मकवानपुर। बागमती प्रदेशको प्रदेश मामिला समितिद्वारा लागूऔषध पुनर्स्थापना केन्द्र र लागूऔषध ओसारपसार हुने मुख्य क्षेत्रको अनुगमन गरिएको छ ।
लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको न्यूनीकरणमा सहयोगकाे उद्देश्यले प्रदेश मामिला समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा सञ्चालनमा रहेको सियान पुनर्स्थापना केन्द्र र भारतबाट लागूऔषध मकवानपुर भित्रने र मकवानपुरबाट भारत तर्फ लैजाने रातोमाटे क्षेत्रको अनुगमन गरेको हो । बागमती प्रदेशको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाको नेतृत्वमा सियानले सञ्चालन गरेको महिला लागूऔषध प्रयोगकर्ताहरुको पुनर्स्थापना केन्द्र र पुरुष लागूऔषध प्रयोगकर्तालाई राखिएको पुनर्स्थापना केन्द्रमा अनुगमन गरिएको थियो । त्यसैगरी लागूऔषध ओसारपसारकाे नाका रातोमाटे क्षेत्रमा अनुगमन गरिएको हाे ।
सभापति लामाले लागूऔषधकाे लतमा परेपछि समाजमा पुनर्स्थापना हुन आफैं चनाखो हुनुपर्ने बताए । ‘सरकारले कारागार बनाएको तर लागूऔषध प्रयोगकर्ताहरुलाई राख्ने पुनर्स्थापना केन्द्र बनाएको छैन’ उनले भने ‘मकवानपुर जिल्लामा लागूऔषध भित्रने र बाहिरीनेक्रम बढ्दो रहेकाेले न्यूनीकरण आवश्यक छ ।’ लागूऔषध नियन्त्रणकाे लागि प्रहरी परिचालन भइरहे पनि त्यो मात्रै पर्याप्त नभएकाे उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद प्रभात तामाङले साथिसंगतका कारण लागूऔषध ओसारपसार तथा सेवन गर्ने गरिएको बताए । ‘यसकाे प्रयोग तथा ओसारपसारमा संलग्न हुनबाट छुट्कारा लिएर समाजमा पुनर्स्थापना हुन जरुरी रहेको छ’ उनले भने । लागूऔषधमा फसेकै कारण परिवार र समाजमा समेत असर पुगेकाेले सबै सजक र सचेत हुनु पर्ने उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद कुमारी तामाङले अहिलेका युवापुस्ता लागूऔषधकाे दलदलमा फस्नु ठुलो समस्या रहेकाेले सरकार र सरोकारवाला निकायले बेलैमा ध्यान पुर्याउन आवश्यक रहेकाे बताइन् । बागमती प्रदेशमा लागूऔषध न्यूनीकरणका लागि कार्यक्रम ल्याउन पहल गर्ने उनले बताइन् । ‘पुनर्स्थापना केन्द्रमा रहेका युवाका लागि सिप सिक्ने अवसर दिनुपर्छ’ उनले भनिन् ।
प्रदेश मामिला समितिका सदस्य तथा सांसद उर्मिला सुनुवारले जीवन अमुल्य रहेकाले लागूऔषध ओसार पसार गर्ने र सेवन गर्ने कार्य सवै युवा टाढै रहनु पर्ने बताइन् । समाजमा पुनर्स्थापना भएपछि उदाहरणीय काम गरेकाे देखाउन समेत गर्न उनले सुझाव दिइन् । कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीका सल्लाहकार रिकेश महर्जनले लागूऔषधले भयावह रुप लिएकोले नियन्त्रणका लागि प्रहरीसँगै सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक रहेको बताए ।
सियान पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीले पुनर्स्थापना केन्द्रमा सिप सिकाउन तथा अन्य सहयोग सरकारी निकायबाट हुनु पर्ने आवश्यक रहेकाे बताए । महिला पुनर्स्थापना केन्द्र र पुरुष पुनर्स्थापना केन्द्रमा पुनर्स्थापित भएपछि धेरै युवाहरुले पुनर्जीवन समेत पाएको उनले जानकारी दिए । प्रहरी चौकी राटोमाटेका असइ सागर लुङवाले रातोमाटे नाका भएर धेरै लागूऔषध भित्रने र बाहिरिने भएकाले नियन्त्रणका लागि आफंहरु अहोरात्र खटिइरहेको जानकारी दिए ।
मकवानपुर। आगामी ४ जेठ आइतबार हेटौंडामा बागमती प्रदेश स्पोर्टस अवार्ड हुने भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा अर्वाड कार्यक्रम गरिने बिहीबार पत्रकार भेटघाटमार्फत जानकारी गराइएको हो ।
पत्रकार भेटघाटमा प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उदेश्यका साथ प्रदेश स्पोर्टस अवार्ड गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन जानकारी दिए । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र सिङ्गो राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुयाएका छन्, त्यस्ता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने उनले बताए ।
खेल क्षेत्रमा प्रवेश गरेका युवा नयाँ खेलाडीलाई खेलकुदमा आवद्ध हुन हौसला र प्रेरणास्वरुप अर्वाड प्रदान गरिने उनले जानकारी दिए । बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी ८ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन लागिएको बताइएकाे छ ।
मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्ने जनाएकाे छ । उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही १ लाखको पुरस्कार प्रदान गरिनेछ भने बाँकीलाई जनही ५० हजार रुपैँया सहित अवार्ड दिइने आयोजकले जनाएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलोपटक आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु समेत रहने छ ।
कार्यक्रम सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप-समिति गठन गरिएको छ । उपसमिति सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् । अर्वाडका लागि खेलाडी छनौट गर्दा यसअघि पुर्याएको योगदान, खेल क्षेत्रमा परेको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा लगायतका कुरालाई ध्यानमा राखेर गरिनेछ । साथै खेलकुदको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेर योगदान पुर्याएका एक जना पत्रकारलाई सम्मान गरिने बताइएको छ ।
आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम हुनेछ । साथै मन्त्रालयले युथ समिट भने केहि सातापछि आयोजना गर्ने पत्रकार भेटघाटमा जानकारी दिइएकाे छ ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा स्वास्थ्य उपचार गरिरहेकाहरूलाई फलफूल वितरण गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरकाे आयाेजनामा युवा संघ नपालकाे ३६ ओैँ स्थापना दिवसकाे अवसरमा हेटाैडा अस्पतालका बिरामीहरुका लागि फलफुल वितरण गरेकाे युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकाेटीले बताए ।
कार्यक्रममा संघकका केन्द्रीय लेखा कमिटी अध्यक्ष सन्ताेष चाेैलागाइले युवामा नविनता सृजनशिलता गतिशिलता हुन जरुरी रहेको बताए ।
“नेकपा एमाले मात्र यस्ताे पार्टी हाे जाे हरेक पल जनतासंग छ” चौलागाईंले भने “अस्पताललाई स्राेत साधन सम्पन्न गराउन निरन्तर अघि बढ्नेछाैँ ।”
युवाहरुमा रहेकाे जाेस जागर र उर्जालाइ नवीन ढंगले समाजिक राजनितिक आर्थिक हरेक क्षेत्रमा सृजनशिलता प्रयाेग गर्दै गतिशिलता प्रदान गर्ने उनले बताए । एमालेको संगठन हरेक क्षेत्रमा अग्रसर रहने र समाजकाे अराजक गतिविधिमा कहिल्यै सहभागी नहुने उनले बताए ।
कार्यक्रममा पार्टी उपसचिव आरती पाठकले बिरामिकाे स्वास्थ्य लाभकाे कामना गर्दै प्रतिष्ठानको नाम मेट्ने भन्दा पनि बिरामीकाे स्वास्थ्यकाे अवस्था बुझ्नु ठुलाे काम भएको बताइन् ।
“हामी अस्पतालको सुधारका पक्षमा पनि ध्यान दिइरहेका छौं,शान्ति र क्रान्तिकाे सामाजिक कार्यमा युवाहरु सदा अघि बढ्ने छ” पाठकले भनिन् ।
अस्पतालका करिव १५० जना बिरामीकाे स्वास्थ्य लाभकाे कामना गर्दै फलफुल तथा पानी वितरण गरि उक्त कार्यक्रम गरिएको युवासंघले जनाएको छ ।
स्थापना दिवसको अवसरमा आजै साझ ६ वजे हेटौंडा उपमनपा-४ स्थित सितल महल चाेकमा दिपप्रज्वलन गर्ने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष नगरकोटीले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे प्रदेश युवा सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएकाे छ । ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने नाराका साथ सुरु युवा सम्मेलनले प्रदेशको समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्प सहितको १० बुद्धे घोषणापत्र जारी गरेको छ ।
२८ बैशाखबाट सुरु सम्मेलनकाे अन्तिम दिन मंगलबार परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्वारा जारी घोषणापत्रमा भनिएकाे छ ‘प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्छ ।’ घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । यस बैंक मार्फत युवाको नयाँ सोच र परियोजनालाई बिनाधितो कर्जा, बीउपुँजी र प्राविधिक सहयोगमार्फत कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौंलागाईले बताए । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्न आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ । घोषणापत्रले युवा सीप वर्षलाई निरन्तरता दिँदै त्यसलाई उद्यम, बजारीकरण र लगानीसँग एकीकृत रूपमा जोड्नुपर्ने धारणा राखेको छ ।
कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअपलाई प्रवद्र्धन गर्ने, कृषिमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्ने र कृषि उद्यम गर्न चाहने गरेका विद्यार्थी प्रमाणपत्रको अधारमा कर्जा प्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारका सबै सेवा प्रणालीहरूलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै युवा–मैत्री डिजिटल सरकारको अभ्यास सुरु गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै, पछिल्लो समय युवाबीच बढ्दो मानसिक तनावलाई सम्बोधन गर्न प्रदेशभर मानसिक स्वास्थ्य परामर्श केन्द्र, विद्यालय तथा कलेजहरूमा साइको–सोसल सपोर्ट सिस्टम र २४ सै घण्टा उपलब्ध हुने हेल्पलाइन सेवा स्थापना गर्न प्रदेश सरकारलाई आग्रह समेत गरिएको छ ।
साहित्य, संगीत, डिजिटल कला, लोक शिल्प र चलचित्र निर्माण जस्ता विधामा संलग्न युवालाई प्रदेशस्तरीय प्रर्वद्धन गर्ने कार्यक्रम ल्याउन प्रदेश सरकार समक्ष माग गरिएको छ ।
हेर्नुहाेस घोषणापत्रः
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उभौली पर्व र बुद्ध जयन्तीको अवसर शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेशवासीलगायत सबैमा समृद्धिको कामना गर्नु भएको हो ।
“प्रकृतिका पुजारी किराँत समुदाय अन्तर्गतका सुनुवार, राई, लिम्बु र याक्खा जातिको पवित्र पर्व उभौलीको पावन अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली विशेष गरी किरात समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र सम्मृद्विको हार्दिक शुभकामना व्यक्त गर्दछु” उहाँले भन्नुभएको छ ।
कृषिजन्य उत्पादन राम्रो होस्, दैवीप्रकोप र विपत्तिहरू नआउन्, सबैमा सुस्वास्थ्य, सुख र शान्ति होस् भनी पूजा गरेर उभौली पर्व मनाइन्छ ।
“उभौली पर्वले केवल मौसमको परिवर्तन र उभो अर्थात् लेकतिरको यात्रालाई मात्र संकेत गर्दैन, यसले पुर्खाप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको गहिरो सन्देश पनि बोकेको हुन्छ” उहाँले सन्देशमा भन्नुभएको छ ।
यो पर्व किरात समुदायको सांस्कृतिक पहिचान, मेलमिलाप, चाडपर्वप्रतिको निष्ठा र सहअस्तित्वको दर्शन झल्काउने महत्वपूर्ण परम्परा हो । यो पर्व किराँत समुदायले आफन्त भेटघाट, खानपान, शुभकामना आदानप्रदान तथा नाचगान गरेर हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
विविधता बोकेका सम्पूर्ण जातजाति र समुदायका हाम्रा मौलिक चाडपर्वहरूले समाजमा प्रेम, मेलमिलाप, आपसी सद्भाव, सहिष्णुता र विविधतामा एकताको भावना बलियो बनाउने कार्य गरेका छन् । देवकोटाले मौलिक पर्व र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।
यसैगरी आजै परेको बुद्ध जयन्तीको अवसरमा पनि प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश प्रकाशन गर्नु भएको छ ।
शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रवर्तक, ज्ञान र करुणाका स्रोत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस पवित्र दिन हो बुद्ध जयन्ती ।
बैशाख पूर्णिमाको दिन चैत्य, गुम्बा र बिहारहरूमा बिशेष प्रार्थना, ध्यान, पूजाअर्चना र प्रवचनलगायतका विविध कार्यक्रमहरू गरि भगवान बुद्धप्रति श्रद्धाभाब प्रकट गरिन्छ । आजको दिनलाई विश्व शान्तिको प्रतीक बोकेको दिनको रूपमा लिइन्छ । बुद्धले दिनुभएको अहिंसा, करुणा र समता जस्ता अमूल्य सन्देश मानव जगतलाई सुमार्गमा डोर्याउने आधारशिला हुन् । शान्तिका दूत भगवान गौतम बुद्धको जन्म नेपालमा हुनु सबैको लागि गौरबको कुरा भएको उहाँले सन्देशमा भन्नुभएको छ ।
“बुद्धको शिक्षालाई आत्मसात् गर्दै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा एकजुट हुने दृढ संकल्प हामी सबैमा जागृत होस् भन्ने कामना गर्दछु” देवकोटाले सन्देशमा भन्नुभएको छ ।
<विश्व परिवेशमा भैरहेका अशान्ति, हतियार होड, द्वन्द, युद्ध र युद्धउन्मुख परिदृश्यले बुद्धमार्गको अपरिहार्यताको बोध गराएको उहाँले उल्लेख गर्नु भएको छ। “भगवान बुद्धको आदर्शले सबैलाई शान्ति, सत्य, प्रेम, संयम र सदाचारको बाटोमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्” देवकोटाले सन्देशमा भन्नुभएको छ ।