मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा नेकपा एमालेले सञ्चालन गरेको वडा केन्द्रित ३ महिने जरा अभियानको हेटौँडामा भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालहरुमार्फत एमालेलाई घेराबन्दी पार्ने काम भैरहेकोले असफल पार्न एमालेका सबै पंक्ति एकजुट भएर लाग्नुको विकल्प नरहेको उनले बताए । ‘अभिमन्यूलाई झैं घेराबन्दीमा पारेर एमालेलाई गलाउने प्रयास भइरहेको छ’ रानाले भने ‘आधुनिक अभिमन्यूहरुले त्यस्ता भ्रमहरुलाई तोडेर बाहिर निस्कने सक्ने ल्याकत राख्छन् ।’ ‘सामाजिक सञ्जाल होस् वा एआइ टुल्स नै किन नहोस हामी सदुपयोग गरेर भ्रमजालबाट देशलाई मुक्त बनाउन लाग्नेछौं’ रानाले भने।
एमाले केन्द्रीय सदस्य केदार न्यौपानले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमि बताउदै भने ‘तत्कालीन राणाशासनको अन्त्य र नागरिक अधिकार प्राप्तिको एजेण्डा लिएर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो ।’ ‘कम्युनिष्ट आचरणमा रहेर श्रमिक बर्गको एजेण्डा उठाउने पार्टी आजको आवश्यकता बनेको छ’ उनले भने । ‘जब हामीले श्रमिकका मुद्दा, गरिव र बिपन्नको मुद्दा बोक्दैनौं भने पुँजीवाद हाबी हुन्छ र व्यवस्थामाथि खतरा बढछ्’, न्यौपानेले भने ‘अहिले प्राप्त गणतन्त्रको नेतृत्व पनि कम्युनिष्ट पार्टीले गर्न सकेन भने नाम मात्रको गणतन्त्र हुनेछ ।’
एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले संसदीय कामका बाबजुत आफू निरन्तर पार्टीको अभियानमा जोडिएर अघि बढिरहेको बताए । ‘पार्टी कामका अलावा संसदीय काम र विकास निर्माणका काममा जनतासामु जोडिएर अघि बढिरहेको छु’ बर्तौलाले भने । शिक्षक आन्दोलनमा राजनीति हाबी हुँदै जाँदा आन्दोलनले अर्कै रुप लिन पुगेको उनले बताए । नेपाली ‘काँग्रेस निकट शिक्षक महासंघको नेतृत्वले अहिले एमालेको नेतृत्वमा रहेको सरकारलाई बदनाम पार्ने प्रयत्न भइरहेको छ’ उनले भने ।
एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत मकवानपुरका १० वटै स्थानीय तहका १०२ वटै वडामा पार्टीका वडा कमिटीहरु चुस्त पारिएको र ४७६ वटा टोल कमिटी गठन भएको प्रतिवेदन पेस गरेका थिए ।
मकवानपुर । संघीय शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । शिक्षक आन्दोलनकाे विषयलाई लिएर प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेकाे बताएकी थिइन् ।
शिक्षा मन्त्रालयले शिक्षकहरूलाई पटक-पटक वार्ताका लागि बोलाए पनि शिक्षकहरूले ऐन नल्याएसम्म वार्तामा नबस्ने अडान लिदैं आएका थिए ।सोमबार शिक्षकहरुकाे आन्दोलन २० औं दिनसम्म निरन्तर चलिरहेकाे छ ।
कपिलवस्तु । कपिलवस्तुमा रहेकाे साहित्य तीर्थ कपिलधाममा प्रा.डा. विष्णुराज आत्रेय (लाटोसाथी), पं. रश्मिराज अर्ज्याल तथा हिमलाल ज्ञवालीको प्रतिमा अनावरण गरिएकाे छ ।
नेपालका दर्जनौं साहित्यकारहरूको प्रतिमा राखिएको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाममा नेपाली संस्कृत एवम् अवधि वाङ्मयका विद्वान प्राज्ञ प्रा.डा. विष्णुराज आत्रेय तथा साहित्यकार एवम् समाजसेवी हिमलाल ज्ञवाली र विद्वद्वर पण्डित रश्मिराज अर्ज्यालको प्रतिमा शनिबार अनावरण गरिएकाे हाे । नेपाल सरकारका पूर्व परराष्ट मन्त्री तथा साहित्यकार प्रदिपकुमार ज्ञवाली (शीतविन्दु) र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा प्रतिमा अनावरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञवाली, विशिष्ट अतिथि मुख्यमन्त्री आचार्य, प्राज्ञ मधुसुदन गिरी, प्राज्ञ बाबा बस्नेत, ऋषि आजाद, पोमनारायण पौडेल, विष्णु भण्डारी, पार्वती शर्मा, अलका आत्रेय चूडाल र सिर्जना ज्ञवाली लगायतले विष्णुराज आत्रेय र हिमलाल ज्ञवालीको व्यक्तित्व, कृतित्वकाे चर्चा गरेका थिए ।
साेही अवसरमा बमबहादुर थारु, दुर्गा थापा मगरलाई स्रष्टा सम्मान अर्पण गरिएको थियो । यस्तै टङ्कप्रसाद पराजुलीलाई “पाणिनीय व्याकरणे विष्णुराज आत्रेयस्य योगदानम्” शीर्षकको आचार्यस्तरको शोधपत्रका लागि प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी) अध्ययन-अनुसन्धान पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेको कविता सङ्ग्रह ‘लेखनी’ प्रीति आत्रेय ज्ञवालीको स्मृतिकाव्य ‘लाटो साथी’ तथा डा. अलङ्कार आत्रेयद्वारा लिखित लघुकथा सङ्ग्रह ‘अनवरत प्रेम’ तथा कपिलधामको संक्षिप्त परिचय पुस्तिकाको पनि लोकार्पण गरिएको थियो । न्यौपाने र ज्ञवाली दिदीबहिनी र अलंकार भाइ हुन् ।
कार्यक्रम प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठान तथा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानको संयुक्त आयोजना कार्यक्रम भएको हाे ।
मकवानपुर । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य प्रारम्भ गरेकाे छ । अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा आयोगले अनुरोध गरेको छ ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक गर्न लागिएकाे आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको उनले बताइन् ।
नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न सकिने समेत आयोगले जनाएकाे छ । आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए दिन सकिने छ ।
त्यसैगरी एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट https://election.gov.np मा प्रकाशन भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने बताइएकाे छ । यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने पनि आयोगले स्पष्ट पारेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ७ जिल्लाका ४१ जनालाई भलिबलकाे आधारभूत रेफ्री तालिम दिइएकाे छ । २ बैशाखबाट सुरु आधारभुत रेफ्री तालिमकाे शनिबार समापन गरिएको हो ।
मकवानपुर जिल्ला भलिबल संघले आयोजना गरेको ५ दिने तालिममा जिल्लास्तरीय खेलमा सहभागी भएका ४१ जनाको सहभागिता रहेको मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त सिटौलाले बताए । उनका अनुसार तालिममा ७ जिल्लाका ४१ जना पुरुष र ७ जना महिलाकाे सहभागिता रहेकाे थियाे । तालिममा बागमती प्रदेशका दोलखा, रामेछप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर तथा बारा, रुकुम पश्चिम र बैतडी जिल्लाका सहभागिता रहेका थिए ।
प्रत्येकले ५ हजार रुपैयाँ शुल्क बुझाएर तालिममा सहभागी भएकाे संघले जनाएकाे छ । हेटौंडा–४, हुप्रचौरमा भएको तालिमकाे राष्ट्रिय रेफ्री विजय वादे सहितले सहजीकरण गरेका थिए । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष सिटौलाले बताए ।
मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त कुमार सिटौलाको सभाध्यक्षता तथा बागमती खेलकुद परिषदका सदस्य सचिव दिपक लामाको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएकाे हाे ।