मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले राजीनामा दिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष शुक्रवार ढकालले राजीनामा बुझाएका हुन् ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) अनुसार ११ कार्तिकबाट लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै राजिनामा दिएको उनले बताए । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेकाे बताइएकाे छ ।
प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने संवैधानिक प्रावधान रहेकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका पूर्व निर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारीमा प्रदेश सरकार रहेकाे बताइएकाे छ ।
मकवानपुर । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन्।
बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयकाे अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री तामाङ्ले कार्यालयका समस्याकाे जानकारी लिइन् । साथै उनले कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।उनले सेवा प्रणालीलाई जनतामा सहज रूपमा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन पनि दिइन्।
२०३२ सालमा नेपालमा पहिलो पटक नयाँ प्रविधि (ट्रिगोनोमेट्रिकल पोइन्ट) द्वारा नापी सुरु भएको ऐतिहासिक जिल्ला मकवानपुरमा ‘सर्भे पार्क’ तयार गर्न मन्त्रालयबाट बजेट बिनियोजन गरिएको छ। अनुगमनको क्रममा नापी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रकाश घिमिरे र नापी अधिकारी रामसोगारथ महतो लगायतका कर्मचारीहरु उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुख देवकाेटाले बिहीबार प्रदेश सभाबाट पारित भएकाे प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश सभाको ७ असोज २०८१ को बैठकबाट पारित भई १८ असोज २०८१ मा प्रमाणीकरणको लागि नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्राप्त भएकाे उक्त विधेयकहरु संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएकाे हाे । प्रमाणीकरण भएकाे विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनकाे रुपमा लागू हुनेछ ।
यसैगरी प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको प्राप्त “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक” नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारकाे लागि प्रदेश सभामा फिर्ता गरेका छन् ।
बिहीबार प्रदेश प्रमुख देवकाेटाले प्रदेश सभा सभामुखलाई सम्बाेधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएकाे विधेयक सभामा छलफल गरी संसाेधनसहित पारित भइ पुनः प्रमाणीकरणकाे लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।
मकवानपुर । स्थानीय तह उपनिर्वाचनमा दलहरुले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएकाे छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हाे ।
‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएकाे छ ।
यसैगरी निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण समेत माग गरेकाे छ ।
स्थानीय तह उपनिर्वाचनकाे लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको हाे ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। आयोगले उक्त विवरण ५ कार्तिक भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिनेछ आयोगले जनाएकाे छ ।
यस्तै आयोगले स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान समेत तोकेको छ ।
आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हाे।
आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।
त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ आयोगले जनाएकाे छ ।