गणेश चौधरी
आयो आयो होली आज मनाउँ,साथी संगी मिलेर
बर्षमा आउने होली पर्व जनाउँ,साथी संगी मिलेर
अर्को वर्षको फागु पुर्णिमामा जस्तै यो वर्ष पनि,
सात रङ्गि रङ्ग मिसाई रमाउँ, साथी संगी मिलेर ।
ठाकुरबाबा ७ भदेली, बर्दिया
अन्जिता राउत
सबको मन होली जस्तै रङ्गिन होस् शुभकामना
केहिक्षण भएनि सबैको पीडा लुकोस् शुभकामना
दुखको धारा सुकेर खुसीको अविरल धारा बगेर
मनले आँटे अनि सोचेको सबै पुगोस् शुभकामना।
सोलुखुम्बु
रञ्जना पराजुली लम्म्साल
जबर्जस्ति नगरी मिलि खेलौ होलि
दिदै शुभकामना दिलै देखि खोली
चाड हो बर्ष दिनको संस्कृती जोगाउ
रङ्गी बिरङ्गी रङ्गले भिजाउदै चोली ।
इटहरी
अग्नी सुनुवार “अबसु”
एकअर्कालाई फागु दल्ने यो हो होली भन्छन्
पहाडमा आज यो पर्व तराईमा भोलि भन्छन्
पीडा भुली रंगमा रमाउ साथीहरू आउनुहोस
हाँसी खुसी मनाउ है होली दिलै खोली भन्छन्
कमलामाई ४ फाँट, सिन्धुली
सावित्री अधिकारी
उत्साह र उमंगले सदा सजियोस मन
हरपल जाेस ,स्फुर्त र स्वस्थ रहोस तन
शुभकामना छ सम्पूर्णमा फागु पुर्णिामाकाे
प्रत्येक रंग जस्तै रंगिन बनाेस जिवन ।
काठमाडाैं
सुरेश ठगुन्ना
सुभ -कामना दिए जित होस तिम्रो भनी मैले हारी छ फेरी
कहीले रुन दिन्न मेरो राजा लाई भन्थि रुन पारी छ फेरी
न आवस निष्टुरी को याद यसरी मनै जलाउने गरी सोच्छु
मनमा गाढा बनेर बसेको छ उस्को याद यो मुटु भारी छ फेरी ।
बैतडी
टिङ्कु भट्टराई
होली खेल्न होली टिसर्ट लगाएकी छु
बजार बाट थरीथरी रङ्ग मगाएकी छु
दलिदिन्छु रङ्ग उनलाई बाटो छेकीछेकी
हेर यस्तै रहर मनैभरी जगाएकी छु ।
लक्ष्मीपुर इलाम
जेके तिम्सिना
सम्बन्ध प्रगाढ बनोस् मीठो बोलीको शुभकामना
आजसम्म जेजस्तो भए नि भोलिको शुभकामना
खुसियाली र उमंगले बितोस् जिन्दगानी सबैको
तन जस्तै मन पनि रंगियोस् होलीको शुभकामना ।
हल्दिबारी-१ गोलधाप, झापा
सरस्वती पाैडेल
यो साल पनि बिताउनु छ मनाएर होली
आयो फेरि बसन्तलाई पछ्याएर होली
बर्षौँ बर्ष बितेका छ्न संगालेर पिडाहरु
आउ खेलौँ रङ्गमा रङ्ग मिसाएर होली ।
भरतपुर चितवन
वृन्दा ढुंगाना
बसन्त ऋतुको शान
फागु हाम्रो पहिचान
रङहरु सङ्गको नाता
हटोस् सबै अभिमान।
काठमाडाैं
मकवानपुर । हेटौंडा उपमहानगरपालिका हटियास्थित शिवम सिमेन्ट उद्योगमा कार्यरत १ जना मजदुरको मृत्यु भएको छ । उद्याेगमा कार्यरत अन्दाजी बर्ष २० का भारतीय नागरिक रकिब अख्तरको विहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार अख्तर सरसफाइको क्रममा मेसिनको फित्तामा च्यापिएर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । उनीसंगै उनको बुवा र दाई समेत शिवम् सिमेन्टमा मजदुर रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागु पर्वकाे अवसरमा मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे शुभकामना दिएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालीहरुकाे पर्व पहाड तथा हिमाली क्षेत्र तथा तराईमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन् ।
मुख्यमन्त्री पाण्डेले विहीबार शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन् । उनले शुभकामन सन्देशमा भनेका छन् ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा सहयोग पुग्नेछ ।’
उनले असत्य माथि सत्य र खराब माथि असल पक्षले विजय हासिल गरेको रुपमा लिइने होली पर्व देशभर हर्षोल्लास पूर्वक मनाइने राष्ट्रिय पर्वमा खेलिने रङ्गहरुको यो पर्वले सबैको जीवनलाई रङ्गिन र उल्लासमय बनाउन, जीवन प्रति आत्मविश्वास बढाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे । उक्त चाड पर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सदभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाण्डेले शुभकामना सन्देशमा भनेका छन् ।
मकवानपुर । आज फागु पुर्णिमा । फागुन शुक्ल पुर्णिमाका दिन पहाडी समुदायले रंगसँग सद्भाव साट्दै फागु पर्व मनाउँने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
केही वर्षदेखि रङको पर्व फागु अर्थात होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागु सुरु नहुदै १ हप्ता अघी देखि नै लोला हान्ने प्रवृत्ति थियो । तर केही समयदेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
फागु, होली, फागु पूर्णे अनेकन नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो बसन्त ऋतुको चाडमा आफ्ना लागि केही समय निकालेर आफन्तजनसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्दै मनाउने गरिन्छ ।
उतिबेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरु नै किन नहुन्, बसन्त ऋतुको यो महान पर्व होलीका पृष्ठभूमिहरु अनि मनाइएका चलनहरु प्रशस्तै इतिहासमा वर्णित छन् । त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दैत्यराज्य हिरण्यकशिपु आफ्नै पुत्र प्रह्लाद भगवान भक्त भएकामा क्रोधी बनेका थिए । होलीकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरु अनि गीतहरु रचना गरिएका छन् ।
भगवान बिष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालबासीहरुले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।
होलीका बेला शौभाग्यको सूचक रातो रङ्गको प्रयोग गरिन्छ । फागुमा प्रयाेग गरिने नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । पहाडी तथा हिमाली जिल्लमा र उपत्यकामा आज अर्थात् फागुन पूर्णिमाकै दिन सरकारले सार्वजनिक बिदा दिएकाे छ भने भाेली तराई मधेसका क्षेत्रमा हाेली मनाउने भएकाेले सार्वजनिक बिदा दिइन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरुबीचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के बृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रुपमा हेरेरै त होला नेपालीजन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।
बाल–बालिकाले पिच्कारी अनि स–साना बेलुनका साथमा मज्जा लन्छन् । फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोत्तलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरु अनि भातृत्व र साहसको पर्व हो । शुरु–शुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गीन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरु सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा बृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।
तराईतिर त झन् पोखरी नै रङ्गीन पुग्छन्, रङ्गहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । यो पर्वमा खाने कुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँङको घोटा अर्थात् गाँउतिर पाइने भाँङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्व हुन्छ ।
पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ । कोरोना संक्रमण जोखिमका कारणले पछिल्लो वर्ष हाेलीकाे उमङ्ग थिएन् । फागु अर्थात होलीको उल्लासमा यो वर्ष पहाड र तराईका जिल्लाहरुमा कमी आउने छैन ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।
यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
आजै काठमाण्डौको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

मकवानपुर । हेटौडा–१८ दोभानचौर स्थित बंशगोपाल सामुदायिक वन उपभोक्ता समूहमा वनडढेलो ब्यवस्थापन तालिम भएको छ । सुख्खायाममा लाग्ने वनडढेलोबाट कसरी बच्ने तथा डडेलाे लाग्नबाट बचाउने विषयमा बुधवार तालिम भएकाे हाे ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।तालिममा वनडढेलोले पु¥याउने हानी,वातावरणमा पर्ने नोक्सान,वनपैदावारमा हुने हानी, वनडढेलो नियन्त्रण गर्ने उपाय लगायतका विषयहरुमा जानकारी गराइर्एको थियो । तालिममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
तालिममा बंशगोपाल सामुदायिक वनका ३० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । महासंघले सुख्खायाममा लाग्ने बनडढेलोलाई मध्यनजर गर्दै यस अघि हेटौडा–१७ हटियामा रहेको चुरेकालीलेक र हेटौडा–१९ मा रहेको जलेश्वर सामुदायिक वन समूहमा सचेतनामुलक वनडढेलो व्यवस्थापन तालिम सञ्चालन गरिसकेको छ।
हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, हेटौडा उपमहानगरपालिकी आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाई, वातावरण ईन्जिनियर चन्दा खड्का, समूहका अध्यक्ष हरेराम बानियाँ, सञ्चारकर्मी भीमसेन पौडेल, फेकोफन सहजकर्ता अन्जली थापा, सुमित लामा लगायतको उपस्थिति रहेको थियो ।