मकवानपुर । मकवानपुरको हेटौंडास्थित राप्ती खाेलामा डुबेर युवकको मृत्यु भएकाे छ । हेटौडा १० स्थित राप्ती खोलामा डुबेर मंगलबार दिउँसो युवकको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो १ः४० बजेको समयमा स्थानीय ३,४ जना केटाहरु पौडी खेल्ने राप्ती खोलामा गएको अवस्थामा राप्ती पुल नजिकै खाेलामा पौडी खेल्ने क्रममा डुबेकाे अवस्थामा युवक देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार राप्तीखाेलामा प्रहरी टाेली पुग्दा अन्दाजी २५ वर्षीय युवक खोलामा डुबिरहेकाे थियाे । उनलाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेकाे उनले बताए ।
मृतककाे नाम, थर वतन नखुलेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा असार २५ गतेबाट हराएकी एक महिला मृत फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बुद्धचोक बस्ने ४३ वर्षीया कृष्णमाया घलान मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घलाल असार २५ गतेदेखि हराएको भनि परिवारले असार २६ गते प्रहरीलाई खबर गरेका थिए । मंगलबार बिहान ११ बजे हेटौंडा–१३, गोठदमार सल्लाघारीस्थित जंगलमा घलान मृत अवस्थामा फेला परेको कार्कीले जानकारी दिए ।
घलानको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले सामान्य देखि पूर्ण बदली रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुँदा देशभर मौसम बदली रहि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार अहिले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा समेत भइरहेको छ।
मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसै गरि सुदूरपश्चिम प्रदश तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना समेत रहेको छ।
महाशाखाका अनुसार मगलबार राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, हावा-हुरी,गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट १ र बारामा मोटरसाइकल दुर्घटनामा परी १ गरि सोमबार २ जनाको मृत्यु भएको छ ।
सोमबार साझ ५:५० बजे हेटौंडा १० स्थित जिल्ला प्रहरी कार्यालयको मोडमा ट्रकले ठक्कर दिएर घाइते भएका पैदल यात्री लाल बहादुर घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।
यसै गरि बारा जितपुरसिमरा उपमहानगरपालिका २३ चुरियामन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका शंकर तामाङको उपचारको क्रममा मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शिवम सिमेन्टबाट थानाभर्याङ तर्फ जाँदै गरेको ना.६ ख ८८९० नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका हेटौडा १० का ६३ वर्षीय घिसिङलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।
उपचारको क्रममा घिसिङको मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । घिसिङलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार अपरान्ह ४:१० बजेको समयमा बारा जितपुरसिमरा २३ स्थित चुरियामाई नजिकै पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट विरगंज तर्फ जादै गरेको प्र.२-०३-०१२प ८८५० नम्बरको मोटरसाइकल सडकबाट ३० फिट तल खस्दा हेटौडा १५ का बर्ष ३५ वर्षीय तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता कार्कीका अनुसार दुर्घटना स्थलमा मकवानपुर र बारा सिमराबाट प्रहरी टोली परिचालन गरि घटनाको मुचुल्का गरिएको तथा थप अनुसन्धान भइरहेको छ ।
मकवानपुर । निर्वाचन आयाेगले ३९ राजनीतिक दललाई जरिवाना ताेकेकाे छ । आयाेगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना ताेकेकाे हाे । निर्वाचन आयाेगमा दर्ता भएका मध्ये २१ राजनीतिक दलले आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा समयमा नै नबुझाएकाे हाे । निर्वाचन आयोगका अनुसार दर्ता भएका १ सय १२ राजनीतिक दलमध्ये २१ वटाले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ अनुसार दलहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र त्यसको एक महिनाभित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । तर ती दलले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।
आयाेगले स्पष्टीकरण साेधेपछि ४ वटा दलले तोकेको समय भन्दा ढिलो स्पष्टीकरण पेश गरे भने आठ वटा दलले भने स्पष्टीकरण पनि पेश गरेनन् । यसैगरी ५ वटा राजनीतिक दलले भने दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नै नबुझाएकाे आयाेगद्वारा साेमबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने १६ मध्ये सोधेको स्पष्टीकरण समयमा नै बुझाउने चार वटा दललाई १५/१५ हजार र बाँकी १२ वटा दललाई २०/२० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
लगातार दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ५ मध्ये दुई दलले स्पष्टीकरण पेश गरे तर लेखापरीक्षण प्रतिवेदन बुझाएनन् । ३ वटा दलले स्पष्टीकरण समेत दिएनन् । स्पष्टीकरण दिएका दुई वटा दललाई आयोगले १५/१५ हजार र स्पष्टीकरण नबुझाउने तीन वटा दललाई २०/२० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ सय १२ वटा राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये ८२ वटा राजनीतिक दलले समयमै लेखा परीक्षण प्रतिवेदन बुझाए भने ९ वटा राजनीतिक दलले भने ढिलो गरी लेखा परीक्षण प्रतिवेदन बुझाएका थिए । ढिलो लेखापरीक्षण प्रतिवेदन बुझाउने दललाई भने आयोगले स्पष्टीकरण सोधेको हाे ।
