मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
दीपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)
मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिंह उम्मेदवार छन् । उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यका साथ उम्मेदवार बनेका हुन् । यस अघी उनी २०७९ सालकाे निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
* बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहबाट २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दिपक बहादुर ७/८ बर्षको हुँदा आमाबुबा परिवारसहित हेटौंडा बसाइ सरी आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौंडा – २ बनेकाे छ । उनी हेटौंडाका उद्योगी व्यवसायी हुन् ।
* माध्यामिक शिक्षा हेटौंडा-४ स्थित भुटनदेवी माविबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका छन् । उनका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण घरमा राजनीतिक वातावरण थिएनन् । तर दिपक राजनीतिमा २४ बर्षको उमेरदेखि नै लागेका हुन् ।
* २४ बर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अहिले पनि अनवरत छ । विभिन्न संघसंस्थामा आवद्ध उनी राजनीतिकाे सुरुवात देखि नै राप्रपामा छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणी पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।
*त्यस्तै २०७० सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए । २०५६ सालमा नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ उनी फेरि पराजित भएका थिए । त्यस्तै २०६४ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए ।
* २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । यस भन्दाअघि ६ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पदमा उम्मेदवार छन् । २०७९ सालको निर्वाचनमा २७ हजार ८१६ मत हासिल गरी सिंहले चुनाव जितेका थिए ।
* उनकाे प्रतिषपर्धी काँग्रेसकी महालक्ष्मी डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।
उनले यो पटक २०७९ सालकै प्रतिस्पर्धी काग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना, रामेश्वर राना (एमाले), विजय गौतम (नेकपा), प्रकाश गौतम (रास्वपा), विद्या श्रेष्ठ (श्रम सस्कृती पार्टी) सहित २३ जना उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको कारण सिंह चुनाव जित्ने दावी गर्छन् । राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए ।
मकवानपुरे नारीरत्न गायिका कोइली देवी माथेमा
Tags: No Comments
नेपालको इतिहासमा केवल राजनीतिक उतार–चढावको कथाहरू मात्र छैनन् । गीत, सङ्गीत र साधनाको दस्ताबेजहरू पनि छन् । त्यही पुरानो सुनौलो दस्ताबेजमा एउटा अमर नाम लेखिएको छ । नेपाली गीत सङ्गीतको एउटा सुप्रसिद्ध नाम गायिका कोइलीदेवी माथेमा
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका नेपालको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक चेतनाको एक महत्त्वपूर्ण केन्द्र हो। राणाकालीन शासन प्रशासनको मेरुदण्ड मानिने मकवानपुरको चिसापानी गढी, पुरानो सैन्य संरचना, नेवारी सांस्कृतिक परम्परा, राजधानी जोड्ने ऐतिहासिक पदमार्ग र समृद्ध प्राकृतिक वन सम्पदाले भरिपूर्ण र सांस्कृतिक दृष्टिले अनुपम, गीत, सङ्गीत र भजनको उर्वर त्रिवेणीका रूपमा चिनिने पवित्र भूमि हो। यही त्रिवेणीमा नेपाली गीत,सङ्गीत र गायनकी अर्की त्रिवेणी कोइली देवीको जन्म भएको थियो ।
१९८७ भाद्र शुक्ल ऋषि पञ्चमीका दिन पिता राम बहादुर बस्नेत र माता निलम प्रधानको पहिलो सन्तानका रूपमा कोइली देवीको जन्म भएको हो । उनको न्वारानको नाम राधा राखियो। आमाले बुद्धलक्ष्मीको नाममा उहाँलाई चिनाउनु भयो । काली तथा पातली भएकीले सानी छँदा उनलाई ‘पान्तरी’ भनेर बोलाइन्थ्यो । तर, समयले उनलाई फेरि अर्को अमर नाम दियो कोइली। कोइलीको जस्तै मिठो स्वर भएको हुनाले उनी कोइली देवीको रूपमा प्रसिद्ध भइन् ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीपछि रेडियो नेपालमा निरन्तर सङ्गीत साधनामा समर्पित स्रष्टा कोइली देवी नै हुन । भजन, गीत,राष्ट्रिय गीत, र लोकलयमा आधारित नेपाली गीतहरूमा उनले लय हालिन् । उनको रचना र सङ्गीतमा हरिप्रसाद रिमाल, तारादेवी, दिलमाया खाती, पन्नाकाजी, प्रेमध्वज प्रधानले स्वर दिएका थिए ।
कोइलीदेवीका पिता रामबहादुर क्षेत्री मकवानपुरको चिसापानी गढीमा सुबेदार पदमा कार्यरत थिए। जागिरको सिलसिलामा गोरखाबाट मकवानपुर आएका थिए । त्यतिखेर चिसापानी गढीमा बडाहाकिम, सेना, प्रहरी, कारागार आदिका कार्यालयहरू थिए । २०१८ सालसम्म यो परिपाटी कायमै रहेको थियो ।
बुवा काठमाडौँमा सरुवा भएरपछि कोइलीदेवी पनि सँगै काठमाडौं गइन् मखन टोलको पाठशालामा पढ्न थालिन् । तर उनलाई अरू विषयभन्दा सङ्गीतपट्टि नै चाख थियो । सङ्गीत पढ्न काेइली देवीलाई उनकी फुपूले हौस्याएकी थिइन् । माता निलम प्रधान क्षेत्रीको देहावसानका कारण उनको बाल्यकाल सङ्घर्ष र अभावको छायामा बित्यो। जन्मेको एक वर्ष नपुग्दै आमाको माया गुमाएकी कोइलीदेवी पाँच वर्षको उमेरमा फुपू मानप्रिया भट्टले छोरीसरह माया गरेर काेइली देवीलाई हुर्काएइन् ।
मानप्रिया सिद्ध हस्त सितार वादक थिइन् । राणा दरबारमा कान्छी महारानीलाई सितार शिक्षा दिने सम्मानित कलाकार थिइन्। यही पारिवारिक र सांस्कृतिक वातावरणले कोइलीदेवीको बाल सुलभ मस्तिष्कमा सङ्गीतप्रतिको अनुराग गहिरो रूपमा रोपियो । कोइलीदेवी, राणा दरबारको साङ्गीतिक माहौलमा हुर्किए । ११ वर्षकै उमेरमा सिंह महल प्रवेश गरी नृत्य, नाटक र सङ्गीतको व्यवस्थित प्रशिक्षण लिएकी उनले हार्मोनियम वादन तथा गायनमा दक्षता देखेर श्री ३ जुद्ध शमशेरले उत्साहवर्धक रूपमा प्रशंसा गरेका थिए । यो नै काेइलीदेवीकाे जीवनकै महत्त्वपूर्ण मोड साबित भयो।
काेइलीदेवी २००६ साल असोज ६ गतेसम्म दरबारको साङ्गीतिक प्रशिक्षणमा संलग्न रहँदै ‘निर्मली दिदी’ जस्ता गुरुबाट गीत–रचना र स्वर–संयोजनको सूक्ष्म ज्ञान प्राप्त गरिन् । छ वर्षको उमेरदेखि नै सङ्गीतपट्टि लागेकी कोइलीदेवीले धेरै समय राणा दरबारमा बिताएकी थिइन् । ‘कोइली’ बनाउन मद्दत पुर्याउने चाहिँ उनकी फुपू डिठ्ठिनी मानप्रिया थिइन् । रेडियो नेपालका शास्त्रीय सङ्गीततर्फ तत्कालीन प्रबन्धक उस्ताद रामबहादुर तण्डुकारसँग उनले सङ्गीत शिक्षा पनि लिएकी थिइन् ।
२००७ साल चैत २० गते सिंहदरबारमा ‘प्रजातन्त्र नेपाल रेडियो’ को स्थापना भयो । त्यसका डेपुटी डाइरेक्टर रश्मिराज्यलक्ष्मी देवी राणा थिइन् । रश्मिराज्यलक्ष्मीले चिठी लेखी काेइलीदेवीलाई त्यही साल चैत २६ गते बोलाइएको थियो । कोइलीदेवीले आफ्नै स्वर, सङ्गीत र रचनामा ‘संसारको झमेला’ गीत गाएर सुनाएकी दिइन् । त्यति बेला डाइरेक्टर तारिणीप्रसाद कोइराला प्रभावित भएपछि त्यसै दिनदेखि उनलाई काममा लगाइयो ।
रेडियोमा काम गरेको १२ वर्षसम्म ‘स्वयं पाकी’ रहेकी काेइलीदेवी २०१८ सालमा सर्वोत्तम सङ्गीतकार स्वर्णपदक प्राप्त गरेपछि आफ्नै रचना, स्वर र सङ्गीतमा पहिलो गीत पनि रेकर्ड गराएकी थिइन् ।
“संसारको झमेला
लाग्दो छ क्या यो मेला
यो दुनियाँ सदा रसिला
गर्दै छ खूब लीला ।”
त्यही क्षणबाट कोइलीदेवी रेडियो नेपालको प्रथम महिला गायिका र प्रथम महिला सङ्गीतकार का रूपमा इतिहासमा स्थापित भएकी थिइन् । रेडियो नेपालसँग उनकाे सम्बन्ध ४४ वर्षसम्म अटुट रह्यो। खरिदार पदबाट सुरु भएको सेवा शास्त्रीय सङ्गीत प्रबन्धकसम्म पुगेको थियो। यस अवधिमा उनले नेपाली शास्त्रीय सङ्गीतको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासमा अतुलनीय योगदान पुर्याएकी थिइन् ।
१० वर्ष लामो प्रेमपछि ३५ वर्षको उमेरमा निरञ्जनभक्त माथेमाका सुपुत्र साकारभक्त माथेमासँग २०२१ साल अक्षय तृतीयाका दिन उनको विवाह भयो । साकारभक्त त्यस बेला ५१ वर्षका थिए अनि उनी ३५ वर्षकी । श्रीमान् उनको जीवनका सबैभन्दा ठुला प्रेरक र सहयात्री थिए। श्रीमानकै प्रेरणामा भारतको इलाहावाद विश्वविद्यालयबाट सङ्गीतमा एम. ए. उत्तीर्ण गरी शैक्षिक रूपमा पनि आफूलाई सुदृढ पार्दै गइन ।
२०५६ साल जेठ ८ गते साकारभक्तको देहावसानपछि उनी गहिरो विरह र वैराग्यमा प्रवेश गरिन । यस पीडाले उनलाई आन्तरिक संन्यासतर्फ उन्मुख गरायो। मेरो कर्मको देउता’ भनेर पतिलाई सधैं स्मरण गरिरहन्थिन् ।
२०२२ सालमा सांस्कृतिक प्रमण्डलमा सहभागी भई उनी चीन गइन् । त्यहाँ उनले आफ्नो प्रतिभा प्रदर्शन गरिन् । त्यतिखेर ‘नाइटिङ्गेल अफ नेपाल’ भनी उनको परिचय गराइएको थियो । चीनबाट आएपछि उनले भारतमा गई ‘डिस्क रेकर्ड’ मा गीत भर्ने अवसर पाइन् । पहिले यहाँ गीत रेकर्ड गरिँदैनथ्यो । २०२५ सालदेखि मात्रै टेप गर्ने चलन चलेको हो ।
२०४५ साल, असोज ९ गतेदेखि उनी ‘रेडियो नेपाल’ मा शास्त्रीय सङ्गीत प्रबन्धक भइन् । २०५१ सालसम्म उनले त्यहाँ काम गरिन् । त्यही साल माघ एक गते उनले अवकाश पाएकी हुन् । २०५९ साल असार ८ गते कोइलीदेवी माथेमाले औपचारिक रूपमा गायन, सङ्गीत र वाद्यवादनबाट संन्यास ग्रहण गरिन् । आफ्ना सम्पूर्ण वाद्य यन्त्र इन्दिरा सङ्गीत महाविद्यालयलाई दान गरी साधनाको उत्तराधिकार भावी पुस्तालाई सुम्पिइन । मुटुको रोगबाट पीडित कोइलीदेवीको ७८ वर्षको उमेरमा वि.सं. २०६४ पुस ६ गते घट्टेकुलो, काठमाडौंमा निधन भयो ।
विभिन्न पत्रपत्रिकामा कोइलीदेवीका गीत, कविता प्रकाशन भएका छन् । उनका दुई वटा गीत सङ्ग्रह पनि छापिएका छन् । २०१९ सालमा प्रकाशित ‘सेवा’ मा १२५ वटा गीत रचना छन् । २०२५ सालमा प्रकाशित ‘समर्पण’ मा चाहिँ ७१ वटा रचना रहेका छन् । सेवा र समर्पणबाहेक ‘कोइलीदेवी भजन सङ्ग्रह/चित्त निरन्तर र हजुरलाई’ कृति पनि रहेको छ ।
कोइलीदेवीको सङ्गीतमा गाउने पुराना, नयाँ गायकहरू अनेक छन् । विभिन्न गीत, सङ्गीतद्वारा श्रोताका मनमा बस्न सफल भएकी थिइन् । अनेकौँ पदक र पुरस्कारबाट सम्मानित भएकी कोइलीदेवी भजन गाउनेतर्फ पनि पहिलो नेपाली गायिका हुन् । नेपाली गीत,सङ्गीतको इतिहासमा उनको योगदान अविस्मरणीय छ ।
गोरखा दक्षिण बाहु पाँचौँ, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीति पुरस्कार, वीरेन्द्र-ऐश्वर्य सेवा पदक, दर्जनौँ सङ्घसंस्थाबाट सम्मान तथा रेडियो नेपाल तथा टेलिभिजनबाट समेत पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
कोइलीदेवीको छातीभित्र अगाध विरह वेदना त थियो नै, साथसाथै त्यहाँ छटपटी, विरक्ति र नाना थरीका व्यथा पनि बग्रेल्ती थिए । उनी भावनामा बग्दै भन्थिन –
“मेरो कसैसित कुनै गुनासो छैन ।” आफ्नो पिरलो आफू सीतै छ । ‘मलाई कसैले हेरेन भनूँ भने भित्ताभरि प्रशंसा र प्रमाणपत्रहरू छन् ।
हेर्या’ छन् भनूँ भने आफ्नो दुःख आफैसित छ । आफ्नै पिरलोमा पिल्सिरहेकी छु । फेरि, कसैलाई आफ्नो पिरलो सुनाएर पनि के गर्नु ! उनी यसै भन्ने गर्थिन । धर्म अध्यात्म प्रति अत्यन्तै आस्थावान् उनले आफ्नो श्राद्ध बद्रीमा गएर आफै गरेर आएकी थिइन् ।
कोइलीदेवी माथेमा नेपाली सङ्गीत इतिहासकी एक साधिका, एक पथप्रदर्शक र एक अमर सांस्कृतिक प्रतीक थिइन् । उनकाे साधना, योगदान र साङ्गीतिक चेतना नेपाली समाजमा सदैव जीवित रहनेछ।
अन्त्यमा :-
उनको नाम जीवन्त राख्ने जिम्मेवारी व्यक्तिगत भावनामा मात्र सीमित हुँदैन यो जिम्मेवारी सम्पूर्ण मकवानपुरे साहित्य र सङ्गीत साधकहरूको पनि हो । स्थानीय सरकार (नगरपालिका र गाउँपालिका) प्रदेश सरकार, र संघीय सरकारको समेत हो, भन्ने जिम्मेवारी बोध हुन जरुरी छ ।
(शनिबार मातृभूमि साहित्य समाज मकवानपुरले कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा सम्मान कार्यक्रममा समाजका सचिव पौडेलले विभिन्न पत्रपत्रिका, अन्तर्वार्ता र विकिपिडियाका स्रोतहरूबाट उपलब्ध सामग्रीबाट तयार गरि प्रस्तुत गरेका संस्मरण आलेख )
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले काेइलीदेवी स्मृति मातृभूमि सम्मानबाट शुलज्ञा राज्यलक्ष्मी शाह सम्मानित भएकी छिन् । मातृभूमिले शनिबार कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रम आयोजना गरी शुलज्ञालाई प्रथम पटक उक्त सम्मान प्रदान गरिएकाे हाे ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत–सङ्गीत अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा मातृभूमिले स्थापना गरेकाे उक्त सम्मानकाे राशी ११ हजार रुपैंया रहेकाे समाजका सचिव किशन पौडेलले जानकारी दिए । शुलज्ञा हेटौंडा – २ स्थित बालजागृति इङ्गलिस माविमा कक्षा ५ मा अध्ययनरत छिन् ।
सानैदेखि सङ्गीत साधनामा समर्पित प्रतिभाशाली शुलज्ञाकाे जन्म लव शाह र सुस्मा ठकुरीबाट २०७१ साल चैत २४ गते, हेटौंडा–११ मा भएकाे हाे । हाल बाल जागृति माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत शुलज्ञाकाे सानै उमेरबाट गायनप्रति गहिरो रुचि र लगाव राख्दै आएकाे परिवारका सदस्य बताउाछन् ।
आँचल साहित्य कला पुन्जद्वारा आयोजित गायन प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरिसकेका छन् ।“म यस्तो गीत गाउँछु” जुनियर सेसनमा प्रथम स्थान प्राप्त गरी आफ्नो प्रतिभाको परिचय दिएकी शुलज्ञा हाल शुभारम्भ कला केन्द्रमा सङ्गीत साधना सिक्दै गरेकी छिन् । पी.एम. सेन्टरबाट सम्मानित भएकी छिन् ।
कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा
मातृभूमि साहित्य समाजको आयोजनामा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित ऐतिहासिक स्थल चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत सङ्गीत साधनाको अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा विशेष गरिएकाे छ ।
कार्यक्रममा अतिथि वक्ता भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, विशेष वक्ता केदार न्यौपाने रहेका थिए । हेटौंडीले गायक कृष्ण गोपाल सिंहले काेइलीदेवी सम्बन्धमा अनुभूति सुनाएकाे कार्यक्रममा सम्मानित स्रष्टा शुलज्ञा तथा गायिका सुनिता बुर्लाकोटीले कोइली देवीको गीत प्रस्तुत गरेका थिए ।
पिएम सेन्टरका प्रमेन्द्र महर्जन र शुभारम्भ कला केन्द्रका गायक घनश्याम ढकालले कोइलीदेवीको गीत भजनहरू प्रस्तुत गरेका कार्यक्रममा कोइली देवीको परिचय समाजका सचिव किशन पौडेलले दिएका थिए ।
नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापना भएको समाजले विविध स्मृति–विशेष कार्यक्रम तथा साहित्यिक गतिविधिहलाई निरन्तरता दिँदै आइरहेको पौडेलले जानकारी दिए । समाजले स्थापित एवम् नवोदित प्रतिभाहरूलाई साहित्य, कला तथा सङ्गीतका विविध विधामा पुरस्कार तथा सम्मान समर्पण गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता, १ नं. वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङ विशिष्ट अतिथि रहनु भएकाे कार्यक्रमकाे सहजीकरण सानुबाबू खनालले गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सात प्रदेशका ७ जना कविहरुले रचना वाचन कार्यक्रम आयोजना गरिएकाे छ । शनिबार प्रगतिशील लेखक संघ (प्रदेश) मकवानपुरको आयोजनामा देशका सातै प्रदेशका ७ जना कविहरुले कविता वाचन कार्यक्रम भएकाे हाे ।
कोशी प्रदेशकी सीता तुम्खेवा, मधेस प्रदेशका यश लामा, बागमती प्रदेशका डा. निमेष निखिल, गण्डकी प्रदेशकी लक्ष्मी थापा, लुम्बिनी प्रदेशकी सुमिना, कर्णाली प्रदेशकी कवि कोकिलाकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका खेम बतासले आ-आफ्ना प्रतिनिधिमूलक कविता वाचन गरेका थिए । सहभागी कविहरुले सामाजिक विसंगति, समस्या, मौलिक चिनारी लैंगिक उत्पीडन लगायत कविता सुनाएका थिए ।
प्रलेश मकवानपुरले ७ प्रदेशका कविहरुकाे कविता सुनिने कार्यक्रममा एक सय रुपैंयाकाे टिकट राखेकाे थियाे । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष विशाल अधिकारी (आशुतोष) को सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यसेवी मुक्तिगोविन्द बैद्य, प्रगतिशील लेखक संघका बागमती प्रदेश सचिव डीबी बर्तौला, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देललगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रेमी विद्यार्थीहरुको उपस्थिति थियो ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
रामेश्वर राना (नेकपा एमाले)
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानालाई मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । झण्डै ५० वर्ष राजनीति गरेर संगठनमा महत्वपूर्ण योगदान पुर्याएका राना यसपटक भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने आकांक्षासहित अगाडि बढेका छन् ।
- २०३६ सालको आन्दोलनबाट प्रभावित भएर २०३७ सालमा अनेरास्ववीयु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट उनको राजनितिक यात्रा सुरु भएको हो । २०३८ मा अखिलको जिल्ला कमिटि उपाध्यक्ष हुंदै जिल्ला कमिटी अध्यक्ष समेत बने । २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका राने पार्टीको शाखा कमिटि हेटौंडा नगर कमिटी हुंदै जिल्ला कमिटी सदस्य भए । २०५१ मा एमाले मकवानपुर सचिब भए । ३ कार्यकाल एमाले मकवानपुरको नेतृत्व गरेको अनुभब रानासँग छ।
- बागमती प्रदेश कमिटी सदस्य हुदै ४ कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका छन् । एमालेको ११ औं महाधिबेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भए । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा हेटौंडा नगरपालिका ११ नं वडा अध्यक्ष निर्बाचित भएका राना ईमान्दार, कर्मठ सादगी नेताका रुपमा मकवानपुरमा परिचित छन् ।
- २०५४ सालमा जिल्ला बिकास समिति मकवानपुरको सभापति निर्बाचित भएका थिए राना । २०६४ को संविधान सभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका लडेका राना पराजित भएका थिए । त्यस यता उनले २ पटक सिफारिसमा परेर पनि नेतृत्वका लागि अबसर पाएनन् ।
- २०७९ सालको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट कमल थापालाई अघि सारिए पछि उनले अन्तिम समयमा संसदीय चुनाब लड्ने अवसर गुमाएका थिए । पटक पटक अबसर खोसिदा समेत पार्टीको जिम्मेवारीमा निरन्तर छन् राना । २०५४ सालमा जिविसस सभापति हुंदा चुरे संरक्षण, सडक संजाल निर्माण सहित मकवानपुरको एकिकृत बिकासको अबधारणा उनले अघि सारेका थिए ।
- घरदैलो अभियानमा जुटेका रानाले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् ।
- उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दावी छ ।
निर्वाचन क्षेत्रमा समेत आफ्नो बलियो पकड बनाएका रानाले आफूले अन्य उम्मेद्वारलाई पन्छाउदै जित हाँसिल गर्ने दावी गर्दै आइरहेका छन् । लामो समयसम्म राजनीतिमा भिजेका नेता रानाले सोहि क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएकी कांग्रेसमा लामो समयदेखि क्रियाशील र पूर्व सांसद समेत रहेकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेद्वार विजय गौतम, राप्रपाबाट यसअघि निर्वाचित दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्र्टीका यूवा नेता प्रकाश गौतमसँग बलियो प्रतिष्पर्धा गनुपर्ने छ ।
निर्वाचन क्षेत्र नम्बर–१ मा रानासहित २३ जनाको उम्मेद्वारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेद्वार हुन् भने १० जना स्वतन्त्र उम्मेद्वार छन् ।