मकवानपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणकाे लागि खुला गरेकाे ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेकाे छ ।
बैंकले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर गत माघ २ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको छ। त्यस मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सोमबार साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजार ९ सय २० वटा आवेदनबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरिद आवेदन सो बराबरको शेयर माग भएको हो। उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.८७ गुणा बढी हुन आउछ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ। पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ। अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
यस्तै बैंकको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलहरुमा भिडभाड उत्तिकै देखिएको छ। बैंकको शेयर खुल्नुभन्दा केहि दिन अघिदेखि नै सुरु भएको यो भिड अझै कम भएको छैन्।
बैंकहरुमा सिआरएन नम्बर लिने र शेयर भर्नेहरु बढी देखिन्छन भने क्यापिटलहरुमा डिम्याट खाता खोल्नेहरुको भिड बढी छ। शेयर खुलेको पहिलो दिन नै बैंकहरुमा शेयर खरिदको लागि आवेदन दिनेहरुको भिड बढेको थियो। डिम्याट खाता खोलेका तर मेरो शेयर लिइनसकेकाहरुले बैंकबाट आवेदन दिँदा बैंकमा भिडभाड बढेको हो।
पछिल्लो समय औसतमा दैनिक १० हजार भन्दा बढीले डिम्याट खोलिरहेको सिडिएससिको तथ्याँकले देखाउछ। सामान्य अवस्थामा बैंकहरुले तत्कालै सिआरएन नम्बर दिने गरेकोमा अहिले भिडभाढ बढी भएकोले केहि बेंकहरुले सिआरएन सम्बर लिन समेत केहि दिन लाग्ने बताउन थालेका छन्।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ ।
डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले पुस महिनाको सर्बोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय, बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहलाइ घोषणा गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले पुष महिनाको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।
विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पुष महिनामा पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिरो स्थानीय निकाय र स्थानीय ब्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित क्षेत्रमा रिटेन्सनवाल र कार्यालयको कम्पाउण्डमा मेशिनरीवाल निर्माण कार्य लगायतका कार्यहरुमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले उचित मुल्यांकन गर्दै प्रहरी निरीक्षक शाह लाई छनौट समितिले पुस महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् ।
प्रहरी निरीक्षक शाह सहित पौष महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन । अन्य १३ प्रहरी जना आआफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।
मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघकाे पहलमा बागमती प्रदेश स्तरीय श्रम बजार सचिवालय परियोजनाको आइतबार घोषणा गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा हेटौंडामा उक्त घोषणा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले निजी क्षेत्रले ८० प्रतिशत भन्दा बढी रोजगारी प्रदान गर्ने क्षमता रहेको जिकिर गरे । उनले यस सचिवालय परियोजनाले बागमती प्रदेशमा श्रमिकको उपलब्धता, उद्योगको आवश्यक्ता, आवश्यक तालिम र रोजगारीको सुनिश्चितताको लागि काम गर्न गइरहेको प्रति खुशी प्रकट गरे। ‘परियोजनाको कारण तीन तहको सरकारी निकायहरुलाई नीति निर्माणमा सघाउ पुग्ने, रोजगारी सिर्जना भई विदेशिनु पर्ने वाध्यता हट्ने, मुलुककै सामाजिक आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएकाे छु’ प्रदेश प्रमुख प्रसाईले भने ।
कार्यक्रममा परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए । विभिन्न वक्ताहरुले परियोजनाले स्थलगतरुपमै विस्तृत अध्ययन गरेर श्रमिकको तथ्यपरक अभिलेख तयार गर्ने र सरकारी निकायहरुलाई पनि योजना तर्जुमाको लागि उक्त अभिलेख महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ खुलाल, सिटिइभिटी बागमती प्रदेशका प्रमुख टैलेन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी, सुमित केडियाकाे सहभागिता रहेकाे थियाे ।
यसै गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत रमेश सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विनोद विडारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल होटल संघका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक साह, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोसन दहाल, सि. एन. आई. का बागमती प्रदेश संयोजक ऋषिराम दहाल, दुग्द्य उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायण देवकोटा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष श्याम ढकाल, मकवानपुर होटल एशोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका विष्णु विडारीसहित उद्योगी व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेकाे छ । विस्तारित शाखाबाट आइतबारका दिन देखि काराेबार सञ्चालनमा आएकाे बैंकले जनाएकाे छ ।
किर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा विस्तार भएकाे नयाँ शाखा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेकाे बैंकले जानकारी दिएकाे छ ।