नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो ।
सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । सो अध्ययनअनुसार नेपालमा विशेषगरी पाँच प्रकारका कर्मचारी रहेका छन् । जसअनुसार पहिलो प्रकारमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउँदै पढ्ने र पढाउने काममा व्यस्त हुने कर्मचारी रहेका छन् । उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् ।
दोस्रो प्रकारमा कुनै काम नगर्ने ट्रेड युनियनमा लम्पट भएर अतिरिक्त आर्जन पनि गरिरहने, तेस्रो प्रकारमा सधैं आकर्षक स्थानमा मात्रै सरुवा तथा पदस्थापन भई घुस खाने र खुवाउने, चौथो प्रकारमा कुनै निर्णय नगर्ने कुरा मात्रै धेरै गरिरहने तर काम भने नगर्ने प्रकारका कर्मचारी रहेका छन् ।
३० प्रतिशत असल तर थिचोमिचो उनीहरूमाथि नै
अध्ययनअनुसार पाँचांै प्रकारका कर्मचारी भने सरकारले दिएको काम जिम्मेवारीपूर्वक वहन गर्ने प्रकृतिका रहेका छन् । अघिल्लो चार प्रकारका कामचोर र भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत रहेको भए पनि उनीहरूको प्रकारअनुसार छुट्टाछुट्टै प्रतिशत भने निक्र्यौल गर्न नसकिएको बताइएको छ ।
केही असल मनसायका प्रशासकले निजामती सेवामा काम गर्दाको झन्डै २०÷२५ वर्षको अनुभवका आधारमा भोग्नुपरेका यथार्थका आधारमा यस्तो अध्ययन र निष्कर्ष निकालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाय र अन्य केही मन्त्रालयका उच्च प्रशासकहरूले आफ्नै अनुभवलाई समेत आधार बनाएर गरेको अनौपचारिक अध्ययनले ३० प्रतिशत कर्मचारी कामप्रति जिम्मेवार र इमानदार रहेको भए पनि उनीहरूमाथि नै बढी थिचोमिचो हुने गरेको देखाएको छ ।
‘निजामती प्रशासनमा जसले बढी इमानदारितापूर्वक काम गर्छ उसैमाथि बढी विभेद र थिचोमिचो छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले राजधानीसँग भने । ‘कामचोर सधंै चाकडी चाप्लुसीमा रमाउने र अतिरिक्त कमाइ गर्नेहरूकै बढी रजगज हुने गरेको छ,’ एक उच्च अधिकारीको अनुभव छ । तुलनात्मक रूपमा इमानदार मानिने सरकारका एक बहालवाला सचिवले यदि कर्मचारीमा यस्तै प्रवृत्ति रहिरहने र राजनीतिक नेतृत्वबाट पनि सुधारको कुनै पहल नहुने हो भने निजामती प्रशासन कोमामा पुग्न सक्ने चेतावनी दिएका छन् ।
‘७० प्रतिशत खराब प्रवृत्तिका कर्मचारी छन्, उनीहरूकै रजगज बढ्दै जाने हो र समयमा नै सुधार नहुने हो भने कर्मचारी संयन्त्र मृतप्रायः बन्न सक्छ, त्यस्तो अवस्था आएमा मुलुक असफल बन्ने रहन्छ,’ ती सचिवले राजधानीसँग भने । उनले निजामती प्रशासन सुधार हुन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै उतिकै दोषी रहेको बताए ।
मुख्य सचिवहरूले आमकर्मचारीको हितमा काम गर्न नसक्दा पनि समस्या झाँगिदै गएको उनको तर्क छ । ‘मुख्य सचिवहरू एस म्यान बन्न जरुरी छैन तर हामीकहाँ केही अपवाद छोडेर प्रायः सबै मुख्य सचिव एस म्यान भए जसका कारण प्रशासन कोमामा पुग्ने अवस्था भएको हो,’ ती सचिवले राजधानीसँग भने ।
प्रशासनविद्हरूका अनुसार नेपाली कर्मचारीतन्त्रमा दण्डहीनताको संस्कृति मौलाउँदो छ । जतिसुकै गल्ती र अनियमितता गरे पनि माथिल्लो तहबाट मातहतका कर्मचारीमाथि खासै कारबाही नहुने प्रवृत्ति व्याप्त छ । निजामती सेवा ऐन र नियमावलीमा सरकारले दिएको जिम्मेवारीअनुसार काम नगर्ने, असल आचरण देखाउन नसक्ने र अनियमितता गर्ने कर्मचारीमाथि विभिन्न प्रकारको कारबाहीको व्यवस्था भए पनि सोअनुसारको कारबाही खासै हुन सकेको छैन ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार प्रशासन संयन्त्रमा राजनीतिक नेतृत्वबाट ठाडो हस्तक्षेप हुने र प्रशानिक नेतृत्वले त्यसविरुद्ध आवाज उठाउन नसक्दा पनि कर्मचारी संयन्त्र पंगुजस्तै बन्न पुगेको हो । ती अधिकारीका अनुसार यदि प्रशासन सुधार्ने हो भने राजनीतिक नेतृत्वले कर्मचारी सरुवामा चासो दिन नपाउने गरी आवश्यक नियम बनाउनुपर्छ । सहसचिवको सरुवा मुख्य सचिवको तजबिजमा मात्रै गरिनुपर्छ भने सचिवको सरुवा मुख्य सचिवकै सिफारिसमा मात्रै सरकारले गर्न पाउने प्रावधान बनाइनुपर्छ,’ ती अधिकारीले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले कर्मचारी खराब र असल भन्ने विषयको मापन गर्न कठिन हुने बताए । उनले कार्यसम्पाद मूल्यांकनका आधारमा कर्मचारीको क्षमता मापन हुने भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको स्वीकारे । यद्यपि, सचिव अधिकारीले पनि कुल कर्मचारीमध्ये प्रभावकारी रूपमा जिम्मेवारीअनुसार काम गर्ने कर्मचारी संख्या भने ३० देखि ४० प्रतिशतसम्म रहेको स्वीकारे ।
उनका अनुसार माथिल्लो तहमा कर्मचारीको संख्या अनावश्यक रूपमा बढी रहेको र सेवा प्रवाह गर्ने तल्लो तहमा कर्मचारीको संख्या अत्यधिक रहेकाले पनि समस्या भइरहेको छ । हाम्रो निजामती प्रशासनमा पुनर्संरचना जरुरी छ, अहिलैको अवस्थाबाट रिजल्ट निकाल्न कठिन छ,’ सचिव भने । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । बारा जिल्लामा बुढ्यौली साहित्य समाज गठन गरिएकाे छ । बुढ्याैली साहित्यकाे विस्तारका क्रममा फागुन १७ गते मंगलबार बाराकाे जितपुर सिमरा उपमहानगरपालिका २ मा भएकाे भेलाले बुढ्यौली साहित्य समाज बाराको तदर्थ समिति गठन गरेकाे हाे ।
सिमरामा रहेकाे लाेटस एकेडेमीकाे सभाहलमा भएकाे भेलाले रामप्रसाद अधिकारीकाे अध्यक्षतामा अप्सरा पुडासैनी, इसहाक हुसेन, राम पराजुली, मीरा पुरी, रामप्रसाद साह र एकजना पछि मनाेनित गर्ने गरी सात सदस्यीय बुढ्यौली साहित्य समाज तदर्थ समिति गठन गरेकाे छ । भेलामा रामप्रसाद पाेखरेल,पिताम्बर वास्ताेला,मधुसूदन चाैधरी,भाेला प्रसाद अधिकारी र सुशील मुडभरीले बुढ्याैली साहित्य सम्बन्धी आफ्ना धारणा राख्दै तथा रचना समेत वाचन गरेका थिए ।
उक्त कार्यक्रममा बुढ्याैली साहित्य समाज, मकवानपुर अध्यक्ष आरसी रिजाल, सचिव राजकुमार लामिछाने, सदस्य रमेशमाेहन अधिकारी समेतको उपस्थिति रहेको थियो । बुढ्याैली साहित्यकाे परिकल्पनाकार आदरणीय कृष्णमुरारी गाैतम (चट्याङ मास्टर) एवम् आरसी रिजालकाे सक्रियतामा यसअघि मकवानपुर, चितवन तथा भक्तपुरमा बुढ्याैली साहित्य समाजकाे गठन भईसकेको बुढ्याैली साहित्य समाज, मकवानपुर सचिव लामिछानेले जानकारी दिए ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मान गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा उपस्थित काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचन भएकाे बताएका छन् । उनीहरुले पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउन लागि पर्ने बताए । कार्यक्रममा नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताए । उनले भने ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकियाे ।’ अब मकवानपुर कांग्रेसमा कुनैपनि गुट उपगुट नहुने लामाले दावी समेत गरेका छन् ।
सम्मान कार्यक्रममा सभापतिका प्रत्यासी पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने प्रतिवद्धा व्यक्त गरे । उनले गत निर्वाचनमा मेयरमा झिनो मतान्तरले पराजित भएपनि पार्टीको संगठन निर्माणमा अहोरात्र खठिएको स्मरण गराउँदै अबका दिनमा पनि आफ्नो क्रियाशिलतामा कुनै कमि नआउने बताए ।
यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार र समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताएका छन् । लामिछानेले स्थानीय तहको निर्वाचनकाे लागि आफूहरु एकै मत र मन भएर संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने ‘सबै कांग्रेस जन एकजुट भएर आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत हुनुपर्छ ।’
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले अबको नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर लैजान अहम भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा सहित उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँलाई सम्मान गरिएको थियो ।
मकवानपुर । मकवानपुरे नेता राजाराम बर्ताैला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको महामन्त्री भएका छन् । यस अघी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे केन्द्रीय सदस्य रहेका बर्ताैलाले उक्त पदबाट राजिनामा दिएका थिए ।
गत मंसिरमा भएकाे राप्रपाकाे महाधिवेशनमा राजेन्द्र लिङ्देल अध्यक्षमा निर्वाचित भए पछी थापाले निर्मल निवासले हस्तक्षेप गरी आफूलाई हराउने षडयन्त्र गरेकाे भन्दै विराेभ गरेका थिए । गत फागुन १ गते थापाले देशको धरातलीय यथार्थ र सुझाव अनुसार राप्रपा नेपाल गठन गरेकाे बताउँदै राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुन सबैमा अपिल समेत गरेका थिए ।
गत फागुन ९ गते राप्रपाको केन्द्रीय सदस्य पदबाट राजिनामा दिएका बर्तौला कमल थापा नेतृत्वको राप्रपा नेपालको महामन्त्री भएका छन् । बुधबार अध्यक्ष थापाले बर्तौलालाई पार्टीको महामन्त्रीमा मनोनयन गरेका छन् । अध्यक्ष थापाले बर्तौलासहित १६ जनालाई पदाधिकारीमा मनोनयन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन्।
राप्रपा नेपालको पदाधिकारीमा मनाेनित हुनेहरुमा उपाध्यक्षमा राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र विर राय, डा.बिष्णु भण्डारी र लाक्पा तामाङ रहेका छन् । महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, ईन्द्र चित्रकार र राजाराम बर्तौला रहेका छन् ।
यसै गरी राप्रपा नेपालको सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ, धर्म गुरुङ, अम्बिका ढकाल, मुमाराम राई, शिव बास्तोला, ममता राई र शशिरंजन यादव मनाेनित भएका छन् । राप्रपा नेपाललाई देशको बलियो अग्रणी शक्ति बनाउने अभियानमा नवनियुक्त पदाधिकारीहरुबाट महत्वपूर्ण योगदान हुने विश्वासका साथ अध्यक्ष थापाले बधाई तथा शुभकामना दिएका छन् ।


शंकरजीलाई कैलाश पर्वत पसे पनि सुहाउने ।
त्रिशुल लिई आङमा खरानी घसे पनि सुहाउने ।
नन्दी भृङी साथी, बुढो साढे सवार गर्ने हे भगवान !
काखमा गणेश ,पार्वती लिई बसे पनि सुहाउने ।।
लक्ष्मीपुर, इलाम

शिवजीको धाम सबै जन खैंजेडी बोकी आउनुहोला
मिठा मिठा भक्ति भजन गीत शिवजी कै गाउनुहोला
सुखदुख हर्ताकर्ता मात्र उनै भोलेबाबा तिर्थधाम
बाँञ्चुजेल गरी सुकर्म सबले प्रभुधाम पाउनुहोला।
हेटाैडा, मकवानपुर

साह्रै आनन्द हुन्छ भन्छन् गाँजा,भाङ सधैं छुन पाउँ
यो स्वार्थी संसार बिर्सिएर छिन छिनमै हाँस्न,रुन पाउँ
जता जसो गरे पनि नरिसाउने पार्वती पाउने भए त
एक जुनी मात्र कहाँ हो र हरेक जुनी महादेव हुन पाउँ।
विराटनगर