय र निर्माणाधिन भवन तथा माडी ५ स्थित दिवाकर मेमोरियल विद्यालयको निर्माणाधिन भवन र धान खेती अनुगमन गरिएको थियो ।

मन्त्री मोक्तानलाई विद्यालयहरुका प्रधानध्यापक तथा अध्यक्ष, बहुप्राविधिक शिक्षालयहरुका प्रमुख, निर्माण कम्पनीहरुका प्रतिनिधिले भएका विकास र प्रगति विवरण, बजेट, समस्या र थप सहयोगबारे अवगत गराएका थिए । मन्त्री मोक्तानसहितको टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित विद्यालय, शिक्षालय, कम्पनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत समेत गरेका थिए ।
मन्त्री मोक्तानले विकास निर्माणमा ढिला सुस्ती अन्त्य गरी चाँडो र गुणस्तरीय विकास निर्माण गर्न सबैलाई आग्रह गर्दै कर्मचारीलाई सक्रिय रहन समेत निर्देशन दिएकी छन् । अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, आर्थिक मामिला मन्त्रालयका सचिव धनिराम शर्मा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश कार्यालय हेटौंडाका निर्देशक टैलेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । आइतबार हेटाैडामा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ ।
आइतबार दिउँसो पूर्वपश्चिम सडकखण्ड अन्तरगत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
दुर्घटनामा परी श्रेष्ठ घाइते भएका श्रेष्ठलाई उपचारको लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याइएको केहीबेरमा नै चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक दासले बताए ।
हेटाैडामा विगत लामाे समयदेखि चिया पसल चलाउँदै आएका श्रेष्ठ जेठा दाइको नामले पचिचित छन् ।