मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्पोटर्स अवार्ड र यूथ समिट हुने भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रम आगमी जेठ पहिलाे साता हुने छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले युवा तथा खेलाडीहरूको प्रोत्साहन र सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे हाे । कार्यक्रम हेटौंडाको हुप्राचौरमा हुने बताइएकाे छ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने छ । संघीयता कार्यान्वयनकै चरणमा अघि बढ्ने क्रममा प्रदेशमा पहिलो पटक स्पोटर्स अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल खेलाडी तथा युवाहरूलाई कार्यक्रममा पुरस्कृत गर्ने गरी प्रदेश सरकार अघि बढेको छ ।
कार्यक्रमबाट खेलकुदमा लाग्नेहरूलाई प्रेरित गर्ने लक्ष लिइएकाे मन्त्री महर्जनले बताए । ‘खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना सँगसँगै हौसला र प्रोत्साहनमा पनि राज्यले कार्यक्रम गर्नु पर्छ’ उनले भने– ‘खेल क्षेत्रमा लागेकालाई पुरस्कृत र सम्मान गरिदा नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भन्ने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’
स्पोटर्स अवार्डमा खेलाडी तथा पत्रकार पुरस्कृत गर्न मन्त्रालयले ३ सदस्य छनोट उपसमिति समेत गठन गरेको छ । जसमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
उक्त उपसमितिले १० दिनभित्र प्रदेशमा रहेका नयाँ र पुरानो गरी ९ जना प्रतिभावान खेलाडी, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने एक जना खेलकुद पत्रकारको नाम सिफारिस गर्नेछ । उपसमितिको सिफारिसअनुसार मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्नेछ ।
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरेकाे छ ।
चौतारी मकवानपुरले जिल्लामा निर्वाचित भएर आएपछि सम्पन्न गरेकाे र २०८२ को चैतसम्म गर्ने कार्यक्रमको वार्षिक कार्ययोजना पनि सार्वजनिक गरेकाे छ । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गरिएको हो ।
प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका शिवकुमार रिजाल, पुष्पराज अधिकारी, अनुशासन आयो सदस्य उज्वल अधिकारी र लेखा आयो सदस्य आरती ढकाललाई बधाई पत्रसहित सम्मान गरिएको हो ।
साथै प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी महासचिवमा प्रकाश दाहाल , कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी, रुपक कालीराज, रविन ढुंगाना र सुनिता विष्टलाई बधाई पत्रसहित शुभकामना दिईएको थियो ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेश शाखामा महासचिव चयन भएकी प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समुह मकवानपुरमा अध्यक्षमा चयन भएकी प्रेस चौतारी मकवानपुर जिल्ला कार्यसमिति सदस्य निशा गुरुङलाई पनि बधाई पत्र सहित शुभकामना प्रदान गरिएको थियो ।
वार्षिक कार्ययोजनामाथि छलफल
प्रेस चौतारी नेपाल मकवानपुरले पहिलो पटक आफ्नो वार्षिक कार्ययोजनामाथि छलफल कार्यक्रम गरेको छ । प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालले मकवानपुर शाखाले लामाे समयमा पुरा गर्ने भावि योजना,दिवसीय कार्यक्रम, प्रशिक्षणहरु जस्ता सवालका बार्षिक कार्ययोजना प्रस्तुत गरेपछी सोमाथी छलफल समेत भएको थियो ।
अध्यक्ष दाहालले आगामी बार्षिक कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणको लागि जग्गा खोजी तथा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताइन् । यसैगरी पत्रकारहरुको सम्मान र पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट सम्मान र पुरस्कार प्रदान गर्ने, चौतारी उपचार कोष स्थापना गर्ने , उपचार कोषबाट जिल्लाका चौतारीकर्मी दुर्घटनामा पर्दा र गम्भिर बिरामी भएर उपचार गर्नुपर्दा चौतारीकर्मीलाई कोषको ब्याजबाट सहयोग गर्ने कार्ययोजना अघि सारिएको छ ।
यसैगरी संगठनको नेतृत्वले जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै उक्त अनलाइन आगामी चौतारीको नेतृत्वमा आउने कार्यसमितिलाई हस्तान्तरण गर्ने र कम्पनीमार्फत विभिन्न योजनाका कार्यक्रममहरुमा सहज बनाउने अध्यक्ष दाहालले प्रस्तुत गरिएको कार्ययोजनामा समेटिएको छ । यस्ता कार्यक्रमहरु गर्दा पत्रकार महासंघ सदस्यता वृद्धि गरेर महासंघमा चौतारीको बलियो उपस्थिति बनाउन र पार्टीको मिसन ८४ लाई महत्वपुर्ण योगदान सक्षम बनाउने अपेक्षा गरिएको छ ।
साथै ६/६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने , चौतारी सदस्यहरुले पार्टीको प्रचारमा गरेको योगदालाई समिक्षा गरेर प्रोत्साहन र सम्मानको सुरुवात गर्नुका साथै प्रेस चौतारीको कार्यालयलाई व्यवस्थित बनाउनको लागि कार्पेट , टेबुल–कुर्सी जस्ता फर्निचरदेखि , कम्युटर , प्रिन्टर , पंखा , दराजलगायतको व्यवस्थापन गर्न समन्वय र सहजिकरणको लागि अपिल गर्ने प्रेस चौतारीको वार्षिक कार्ययोजनमा समेटिएको छ ।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका इञ्चार्ज रानाले चौतारीसँग पार्टीकाे समन्वय सधै रहने बताए । पार्टीकाे विभिन्न संगठनमध्ये चौतारीलाई सशक्त पार्न सकेका लोकतन्त्रकाे सुदृढीकरणमा बल पुग्ने उनले बताए । यसैगरी एमाले मकवानपुर सचिव सिता विष्टले संगठनभित्र एकता अपरिहार्य रहेकाे बताइन् । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाई , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले समेत चौतारीकाे कार्ययोजनामाथी सुझाव दिएका थिए ।
यसैगरी चैतारी मकवानपुरले १३६ औं श्रमिक दिवसकाे अवसरमा विहीबार प्रभात फेरी कार्यक्रम गरेको छ । जिफन्टको नेतृत्वमा आयोजित कार्यक्रममा चौतारीकर्मीहरुले पनि ब्यानर लिएर कार्यक्रममा सहभागिता जनाएका थिए ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट मुल्य घटेर आएसँगै समायोजन गरिएकाे निगमले जनाएकाे छ । एलपी ग्याँसकाे मूल्य घटेर आए पनि खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ । । एलपी ग्याँस प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२,दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।

मकवानपुर । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
बिहीबार राति देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकीलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले बागमती प्रदेश सरकारसँग सञ्चारमैत्री बजेट निर्माण गर्न आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले ज्ञापनपत्र बुझाउँदै माग गरेकाे हाे ।
मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार महासंघले माग पत्र बुझाएको हाे । ‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार क्षेत्रको हीत र प्रवद्र्धनमा सरकारले गर्दै आएको सहकार्य र सहयोग प्रति आभार व्यक्त गर्दछौं,’ माग पत्रमा उल्लेख छ, ‘अघिल्लो वर्षहरुको बजेटमा प्रदेश सरकारको कूल बजेटको शुन्य दशमलव २० प्रतिशत भन्दा न्यून बजेट मात्र सञ्चार क्षेत्रमा विनियोजन हुनु दुःखद् कुरा हो । त्यसैले आगामी आर्थिक वर्षको बजेट सञ्चारमैत्री बनाईदिनु हुन माग गर्दछौं ।’
प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध कार्यक्रम, पत्रकारलाई स्वास्थ्य विमा कार्यक्रम, पत्रकार कल्याण कोष संचालन, पत्रकार महासंघ बागमतीको भवन निर्माण, प्रदेशस्तरीय पत्रकार संघसंगठनहरुलाई अनुदान सहयोग, पत्रकारिता तालिमहरु लगायत ३२ कार्यक्रम माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वको टोलीमा पत्रकारको विभिन्न संघसंगठनको प्रतिनिधीको सहभागिता रहेको थियो ।