संगीकार नातिकाजीको ९८औं जन्मजयन्तीमा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नातिकाजी पुरस्कार’बाट स्रष्टाहरु सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहबीच ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८’बाट उनीहरूलाई सम्मानित गरेकी हुन् ।
समारोहमा राष्ट्रपति भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ गीतकार तथा नाट्यकर्मी मनबहादुर मुखिया, अग्रज गायिका दीपानारायण झा, वरिष्ट रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गीतकार बिके राना, संगीतकार तथा गायक कन्हैया सिंह परियार, गीतकारद्वय शुभ मुकारुङ र अमर बान्तुलाई सम्मानित गरिन् ।
तीन दशक वा सोभन्दा लामो समयदेखि आ–आफ्ना क्षेत्रमा योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मानित गरिएको नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी गराए ।
यसैगरी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ संगीत गुरु चन्दन श्रेष्ठलाई प्रदान गरियो । राष्ट्रपति भण्डारीले समारोहमा ‘नातिकाजी पत्रकारिता पुरस्कार २०७८’बाट गीतकारसमेत रहेका पत्रकार डब्बु क्षत्री र कुवेर गिरीलाई प्रदान गरिन् । पुरस्कृतलाई ताम्रपत्रसहित जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।
‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८’ गीतकारतर्फ एकनारायण भण्डारी, संगीतकारतर्फ कालीप्रसाद बासकोटा, गायकतर्फ राज सिग्देल र गायिकातर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरियो ।
त्यस्तै, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ गीतकारतर्फ देवेन गिरी, संगीतकारतर्फ दीपक शर्मा, गायकतर्फ कृष्ण काफ्ले र गायिकातर्फ अस्मिता अधिकारीले पाएका छन् ।
यसैगरी, ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली, ‘नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार’ देवी घर्ती र ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८’ आशिष गौतमलाई प्रदान गरिएको छ ।
त्यस्तै, नाजिकाजी स्मृति समाज र कोषका लागि आ– आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान दिएको भन्दै प्रोडक्सन म्यानेजर सुवास काफ्ले, छायाँकार तथा फोटो पत्रकार मनोज शाही, म्युजिक नेपाल र काठमाडौं महानगरपालिकालाई ‘विशिष्ट योगदान’स्वरुप कदरपत्रबाट सम्मानित गरियो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपाली संगीत श्रीवृद्धिमा नातिकाजीको अतुलनीय योगदान रहेको स्मरण गरिन् । ‘कालजायी सिर्जना पस्केर नेपाली संगीतलाई यहाँसम्म ल्याउनमा उनको ठुलो देन रहेको’ भन्दै उनले ‘अहिलेका पुस्ताले नातिकाजीको मार्गदर्शन आत्मसात् गरेर अघि बढ्न’ सुझाव दिइन् ।
नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले अबका दिन नातिकाजीसहित उनका पुस्ताका संगीतकर्मीको नाममा सरकारले पुरस्कार स्थापना गर्नुपर्ने माग गरे ।
मकवानपुर । शैक्षिकस्तर सुधार प्राथमिकतामा रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले बताएका छन । शैक्षिक गुणस्तरीयताकाे लागि कार्यक्रम केन्द्रीत गरेकाे अध्यक्ष सिग्देलले बताएका हुन ।
वडा कार्यालयद्वारा आयाेजना गरिएकाे र वडा शैक्षिक गुणस्तर सुधार समितिद्वारा व्यवस्थापन गरिएकाे एकदिने आधाभूत गणित शिक्षा सहजीकरण कार्यशालाकाे उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले विधार्थीमा गुणस्तरीय शिक्षा प्रवाह गर्नकाे लागि शिक्षक आफै नयाँ नयाँ विषयबस्तु अपडेट हुनपर्ने र सृजनात्मक अध्यापनमा जाेड दिनुपर्ने बताए ।
भुटनदेवी माविमा भएकाे कार्यशालामा वडामा रहेका ६ वटा माविका १८ जना सहभागी भएका थिए । कार्यशालाकाे सहजीकरण विषय शिक्षक दीपक अधिकारीले गरेको कार्यक्रममा नवदाेय माविका प्राचार्य दुर्गा भट्टराई, ब्रम्हदीप एकेडेमीका कुमार बाँनिया, भुटनदेवी मावि व्यवस्थापन समिति सदस्य कमला दाहालकाे उपस्थिति रहेको थियो । कार्यशालाकाे उद्घाटन कार्यक्रमकाे सभाध्यक्ष भुटनदेवी माविका प्रअ माधव दाहालले गरेका थिए ।
त्यस्तै, श्रमिक माविमा छात्रवृद्वि वितरण तथा त्रैमासिक परिक्षण कार्यक्रम भएकाे छ । वडा अध्यक्ष नवीन सिग्देलकाे प्रमुख अाथित्यता तथा विध्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष रिता दाहालकाे सभाध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विध्यालयका सह-प्रधानाध्यापक गाेपिरमण प्याकुरेललगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । कर्मचारीको अभावमा काम छिटो छरितो रूपमा सम्पादन गर्न नसकिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् ।
पछिलो समय १४ सय २० जना कर्मचारी नियुक्त गरेपछी काममा केही सहज भएको उनले बताए । प्रदेश नीजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको बताए । प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।
प्रदेश आफैमा नयाँ भएको र संघीय कानूनसंग बाझिएकाले केही समस्या भएको उनले बताए । पछिल्लो समय केहि सहज जम्कट्टेलले बताए ।
दरवन्दी भित्र अझै ३ हजार ५ सय कर्मचारी अपूग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसकेपछी थप सहज हुने मुख्यमन्त्री जम्मकट्टेलले बताए ।
“शुसासन कर्मचारी संयन्त्रसमक्ष बढी इङ्गित गरेका छौं तर, हामी आफैले पनि त्यो पालना गरौं ” उनले भने । लोकसेवा आयोगलाई दोस्रो कार्यकालको सरकारले सहयोग गर्ने बताउंदै उनले भने “आयोगलाई परेका कानूनी अड्चन फुकाउँदै लैजान हामी तयार छौं ।” शुसासनयुक्त बागमती प्रदेश बनाउने अभियानमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोक सेवा आयोगकले तीन वर्षको कठिन यात्रा पार गर्नुभएकोमा बधाइ दिए । तीन वर्ष पहिले प्रदेश सरकारले आफ्नै अस्तित्व कायम राख्न चुनौती रहेको समयमा लोक सेवा आयोगका ऐन, नियम नभएको समयमा निकै समस्या भएको स्मरण गरे ।
सबैले विश्वास गर्ने,आस्थाको संस्थाको रूपमा रहेको लोक सेवा आयोगको विश्वसनियता कायम गर्न उनले आग्रह गरे ।
प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १०० मत परेको हो ।
सभामुख चयनका लागि भएको मतदानमाा प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय ६८ सदस्य सहभागी भएका थिए । १ सांसद भने ‘तटस्थ’ बसे । घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने थिए ।
कांग्रेस उम्मेदवार न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी नेता प्रकाश ज्वाला थिए । घिमिरेलाई सभामुख बनाउन सत्तारूढ दल एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाको मुख्य साथ थियो भने जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले समेत घिमिरेकै पक्षमा मत दिए ।
घिमिरे गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट प्रत्यक्षतर्फ निर्वाचित र न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । सभामुख चयन प्रक्रियामा घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा कांग्रेसले न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन । कांग्रेस उम्मेदवार न्यौपानेलाई भने एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरे ।
प्रतिनिधिसभामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि ‘सभामुखमा कसले जित निकाल्छन् ?’ भन्नेमा अनेक अड्कल भएका थिए । प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ र कांग्रेससँग ८८ सांसद छन् । प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् ।
त्यस्तै, तीन स्वतन्त्र सांसदसमेत छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा १० सांसद छन् । प्रतिनिधिसभामा मजदुर किसान पार्टीका १ र जनमोर्चाका पनि १ र कांग्रेसका १ सांसद निलम्बनमा परेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकजनलाई सभामुख चयन गर्नुपर्छ । यसअघिसम्म प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्दै आएका थिए ।
प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने कांग्रेसले समेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।
हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।
को हुन् घिमिरे ?
प्रतिनिधिसभा सभामुखमा निर्वाचित देवराज घिमिरे ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३ मा १३ जेठ २०१३ मा जन्मिएका हुन् । उनी हाल झापा अर्जुनधारा नगरपालिका–६ का स्थायीबासी छन् ।
स्नातकसम्म अध्ययन गरेका घिमिरेले बाल्यकालमा स्थानीय श्रीसिंहदेवी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरे । पछि, ताप्लेजुङको भानु पब्लिक हाइस्कुलबाट उनले २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गरेका छन् ।
२०३१ सालमा ‘झापा विद्रोह’पछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको विद्यार्थी राजनीतिमा लागे ।
२०३३ सालपछि शिक्षासमेत थाँती राखेर पार्टी संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत अवस्थामै २०३५ भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
११ पुस २०३५ मा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्ला पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृत एकीकरणपछि सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै २०५० सालमा नेकपा एमाले मेची अञ्चल इन्चार्ज भएर घिमिरेले काम गरिसकेका छन् ।
२०५८ सालमा एमाले केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघ इन्चार्जको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् ।
२०७५ सालमा तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बनेका उनी भूमिगत राजनीतिमा रहँदा पञ्चायती शासकले गतिविधि नियन्त्रणका लागि पटकपटक पक्राउ पुर्जी जारी गरेको थियो ।
२०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका घिमिरे २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए । राजधानी दैनिकबाट
मकवानपुर । देशको तराईका भू-भाग,भित्र मधेस र अन्य केहि स्थानमा हुस्सु/कुहिरो लागेको छ। बिहानको समयमा देशको केही भू-भागहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। उक्त प्रणालीका कारण सुदूर पश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी तराईका स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
