मकवानपुर । साहित्य सङ्गम मकवानपुरले ३ सय १७ औं साहित्य सन्ध्या पर्यटकीय तथा धार्मिक स्थल पुण्यक्षेत्र र स्मारकमा मनाएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गमले साहित्य सन्ध्यालाई फरक तरिकाबाट मनाउने क्रममा हेटौंडा–११ मा रहेको पुण्यक्षेत्रको जंगलमा स्थलगत रचना लेखन र वाचन गरेर मनाएको हो ।
स्मारक विकास समितिको सहयोग र समन्वयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले त्यहिको प्रकृतिलाई नियाल्दै लेखेका साहित्यका बिभिन्न रचना वाचन गरेका साहित्य सङ्गम अध्यक्ष अनिता न्यौपानेले बताइन् ।
कार्यक्रममा प्रसिद्धिका लम्साल, रजनी अधिकारी, इलिसा पराजुली, सम्प्रस पौडेल, गंगा सापकोटा, यमनदेव उत्प्रेरक, अनिल कोइराला, ऋत्विक केबी, कुबेर पराजुली, महेन्द्र ओझा, सावित्री ढुंगाना, स्वस्तिका दाहाललगायतले गीत, कविता, गजल र हाईकु रचना गरेर वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्गमका कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए भने स्वगत मन्तव्य सङ्गमका उपाध्यक्ष सानु खनालले राखेका थिए ।
तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको साहित्य सन्ध्याको स्थलगत रचना लेखन कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, नेपाल लेखक संघका पूर्व अध्यक्ष विष्णु गौतम, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, साहित्यकार जर्नादन खनाललगायतको आतिथ्यता रहेको थियो ।
साहित्य सन्ध्यामा स्मारक विकास समितिका अध्यक्ष रामचन्द्र न्याैपाने, बालजागृति बाेडिङ्ग स्कुलका प्रमुख विनाेद सुवेदी, एनएस टेलिभिजनका महेन्द्र ओझा, साहित्य सङ्गम मकवानपुरका कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका लागि मकवानपुरमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाको अनुसार १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेका छन् । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
रिमालका अनुसार आवेदकहरुको चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ। निर्वाचन अघि र पछि केहि समयको लागि समेत गरि ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र १ हजार रुपैयाँ यातायात खर्च गरेर ४४ हजार रुपैयाँ प्राप्त गर्ने कार्यबिधि रहेको छ ।
मकवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ को उपाधी हेटौंडाका क्षितिज भण्डारीले जितेका छन् । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा काठमाडौंका मनिष हमाललाई हराउँदै भण्डारीले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।
प्रथम भएका भण्डारीले ६ अंक प्राप्त गरी उपाधी जितेका हुन् । यस्तै, हेटौंडाका कृृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । यस्तै, झापाका प्रकाश चन्द्र नेपालले पनि ५.५ अंकका साथ तृतीय भए । भण्डारीले उपाधी विजेता बन्दै नगद ५० हजार रुपैयाँ हात पारेका छन् । द्वितीय स्थानमा रहेका थापाले नगद २५ हजार रुपैयाँ हात पारे । तृतीय भएका चन्द्रले नगद १५ हजार रुपैयाँ हात पार्न सफल भए ।
यस्तै, चौँथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । दुबै जनाले नगद १०–१० हजार रुपैयाँ हात पारे । यस्तै रुपेश जैसवालले ५, राजन सुवेदीले ५, श्रीकृष्ण श्रेष्ठले ५, सुस्रुत दाहालले ४.५ र आषिश फुयाँलले ४.५ अंक प्राप्त गरे । सबैले समान ७–७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा देशभरबाट ५४ जना खेलाडी सहभागी भएका थिए ।
नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, केन्द्रीय महासचिव धरम लामा लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । हाम्रो नेपाल, हामी नेपाली अभियान मकवानपुर राप्रपा मकवानपुरमा समायोजन भएकाे छ । ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको अभियान राप्रपा मकवानपुरमा शनिबार समायाेजन भएकाे हाे । अभियानका जिल्ला अध्यक्ष राजु सन्जेल सहितकाे मकवानपुर नेतृत्व राप्रपा मकवानपुरमा समायाेजन भएकाे राप्रपा मकवानपुर जिल्ला प्रवक्ता बिशभ अधिकारी जनाकारी दिए ।
कार्यक्रममा राप्रपाका नेता मधु अधिकारीले पार्टीको नीति अनुरुप समान बिचार भएका राजनीतिक दल, संघ-संस्था र अभियानलाई एकीकृत गर्दै राप्रपालाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न लक्ष्यका साथ अगाडी बढ्नुपर्ने बताए। अहिले देखिएको लोकप्रियता, जनउभार र लहरलाई अब आउने स्थानीय तहको निर्वाचनमा भोटमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।
राप्रपाको नेता मधु अधिकारीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा अभियानको प्रदेश अध्यक्ष सुन्दर शाहीले न्यायोचित ढंगले समायोजन सम्पन्न गर्ने कुरामा आफु आशाबादी रहेको बताएका छन्।
कार्यक्रममा राप्रपा बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्ब सन्जेल,पूर्व जिल्ला अध्यक्ष रामहरि न्यौपाने, पूर्व केन्द्रीय सदस्य बाल कृष्ण न्यौपाने, राप्रपा मकवानपुर जिल्ला सचिव सागर थापा अभियानका जिल्ला अध्यक्ष सन्जेल र अभियानका नगर अध्यक्ष यादव श्रेष्ठलगायतकाे उपस्थिति रहेको प्रवक्ता अधिकारीले बताए ।
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगता अन्तर्गत महिला फुटबलकाे उपाधी मकवानपुरले जितेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएकाे खेलकुदमा मकवानपुरले धादिङलाई पराजित गर्दै महिला फुटबलकाे उपाधी हात पारेकाे हाे ।
काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको फालइन खेलमा मकवानपुरले धादिङलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलका पहिलो हाफ र दोस्रोमा दुबै टोली गोल गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै मकवानपुरले पहिलो उपाधी जितेको हो । मकवानपुरका लागि सञ्जिता बोम्जन (साम्भा) ले गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गरेको गोल जितकाे लागि निर्णयक बनेकाे हाे । खेलकाे म्यान अफ द म्याच मकवानपुरकी सञ्जिता भइन् ।
प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत यसअघि हेटौंडामा सम्पन्न पुरुष फुटबलतर्फ ललितपुरलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिता अन्तरगत चितवनमा भएकाे पुरुषतर्फको क्रिकेट खेलकाे उपाधि समेत मकवानपुरले हात पारेको थियाे । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।