मकवानपुर । देशै भर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बाट सुरु हुदैछ । मकवानपुरमा एसईई परीक्षा सबै पूरा भएको छ ।
परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने सूचना अधिकारी पौडेलले बताए ।
जिल्लाका विभिन्न पालिकाका विद्यालयमा अध्यनरत विद्यार्थीलाई सकेसम्म पायक पर्ने गरी परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकाका विद्यार्थीले थाहानगरमै तोकिएको ३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । यसैगरी बागमती गाउँपालिकाका विद्यार्थीले बागमतीमै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् भने बकैया गाउँपालिकाका विद्यार्थीले बकैयामै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । राक्सिराङ र मनहरी गाउँपालिका विद्यार्थीले मनहरीको परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन ।
हेटौंडा उपमहानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले हेटौंडा उपमहानगरमा तोकिएका परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । मकवानपुरगढी, भीमफेदी तथा ईन्द्रसरोबर गाउँपालिकाका विद्यार्थीले पनि सम्बन्धित पालिकामै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । बकैयाको बुद्ध माविमा ३ सय ८० र महेन्द्र माविमा २ सय ३२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । हेटौंडाको हटियामा रहेको जनप्रिय माविमा २ सय ९९, भीमफेदीमा रहेका महेन्द्र माविमा १ सय ८१, थाहानगरको पालुङमा रहेको जनकल्याण माविमा २ सय ८२, पालुङकै मच्छेनारायण माविमा १ सय ८८ जनाले परीक्षा दिँदैछन् । यसैगरी मार्खुमा रहेको सरस्वती बालबोधिनी माविमा १ सय ४३ जना, मनहरीको राष्ट्रिय रोटरी माविमा ४ सय ४८ जना, मनहरीकै महेन्द्र किरण माविमा ३ सय ९१ जनाले परीक्षा दिनेछन् । हेटौंडाको बसामाडीमा रहेको महेन्द्र किरण माविमा २ सय ९२ जना, बस्तीपुरमा रहेको निर्मल माविमा ३ सय ४५ जना, चौघडामा रहेको वंशगोपाल माविमा ३ सय ८ जनाले परीक्षा दिनेछन् ।
हेटौंडाको आधुनिक राष्ट्रिय माविमा ३ सय ९८ जना, हेटौंडाकै बालज्योति माविमा ३ सय ११ जना, ज्ञानदा माविमा १ सय ९८ जना, भूटनदेवी माविमा ३ सय ५६ जना, सिद्धार्थ माविमा ३ सय ६६ जना, जीएस निकेतनमा ३ सय ५१ जना, सोलड्यारिटी बोर्डिङ स्कूलमा ४ सय २५ जना, प्रगति माविमा ३ सय ५३ जनाले परीक्षा दिनेछन् । थाहा नगरको बज्रबाराही माविमा २ सय ५६ जना, हेटौंडाको अमर माविमा २ सय ६५ जना र मकवानपुरगढीको भानु माविमा १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्ष तोकिएकाले सम्बन्धित विषयको परीक्षा भएको दिनको केही समयअघि केन्द्राध्यक्षहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट प्रश्नपत्र लगेर परीक्षा सञ्चालन गरिने । परीक्षामा अमर्यादित क्रियाकलाप हुन नदिन पर्याप्त सुरक्षा ब्यबस्था गरिएको बताईएको छ ।
पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये छात्र २ लाख ५७ हजार ९ सय २७ र छात्रा २ लाख ५७ हजार ५३ छन् । बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् ।
गत दुई वर्षदेखि कोभिड महामारीका कारण विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमा सञ्चालन हुन लागेको हो ।
मकवानपुर । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् । रोहित र केकीले बिहिबार काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह गरेका हुन् ।
केही समय अघि भेटघाट भएका केकी र रोहित पछिल्लो समय प्रेम सम्बन्धमा थिए । तथापि उनले विवाह गर्ने चर्चा केही दिन यताबाट चल्दै आएको थियो । विहीबार विवाह सम्पन्न भएपछि उनले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफु र रोहितले नयाँ जीवनको थालनी गरेको बताएकी छिन् ।
विवाहको तीन वटा तस्बिर फेबसुकमा सार्वजनिक गर्दै केकीले लेखेकी छिन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार–चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजिनामा दिएका छन् ।
सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् ।
प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस भएका छन् । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार रेनु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए।
यसपटक पनि उनी सोहि स्थानमा संभवत सोहि व्यक्तिसंग चुनावि मैदानमा आउदैछन । स्थानीय तहको बिकासमा आफ्नो लगाब रहेको र पार्टीले अवसर दिने भएपछि आफूले प्रदेशको सांसद पद त्यागेको उनले बताए ।
मकवानपुर । नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिकाको प्रमुख (मेयर) नपाए गठवन्धनबाट बाहिरिने चेतावनी दिएको छ । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समितिले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि हेटौँडा उपमहानगरपालिकाको मेयर आफुहरुले नपाए एक्लै मेयर र उपमेयर सहित निर्वाचनमा जाने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले आफूहरुले हेटौँडामा कांग्रेसको अवस्था र कार्यकर्ताको भावनाको विषयमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराईसकेको अवस्थामा हेटौँडा एकिकृत समाजवादीको भागमा परेको जानकारी आएको भन्दै उक्त निर्णय पुनारवोलकन नभए एक्लै निर्वाचनमा होमिने बताए ।
उनले भने ‘हामीलाई हेटौँडाको मेयर समाजवादीको भागमा परेको भन्ने जानकारी आएको छ, कार्यकर्ताको भावना अनुसार उक्त निर्णय पुनारावलोकन भएन भने बैशाख ६ गते हेटौँडामा बसेको १९ वटै वडा सभापति सहित नगर पदाधिकारीको बैठकले गरेको निर्णय अनुसार गठवन्धनबाट बाहिरिने र एक्लै निर्वाचन लड्ने छौ ।’
आम कांग्रेस कार्यकर्ताको मनोभावनामा ठेस पुग्नेगरि भएको सहमतिलाई पुनारवलोकन गर्दै हेटौँडाको मेयर कांग्रेसलाई दिने सहमति गर्न समेत इटेनीले विज्ञप्तिमा अनुरोध गरेका छन् ।
मकवानपुर । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा ६ महानगर, ११ उपहानगरमा गठबन्धन गर्ने सहमति भएको छ ।
सहमति अनुसार हेटौंडा उपमानरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने उपमेयर नेपाली कांग्रेसले पाएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरमा गठबन्धन गर्ने सहमति भएको हो ।
भागबन्डाको सहमति पत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,समाजवादीका अध्यक्ष माधव नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडलले हस्ताक्षर गरेका छन् ।

