मकवानपुर । बागमती प्रदेश सभामा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेता चयन गर्दैछ ।
एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको छ । त्यसपछी नेता चयन गर्ने तयारी गरिएको छ । एमाले संसदीय दलको बैठकबाट सर्ब सहमतीमा दलको नेता चुनिने पार्टी जनाएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया संसदीय दलको नेता चयन गर्ने तयारी भएको एमालेका छ । थपलिया चितवनबाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रदेशका सांसदहरुको छलफल र केन्द्रको निर्देशन बमोजिम संसदीय दलको नेता चयन गर्ने भएकाले अहिले सम्मको अवस्थामा दलको नेतामा थपलीया हुने लगभग पक्का भएको एमालेका नेताहरु नेकपा एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
हाल सम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमती भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो पनि खुल्ला रहने छ ।
आजै दिउसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा १०९ जना प्रदेश सांसदहरूको सपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसभन्दा अगाडी संसदीय दलको नेता चयन भइसक्ने र सपथग्रहण कार्यक्रममा सहभागि हुने एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बताए ।
मकवानपुर । प्रहरीले बालक हत्या अभियोगमा पक्राउ परेका १ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ बस्ने १२ वर्षिय मुस्कान भनिने सुजन थिङको हत्या गरेको अभियोगमा स्थानीय आइत सिं भोम्जनलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा नं. १६ बाबियोडांडा बस्ने सुजन थिङको हत्या गरेको अभियोगमा स्थानीय ३८ वर्षिय भोम्जनलाई निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार पुस ९ गते दिउँसोदेखि बेपत्ता भएका मुस्कान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक वनमा दुबै हात शरीरको पछाडी पट्टी कपडाको सलले बांधी क्यामुनाको रुखमा सेतो र रातो रंगको खादाले घांटीमा बांधी पासो लगाई झुण्डिएको अवस्थामा पुस १० गते बिहान ७ बजेको समयमा मृत अवस्थामा फेला परेको थियो ।
तालिम प्राप्त कुकुरसहित घटनास्थलम पुगेको प्रहरी नायव उपरीक्षक कार्कीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटनामा संलग्न हुन सक्ने आसंकामा स्थानीय ७ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवशयक अनुसन्धान गरिएको थियो ।
प्रहरीले सोही घटनाको अनुसन्धानको क्रममा पुस १२ गते मंगलबार भोम्जनलाई घरबाटै नियन्त्रणमा लिई सोधपुछ गर्दा मुस्कानको हत्या आफूलेनै गरेको भनि स्वीकार गरेपछि निजलाई सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका भोम्जनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भोम्झनले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुनेछ ।
मकवानपुर ।बागमती प्रदेश संसदमा नेपाली काँग्रेसबाट संसदीय दलको नेताको रुपमा बहादुर सिं लामा चयन भएका छन् ।
उनले कुल ३७ मध्ये २१ मत पाएका थिए । उनका निकटत प्रतिपर्धि इन्द्रबहादुर बानियाँलाई १६ मत प्राप्त भएको थियो ।मुख्यमन्त्रीको प्रमुख दाबेदार बानियाँले अन्ततः संसदीय दलको नेतामा नै पराजित हुनुपरेको छ ।
संसदीय दलको नेता बन्नका लागि पार्टी केन्द्रिय सदस्य बहादुरसिं लामा र प्रदेश सभापति इन्द्रबहादुर बाँनियाका बीच प्रतिस्पर्धा भएको थियो ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक थियो ।
लामा निकट स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदन कृष्ण श्रेष्ठ खटाएका थिए । डा शंशाक कोइरालाले पार्टी केन्द्रीय सदस्य उर्मिला थापालाई पठाएका थिए।
उम्मेदवार बानियाँलाई गगन थापाले प्रत्यक्ष सहयोग गरेको बताईएको थियो । थापाको नातामा ससुरा पर्ने नुवाकोटकै जगदिशश्वर नरसिंह केसी बानियाँका लागि खटिएका छन् । बानियाँलाई प्रकाशमान सिंहले पनि सहयोगमा थियो।
प्रदेश सांसदमध्ये ३ जना केन्द्रीय सदस्य र दुई जना पार्टी जिल्ला सभापति रहेका थिए । जसमध्ये उम्मेदवार लामा आफैं केन्द्रीय सदस्य हुन् भने उनका प्रस्तावक कुन्दनराज काफ्ने र समर्थकमा उर्मिला केसी नेपाल छन् । प्रदेश सांसद बनेका २ वटा सभापतिमध्ये काभ्रेको तिर्थबहादुर लामा र नुवाकोटका रमेशकुमार महत लामाका समर्थक थिए । लामाको पक्षमा ललितपुरका प्रभावशाली नेता रामकृष्ण चित्रकार पनि साथमा थियो ।
मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू मध्येबाट ज्येष्ठ सदस्य ७२ वर्षिय रामप्रसाद ढुङ्गानाले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नुवाकोट २ को १ बाट निर्वाचित ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए ।
प्रदेश सभा सदस्य ढुंगानाले बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट आज प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् ।
ढुंगानाले भोलि प्रदेशका अन्य १०९ सांसदहरूलाई सपथ गराउने छन् ।
प्रदेशसभा सचिवलायमा पुस ८ गते बसेको सर्वदलीय बैठकले पुस १३ र १४ गते सपथ तथा पुस १७ गते बागमती प्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने निर्णय समेत गरेकाे थियो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलको नेता चुन्नको लागि आज मतदान कार्यक्रम हुँदैछ ।
आज विहान १० बजेसम्म उम्मेदवारको लागि दरखास्त समय तोकिएको थियो । जसमा उम्मेदवारको रुपमा काँग्रेसका प्रदेश साभपति इन्द्र बहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिं लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । त्यसैगरि लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा , रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।
दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यक्रम तालिका रहेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा निर्वाचन सम्बन्धी कार्यक्रम भइरहेको छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक पर्दछ । दुवै पक्षले आ आफ्नो पक्षको तयारी तीब्र पारेका छन् । हिजो मंगलबार लामा र बानियाले आफूपक्षीय सांसदहरुको हेटौंडामा छुट्टा छुट्टै भेला आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् ।
लामा र बानियाँले निर्वाचनको अघिल्लो दिनबाटै शक्ति प्रदर्शन गरेको र अनावश्यक भोज गरेकोमा भने कार्यकताहरुले नकारात्मक रुपमा टिप्पणी गरेका छन् ।
बानियाँले मकवानपुर २ को २ बाट र लामाले नुवाकोट २ को २ बाट गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य २०७९ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य जितेका थिए ।
