मकवानपुर । मकवानपुर प्रहरीले १९ वर्षपछि फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । १९ वर्षअघि सवारी दुर्घटनाको मुद्दामा प्रतिवादी एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, लेवटमा २०६० साल जेठ २४ गते बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो । ना २ ख २९४६ नम्बरको ट्रक र बा १ ख ८२२० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालक देविप्रसाद आचार्यसहित ३ जनाको मृत्यु भएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रक चालक साविक चुरियामाई गाविस–४, सानोसुकौली घर भई हाल मनहरी गाउँपालिका–९, ज्यामिरे बस्ने ४७ वर्षीय राजु लामालाई मनहरी–९, ज्यामिरेबाटै प्रहरीले माघ १४ गते पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । सहिद दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएकाे रक्तदान ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडा शाखाले जनाएकाे छ ।
अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएकाे हो । रक्तदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सहिद दिवसको अवसर भएकाे रक्तदानमा मैनालीले रगतको अभाव हुन नदिन र बिरामीको सेवामा सहयोग पुर्याउन कार्यक्रम आयाेजना गरिएकाे बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो । यसैगरि आइतबार नै नर्सिङ दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेकाे रक्दान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडाबाट प्रशारण भइरहेकाे रेडियो मकवानपुरकाे बार्षिकाेत्सव सुरु भएकाे छ । १०१ दशमलव ३ मेगाहर्जमा प्रशारण हुने रेडियो मकवानपुरकाे १३ औं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको हाे ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार सहिद दिवसको अवसरमा ‘सहिदको सपना र आजको नेपाल’ बिषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम भएको हाे । रेडियो मकवानपुरमा भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा नभएको गुनासो गरेका थिए । सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले मुलुकको परिवर्तनका लागि सयौंले बलिदानी दिएपनि अझै जनताले सुखको अनुभव गर्न नसकेको बताए । ‘संविधान पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । जनताले परिवर्तनको प्रत्याभुती गर्न पाएका छैनन्, महंगी, बेरोजगार र भ्रष्टाचार बढ्दो छ’, निखिलले भने, ‘सहिदको सपना पूरा गराउनेतर्फ राजनीतिक दल र राज्य लाग्नु आवश्यक छ ।’
यस्तै समालोचक एवम् साहित्यकार घनश्याम घिमिरेले केही हदसम्म समाज र व्यवस्था परिवर्तन भएपनि सहिदको सपना भने पूरा हुन नसकेको धारणा राखेका छन् । अहिलेकै अवस्थामा सहिदको आत्मासन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले जनताको मुहारमा हाँसो नभएको बताए । सहिद को हो भन्ने नै समस्या रहेको स्मरण गर्दै उनले भने ‘राष्ट्र, समाज र परिवर्तनको लागि लडेकाहरु नै सहिद हुन् भन्ने बुझ्न जरुरी छ ।’
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले मुलुकको सकारात्मक परिवर्तनका लागि सहिदले बलिदानी दिएको भएपनि त्यसको कदर हुन नसकेको बताए । मुलुकमा विभिन्न नामको तन्त्र आएपनि देशले भने गति प्राप्त गर्न नसकेको उनले बताए । आँचल साहित्य कला पुञ्जका उपाध्यक्ष नीरा शर्माले मुलुकको विकास, समृद्धि एवम् परिवर्तन नै सहिदको सपना भएपनि त्यो पूरा हुन नसकेको बताइन् । अझै नेपालमा गाँस, बास, कपासको लागि आत्मदाह गर्नुपर्ने अवस्था रहेको भन्दै शर्माले दुःख व्यक्त गरिन् ।
यसैगरी प्रगतिशिल लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यले देश र जनताको लागि ज्यान नै दिनु सामान्य कुरा होइन भन्ने बुझ्न जरुरी रहेको औंल्याए । अब हुने सहिदका कार्यक्रमहरु कतै औपचारिकतामै सिमित हुने त होइन भन्दै उनले प्रश्न गरे । मुलुकमा राजाको छोरा नै राजा हुने प्रथाको अन्त्य भएपनि दुखी गरिबको अवस्था उस्तै रहेको आचार्यको भनाई थियो ।
रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरुले सहिदसँग सम्बन्धित कविता वाचन समेत गरेका थिए । रेडियाे मकवानपुरले २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी बार्षिकाेत्सव मनाउँदै छ । १७ गरे मंगलबार श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ ।
यस्तै माघ २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन हुने रेडियाे संचालक समितले जनाएकाे छ । समापन समाराेहमा दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान समेत प्रदान गर्नेछ ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा लागूऔषधको लतमा लागेकालाई तालिम सचालन गरिएकाे छ । लागुऔषधकाे लत पछि सुधार केन्द्रमा रहेका युवालाई लक्षित गर्दै हेटौंडामा विद्युत जडान तालिम सुरु भएको हाे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरी समूहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । रिकभरी समूह अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा तीन महिने तालिम उद्घाटन कार्यक्रम भएकाे हाे ।
सुधार केन्द्रमा रहेका ३६ जना मध्ये २० जना तालिममा सहभागी छन् । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका शम्भु आचार्यले प्रशिक्षण दिनेछन्।
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले सपथ लिएका छन् । साेमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सोमबार प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित सपथ समारोहमा मुख्य न्यायाधीश पुडासैनीले नेपाललाई पद तथा गाेपनियताकाे सपथ गराएको प्रदेश प्रमुखको कार्यालय बागमती हेटौंडाले जनाएको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा गत माघ १२ गते विहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् । नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
मुख्य न्यायाधिवक्ता नेपालकाे सपथ समारोहमा मुख्यमन्त्री जम्कट्टेल र प्रदेशका अन्य मन्त्रीहरुकाे उपस्थिति रहेकाे थियाे ।
