मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आह्वान गरेको सर्वदलीय बैठक बसेकाे छ। वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठक आह्वान गरेका थिए।
सोमबार प्रदेश सुशासन केन्द्र, ललितपुरमा बसेकाे बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारको भविष्यबारे छलफल भएकाे छ।प्रदेशमा देखिएको राजनीतिकअस्तिरतालाई अन्त्य गर्ने गरी संवाद अघि बढाइएको बैठकमा बदलिँदो राजनीतिक परिस्थिति, प्रदेश सरकारको निरन्तरता तथा सम्भावित राजनीतिक सहमतिका विषयमा विभिन्न दलका नेताहरूबीच छलफल भएकाे हाे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि कि त आफूलाई समर्थन गर्नु पर्ने वा अन्य दललाई बहुमत पुर्याउन दलहरुसँग आग्रह गरेका छन् । नेकपा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि अन्यौलताको अवस्था सिर्जना भएकाले आफूलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशिघ्र बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दलहरुलाई आग्रह गरेका हुन् ।
‘नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्ग प्रशस्त गर्न तयार छु’ उनले भने ‘हालसम्म दुई दलले बहुमत पुर्याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाइएकाे हाे ।’ अहिलेको अवस्थाले प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएको तर्फ मुख्यमन्त्री बानियाँले चिन्ता व्यक्त गर्दै दुई दलबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफूलाई नै समर्थन गरे चाँडो भन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिने समेत दलहरुलाई अनुरोध गरेका थिए ।
उनले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट पारित भईसकेको अवस्थामा यसलाई कार्यान्वयन गरेर नागरिकको आकांक्षा पूरा गर्न आफु नेतृत्वको सरकार तत्पर रहेको समेत बताए । मुख्यमन्त्री बानियाँले नेकपा एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गरेका थिए । अन्य दललाई राजनैतिक अन्यौलताको अन्त्यका लागि आफूलाई सहयोग गर्न आग्रह गर्दै सरकारमा नगएपनि समर्थन गरेर अघि बढ्न सकिनेतर्फ समेत दलहरुको ध्यानाकर्षण गराएका थिए । बानियाँले संसदमा रहेका सबै दललाई समर्थनका लागि लिखित अनुरोध समेत गरेका थिए ।
मुख्यमन्त्री बानियाँलाई मार्ग प्रशस्त गर्न आग्रह
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। त्यसयता प्रदेशको नयाँ राजनीतिक समीकरणबारे विभिन्न दलबीच छलफल चलिरहेका बेला सोमबारकाे सर्वदलीय बैठकलाई प्रदेशको राजनीतिक निकास खोज्ने प्रयासका रूपमा हेरिएको छ।
तर, बागमती प्रदेशको सर्वदलीय बैठकमा नयाँ समीकरणलाई सरकार बनाउन सहज वातावरण बनाइदिन बाम गठबन्धन दलहरूले आग्रह गरेका छन् । सर्वदलीय बैठकमा उपस्थित बाम गठबन्धनका दलहरूले मुख्यमन्त्री बानियाँलाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
नेकपा संसदीय दलका नेता शालिकराम जमकट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतले मुख्यमन्त्री बानियाँलाई मार्ग प्रशस्त गर्न अल्पमतको सरकारको आयु मात्र बढाउने काम नगर्न आग्रह गरेका थिए ।
राप्रपाका नेता उद्धव थापाले आफूहरू अनिर्णयको बन्दी नबन्ने र छिट्टै निकास दिने बताएका थिए । नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईंले आफ्नो पार्टी सरकार बनाउने खेलमा नरहेको र संसद्मा हुने मतदानको प्रक्रियामा सहभागी भएर उपयुक्त निर्णय लिने बताएका थिए । हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्यले ठुला दलहरूको आन्तरिक विवादले सरकार सञ्चालनमा असर परेको बताए।
बैठकमा सहभागी अन्य नेताहरूले प्रदेश सरकारलाई लामो समय अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिएका थिए । बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुर सिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, नेकपा एमालेका नेता मधुसुदन पौडेललगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलियाले नै निरन्तरता पाउने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नगर्ने सहमती भएकाे हाे ।
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि संसदीय दलकाे नेता परिवर्तनकाे समेत चर्चा राजनैतिक वृतमा चलेकाे थियाे । नेतृत्व विवाद तत्काललाई मिलाउन एमालेले अन्ततः थपलियालाई नै दलको नेतामा निरन्तरता दिने निर्णयमा पुगेकाे हाे । दलकाे शीर्ष नेतृत्वकाे हस्तक्षेप पछि बागमती प्रदेशकाे दलकाे नेताकाे विवाद टुंगिएकाे छ ।
केन्द्रमा एमाले र नेकपा बीच प्रदेशहरुकाे सत्ता समिकरणकाे लागि बाम गठबन्धन भएपछि सहमती अनुसार बागमती प्रदेशको सत्ता नेतृत्व एमालेले गर्ने भएकाे थियाे । दल नेताको विषयमा एमाले भित्रै मतभेद रहेकाे अवस्थामा थपलियाले नै निरन्तरता पाउने भएपछि मुख्यमन्त्रीकाे दावेदार समेत उनै हुनेछन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था रहेकाले एमाले–नेकपाबिचको सहमति अनुसार थपलिया मुख्यमन्त्रीका मुख्य दाबेदार हुन । यद्यपि पार्टीभित्र मुख्यमन्त्रीका लागि अन्यले पनि दाबी गर्दै आएका छन् ।
बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको थियो । दलभित्रको विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबिच काठमाडौँमा पटक–पटक छलफल भएको थियो । एमाले केन्द्रले सत्ता साझेदार दल नेकपासँग भएको सहमति कार्यान्वयनलाई प्राथमिकता दिँदै तत्काल सरकार गठन गर्ने रणनीति अनुसार संसदीय दलको नेतृत्व यथावत् राख्ने निर्णय गरेकाे बताइएकाे छ ।
हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ । यसैगरी प्रदेशसभामा कांग्रेसकाे ३६ सदस्य रहेकाे छ । राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।
एमालेले सहमतीबाट बागमतीकाे नेतृत्व पाउने भए पनि हाल अङ्कगणित अनुकूल नहुँदा दाबी प्रस्तुत गर्न सकेको छैन । एमाले नेतृत्वमा सरकार गठन निश्चित छ तर प्रदेशसभामा बहुमत जुटाउन अर्को चुनौती भने कायमै छ । सरकार गठनकाे लागि बहुमत समर्थन जुटाएपछि थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।
यद्यपि एमालेभित्र भने मुख्यमन्त्रीको विषयमा मत एकरूप छैन। प्रदेशका सांसदहरू जगन्नाथ थपलिया र किरण थापाको पक्षमा विभाजित देखिएका छन्। थापालाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री अघि सार्ने उद्देश्यले १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसमेत संकलन गरिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले संसदीय दलका नेता रहेका थपलियालाई नै मुख्यमन्त्री बनाउने पक्षमा धारणा व्यक्त गरेको बताइएकाे छ । ओलीको भनाइपछि प्रदेशकाे नेतृत्व थपलियाको पक्षमा स्पष्ट देखिएकाे छ ।
यसैबीच नेपाली कांग्रेससँग सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरिसकेकाे छ । बिहीबार ललितपुरमा बसेको दलकाे बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय समेत गरेको थियाे । बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय भएकाे छ ।
कुनै राजनीतिक घटनाक्रम नबदलिए एमालेका जगन्नाथ थपलिया बागमतीकाे ७ औं मुख्यमन्त्री बन्नेछन् । प्रदेश सभाकाे साढे आठ वर्षकाे अवधीमा ६ मुख्य मन्त्री ९५ जना मन्त्री भएका छन् ।
प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफूसहित ११, अष्टलक्ष्मी शाक्यले १३, राजेन्द्र पाण्डेले १८, शालिकराम जम्कट्टेलले २१, बहादुरसिंह लामाले १८ र इन्द्रबहादुर बानियाँले १४ जनालाई मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्। मुख्यमन्त्री बाँनियाकाे नेतृत्वकाे सरकारबाट एमाले बाहिरिएपछि हाल ८ जना मन्त्री छन् ।
यी सबै नियुक्ति जोड्दा ९५ हुन्छ। तर एउटै व्यक्ति फरक सरकार वा फरक गठबन्धनमा दोहोरिएकाले हाल सम्म ८३ जना मात्रै प्रदेशकाे नेतृत्व तहमा रहेका छन् । प्रदेशमा ७ मन्त्रालयबाट सुरु भएकाे मन्त्रालय १४ सम्म पुर्याइएकाे थियाे । हाल ८ वटा मन्त्रालय कायम छन् । अब नयाँ सरकार बन्दा मन्त्रीहरुकाे सूचीमा अरु संख्या थपिने छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १० स्थित आरआरएस थकाली रोधी घरमा वेटरको रुपमा काम गर्ने किशोरीकाे मृत्यु भएकाे छ ।
चितवन भरतपुर महानगरपालिका–११ की १७ वर्षीया अनिशा बिक शनिबार बिहान ६ बजेको समयमा डेरामा अचेत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अचेत अवस्थामा भेटिएकी अनिशालाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको नेतृत्वकाे अनुसन्धान टोलीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।
मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहका ६ जना जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले नेकपा एमालेबाट निर्वाचित उनीहरूको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो।
आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जनाएकाे छ ।
पद रिक्त हुने जनप्रतिनिधिहरू
- रौतहट, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख, प्रेमलाल शाह कानु
- रौतहट, देवाही गोनाही नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष राम प्रवेश प्रसाद कुर्मी
- मोरङ, बेलबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष, योगेन्द्र प्रसाद सुवेदी
- जाजरकोट भेरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष दल बहादुर राना
- खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष दनेश कुमार राई ्खो
- टाङ खोटेहाङ गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रदिप आचार्य
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्। एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेका छन् ।
कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको दलकाे बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।
बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । महर्जनका अनुसार प्रदेशमा पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितिकाबिच कांग्रेसले सरकारको निरन्तरताका लागि विश्वासकाे मत लिन उक्त निर्णय गरेको हो। संसदीय दलका नेता समेत रहेका बानियाँको नेतृत्वकाे बैठकले सरकारको निरन्तरताका लागि प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित वा मौखिक संवाद गर्ने जिम्मेवारी बानियाँलाई तोकेकाे छ।
बैठकले कांग्रेस नेता पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। यसैगरी कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्जको कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दलले थप हिंसा हुन नदिन र धार्मिक-सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य र संयम रहन अपिल समेत गरेको छ। संवादको माध्यमबाटै समस्याको समाधान खोज्न र परिस्थिति थप बिग्रन नदिन सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।