उनी धाराप्रवाह बोल्दै थिए , “गगनचुम्बी महल छेउ पुग्दा यहाँहरुकै पसिना र मेहनतको गन्ध आइरहे जस्तो लाग्छ । होटेल कलकारखाना उद्योग निर्माण र संचालनका संवाहक यहाँहरु नै हुनुहुन्छ । यहाँहरुको इमानदारीता धैर्यता अथक प्रयासको जति बयान गरेपनि कमै हुन्छ । यहाँहरुलाई गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारीको व्यबस्था गर्न मेरो व्यक्तिगत तर्फबाट सक्दो प्रयास गर्नेछु । सम्बन्धित ठाउँमा आवाज उठाउँनेछु । म आफ्नो गाँस काटेर भएपनि तपाईं र तपाईंका परिवार भोको रहन दिन्न।” तालीको गडगडाहटले सभाहल गुन्जायमान भयो ।
बाहिर रुखो स्वभाव देखाए पनि मनमा हरिको बास भएका र’छन् , मनमनै ऊ दङ्ग भयो। त्यो उत्साह पलभरमै गायव भयो जब वक्ता र उसका चार आँखा एकाकार भए ।
डराउँदै घर फर्कियो । ऊ भन्दा स्वास्नी ज्वरोले झन् थल्लिएकि थिई । परिवार सबै ओछ्यान परेपछि उसलाई निको हुन कर लागेको थियो । भान्सामा पस्यो पकाउँनलाई चामलको मुठ्ठी रहेनछ । हिजो बिहानको कोदोको खोलेले छोडिसकेको थियो । उता सानी छोरी भोक लाग्यो भनेर रुँदै थिई । अघिनै ख्याल गरेको भए ‘औषधीको सट्टा अलिकति चामल किनेर ल्याउँथे मनमनै पछुतायो ।’
केही उपाय नलागेपछि ऊ साहूको घरतिर लाग्यो । एक हप्तादेखि काममा नआएको भनेर साहुनीले बेस्सरी झपारिन् । अवस्था बेलिबिस्तार लगाएपछि एक कटौरो सरौलो झुम्रामा पोको पारिदिइन्।
बिदा हुनै लाग्दा साहू पनि कार्यक्रमस्थल बाट टुप्लुक्क आइपुगे । ऊ काममा नआएकोले भट्टामा ईटा पोल्न नपाएर उनी रिसाएका थिए । मजदुर दिवस मनाउँन गएको ….?भन्दै एक थप्पड मारे । मेडिकलमा गएको थिएँ । मालिकको भाषण छ भन्ने सुनेर मात्र एकैछिन कार्यक्रमस्थल पसेको सुनायो । ‘अझै बाठो हुन्छ्स्? गाईलाई दिन छोडेर किन दिएको त्यो सरौलो यो बैगुनीलाई ?´ मालिक कड्किए ।
जुन दिवस आएपनि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !´´ अमिलो मन लिएर ऊ घर फर्कियो । बाटोभरि गुन्दै हिड्यो, ‘साहूको छोराले फालेको खिर मागेको भए पनि त छोरी अघाउँथी ।´
सभापोखरी – १,संखुवासभा ।
मकवानपुर । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शहर भन्दा पनि पहाडी तथा ग्रामीण क्षेत्रको आवश्यकतालाई बढी केन्द्रित गरी प्रदेश नीति तथा योजना आयोगले योजना बनाउनुपर्ने बताएका छन् । बिहीबार बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी रामेछाप र दोलखामा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘वर्तमान स्थितिको मूल्याङ्कन गरेर आगामी पाँच वर्षीय योजना तयार गर्नुपर्ने मन्त्री थपलियाले बताए । ‘डाटाबिहीन योजना नहुने र प्राथमिक डाटा नभएमा सहायक डाटाको आधारमा योजना बनाउनुपर्छ’ मन्त्री थपलियाले भने ‘आफ्नै डाटा सेन्टर स्थापना गर्न लागि पर्नु पर्छ ।’ शिक्षा, स्वास्थ्य र रोजगारीको स्थिति निर्क्योल गर्नुपर्ने र कर्मचारीहरूलाई आफ्नो निर्धारित दायित्वमा निपुण भई कार्यसम्पादन गर्न मन्त्री थपलियाले सुझाव समेत दिए । ठूलो बलिदानीबाट प्राप्त संघीयता र राज्य संरचनालाई बलियो बनाउन थप जरुरी रहेको उनकाे भनाइ थियाे ।
राज्य संरचनाको विकेन्द्रीकरण सहित आगामी दिनहरूमा वित्तीय संघीयतालाई पनि थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिदैं उनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नीति तथा योजना आयोगले रणनीतिहरू तर्जुमा गर्नुपर्ने बताए । दोलखाको कालिन्चोक, भिमेश्वर र जिरीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न र पकेट क्षेत्रहरूको निर्धारण गरी रामेछापलाई जुनार र दोलखालाई चौरीको क्षेत्रका रूपमा विस्तार गर्न सुझाव दिए । आयस्रोतको वृद्धि र राजस्व वृद्धिका योजनाहरू विस्तार गर्नुपर्नेमा उनकाे जोड थियो ।
हरेक पालिकामा आफ्नै स्रोतमा उभिने सक्ने योजना बनाएर अगाडि बढ्नुपर्ने उनकाे भनाई थियो । ‘सत्ता समीकरण र संरचना फेरिए पनि योजना फेरिनुहुँदैन मन्त्री थपलियाले भने ‘डाँडा पाखाहरूलाई पर्यटन आकर्षणको केन्द्र बनाउन नीति तथा योजना आयोगले योजना बनाएर काम गर्नु पर्छ ।’ कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. नरबिक्रम थापा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकाल, रामेछाप र दोलखाका पालिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा मदन कुमार श्रेष्ठ चयन भएका छन् । संघकाे बुधबार भएको नवौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हाे ।
यसैगरी संघकाे उपाध्यक्षमा केशव बहादुर कार्की, राज कुमार थापा र भोजराज पराजुली, सचिवमा रविन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली चयन भएका छन् । यस्तै सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनकलाई चयन गरिएकाे छ ।
साथै बुधबारकाे भेलाले संदेश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौडा नगर समिति समेत गठन गरेको छ । नगर समितिकाे उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ, सदस्यहरु रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे चयन भएका छन् ।
मदन कुमार श्रेष्ठकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङतानको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगर पालिका ७ नम्बर वडा सदस्य राधिका विकको विशेष आतिथ्यतामा भएकाे हाे । हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसी तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल केन्द्रीय सदस्य नारायण सिंङ थिङको आतिथ्यता रहेकाे कार्यक्रमकाे सहजिकरण भोजराज पराजुलीले गरेका थिए ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गरकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसमा बैशाख १९ गते बुधबार सिस्नुपानी मकवानपुरले दाङका उत्तमकृष्ण मजगैयाँ र मोरङका अनिल पौडेललाई सम्मान गरेकाे हाे ।
सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई सम्मान गरिएकाे सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । उक्त सम्मानकाे राशी २५ हजार १ सय रुपैया रहेकाे छ । यसैगरी मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजालले स्थापना गरेकाे आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० मोरङका पौडेललाई प्रदान गरिएकाे हाे । उक्त सम्मानकाे राशी १५ हजार रुपैया रहेकाे लामिछानेले जानकारी दिए ।
सम्मानित दुवै स्रष्ट्रालाई प्रमुख अतिथि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले पुरस्कारसहित सम्मानित गरेका हुन् । स्थापना दिवसकाेअवसरमा सिस्नुपानी नेपालले आयोजना गरेकाे हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रममा हास्यव्यङ्य रचना तथा प्यारोडी गीत प्रस्तुत भएकाे थियाे ।
संस्थाका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाल लेखक संघका केन्द्रीय सदस्य ह्यग्रिव आचार्य, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल कवि शान्ति प्रिय वन्दनालगायतकाकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएकाे हाे ।
डिजेल र मट्टितेलको मुल्य घटाएकाे निगमले हवाई इन्धनकाे मुल्य भने बढाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले बढाएकाे निगमले जनाएकाे छ । नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएकोले मूल्य समायाेजन गरिएकाे निगमले प्रकाशन गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
