मकवानपुर । विश्व स्वास्थ्य संगठन (डब्ल्रएचओ) सुर्तिजन्य पदार्थको लत छुटाउने एप सार्वजनिक गरेको छ । डब्ल्रएचओ दक्षिण–पूर्वीय एसियाले एप सार्वजनिक गरेकाे हाे ।
डब्लूएचओले सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुलाई लक्षित गर्दै यसकाे लतबाट छुटउन सहजताकाे लागि ‘क्विट टोबाको’ नामक एप सार्वजनिक गरेको हो । सुर्ति नियन्त्रणका लागि डब्लुएचओले १ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कमिट टु क्विट’ (त्यागका लागि प्रतिबद्ध) अभियान अन्तर्गत एप सार्वजनिक गरिएको हो ।
सुर्ती सेवनकर्तामा पुर्याउने असरको बारेमा जानकारी दिदैँ उनीहरुमा लतको व्यवस्थापन गरी सोको परित्यागमा मुख्य केन्द्रित हुन मद्दत गर्नु एपको मुख्य उद्देश्य रहेको बताइएको छ । डब्लुएचओका अनुसार, सो एप प्लेस्टोर एवम् एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिन्छ ।
सुर्तीजन्य पदार्थ सेवनलाई बचाउन सकिने मृत्युको रुपमा लिइन्छ । यसको प्रयोगले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने गरेको डब्लूएचओको तथ्यांकले देखाएको छ ।
- अनिता कोइराला
साँझ र बिहानको हिँडाइले शरीरमात्र होइन, मन र मस्तिष्क पनि चंगा हुन्छ। मेरो घरबाट मातातीर्थ नजिकै पर्छ। हिँडाइको गन्तव्य चन्द्रागिरि डाँडाको काखसम्म हुन्छ।
एकदिन मातातीर्थको पानी पिएर पिपलको बोटमा थकाइ मार्दै थिएँ। एक जना आमालाई थकाइ मार्दै गरेको भेटें।
बाक्लो कुर्ता सुरूवाल, स्पोर्ट्स जुत्ता, तातो टोपी मिलाएर लगाएको। अग्लो, गोरो, पोटिलो ज्यान। हातमा नोकियाको स्मार्ट फोन, मीठो बोली। आफ्नो गफमा जो कोहीलाई पनि तान्न सक्ने अद्भूत क्षमता।
मैले उहाँलाई निकै अगाडिदेखि चिनेको थिएँ। उहाँले पनि मलाई र मेरो घर परिवार सबैलाई राम्रोसँग चिन्नुहुँदो रहेछ।
एक्कासि भन्नुभयो, ‘नानीजस्तै मेरो पनि बुहारी भैदिए कस्तो हुन्थ्यो। एकादशीको त्यो दिन मन्दिरमा हार्मोनियम बजाएर गाएको भजन कहिल्यै बिर्सिन्नँ। यस्ता उमेरमा पनि धर्मकर्ममा मन लाग्या। साह्रै भाग्यमानी छन् तिम्रा सासू-ससुरा सधैं तिम्रो प्रशंसा गरिरहन्छन्। आफूलाई त डाहा चल्छ बाबै! आफ्नो त खप्परै गतिलो भए पो।’
मैले हाँस्दै भनेँ, ‘आमा! मेरा सासू महान् हुनुहुन्छ। हजुरसँग मेरो प्रशंसा गर्नुभयो। मान्छे पूर्ण कोही हुँदैन। ममा पनि कति अवगुण होलान्। मेरा कमीकमजोरीहरूलाई मेरो सासूले नजरअन्दाज गरिदिनु भयो। तपाईंलाई सुनाउँदा राम्रोमात्र भन्नुभयो। तपाईंलाई हेर्दा तपाईं पनि, अभागी जस्तो त लागेन। बिहान, बेलुकै यस्तो वातावरणमा घुम्न पाउनु भएको छ। अनुहारमा तेज छ। शरीर स्वस्थ देख्छु। यो उमेरमा पनि हिँडाइमा दम छ। साँच्चि आमा! हजुरको छोरा बुहारी छैनन् र ?’
आमाको अचानक अनुहारको रंग बदलियो।
‘छन् त छन् त नि तर…।’
गुनासो र असन्तुष्टिले भरिएको आवाज थियो।
‘किन आमा! मैले गलत प्रश्न गरें?, किन अनुहार अँध्यारो बनाउनु भएको।’
‘नानी! अरूलाई त भन्नुहुँदैन, नानी त छोरीजस्ती मान्छे भएरमात्रै भनेको। मेरी कान्छी बुहारी साह्रै नहुने छ। छोट्टा छ, न समयमा भात, न चिया मेरो त वास्तै गर्दिन। मलाई देख्नेबित्तिकै अँध्यारो अनुहार लगाएर ठ्वाँस पर्छे। खानेकुरा पनि सबै आफू लुकाएर मात्र खान्छे। छोराछोरी पनि आमाकै गोता गा’छन्। छोराको मुखबाट बुहारी बोल्छे। राज गरेकी छ मेरो छोराको कमाइमा।’ सुँक्कसुँक्क गरेर रून थाल्नुभयो।
‘आमा! कान्छी बुहारी भन्नुभयो, तपाईंका अरू छोरा बुहारी पनि पक्कै छन् होलान्। किन यस्ती बुहारीसँग बस्नुभएको त ? कति वर्ष भयो सँगै बसेको? अरू छोराछोरीसँग बसे पनि हुन्छ नि ? कि कान्छो छोरोले अंश धेरै राखेको छ?’
‘भयो नानी! सत्र अठार वर्ष। बुवा स्वर्ग भएपछि अब आमा एक्लै नबस्नु गाउँमा भनेर कान्छो छोरोले लिएर आएको। सम्पत्ति कसैलाई केही दिएको छैन। भएको पाखो जमिन गाउँमै। नानी! छोरा त देउतै छ नि तर के गर्नु बुहारी सुपर्नखा नै छे ,राक्षसनी।’
मुहारमा बुहारीप्रति निकै घृणा देखिन्थ्यो।
‘आमा बुहारीले कुटपिट गर्छिन्? खाना दिन्नन्? के-के गर्छिन् त्यस्तो, राक्षसनी नै भन्नुभयो त! मलाई त हजुरको बुहारीलाई हेर्न पो मन लाग्यो।’
‘नानी! दुई छोरा दुई छोरी छन्। जेठो छोरोको आफ्नै व्यापार छ, चाबहिलमा चार तले घर छ। जेठो छोराको छोरो अस्ट्रेलिया गएको छ। छोरी नर्स पढ्न क्यानडा पठाएको छ। छोरीहरूको पनि राम्रो छ। दुइटा छोरीहरूकै काठमाडौंमा घर छ। मेरा नातिहरू असल छन्। मलाई असाध्यै माया गर्छन् दिनकै फोन गर्छन्। हालखबर सोधिरहन्छ्न्। छोरीहरूलाई सुख छ। सासू ससुराको करकर छैन। ज्वाइँहरू ईश्वर नै छन्। छोरीहरूकै राज छ। जेठी छोरीको एउटा मात्र छोरो छ। नाति डाक्टर पढ्दै छ। कान्छी छोरीको पनि एउटा छोरी छ, त्यो नातिनी भर्खर १२ सकाएर के जाति हो कुन्नी मलाई भन्न पनि आएन।’
अनुहारमा बेजोडको खुसी छताछुल्ल देखिन्थ्यो।
भित्रैबाट सन्तुष्टि ओतप्रोत भएको पाएँ।
मैले सोधिहालें, ‘आमा! अनि कान्छो छोराको त कुरै गर्नु भएन त। के गर्नुहुन्छ तपाईंको कान्छो छोरो ,बुहारी अनि नातिनातिना?’
‘छोरो खरदार छ, बुहारीको काम छैन, केटो आठमा पढ्छ, सानी फुच्ची पाँचमा पढ्दैछे।’ कुनै उत्साह उमंग थिएन अनुहारमा। कान्छो छोरोको कुरा गर्दा।
एकचोटि पनि छोराका सन्तानलाई नातिनातिना भन्नुभएन। जसरी जेठो छोरा बुहारी, छोरी ज्वाइँ र छोरीका सन्तानहरूको कुरा गर्दा खुसी छर्लंग मुहारमा देखिन्थ्यो।
कान्छो छोरोको घरको पनि कुरै गर्नुभएन।
आमा बस्ने घर मैले देखेको थिएँ।
मैले नै सोधेँ,‘आमा हजुरहरूले कति सालमा यहाँ घर बनाउनु भएको?’
‘ए मेरा बा! के कुरा गर्नु आफ्नो घर होइन नि… ! डेरामा बसेका। तीन कोठा छन्। छोरालाई स्वास्नी र छोराछोरी पाल्दै ठिक्क छ।
‘जेठो छोरोको चार तले घर छ भनेको होइन।’
‘हुन त हो नि मेरा बा…! बुहारी जागिरे छ। फुर्सद हुँदैन। छोरा बाहिर हिँडिरहनु पर्छ। मलाई अस्पताल गइरहनु पर्छ। के गर्नु जेठो छोरोको त गाडी पनि छ। नानी ! बुढाबुढी भएपछि पाहुना पनि आउँछन्। छोरी ज्वाइँहरू, नातिनातिनाहरू पनि बेलाबेला आउँछन्। बराकठा जेठी बुहारी केही गर्न भ्याउँदिनन। कहिलेकाहीँ छोरो गाडी लिएर मलाई लिन आउँछ। एक दुई दिन बस्छु अनि यही ल्याइदिन्छन्। जेठो छोरोले मनग्य कमाएको छ। मलाई पनि खानेकुरा ल्याइदिन्छन् लुगाफाटो र दुई चार हजार दसैं र औंसीमा दिन्छन्। निकै मनकारी छ जेठी बुहारी।
नानी! यी यो मोबाइल पनि जेठी बुहारीले दिएको। उसलाई छोरीले नयाँ मोबाइल पठाइ दिइछ, अनि मलाई यो महंगो मोबाइल दिएकी। कान्छी बुहारीले पैसा चिनेकी छे। थुतुनो कहिल्यै उज्यालो देख्दिनँ। घोसे छे, कहीँ नभाकी कप्टी।’
आमाका कुरा सुनेपछि म सोच्न थालें ‘कान्छो छोरो र बुहारीको अनुहार किन अँध्यारो हुन्छ होला भन्ने अनुमान भित्रभित्रै लगाउन थालें।
इमान्दार खरदारको तलब। दुइटा बच्चा, आमा, श्रीमती अनि डेराको बसाइ। कति अप्ठ्यारो होला खर्च पुर्याउन। कति चिन्ता होला। आमा जतिसुकै बेला छोरीहरू र जेठो छोरा बुहारीको मात्र गीत गायरहने। अपवादलाई छोडेर हेर्दा,जहाँ बुढाबुढी बसेका हुन्छन् ,जहाँ सेवा पाएका हुन्छन्। त्यो घर अनि त्यही बुहारी काम नलाग्ने लाग्छ्न्। जहाँ बसेका हुन्छन् त्यही घर नर्कझैं लाग्छ किन होला?
जुन बुहारी बिहान बेलुका तातो लगाएर खान दिन्छे। बिरामी पर्दा अस्पताल दौडाएर लैजान्छे, सेवा गर्छे। पाउना आउँदा स्वागत गर्छे। घरमा बुढाबुढीको साथी हुन्छे तर घर बाहिरका आफन्त बुढाबुढीलाई निकै प्यारा हुन्छ्न्।
एक किलो स्याउ बोकेर ल्याउनेले माया गरेको हुन्छ। एक कल फोन गर्नेले सम्मान गरेको हुन्छ। तर अभाव र अप्ठ्यारोमा पनि दिनरात सेवा गर्ने बुहारी पुतना अनि सुपर्नखा हुन्छे।’
‘नानी के भयो किन टोलाएको ?’
‘केही होइन आमा!’
मैले सोचेकै कुरा आमा भन्न थाल्नु भयो, ‘छोरीहरूले पनि अघोर माया गर्छन्। मेरा नातिहरूले फोन गरिरहन्छ्न्। छोरीहरू त झन् दिनको चार पाँच चोटि फोन गर्छन्। के खाइस्,के गर्दैछेस्, सोधिरहन्छ्न्। निकै विचार गर्छन् नानी। तर यो राक्षसनीले मेरा छोरीहरूले फोन गरेको पनि देखिसहन्न। रिस गर्छे, डाहा गर्छे मेरा छोरीहरूको।’
बुहारीप्रति निकै क्रोध थियो मुहारमा।
‘नानी! नजिकै छ कोठा, चिया खाएर जानू , बरा! मलाई त कस्तो माया लागेर आयो नानीसँग कुरा गर्न पाउँदा आफ्नै छोरीहरू भेट्याझैं भयो।’
आमाले हात समातेर आफ्नो डेरातिर लैजानुभयो।
मलाई पनि कान्छी बुहारी हेर्ने मन लागेको थियो।
बुहारी तरकारी केलाउँदै हुनुहुँदो रहेछ। चिरपरिचित अनुहार। कयौं पटक देखभेट भएको।
‘नमस्कार मेडम’ भन्दै मैले आफ्नो परिचय दिएँ। उहाँले पनि मलाई चिन्नुभयो। आमाकै कोठामा गयौं। सफा तन्ना ओछ्याएको, मोटो कपासको सिरक, फाइबरको अर्को सिरक, कुनामा स्टिल दराज, चुटुक्क परेको सानो टेबल, टेबलमाथि थर्मस, गिलास, हर्लिक्सको भाँडो, भुइँमा मोटो कार्पेट ओछ्याएको, छेउमा सानो हिटर, बाक्लो पर्दा।
आमाको कोठा हेर्दा आमाले भनेको कुरा गलत साबित हुँदै थिए। बुहारीले थालभरी फलफूल खाटेर ल्याउनुभयो।
एउटा स्याउको टुक्रा लिँदै मैले भनेँ, ‘मलाई खोकी लागिरहेको छ, मलाई एक गिलास तातो पानीमात्र है।’
‘म कचौरा लिएर आउँछु ,आमालाई पनि सधैं तातो पानीमा डुबाएर फलफूल खान दिने गरेको छ, तपाईं पनि तातो पानीमा डुबाएर खानुस्,केही हुँदैन।’ भनेर फलफूल ल्याउनुभयो।
अर्को कोठामा बच्चाहरू खेलिरहेका थिए।
भान्साको खाटभरी शिक्षक सेवा आयोगका किताबहरू छरपस्ट थिए। म आमाको कोठामा पुनः फर्किएँ।
आमा दराजबाट खानेकुरा झिक्दै हुनुहुँदो रहेछ। एक मुठी काजु र बदाम मलाई पनि दिनुभयो। मैले मुठीमै कसेर राखें।
‘एक नम्बर कि छ यो, छेपाराले रंग फेर्याझै रंग फेर्छे। नानीलाई देखेर हो जाति पल्टेकी।’कानैमा फुसफुस गर्नुभयो।
मलाई उकुसमुकुस भयो मैले आमालाई भनेँ, ‘आमा एउटा कुरा भन्छु गहिरिएर सोच्नुस् है। बिहान बेलुका यही बुहारीले पकाएको तातो भात खानु हुन्छ। बिरामी पर्दा यही बुहारी चाहिन्छ। सत्र वर्षदेखि डेरामा तपाईंलाई साथमा राखेका छन्। चार तले घर र टन्न पैसा हुने छोराले डेरामा बस्ने भाइलाई आमा जिम्मा लगाएका छन्। चार महिना पनि हिँड्नु आमा हाम्रो घरमा बसौं कोही भन्दैनन्। नजिकै छन् कोठाहरू। दिनरात तपाईंको सेवा गर्नुछ,उसैको खेदो काड्नु छ।
छोरी त के बुहारीलाई दिने माया पनि दिनसक्नु भएको छैन जस्तो छ। बिचरा बुहारी तपाईंको यो व्यवहार देखेर अँध्यारो मुख नलगाएर के गरोस् त! बाह्र वर्षमा खोलो त फर्किन्छ भन्छन्।
सत्र सत्र वर्षदेखि डेरामा सँगसँगै आमा भनेर लिएर हिँडेका छन्, तपाईंका छोरा बुहारी महान हुन्। योभन्दा बढी के चाहियो तपाईंको छोरा बुहारीलाई चिन्न। समयमा चिन्नुस् यस्ता छोराबुहारीलाई। जोसँग पनि घरका कुरा गर्नु राम्रो हुँदैन। आफ्नै इज्जत जान्छ। जुन थालमा खायो, उही थालमा, छेर्यो जस्तै भएन त’।
मैले पनि अघि तपाईंको कुरा सुन्दा कस्ता होलान् छोराबुहारी यस्ती आमालाई पनि सास्ती दिएर राखेका भन्नेझैं लागेको थियो। बुढाबुढीको आँखामा आँसु देख्दा दोष जति सबैले छोराबुहारीलाई दिन्छन्। तपाईंको गुनासो सबले पत्त्याउँछन्।
बुहारी आयोगको जाँचको तयारी गर्दैछिन्। बिहान बेलुका आफ्ना साथीहरूसँग बुहारीका कुरा काट्नुको साटो, घरमा तरकारी काटी दिनुस्। आफूले गर्ने सक्ने कामहरू गर्नु। जुठा भाँडा मोल्न नसके पनि पूजा भाँडा आफैंले मोल्नुस्। बिहान ध्यान गर्नु, प्रणायाम गर्नु ,सत्संग सुन्ने गर्नु। टिभी छ बिहान बिहान ‘जीवन विज्ञान’ भन्ने कार्यक्रम आउँछ सुन्नुस्।
छोरीहरू परबाट फोन गरेर हालखबर सोधपुछ गर्दा औधी माया गरेको हुने तर बुहारी यतिका वर्षदेखि तपाईंकै सेवा गर्दा पनि किन तपाईंको नजरमा बुहारी पुतना र सुपर्नखा हुन पुगी? तपाईंले कहिले यो छोरा बुहारीको पीडा बुझ्ने कोसिस गर्नुभएको छ? तपाईंले कहिल्यै?
बुहारी किन तिम्रो अनुहार अँध्यारो देख्छु त के समस्या छ मलाई भन। म पनि तिम्रो आमा हुँ। सोध्नु भएको छ? बुहारीलाई आफूले सक्दाखेरी तिमी पढ् म खाना बनाउँछु भन्नुभएको छ? नरिसाउनु है आमा! मलाई पनि तपाईं आफ्नै आमाजस्तो लागेर सम्झाएको। तपाईंका आफन्त भनाउँदाहरूले सम्झाउँदैनन् ? कि तपाईंलाई उचाल्न मद्दत गर्छन्?’
‘कान्छी छोरीले त कराउँछे, सम्झाउन खोज्छे तर नानी! यी लगौंटीका जुम्रालाई केको सम्मान गर्नु। मेरै गोरू जोतेर खाएकी छ, सुक्को कमा छैन।’
म तीन छक्क परें कस्तो शब्द हो बुहारीलाई सासूले प्रयोग गर्ने मैले सम्झाउने कोसिस गरें, ‘मेरो कुरा ध्यान दिएर सुन्नुस् है। कति आमाहरू छोराबुहारीको दुर्व्यवहारले सडकमा पुगेका छन्। आमा बाको सम्पत्ति झुक्याएर लिएका छन्।
आफ्नै छोराछोरीको कारणले कैयौं आमा बुवा वृद्धाश्रममा पुगेका छन्। यतिको आनन्दले बाँच्न पाउनु भएको छ। छोरीसँग बुहारी दाँजेर घरमा कहल नगर्नूस्। कुरौटे बानीले छोरी र बुहारीको पनि सम्बन्ध बिग्रन्छ सक्छ। सोच्नु आमा! मेरो सासूआमा जस्तै राम्रो कुरा मात्र अरूलाई सुनाउनु। सकारात्मक काममा मनलाई लगाउनुस्।’ दुई हात जोडेर भनेँ।
‘नानी! भगवानले आज तपाईंसंग भेट गराएछन्। कस्ता राम्रा तरिकाले सम्झाएकी। कान्छी छोरी पनि यस्तै भन्छे। मेरा घैंटोमा घाम यतिका वर्ष लागेन। स्वर्गजस्तो घरलाई नर्क ठानेर बसें। यस्ती व्यवहारिक बुहारीलाई सुपर्नखा र पुतनासम्म भनेँ। तिम्रो जय होस्।
‘ए! साँच्चि तिमी ध्यान केन्द्रमा सासूलाई लिएर जान्छौ हैन? कुन बारमा हो त्यहाँ जाने? अबदेखि तिम्रो सासूलाई लिएर जाँदा मलाई पनि डाक है।’
‘हस् , आम! भोलि शनिबार छ एघार बजे मातातीर्थमा भेटौं अनि ध्यान केन्द्र जाऔंला।’
‘मेरो मन निकै उत्साहित भयो। सोच्दै ओरालो झरें। शिक्षा, वातावरण र सत्संगले व्यवहारमा असर पार्छ। आमा बरू एकचोटि सम्झाउँदा, परिवर्तनको लागि तयार हुनुभयो।। तर यहाँ कयौं घरमा शिक्षित सासू ससुराबाट बुहारीहरू प्रताडित भएका छन्।
कतै शिक्षित भनाउँदा छोराबुहारीले सासूससुरालाई जीवन मरणको अवस्थामा पुर्याएका छन्। खाँचो छ सकारात्मक चिन्तनको। खाँचो छ नैतिक शिक्षाको। आवश्यक छ सत्संग र ध्यानको। सबै सासू-ससुरा र छोराबुहारीलाई बुझ्न जरूरी छ। सेताेपाटी डटकमबाट
- श्यामप्रसाद मैनाली
देशमा साँच्चै विकृति बढेको छ । सबैतर्फ केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनताहरू सुकिलामुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवा प्रवाह नगर्ने, बिरामीहरूको हुँदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टरहरू, जस्तोसुकै अपराध गरे पनि शक्तिकेन्द्रसँग नजिक रहेकाहरूलाई संरक्षण दिने प्रहरीहरू, मनपरी भाडा असुल गरी सिन्डिकेट प्रणालीलाई सुदृढ गरी जनतालाई ठगी गर्ने यातायात व्यवसायीसँग मिलिभगत गरी यस्ता कुकृत्यलाई निरन्तरता दिन सहयोग गर्ने अख्तियारवाला, भन्सारमा दस्तुर कम गरी व्यापारीसँग मिलीभगत गर्नेहरू, आम्दानी कम देखाई आयकर छल्न व्यापारीलाई सिकाउनेहरू, अनुभवविहीन राजनीतिज्ञहरूलाई भ्रष्टाचार र अख्तियारको दुरुपयोग गर्न अभ्यस्त बनाउनेहरू, प्रत्येक आर्थिक वर्षको अन्त्यमा वर्षायाम प्रारम्भ भएपछि अत्यन्त न्यून गुणस्तरको सडक निर्माण गर्नेहरू, ससाना कामहरू जस्तैः जग्गाको रजिस्टे«सन पास, नामसारी, नागरिकता प्रमाणपत्रका लागि आवेदन दिनेहरू र अन्यायमा परी न्यायको खोजी गर्दै सदरमुकाम आइपुग्ने सर्वसाधारणलाई दलाल लगाइ दिनेहरू, यी सबै क्रियाकलापबाट जनतालाई दुःख दिई स्थानीय तथा राष्ट्रियस्तरमा तथाकथित टाठाबाठा एवं समाजसेवीलाई मनग्य फाइदा दिलाई आफूसमेत त्यसैबाट आर्थिक तरक्की गर्न उद्यत रहनेहरू, सबै विभिन्न आवरणमा राष्ट्रसेवक कर्मचारी कहलिएका छन् । यिनीहरूको जीवनशैली, कार्यप्रक्रिया र संस्कार नै टाठाबाठालाई रिजाइ दीनदुःखी जनतालाई थप अन्यायमा पार्नुरहेको छ, जसलाई हामी कर्मचारी भनेर चिन्दछौं । त्यसैले यी राष्ट्रसेवकहरू सर्वसाधारण गरिबहरूको झुप्रादेखि ठूलाठूला जिम्मेवारीमा रहेका राजनीतिज्ञ, व्यापारीदेखि उद्योगपतिहरू, सरकारबाहेक अन्य क्षेत्रमा काम गर्नेदेखि समाजसेवा र नागरिक समाजको आवरणमा क्रियाशीलता दिनेहरू, सबैको आलोचनाको पात्र भइरहेका छन् । विभिन्न सञ्चारमाध्यममा कर्मचारीको कार्यशैली’प्रति खुला आलोचना भएको पाइन्छ । राजनीतिज्ञहरूले आफ्नो असक्षमताका लागि कर्मचारी संयन्त्रमाथि नै दोषारोपण गर्दै आएका छन् । यसले गर्दा सीमित संख्यामा रहेका स्वाभिमानी राष्ट्रसेवक विस्तारै पाखा लाग्दै पेसा परिवर्तन गर्दै निजामती सेवाबाट पलायन हुँदै गएका छन् । परिणामस्वरूप निजामती सेवाभित्र असल कर्मचारीको खोजी गर्दा अपवादका रूपमा मात्रै फेला पर्छ । यो अवस्था सिर्जना हुनुमा कारक तŒवहरूको अन्वेषण गरी उपचार खोज्ने विषयमा राज्य लामो समयदेखि मौनरहेको अवस्था छ । यसको पूर्वाग्रहरहित भई विश्लेषण गर्न जरुरी देखिएको छ ।
आखिर देशको पढेलेखेको र अरूलाई बाटो देखाउने हैसियतमा रहेको समूह नै कर्मचारी हो । तर, कर्मचारी आफैं दिग्भ्रमित भएका हुन् वा यो संयन्त्रलाई यस्तो दूरवस्थामा पु¥याउने संस्कार र पद्धति नै देशले विकास गरिसकेको हो ? अध्ययन जरुरी देखिएको छ । कर्मचारीहरूमा एक थरी १० प्रतिशत काम र ९० प्रतिशत लोकप्रियता हासिल गर्न तल्लीन हुने गर्छन् । यसैका लागि सरकारी स्रोतसाधनको दुरुपयोगसमेत गर्छन् । अर्को वर्ग छ, राजनीतिक वर्ग जेगर्दा खुसी हुन्छ, त्यहीँ मात्र गरी व्यक्तिगत फाइदामा तल्लीन हुने । नेपालमा टे«ड युनियनको नाममा निम्नस्तरका कर्मचारीलाई अनुशासनहीन बनाउने, एउटा मन्त्रालयमा एकभन्दा सचिव राखी प्रशासनिक नेतृत्वलाई अत्यन्त कमजोर बनाउने, सचिवहरूबीच द्वन्द्व गराई व्यक्तिगत हिसाबमा तरक्की गर्नेहरू नेपालको कर्मचारीतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका छन् । उनीहरूका चिप्ला प्रस्तुतिबाट राजनीतिज्ञ बुझी नबुझी प्रभावित बन्न पुग्छन् । कर्मचारीहरूको वृत्तिविकास विस्तारै गुणस्तरहीन कर्मचारीले गर्ने दलालीमा निर्भर हुँदै छ । तलबलगायतका सुविधाका विषयमा नेपालको कर्मचारीतन्त्र विश्वमा नै दोस्रो न्यून वेतनभोगीमा पर्न आउँछ । तसर्थ, वैकल्पिक व्यवसाय अवलम्बन नगरी कर्मचारी आफ्नो दैनिकी चलाउन सक्दैनन् । यसै कारण कर्मचारीहरू काममा ढिलो पुग्छन्, छिटै निस्कन्छन् । आफ्नै व्यक्तिगत समस्याले मानसिक द्वन्द्वको सामना गरी रहनुपरेकाहरूले अरूको पीडामा मलमपट्टि गर्न खासै ध्यान पु¥याउन सक्दैनन् । कर्मचारीहरूको अर्को समूह छ, जसले कहिल्यै राजधानी छाड्दैन । शक्तिकेन्द्रसँग नजिक रहेको परिवारबाट आएको हुन्छ । देशविदेशमा भ्रमण गर्ने थुप्रै अवसर प्राप्त गर्छ, हैसियतभन्दा बढी सरकारी सुविधाको उपयोग गर्छ । पुरस्कार, विभूषण, अलंकारहरू यिनीहरूले नै प्राप्त गर्छन् । यो दृश्य हेर्दा हेर्दै अन्य पहुँच नभएकाहरूमा निराश र वितृष्णा पैदा हुन्छ, यस्तै निराश कर्मचारी मोफसलमा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यमा संलग्न भएका हुन्छन् । कुण्ठा पालेका वर्गले जनतालाई सेवा प्रदान गर्नुपरेको र गरिरहेको अवस्था छ ।
शुद्धीकरणको प्रारम्भ राजनीतिबाटै हुनुपर्छ र उच्च मनोबल भएको राजनीतिले मात्र कर्मचारी संयन्त्रको आलोचना गर्ने हैसियत राख्छ
विद्वानहरूले राजनीतिलाई अत्यावश्यकीय खराब वस्तुका रूपमा परिभाषित गर्न थालेका छन् । देशमा पद्धतिको विकास गर्नेतर्फ राजनीतिज्ञहरूको ध्यान पटक्कै गएको पाइँदैन । इमानदार, परिश्रमी र सच्चरित्रता कायम गर्न सक्ने योग्यतम कर्मचारीलाई उचित जिम्मेवारी दिनेतर्फ यिनीहरूको ध्यान जाँदैन । नातावाद, कृपावाद र आर्थिक तरक्कीलाई नै सबै प्रकारको काम गर्ने आधार बनाइन्छ । योग्य र स्वाभिमानी व्यक्ति यस्तो गलत र अस्वस्थ प्रतिस्पर्धामा उत्रिन चाहँदैनन् । सबैतर्फ कम्मल ओढेर घिउ खाने, आफंै मात्रै सर्वज्ञ हुँ भन्नेहरू नै पुरस्कृत हुन पुग्छन् । देशको राजनीतिले कर्मचारीलाई सत्कार्यमा लाग्न प्रोत्साहन गर्नुपर्नेमा प्रशासनको नेतृत्व गर्नेहरूलाई नै देशका प्रधानमन्त्री भ्रष्टाचार गर्न दबाब दिन्छन् । टेड्र युनियनका नाममा ‘मसल’ प्रदर्शन गरी सचिवहरूलाई धम्क्याउने जिम्मेवारी मन्त्रिपरिषद्ले औपचारिक रूपमा नै निम्नस्तरको कर्मचारीलाई प्रदान गर्ने निर्णय गर्छ । राजनीतिज्ञहरू सचिवलाई आफ्नो निजी सचिवका रूपमा परिणत गर्न चाहन्छन् । सचिवहरू कानुनले दिएको अधिकार प्रयोग गर्ने हैसियत राख्दैनन् । सरकारले गरेका गलत निर्णयमा सुधार गर्न असल मनसायले सरकारलाई सुझाव दिनेलाई कारबाही गर्नसमेत सो सरकार चुक्दैन । देशले चामत्कारिक नेता त पाएन नै † क्षमतावान् राजनेता र नेतृत्व प्रदान गर्न सक्ने सक्षम प्रशासन प्राप्त गर्ने संयन्त्र र पद्धति नै निर्माण गरेन । यस्तो अवस्थामा असल प्रशासक व्यक्तिगत हैसियतमा अपवादका रूपमा देखिए भने पनि समग्र कर्मचारीतन्त्र र अस्तव्यस्त पथभ्रष्ट राजनीतिले उनीहरूलाई साथ दिँदैन । यसका थुप्रै उदाहरण नेपालको कर्मचारीतन्त्रमा खोजी पस्दा पाउन सकिन्छ । समानान्तर अर्थ मन्त्रालय अन्यत्र कतै कायम गरी व्यापारी, उद्योगपति र तस्करहरूको सल्लाहमा वार्षिक बजेट तयार पार्दा त्यसको जवाफदेहिता र जिम्मेवारी लिन कठिन हुनेदेखि तत्कालीन अर्थ सचिवले राजीनामा दिनुपर्ने स्थिति बन्यो । यो परिस्थितिलाई खुलेर साथ दिँदै समानान्तर अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग काम गर्ने एक उच्च पदस्थ कर्मचारी सञ्चारमाध्यममा अझै असल कर्मचारीका रूपमा छाएकै छन् । पुरस्कृत गर्ने र जिम्मेवारी दिने क्रममा नातावाद र कृपावाद संस्थागत भएकै छ । जनताले अयोग्य सोची धुलो चटाइ दिएकाहरू मन्त्री तथा प्रधानमन्त्री बनेका छन् । निर्वाचनमा हारेका विभिन्न राजनीतिक दलका अध्यक्षहरू आफ्ना श्रीमतीहरूलाई निर्लज्ज भई सभासद्मा मनोनयन गर्छन् । शहीदका लागि प्राप्त कोटामा आफ्नो छोरालाई विदेशमा पढ्न पठाउने, क्षमताविहीन आफ्नी छोरीलाई विदेशीसँग लम्पसार परी डाक्टर पढ्न पठाउन गिडगिडाउनेहरू नै देशको उच्चतम राजनीतिक नेतृत्वमा पुगेका छन् । राजनीतिमा सुधार नआएसम्म देशमा पद्धतिको विकास र सुधार कसरी सम्भव हुन्छ ? यस्तो राजनीतिले बनाएको विकृत र प्रदूषित समाजका सदस्यहरू नै देशको विभिन्न क्षेत्रमा रहने हुन् । यस अवस्थामा देशमा कर्मचारीतन्त्र मात्रको आलोचना हुनु र चुस्त सेवा प्रवाहको अपेक्षा गरिनु कहाँसम्म सान्दर्भिक हुने हो ? गम्भीरतापूर्वक चिन्तन गरिनु जरुरी छ ।
राजनीतिज्ञले आफ्नो असक्षमताका लागि कर्मचारी संयन्त्रमाथि दोषारोपण गर्ने कामले स्वाभिमानी राष्ट्रसेवक विस्तारै पाखा लाग्दै र पेसा परिवर्तन गर्दै निजामती सेवाबाट पलायन हुँदै गएका छन्
यति हुँदाहँुदै पनि हाम्रो कर्मचारीतन्त्रले राम्रा कामहरू पनि गरेको छ । हुन त नेपालको कर्मचारीतन्त्रलाई प्रारम्भदेखि नै शासनहरूको औजारका रूपमा मात्रै प्रयोग गर्न थालियो । शासकहरूको मनस्थितिमा सुधार नआएकोले कर्मचारीतन्त्र यस्तै कार्यशैलीको अनुकरण गर्दै गयो । यति हुँद हुँदै पनि स्थाई संयन्त्रका हिसाबले जस्तोसुकै अस्तव्यस्तता र राजनीतिक सङ्कटको अवस्थामा समेत देशमा शान्ति सुरक्षा कायम गरी नेपाली जनतालाई राज्यको उपस्थितिको अनुभूति गराउने, शान्तिको समयमा विकास निर्माण कार्यहरू सम्पन्न गर्दै अघि बढेको, राजनीतिक प्रक्रियामा सर्वसाधारण जनतालाई सहभागी बनाउने काममा क्रियाशिलता देखाएको, देशको कुनाकाप्चामा रहेका नेपालीहरूलाई राष्ट्रिय मूलधारमा प्रवाहीकरण गर्न योगदान गरेको, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदा जनताको चाहनाअनुसार छिट्टै परिवर्तनकामी शक्तिहरूसँग घुलमिल गरी इमानदारीताका साथ सहयोग गरेको जस्तो इतिहास कर्मचारीतन्त्रले बोकेको छ । शासक वर्गको औजार बन्ने क्रममा हाम्रो कर्मचारीतन्त्रले राणाशासनमा शासकहरूको विशुद्ध व्यक्तिगत अभिष्ट पूरा गर्न लागि प¥यो भने ३० वर्षसम्म एकतन्त्रीय तानाशाही पञ्चायती व्यवस्थालाई निरन्तरता दिने कार्यमा यो शक्तिलाई परिचालन गरिरहेको अवस्था थियो । २०४६ सालको आन्दोलनपश्चात् देशमा सुधारको अपेक्षा गरिएकोमा राजनीतिक दलहरूले कर्मचारीहरूलाई आ–आफ्नो कित्तामा विभाजन गर्न पुगे । यसलाई संस्थागत र सुदृढ बनाउने कार्य दोस्रो जनआन्दोलनपछि भयो । यतिखेर सबै क्षेत्रका अगुवाहरू देशमा सुधार गर्नुभन्दा अस्तव्यस्त सिर्जना गर्नेतर्फ क्रियाशीलता देखाइरहेका छन् । यस्तो संगीन अवस्थामा समेत कर्मचारीतन्त्रले आफ्नो धर्म निर्वाह गरिरहेको छ । त्यसैले, सबै अस्तव्यस्तताको कारकका रूपमा कर्मचारीलाई लिइँदा यस संयन्त्रप्रति अन्याय हुनेछ र कर्मचारीहरूको कार्यसम्पादन स्तर अत्यन्त उत्तम भएको दलिल पेस गरी रहँदासमेत अत्युक्ति हुनेछ । त्यसैले देशमा अत्यन्त राम्रा शैक्षिक योग्यता भएका, सक्षम, ठूलो प्रतिस्पर्धाबाट छानिएका कर्मचारीहरूलाई उचित मार्गदर्शन गर्ने र प्रभावकारी रूपमा परिचालन गर्ने क्षमता हाम्रो राजनीतिज्ञहरूले शीघ्र देखाउन जरुरी छ, अन्यथा देशको अवस्था अझ विकराल हुनेछ । जसबाट सर्वसाधारण जनता नै पीडित र प्रताडित बन्नेछन् । एक वर्गले अर्को वर्गलाई हिलो छ्यापेर समस्याको समाधानमा पुग्न सकिँदैन । देशको शासन सत्तामा रहनेहरू यसमा गम्भीर भएनन् भने पद्धतिको सुधार भने हुने छैन । त्यसैले शुद्धीकरणको प्रारम्भ राजनीतिबाटै हुनुपर्छ र यस्तो उच्च मनोबल भएको राजनीतिले मात्र कर्मचारी संयन्त्रको आलोचना गर्ने हैसियत राख्छ भन्ने चर्चा प्रशासनलाई नजिकबाट अध्ययन गर्नेहरूका बीच भइरहेको छ ।राजधानी दैनिकबाट
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पदबाट राजिनामा दिएका छन् । ‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै बर्ताैलाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा महाधिवेशन दौरान निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्नुपर्ने विषय उठान गरेकोमा नेतृत्वले बेवास्ता गरेको भन्दै बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।
‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राप्रपा परित्याग गरेका मकवानपुरका बर्तौला कमल थापाकाे नेतृत्वमा केही दिन अघी गठन भएकाे राप्रपा नेपालमा प्रवेश गर्ने चर्चा रहेकाे छ ।

मकवानपुर । मकवानपुरकाे हेटाैडामा साहित्य महाेत्सव हुने भएकाे हाे । मकवानपुरमा साहित्यमा क्रियाशील महिला साहित्यकारहरुकाे संस्था आँचल साहित्य कला पुञ्जकाे आयाेजनामा साहित्य महाेत्सव हुने भएकाे छ ।
हेटाैडा उपमहानगरपालिकाकाे प्रायाेजन रहेकाे साहित्य महाेत्सव यही फागुन २० गते दिनकाे १२:१५ बजे उद्घान हुने आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव भावना सापकाेटाले बताइन् । २ दिनसम्म आयाेजना हुने साहित्य महाेत्सव हेटाैडाकाे राेयल पार्टी प्यालेसमा हुने छ ।
साहित्य महाेत्सवमा साहित्य विधाका बहस, कार्यपत्र प्रस्तुती तथा गजल, मुक्तक र कविता वाचन हुने छ । यसका साथै पुस्तक प्रदर्शनी, सांगीतिक कार्यक्रम र कला प्रदर्शनी समेत आयाेजना हुने अध्यक्ष अनिता न्याैपानेले जनाकारी दिइन् ।