
‘हरेक वर्ष वर्षा आउँछ, जान्छ, मेरो रोजिरोटि यहि घन ठोकेर आ’को पैसाले ८ जनाको परिवार पाल्यो बस्यो, सँधैभरि बर्षासँगै आउने रमितेहरुले घाउमा नुनचुक छरेझै आभाष हुन्छ मानसिं विक मुटुमा गाँठो पार्दै भन्छन् ।
बाढी त आउँछ, यो प्राकृतिक हो यसप्रति केही गुनासो छैन । तर सरकारी कर्मचारीदेखि जनप्रतिनिधि र रमितेहरु अरु बेला बोल्दैनन् । बर्षा याममा आएर सोध्छन किन यस्तो ठाउँमा घर बनाको ? उत्तर के दिनु बाउ बाजेले आएर किनिदिएका ठाउँ । घामदेखि टाउको लुकाउने ओत छ, तर हावा हुरि र वर्षा सहन सक्दैन यो छानोले । त्यसैले पनि यहाँ घर किन बनाको भन्ने प्रश्न म सहन सक्दिँन ।’
दोलखा चरिकोट नजिक पुख्र्यौली घर भएका मानसिं भन्छन उता भा भएनि अहिले पहिरोले पुरिन्थ्यौ होला यता बजार क्षेत्र कै पानी बगेर आउने कुलोले सताउँछ ।
हेटौडा बजार क्षेत्रका वडा नं ३, ४, ५ को सम्पुर्ण पानी बगेर आउने भलका कारण मानसिंको घर सहित करिव ६०/७० घर प्राय डुवानमा पर्छन् यो क्षेत्रमा । प्लटिङ गर्नेहरुले उक्त भल बग्ने क्षेत्र साघुरो बनाउदै लगेका छन् । जसले समस्यामा पारेका छन उनीहरुले नै आएर किन घर यहाँ बनाएको भनेर सोध्नु भन्दा ढल व्यवस्थापन गर्दा के जान्थ्यो र ? मानसिंको मनमा तर्कना आउँछ, मुख फोरेर बोल्दैनन्, सहन्छन् बस्छन् ।
राहतको नाममा एक पोका नुन तेल पाँच किलो चामलले कति दिन खाउला र हामी आठ जनाको परिवार ? यसो त कोरोना भाईरसको महामारीका कारण झन् हसिया कुटो कोदालो अर्चाप्नेहरु पनि आउन छाडे पछि उनीलाई छाक टार्न मुस्किल छ । तीन छोराहरुले गतिलो काम पाएको भए सहजै छाक टथ्र्यो, त्यो पनि छैन । उनी भन्छन् ‘सरकारले रोजगारि दिनुपर्याे कि त भरोसा दिनसक्नुपर्याे विकासका काम गरेर ।’
मानसिं जस्तै पिडामा छन शेख मुवारक । पाँच दशकदेखि हेटौडामै कोठा भाडामा बसेका मुवारक छोरा छोरी नाति नातिना बढेसंगै कोठामा बस्न सक्ने वातावरण रहेन, खर्चले धानेन । अनि बसाइ बनाए कर्रा करिडोर टोलमा । ऋण धन गरेर जग्गा त जोडे यसै वर्षको गर्दोइर कर्रा खोलाको बाढीले सातो लियो ।

जेठको पहिलो साता तिर नै उनी नगरपालिका प्रमुख हरिवहादुर महत र ४ नं वडा कार्यालय चहारिरहे कतै बाँध बाँधिदिन्छन कि भन्दै तर दुई महिना बित्यो न बाँध बाँधियो, न त जनप्रतिनिधिहरुले चासो देखाए । ‘उल्टै आउँछन किन घर बनाको भनेर कराउँछन’ उनको गुनासो छ । जग्गा व्यवसायिलाई प्लटिङ् गर्दा स्वीकृति दिने, अनि हामीलाई घर किन बनाएको भन्ने, कस्तो राजनीति हो यो ?’ उनले प्रश्न गरे ।
हामिलाई बेच्नेले बाढी आउँछ भनेन बाटो बत्ति पानी विस्तारीत गरुञ्जेल यो ठाउँमा बस्ति लायक छैन भनेर किन भन्दैन स्थानिय तह ? उन्को प्रश्न र गुनासो सकिने नाम लिदैन तर नगरपालिकाले बाँध बाँध्नका लागि उनलाई चार वटा तार जालि र ढुंगा किन्न पैसा दियो । बाँध बाँध्न र तारजालि समेत बिच्छ्याउन समेत न प्राविधिक पठाएयो न त अब सम्भव नै । वर्षाको मध्ये अवस्था छ खोलाको छेउमा तारजालि लगाउन असम्भव नै छैन । ‘मरेपछिको औषधि के काम’ उनले भने, ‘हामी सामान्य वर्गकालाई सबैले हेप्ने मात्रै,अरुको गल्तिको मारमा हामी पर्छौ, फेरी दोष हामीलाई नै लगाउँछन् ।
हेटौडा उपमहानगरपालिकाको यहि ४,५ र ११ नं वडाका केही भुभाग मात्र डुवानमा पर्छन् । वडा ४, र ५ को करिडोर टोल र शान्ति नगर डुवानमा पर्ने कारण नै बजार क्षेत्रको पानीको उचित व्यवस्थापन नहुनु हो । गर्दोइखोला पहिला धेरै फराकिलो भए पनि हाल मान्छेको सोच झै साघुरिदै गएको छ भन्छन हेटौडा ४ का हरिप्रसाद वस्ति । कर्रा खोलाले आफ्नो बाटो छोडेर व्यक्तिको जग्गामा प्रवेश गरेदेखि धेरैपटक खोला व्यवस्थापनका लागि बजेट आयो तर काम कहिल्यै गतिलो भएन । उनीमात्र होइन कर्रा खोलाका कारण यस वडाको गर्दोई क्षेत्र डुबान र कटानको उच्च जोखिममा छ । वडाध्यक्ष नबिन सिग्देलका अनुसार यहाँका करिब २० घर परिवार यसरी त्रासमा रात कटाउन बाध्य छन् ।
खोला छेउमै घर बनाई बसेकाले यहाँका ती परिवार उच्च जोखिममा रहेको र वडाले जाली उपलब्ध गराउने बाहेक तत्काल अरु केही गर्न नसक्ने वडाध्यक्ष सिग्देलको भनाई छ । मकवानपुरमा आर्थिक वर्ष २०७६/०७७ मा विपद्का कारण मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये सबैभन्दा बढी अर्थात् ९ जनाको बाढी पहिरोको कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गर्तौलाले बताए । उनका अनुसार ६ जनाको चट्याङका कारण मृत्यु भएको तथ्यांक छ । पहिरोका कारण जिल्लाका ४२ घरपरिवारले घरबारबिहीन हुनुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्राकृतिक विपद्का कारण हुनसक्ने सम्भावित क्षति न्यूनिकरणको लागि विपद्को प्रकृति अनुसारका तयारीहरु गरेको जनाएको छ । कार्यालयले बाढी पहिरोको उच्च जोखिमलाई ध्यान दिई कार्ययोजना बनाएर लागु गरेको प्रवक्ता गर्तौलाले बताए । प्रभावित क्षेत्रमा अर्लट गर्ने, घटना भैहाले उद्दार तथा राहतको क्षेत्रमा गर्नुपर्ने जस्ता आवश्यक तयारीहरु सबै स्थानीय तहहरु मार्फत गरिएको उल्लेख छ ।

विपद्का घटना न्यूनीकरणका लागि जिल्लामा आपतकालीन कार्य सम्पादन केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको पनि प्रशासनका प्रवक्ता गर्तौलाले जानकारी दिए ।
लाहान । सिराहाको लाहान नगरपालिका वडा नम्बर २१ की रिता यादव ४५ वर्ष पुगिन् । महिलालाई अबला देख्ने, महिला कमजोर ठान्ने सामाजिक गलत बुझार्ईलाई रिताको सक्रियता र आत्मविश्वासले गतिलो जवाफ दिने गरेको छ । उनी एकल महिला हुन् ।
२०६२÷०६३ को मधेश आन्दोलन पछि राजनीतिमा होमिएकी रिता अहिले राजनीतिमा सक्रिय छन् । पार्टीको काममा एक कर्मठ सिपाही झैं खट्ने रिताको सक्रियता र बफादारिताले नै उनलाई सफल राजनीतिज्ञको रुपमा स्थापित पनि गरिरहेको छ । पार्टी र संगठनको काममा कति बेला कहाँ जानु पर्छ, के गर्नुपर्छ सबैभन्दा अगाडि तयार हुन्छिन् उनी । कारण हो, उनलाई महिलाहरू अबला र कमजोर छैनन् भन्ने कुरा पुष्टी गर्नु छ । समाजलाई जवाफ दिनु छ ।
तर पार्टीको कामलाई मूल प्राथमिकतामा राखेर काम गर्ने रितालाई पार्टीले पनि त्यसरी नै शिरमा राखेको छ त ? प्रश्न खस्न नपाउदै उनले राजनीतिमा योग्यता, क्षमता, बफादारिता र जिम्मेवारी भएका महिलालेसमेत भोग्नु पर्ने एउटा तितो अनुभब सुनाइन् । पार्टी र संगठनभित्र जतिसुकै सक्रिय रहे पनि नेतृत्व लिने र निर्वाचनमा टिकट पाउने भनेकै पुरुष हुन् । या त राजनीतिमै नआएका र नेताहरूका आफन्त र आसेपासेहरू । त्यतिबेला रिताहरूको योगदानको मुल्यांकन गर्नु त परैको कुरा सम्झना पनि गरिन्न । “अनि भने निकै मन दुख्छ” रिताले सुनाइन्, “मेरो पार्टीको मात्रै कुरा होइन, सबै दलभित्र पार्टी नेतृत्वले मजस्ता महिलाहरूको योगदानको कदर गर्ने हो राजनीतिमा महिलाको संख्या बढ्थ्यो । यो सत्य हो ।”

पार्टीको साधारण सदस्य, वडा कमिटी सदस्य हँुदै समाजबादी महिला फोरमको नगर अध्यक्ष र पार्टीको अहिले केन्द्रिय सदस्य पदमा छिन् रिता । उनी २०७४ सालको स्थानीय तह निर्वाचनको प्रत्यासी पनि हुन् ।
पार्टीमा काम गर्दा जुझारु र सक्रिय सदस्यको रुपमा चिनिने रितालाई उपमेयरको टिकट पाउने बेलामा भने निकै सास्ती झेल्नु पर्यो । नेताहरूसंग खुसामत गर्नु पर्यो । नेताका घर घर धाउनु पर्ने, त्यो पनि बैठक र छलफलमा तपाईले नै टिकट पाउनु हुन्छ भन्ने नेतृत्वले आफू निस्केपछि फेरि अरुलाई नै हुन्छ भनिदिने ।
चुनावमा टिकट दिने बेला नेतृत्वले योग्य र सक्रिय कार्यकर्ता भन्दा जसले पार्टीलाई धेरै पैसा दियो उसैलाई टिकट दिने जस्ता नमिठा अनुभब पनि रितासंग छ । स्थानीय तहको निर्वाचनमा उपमेयरको टिकट नदिन निकै खेलोमेलो भयो । तर रिताले खोसेर भए पनि टिकट लिन्छु भन्दै लडिन् । पछि हटिनन् र सफल पनि भईन् ।
पार्टीको केन्द्रीय कमिटीमा महिला संख्या न्यून हुनु, जिल्लामा कसलाई नेतृत्व दिने र उम्मेदवार बनाउने भन्ने निर्णय हुँदा केन्द्रीय कमिटीमा महिला नहुनु, भएका महिलाले पनि महिलाको लागि अडान लिन नसक्नु नै समस्या हो ।
एकत टिकट पाउनै कठिन, पाईहाले चुनाब जित्न कठिन । दिन प्रतिदिन महंगो बन्दै गएको चुनावमा जसरी पुरुष उम्मेदवारको प्रचार प्रसार हुन्छ, महिला उम्मेदवारको हुन्न । पुरुषलाई साथ दिन लावा लस्कर हुने नेता कार्यकर्ता महिलाको लागि त्यसो गर्न राजी हुन्नन् । “महिलाको पछाडि को हिँड्ने ? भन्छन् । पुरुषहरूले आधा रातसम्म बाहिर बसेर चुनाबी माहौल के भईरहेको छ भन्ने कुरा बुझ्न मान्छेहरू परिचालन गर्ने, होटलमा लाने, खुवाउने, जाँडरक्सी खुवाउने गर्दा रहेछन् । तर महिलालाई यी सबै कुरा गर्न सामाजिक परिबेशले पनि नदिने” उनले उपमेयरमा हार्नुका केही कारण सुनाइन् ।
नेकपा प्रदेश कमिटी सदस्य सागरदेवी चौधरी २०४९ सालदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिक जीवनको शुरुआती दिन गाउँ ईकाई, कमिटीबाट शुरु गरेर गाउँ, नगर, क्षेत्रीय कमिटी हुँदै उनले तीन कार्यकाल नेकपाको जिल्ला कमिटी सदस्य, तीन कार्यकाल जिल्ला कमिटी सचिबालय सदस्यको जिम्मेवारी सम्हालिन् ।
तर तीस वर्ष लामो राजनीतिक जीवनमा उनलाई तल्लो कमिटीदेखि प्रदेश कमिटी सदस्य बन्दासम्म निर्णायक पदमा बस्ने र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्ने अवसर भने कहिल्यै जुरेन ।
पार्टीको निर्णायक तहमा महिला छैनन् । पुरुषहरूकै बोलवाला भएकाले महिला सधै पार्टीमा माग्ने स्थानमा मात्रै छन् । पुरुष नेताको तजबिजले दिएको नेतृत्व मात्रै लिनु पर्ने बिडम्बना सिराहाका महिला नेताहरूसंग छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर एकबाट समानुपातिक उम्मेदवारको लागी सागरदेवीको नाम पनि सिफारिस भएर केन्द्रमा गएको थियो । तर पछि उनको नाम परेन । चौधरी भन्छिन्, “पार्टीका लागि निरन्तर योगदान गर्ने ईमान्दार व्यक्ति हो भन्ने पार्टी नेतृत्वलाई थाहा छ । समानुपातिकमा मेरो नाम नपरेपछि पार्टीकै सिफारिसमा मलाई शलहेश फूलबारी पर्यटन प्रबद्र्धनको सदस्यको जिम्मेवारी दिईयो । यसको मतलब पार्टीलाई अनुभूति छ त रहेछ । तर पनि फेरि नेतृत्व गर्ने बेला पुरुषहरू नै अगाडि आउछन् । हामी महिला दोस्रो दर्जासरह ।”
सागरदेवीले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहाना भएको कुरा पार्टीमा राखिन् । तर स्थानीय तह निर्वाचनमा जातीय बाहुल्यता पनि हेर्नु पर्ने नत्र चुनाव हारिने भन्दै उनलाई टिकट दिईएन । त्यसपछि २०७४ साल मंसिरमा भएको प्रतिनीधि सभा निर्वाचनमा पनि जिल्लाबाट उनको नाम सिफारिस भएर गयो । त्यसमा पनि उनलाई टिकट दिइएन । चौधरीले भनिन्, “अहिले फेरि राष्ट्रिय सभा निर्वाचनको लागि पार्टीको जिल्ला ईन्चार्ज र नेताहरूसंग छलफल गरेकी छु । के हुन्छ थाहा छैन ।”
राजनीतिमै जीवन गयो । जीवनको उर्बर समय पार्टीको लागि भन्दै खटिइन् । संकटकालको समयमा राज्य र विद्रोही दुबै पक्षबाट निकै दुःख पाइन् । घरै छोडेर बस्नु पर्ने अवस्था झेलिन् । तर पनि बिचलित नभई राजनीतिमा निरन्तर छिन् । तर पनि एकपटक पनि उम्मेदवार बन्न नपाउदा र पार्टीको निर्णायक तहमा पुग्न नपाउदाको हिनतावोध धेरै छ उनलाई । भन्छिन्, “अवसर दिने बेला योगदानको कदर हुन्न भने त नेताहरूले महिलालाई यो पुरुषको पार्टी हो भनेर घोषणा गरिदिनुपर्छ । अनि हामी महिला पनि अवसरका लागि पालो कुरेर बस्ने झन्झट गर्दनौं ।”
नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनीधि जीबछीदेबी यादवको पनि अनुभव उस्तै छ । २०६२ सालदेखि नेपाली कांग्रेसको राजनीति गरेकी यादव गाउँ र क्षेत्रीय कमिटी हुँदै ११ औ महाधिवेसनदेखि महाधिवेसन प्रतिनीधि बनिन् । उनलाई यो पदसम्म आइपुग्न त्यत्ति धेरै संघर्ष त गर्नु परेन । तर जब स्थानीय तहको निर्वाचन २०७४ मा उपमेयरको लागि टिकट पाउने कुरा भयो, तब थाहा पाइन् उनले महिलाले उम्मेदवार बन्न पाउनु कति कठिन छ भनेर ।
पार्टी र संगठनको कामप्रति सधै बफादार यादवलाई लागेको थियो आफूले टिकट पाउछु भनेर । तर उपमेयरको टिकटको लागि नेताहरूको घर धाउनु पर्ने बाध्यता एकातिर, अर्कोतिर कति बेला कसले भाँडिदेला, के चलखेल हुने हो भन्न नसक्ने अवस्था । टिकटका लागि पार्टीमा नदेखिएका अनुहारको समेत उदय भयो । त्यस्ता उदय नेताका नजिकका मान्छेहरूको बढी हुने र टिकट पनि उनीहरूले नै पाउने रहेछन् । “अर्को तितो सत्य भनेको त पैसाको खोलो बगाउन सक्नेले नै टिकट पाउने र जित्ने रहेछन् । आर्थिक चलखेल बिना स्वच्छ तरिकाले उम्मेदवारी पाउछु र चुनाव जित्छु भन्ने सोच्नु एकादेशको कथा जस्तै हो” जीबछीले भनिन् ।
सिराहामा मुख्य दलहरूको तल्ला कमिटीदेखि जिल्ला कमिटीसम्म महिला निर्णायक पदमा छैनन् । मुख्य पदमा पुरुषकै बर्चस्व छ । नेपाली कांग्रेसमा सीतादेवी यादव जिल्ला पार्टी सभापति भइन् । अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष छन् । सिराहाकै चित्रलेखा यादव पटक पटक सांसद मात्र भइनन्, पुनस्र्थापित ऐतिहासिक प्रतिनिधिसभाको पहिलो बैठकको उपसभामुख पनि बनिन् । महिलाहरूले जहाँ जहाँ अबसर पाए, त्यहाँ आफूलाई सक्षम पुष्टि, समेत गरेका छन् । तर उच्च पद र उम्मेदवार बन्ने समय जब आउछ, त्यति बेला महिलाको नामै हटाइने गरेकाले मात्रै महिलाहरू राजनीतिक नेतृत्व लिनबाट बन्चित गराइएका छन्, सिराहामा ।
प्रमुख पार्टीहरूमा नेपाली कांग्रेसकी सभापति सीतादेवी यादव बाहेक पार्टीको उच्च तह हाक्ने अरु महिला छैनन्, सिराहामा । कारण महिलाहरू सक्षम नभएर होईन, अबसर नै नपाएर हो भन्छिन्, नेता रिता यादव ।
नेपाली कांग्रेस सिराहाका सभापति रामचन्द्र यादव भने सिराहामा नेपाली कांग्रेसले महिलाहरूलाई ठाउँ दिएन भन्न नमिल्ने बताउछन् । सिराहामा दुई कार्यकाल महिला नै सभापति भएर चलाएको सीतादेवी यादवको उदारण दिँदै उनले अहिले पनि ३३ प्रतिशत भन्दा बढी र मुख्य पदमा महिला नहुनुमा पुरुषको भन्दा पनि महिलाकै कारणले हो भन्छन् यादव ।
पार्टीमा जिम्मेवारी दिएका महिलाहरूले अनेक बहाना बनाएर कहिले पनि बैठकमा नआउने र आफ्नो नेतृत्व विकास गर्न नसक्ने भएकाले पनि पछाडि परेको उनको जीकिर छ ।
समाजबादी फोरमका अध्यक्ष अशोक यादव भने पार्टीको विधानमै सबै कमिटीमा ५० प्रतिशत महिला सहभागिता भन्ने उल्लेख भएकाले कसैले चाहेर पनि विधान मिच्न नसक्ने बताउछन् । तर पार्टी गठन भएको एक दशक मात्रै भएकोले महिलाको नेतृत्व विकास पनि बिस्तारै भईरहेको उनले बताए । समाजबादी पार्टीको विधानमा उपाध्यक्ष महिला अनिबार्य हुनुपर्ने व्यवस्था समेत छ । त्यस्तै पार्टीमा महिला सहभागिता बढाउन फेरमले ईकाई कमिटीदेखि जिल्ला कमिटीसम्म महिला फोरमको महिला मात्र रहने गरि छुट्टै संगठन पनि बनाएको छ ।
तत्कालिन नेकपा एमाले सचिबालय सदस्य रामदयाल महतो पार्टीको केन्द्रीय कमिटीमा महिला संख्या न्यून हुनु, जिल्लामा कसलाई नेतृत्व दिने र उम्मेदवार बनाउने भन्ने निर्णय हुँदा केन्द्रीय कमिटीमा महिला नहुनु, भएका महिलाले पनि महिलाको लागि अडान लिन नसक्नु नै समस्या हो भन्छन् ।
देशकै ठूलो दल नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा दुई जना मात्रै महिला सदस्य छन् भने सचिवालयमा एक जना पनि महिला छैनन् । भर्खरै भएको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयमा महिला राख्न लिखित र मौखिक रुपमा माग गरे पनि कार्यान्वयन भएन ।
सत्तासिन पार्टीकै सचिवालय महिलाविहीन हुनु, स्थायी कमिटीमा पनि ४.४४ प्रतिशत मात्रै महिला हुनुले नै मुलुकका राजनीतिक दलभित्र महिलाको दयनीय अवस्थालाई उजागर गर्छ । संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्छ । तर संविधान बनाउने दलहरू नै संविधान कार्यान्वयन गर्नुको सट्टा धज्जी उडाउछन् ।
नेकपा प्रदेश कमिटी सदस्य सागरदेवी चौधरी भन्छिन्, “पुरुषकै वर्चश्व रहेका पार्टीभित्र अनेक संघर्ष गरिरहेका महिलाले प्रतिकार गर्न नथालेसम्म यो प्रवृत्ति हट्नेवाला छैन । यसको अन्त्यका लागि अब हामी महिलाहरू नै बोल्न पर्छ । चुप लाग्नु हुन्न ।” उनी थप्छिन्, “राजनीतिमा लागेका महिलाहरू बोलेनन् भने पार्टीभित्र पुरुष दिने र महिला लिने ठाउँमा मात्रै हुनेछन् । नयाँ मुलुकमा यो सबैभन्दा कुरुप पक्ष हो ।”
महिला खबरबाट
“बैनी विदेश गएको छोरी मान्छेलाई समाजमा अरु मान्छेहरुले पटक्कै मन पराउँदनैन् के गर्ने होला ?” वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने दौरानमा केही वर्ष अघि संगै कामगर्ने एकजना दिदीले यस्तो प्रश्न गर्नुभयो । उहाँ वैदेशिक रोजगारीबाट फर्किएर आउनुभएको हो । उहाँको यही प्रश्न आजभोली मेरो मानसपटलमा घुमिरहेको छ ।
काँडा बिझेर बनेको खिल निकाल्न सियोले पटकपटक घोच्नुपर्छ । उनलाई पनि समाजले त्यसैगरि घोचेको रहेछ । अनेक पटक घोचेपछि उनको मनबाट यस्तो प्रश्न आएको हुनुपर्छ । मैले ठम्याए । जुन उनको अनुहारबाट पनि झल्किन्थ्यो ।
सोधे “के भयो र दिदी ? किन यस्तो भन्नुभएको ?” मलिन अनुहारमा उहाँले भन्नुभयो, “पहिले पहिलेकोजस्तो गाउँका दिदीबहिनीहरु राम्रोसंग बोल्दैनन् । खै उनीहरुलाई के लाग्छ मलाई देखेर कोही साउती मार्दै हिँड्छन् । कोही तर्कन खोज्छन् ।”
कस्तो पिरो मन बनायो दिदीको कुराले । बलबुताले भ्याएसम्म सम्झाएँ र भने, “कसले के भन्छ ? कसरी हेर्छ ? भन्ने कुरालाई वास्ता गर्नुहुन्न दिदी । तपाईंले प्रगति गरेको देखेर डाह गरेका हुन्, छाडिदिनुस् । जसले जे सुकै भनोस् ।”
उहाँको गहिरो पीडाको लागि वजनदार ओखति त भएन मेरो भनाई । तर पनि केही राहत महशुस गर्नुभयो कि उहाँले ! काँडा निस्किएपछि टनटन गरेको ठाउँमा जसरी सन्चो हुन्छ, उसैगरी उनको मनभित्र गढेको पीडा चट्टै निको पार्ने कुनै औषधि भएको भए……. ।
केही वर्षअघिको यो संवाद मैले स्मरण गर्नुको कारण हालसालै प्रकाशित भएका केही समाचारहरु हुन् । कोभिड–१९ को महामारी पश्चात् अहिले धमाधम नेपालीहरुलाई गन्तब्य मुलुकबाट स्वदेश फर्काउने कार्य भैरहेको छ । गएको शुक्रबार सरकारले दुबईबाट १ सय १ जना महिलाहरुलाई घर फर्कायो । सोही दिन केही अनलाईनमा समाचार देखिए, “दुबईबाट नेपाल फर्किएका १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती ।”
उक्त समाचारलाई शेयर गर्ने र कमेन्ट गर्नेको लर्को लाग्यो । समाचारमा गर्भवतीमध्ये २७ जनाका श्रीमान् साथमै नेपाल फर्किएको, बाँकि यू.एई.मै कार्यरत रहको र भिजिट भिसामा श्रीमान् भेट्न यू.एई. पुगेको विवरण उल्लेख भएको थियो । त्यसबाहेक यस सम्बन्धी अन्य कुनै पनि जानकारी त्यहाँ उल्लेख गरिएको छैन । सोही शिर्षककै समाचारमा अन्य देशहरुबाट कति नेपाली फर्किए, कुनकुन एयरलाईन्सका जहाँजहरु आए भन्ने जस्ता जानकारीहरु समावेश भएका थिए । गर्भवती महिलाका सन्दर्भमा उक्त दुई वाक्यबाहेका अन्य कुनै तथ्य वा जानकारी थिएन । तर समाचारको मुख्य शिर्षक ९४ जना गर्भवती फर्किनुलाई बनाईएको थियो ।
त्यसको लगत्तै अर्कोदिन अर्को समाचार पनि सामाजिक संजालमा भाईरल बन्यो । शिर्षक थियो “मलेसियाबाट फर्किएका महिलाको पीडाः प्रहरीले पक्रिएर चौकी हैन, लज पु¥याउँथे ।” तलपट्टी विदेश गएर फर्किएका महिलाहरुको अनुभवलाई यसरी हाईलाईटेड गरियो “प्रहरीको गलफ्रेण्ड र साहुको नक्कली श्रीमती ।” यो समाचार ५८.६ प (५८ हजार ६ सय) शेयर भएको थियो । उक्त समाचारलाई पढ्न सक्ने र नसक्ने गरी कमेन्ट गर्नेहरुको लाईन थियो ।
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनस्र्थापनाका लागि काम गर्ने संस्था पौरखी नेपालले वैदेशिक रोजगारबाट समस्यामा परेर फर्किएका १ हजार ७ सय ७७ महिलाहरुसंग केही वर्ष अघि एउटा सर्वेक्षण गरेको थियो । समस्या नै भोगेर फर्किएका भनिएका महिलाहरुमध्ये १ प्रतिशत (१८ जना) महिला वैदेशिक रोजगारमा जाँदा बच्चासहित फर्किएको, २ प्रतिशत (३४ जना) महिला गर्भवती भएर फर्किएको र ५ प्रतिशत (८३ जना) महिला अस्थिर मानसिक अवस्थामा फर्किएको पत्ता लागेको थियो । स्मरण रहोस् यो वैदेशिक रोजगारमा समस्यामा परेका महिलाहरुसंग गरिएको सर्वेक्षण हो । यसरी तथ्यांकलाई हेर्दा १ हजार ७ सय ७७ जना समस्यामा परेका महिलाहरुमध्ये जम्मा १ सय ३५ जनाले मात्रै वैदेशिक रोजगारका क्रममा समस्या भोगेका थिए । शेल्टरमा रहेमा अन्य महिलालाई नेपालमा परिवार तथा समाजमा पुनस्र्थापनाको समस्या रहेको थियो ।
नेपाल सरकारले आर्थिक वर्ष २०५०⁄५१ देखि वैदेशिक रोजगारमा जानेहरुको तथ्यांकलाई दस्ताबेज गर्न शुरू गर्यो । उक्त समयदेखि आर्थिक वर्ष २०७५⁄०७६ को तथ्यांकलाई हेर्दा ५१ लाख ३४ हजार १ सय ४५ जना पुरषहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् भने उक्त अन्तरालमा २ लाख १८ हजार २ सय ९७ जना महिला वैदेशिक रोजगारमा गएको तथ्यांक छ ।
वैदेशिक रोजगारमा गएका यी लाखौं महिलाहरुमध्ये केही महिलाहरुले पक्कै वैदेशिक रोजगारका कारण समस्या भोगेका छन् । तर धेरै महिलाहरुले वैदेशिक रोजगारबाट आम्दानीसंगै, सीप र प्रविधिहरु भित्र्याएका छन् । हाम्रोजस्तो पितृसत्तात्मक सोच भएको समाजमा विदेश गएर पैसा कमाएर परिवार धान्ने आँट गरेका छन्। राज्यको चौथो अंग संचारमाध्यमजस्तो निकाय, जसले व्यक्तिको व्यवहार परिवर्तनदेखि सरकारको नीति निर्माण, परिमार्जन र कार्यान्वयनसम्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । वैदेशिक रोजगारबाट यति महिला गर्भवती फर्किए, प्रहरीले चौकी भनेर लज लान्छन्, साहुको श्रीमती भएर बस्नुपर्छ भन्नेसम्मका समाचार प्रकाशन हुने संचारमाध्यममा किन विदेशबाट सफलतापूर्वक काम गरेर फर्किएका महिलाका कथा बाहिर ल्याइदैनन् ? किन ती आँटिला, हिम्मतिला र साहसिक महिलाहरुलाई उत्प्रेरणा जगाउँने गरी लेखिदैनन्, बोल्दैनन् । यसो भन्दै गर्दा सबै संचारमाध्ययहरुलाई एउटै खाडलमा राख्न खोजेकी भने पक्कै हैन ।
वैदेशिक रोजगारबाट फर्किएका महिला बिटुला भन्दै आफ्नै श्रीमान्ले महिलाको योनीभित्र रड तताएर चोख्याएको घटना प्रत्यक्ष सुनेकी छु । विदेश गएकी अविवाहित महिलाको नेपाल फर्किएपछि चरित्रका कारण विवाह हुन नसकेका कथाहरु मेरा कानमा गुन्जिरहेका छन् । के समाजमा महिलाहरुले भोगिररहेका यस्ता समस्याहरुको कुनै मूल्य छैन ? विदेश जाने महिलाको विषयमा गलत टिकाटिप्पणी गर्ने संचारमाध्ययले वैदेशिक रोजगारमा भएका र फर्किएका महिलाका विषयमा संवेदनशील बन्नु पर्छ कि पर्दैन ? संवेदनशील नबन्ने हो भने महिलाले परिवार र समाजबाट भोगका यस्ता गलत ब्यवहारको जिम्मेवारी संचारमाध्यमले लिनु पर्छ कि पर्दैन ?
महिला खबरबाट
कैलाली । संगै मर्ने र संगै जिउने कसम खाएका श्रीमान्ले हरेक काम कुरामा खोट देखाउदै चोट दिन थाले । आमा समान मानेकी सासूको विनासित्तिको टोकसोको त झन् के कुरा गर्नु र !
पहाडको ठाउँ, पाखुरा नबजाएर पेट पाल्न मुस्किल । टाढाटाढा पुगेर खेतबारी, बस्तुभाउ र दाउरा घाँस गर्नै पर्ने । त्यसैमाथी दिनभरी थाकेको शरीरले सधैंजसो श्रीमान् र सासूको कुटाई सहनु परेपछि अन्ततः अछामको तुर्माखाद गाउँपालिकाकी उनको मानसिक सन्तुलन नै गुम्यो ।
उनी एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, डराउने, रुने, कराउने, काप्ने गर्न थालिन् । बिहे गर्दा सामान्य अवस्थाकी उनमा दिनदिनै यी समस्या बढ्दै जादा परिवारको माया र स्नेह भने झन्झन् कम हुँदै गयो ।
उनमा यस्तो समस्या आउनुको कारण खोतल्दा भनिन्, ‘आफ्नाइ बैकानले हेला गर्यापछि अरुले पन हेप्न्या रैछन् । क्या भयोभयो, मेरै दशा खराब (आफ्नै श्रीमान्ले हेप्यो भने अरुले पनि हेप्ने रहेछन् । के भयोभयो, मेरै भाग्य खराब) । उनले श्रीमान् र परिवारको निरन्तरको कुटाई र हेपाईले आफ्नो यो हालत भएको उनले बताइन् ।
मरिमरी काम गर्दा, के राम्रो के नराम्रो, के गर्ने के नगर्ने छुट्टाउन सक्ने स्वस्थ अवस्थामा त श्रीमान्को घरमा रुचाइनन्, मानसिक सन्तुलन बिग्रेपछि त झन् कस्ले रुचाउनु र ? आज सुध्रिएलान्, भोलि सुध्रिएलान् भनिएका व्यवहारहरू झन्झन् क्रूर हुँदै गए । श्रीमान्को घर उनका लागि नर्क समान हुन थाल्यो । उनको यस्तो मानसिक अवस्थाका कारण श्रीमान्को घरमा उनीमाथि असुरक्षा देखेपछि छिमेकी स्वयम्सेविकाले गत भदौ महिनामा उनलाई जिल्ला सदरमुकाम मंगलसेनमा रहेको माइती जाने सल्लाह दिइन् ।
छोरीको अवस्था बारे माइतीलाई थाहा रहेनछ । उनलाई देखेर माइती निकै दुःखी भए । देउताका कारण यस्तो भएको अड्कल काटियो । उनको अवस्था सुधारका लागि आफूले जानेबुझेका धामीझाँक्रीकोमा लगियो । तन्त्रमन्त्र, झारफुक केही बाँकी राखिएन । तर पनि उनी पहिलाको अवस्थामा फर्किन सकिनन् । एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, रुने, कराउने, काप्ने गर्न छाडिनन् ।
धामीझाँक्रीको पछि लाग्दा उनलाई निको हुने कुनै लक्षण देखिएन । माइती पक्ष पनि निरास हुँदै थिए । एक जना अधिकारकर्मीले उनका आमाबुबालाई मानसिक समस्या भएको हुन सक्ने र त्यसका लागि सदरमुकाममा रहेको सुरक्षित गृह (सेफ हाउस) ले उपचारमा सहयोग गर्ने गरेको बताइन् । उनी अधिकारकर्मीको सहयोगमा सेफ हाउस पुगिन् । उनको अवस्था र लक्षण देखेर सेफ हाउसकी परामर्शदाता पार्वती बोहराले उनलाई देउता लागेको नभई, मानसिक रोगको उपचारको खाँचो रहेको राय सुझाव दिइन् । र सेफ हाउसकै पहलमा जिल्लाको न्याय हेल्थ अस्पताल बयलपाटा पु¥याएर उपचार थालेपछि बल्ल आफू निन्द्राबाट बिउझिए झैँ भएको उनले बताइन् ।
‘त्यो पीडा त सुनाएर साध्य छैन मिस । कति कुटाई खाएँ, कति गाली पाएँ, भनेर केही फाइदा छैन । मेरो जस्तो दुःख शत्रुलाई पनि नहोस्’ उनको विगत कोट्याउदा गला अवरुद्ध पार्दै उनले सुनाइन्, ‘बाचिन्छ भन्ने लागेकै थिएन । सेफ हाउस भगवान बनेर आएछ ।’ अहिले आफूलाई सञ्चो भएको पाउँदा निकै खुशी लागेको उनले बताइन् ।
सेफ हाउसको सहयोगमा उनलाई नियमित औषधि र परामर्श शुरु गरेपछि सञ्चो भएको र उनी औधी खुशी भएको परामर्शदाता पार्वती बोहराले बताइन् ।
अछामको मंगलसेन नगरपालिकाबाट जिल्लाकै तुर्माखाँद गाउँपालिकामा प्रेम विवाह गरेकी २३ वर्षीया उनले नागरिकता र विवाह दर्ता गर्न माग गरेपछि श्रीमान् र सासूको यातना शुरु भएको स्मरण गरिन् । त्यही कुरालाई लिएर बढेको चोटले आफूलाई पूर्ण रुपमा मानसिक रोगी बनाएको उनले बताइन् ।
उनी यतिखेर शारीरिक र मानसिक रुपमा पूर्ण स्वस्थ छिन् । नियमित औषधि सेवनका कारण अवस्था सुधार हुँदै गएको छ । उनको अवस्था राम्रो हुँदै गएको थाहा पाएपछि विगतमा अपमान गर्ने ससुरा उनलाई घर फर्किन भन्दै उनको माइती पुगे । आफूहरूबाट गल्ती भएको र आफूहरूकै टोकसोले गर्दा उनलाई देउता नभई रोग लागेको स्वीकार गर्दै उपचार गरेर सामान्य अवस्थामा ल्याइदिने सेफ हाउसलाई धन्यवाद दिए ।
गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका उनका ससुराले उनी, उनका माइती र सेफ हाउससंग अबदेखि गल्ती नदोहोरिने प्रतिवद्धता गरे । उनले सेफ हाउसबाटै आफूसंग डेढ वर्षदेखि सम्पर्कमा नरहेका श्रीमान्लाई भारतमा फोन गरिन् । उनले पनि गल्ती स्वीकारे । र चाँडै घर फर्किने बताए । माइतीको पहलमा सेफ हाउसले तीन महिनाको औषधि दिएर चैत्र महिनामा उनको विदाई गर्यो ।
उनी आफ्नो र नाबालक छोरीको हेरचाह आफै गर्न सक्ने र सहजै भन्न बोल्न सक्ने भएकी छन् । सेफ हाउसकी परामर्शदाता बोहराले भनिन्, ‘केही समस्या भयो, तलमाथि भयो भने सिधै मलाई फोन गर्न भनेकी छु । अहिले ठिकै छ होला ।’
……..
मंगलसेन नगरपालिकाकै एक महिलाले पनि मदिरा सेवन गरेर दिनहुँ कुट्ने श्रीमान््बाट कुनै दिन मुक्ति पाइएला भन्ने सोचेकै थिइनन् । २०५५ सालमा १५ वर्षको उमेरमा चिनजानकै व्यक्तिसंग बिबाह भएपछि चार छोरी जन्माएकी उनले छोरा नजन्माएको निहुँमा त कति हेला सहनु पर्यो पर्यो।
श्रीमान् केही काम नगर्ने । श्रीमतीले मजदूरी गरी कमाएको दुई चार सय रुपैयाँ पनि रक्सीमा उडाउने र सधैं श्रीमती कुट्ने । छोरीहरूमाथिको टोकसो पनि उस्तै । गरिवी र अभावसंगै श्रीमान्को यातना पनि कम नभएपछि उनले श्रीमान्संग छुट्टिएर छोरीसंगै अलग बस्न थालिन् । अहिले उनी श्रीमान्संग छुट्टिएको र उनको शरीरले चोटबाट मुक्ति पाएको सात वर्ष भो ।
‘ती दिन सम्झिदा अहिले पनि दिमागले काम गर्दैन’ उनले भनिन्, ‘दारुको मात चढेपछि सबै रिस मेरैमाथि पोख्थे । हुँदै नभएका आरोप लगाउँथे । मरौं कि बाँचौं हुन्थ्यो !
उनी छुट्टै बस्न थालेपछि श्रीमान्ले दोस्रो विवाह गरेर भारत हिँडे । त्यसपछि चार छोरी र उनको जीवनमा झन् धेरै दुःखका दिन आए । खाने, लाउने र छोरी पढाउने बारे जहिल्यै अभाव भइरहन्थ्यो । दिनभरी मजदूरी गरेको पैसाले पुग्ने कुरै भएन । त्यो बेला कयौं दिन भोकै बसिन् उनी ।
एकातिर छोरी पाल्ने, पढाउने चिन्ता, अर्कोतिर गरिवी । अति गरिवीसंग जुध्दै सबै भूमिका एकल रुपमा निर्वाह गर्नु परेपछि उनलाई विगतको पीडा झन् बल्झिन थाल्यो । उनले आफूलाई सम्हाल्न सकिनन् । आफू मानसिक रुपमा पनि ठिक नभएको महसूस गर्न थालिन् । तर सामाजिक वहिष्करणको डरले लामो समय आफ्नो समस्या खोल्न सकेकी थिइनन् । मनको पीडा कहाँ पोखौं भन्ने कुरा उनको मनमै खेलिरहन्थ्यो । यहीँ बीचमा अरुको सहयोगले मंगलसेनमा रहेको सेफ हाउसमा पुगेकी उनको अवस्था अहिले विगत जस्तो छैन ।
सेफ हाउसले उनको मानसिक अवस्था बुझेर मनोसामाजिक सेवा दियो । औषधिपोचार र पराशर्म शुरु गरेपछि उनी पहिलेकै अवस्थामा फर्किइन् । यतिबेला उनी उपचारसंगै सेफ हाउसमार्फत उपलब्ध गराइएका बाख्रा पालन गरेर छोरी पढाउने र घरको सबै खर्च आफै धान्ने भएकी छन् । अब भने उनलाई न त विगतमा रक्सी खाएर दिनरात कुटपिट गर्ने श्रीमान्को बारेमा सोचेर पीडा हुन्छ, न त सानोतिनो घर खर्चको । आफू सञ्चो भएपछि छोरीहरूसंग सन्तोषको सास फेरिरहेको उनले बताइन् ।
……..
अछामको साँफेबगर नगरपालिकाकी एक महिलाले पनि लामो समय झेल्नु परेको घरेलु हिंसाबाट मुक्ति पाएकी छन् ।
१४ वर्षको उमेरमा कञ्चनपुर विवाह गरेकी बिमलाका श्रीमान्ले दोस्रो विवाह गरेपछि सुरु भएका दुःखका दिन उनको सेफ हाउसको यात्रासंगै टुंगिएका छन् ।
श्रीमान्ले सौता भित्र्याएपछि उनलाई हेला र कुटपिट गर्न थाले । श्रीमान् नै आफ्नो नभएपछि अरुले राम्रो गर्ने कुरै भएन । एकातिर श्रीमान्, अर्कोतिर सौताको दुव्र्यवहारले उनलाई घरमा बस्ने अवस्था भएन । अन्ततः उनी माइती पुगिन् । तर त्यतिबेलासम्म उनको मानसिक अवस्था अस्वस्थ भइसकेको थियो । तर मानसिक रोगको उपचार हुन्छ भन्ने नबुझेको समाजमा उनले आफ्नो पीडा लुकाउदै गइन् । अरुले थाहा पाए सडकमा पठाउछन् भन्ने डरले कसैलाई भनिन् ।
यही बिचमा उनी सेफ हाउसको सम्पर्कमा पुगिन् । त्यहाँ उनलाई लामो समयसम्म परामर्श र औषधिपोचार गरियो । विगतको पीडा भुलाउन सिलाई कटाईको तालिम दिइयो ।
अहिले बिमला विगत जस्तै स्वस्थ छिन् । सिलाईकटाईको काम गर्छिन् । उनको जीवन राम्रैसंग चलेको छ । सेफ हाउसमार्फत पाएको खुशीले उनी दंग छिन् ।
आफ्नैले दिएको पीडाका कारण कुनै बेला आफैलाई यी महिलाहरू त उदाहरणीय पात्र मात्रै हुन् । सेफ हाउसमा पुगेर उनीहरू जस्तै समस्याको गाठो फुकाउँदा पुनर्जीवन पाएका महिलाहरू अछाम जिल्लामा मात्रै एक सय ८४ जना छन् ।
सन् २०१६ देखि हालसम्म संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) सुरक्षित गृह (सेफ हाउस) मंगलसेन र एकद्घार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत सेफ हाउसमा आएका उनीहरू मध्ये सबैभन्दा बढी मानसिक सन्तुलन गुमाएका महिलाहरू थिए ।

मनोपरामर्शदाता पार्वती बोहरा
बाहिर खुल्न नसकेका उनीहरूको अवस्था लामो समयको परामर्श र औषधिपोचार पछि सुध्रिएको परामर्शदाता पार्वती बोहराले बताइन् । उनीहरू मध्ये कोही परिवारमा त कोही समाजमा पुनःस्थापित भएर सहज र सुखी जीवन बाँचिरहेको सेफ हाउस अछामका परामर्शदाता पार्वती बोहराले जानकारी दिइन् ।
परामर्शदाता बोहराका अनुसार आफ्नै घरभित्र सासू, ससुरा, श्रीमान् लगायतले दिने यातना बढ्दै गएपछि, उचित माया र आफ्नोपन नपाएपछि महिलाहरूमा मनोसामाजिक समस्या उत्पन्न हुन्छ ।
यदि सामान्य व्यक्तिमा असाधारण लक्षणहरू जस्तै; एकोहोरो टोलाइरहने, बर्बराउने, आत्महत्या गर्न खोज्ने, डराउने, रुने, कराउने, काप्ने जस्ता लक्षणहरू दुई हप्तासम्म पनि देखिन छोडेनन् भने मानिस मानसिक रोगी हुन पुग्छ । उनको सुझाव छ, ‘यदि आफ्नो चिनजान, नातागोता वा कसैमा यस्ता खालका अस्वाभाविक लक्षणहरू देखिए र बढीमा दुई हप्तासम्म निको भएनन् भने देउता लागेको ठान्े, धामीझाँक्रीको भर पर्ने वा अन्य कुरामा विश्वास गरेर समय खेर फान्नै हुन्न । जति सकिन्छ चाँडो परामर्शदाता र चिकित्सकसंग सल्लाह लिनुपर्छ । र आवश्यकता अनुसार औषधिपोचार गर्नुपर्छ ।
तर अछाममा कुनै व्यक्तिमा यस्ता खालका लक्षण देखिए उसको उपचार गरी सञ्चो बनाउनुको सट्टा पागल भन्दै अपमान र हेला गर्ने र छीछी, दूूरदूर गर्ने गरिन्छ ।
परामर्शदाता बोहरा हिंसाको दलदलबाट उम्किन नसकेका, हिंसाविरुद्ध लड्दा लामो समयसम्म न्याय नपाएका, घर समाजबाट बहिष्करणमा परेका, कसैको माया नपाएका, मायामा धोका पाएका महिलाहरूमा मनोसामाजिक समस्या उत्पन्न भई समयमा उपचार नपाउदा मानसिक रोग उत्पन्न हुन्छ । अछाममा महिलाहरूमा यस्तो रोग देखिनुको प्रमुख कारण घरेलु हिंसा नै भएको पाइएको उनको बुझाइ छ ।
सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक समस्या नभएको होस् । २०७३ साल असोजमा स्थापना भएको सेफ हाउसमा आएका करिब ३० प्रतिशत महिलाहरूलाई शुरुमै मानसिक रोगको औषधि खुवाउनु परेको र उनीहरू घरेलु हिंसाबाट पीडित रहेको पाइएको उनले बताइन् ।
साथै परामर्शदाता बोहराले तनावका कारण मानसिक रोग लाग्ने भएकाले तनाव व्यवस्थापनका लागी दिएका सुझाव यस्ता छन्;
– मन मिल्ने व्यक्तिसँग मनको कुरा पोख्ने ।
– हिँडडुल गर्ने, प्राकृतिक वातावरणलाई अवलोकन गर्ने ।
– नियमित शारीरिक व्यायाम गर्ने ।
– नुहाउने ।
– ध्यान गर्ने, प्राथना गर्ने ।
– आफूलाई मन पर्ने गीत संगित सुन्ने ।
– आफ्नो भावना बारे कविता, गजल, दैनिकी तथा लेख लेख्ने ।
– टाढा बसेका साथी वा नातेदारसँग फोनमा कुरा गर्ने ।
– ज्ञानबर्धक पुस्तकहरू पढ्ने ।
– धार्मिक तथा सामाजिक कृयाकलापकमा सहभागी हुने ।
– आफूले गरेका क्रियाकलाप तथा कामहरूका लागि आफूले आफैलाई धन्यवाद दिने ।
– दैनिक केही न केही सकारात्मक काम गर्ने कोशिस गर्ने ।
– मनोरन्जनात्मक कार्यमा सहभागी हुने ।
– पुराना रुढिवादी कुरा जुन वर्तमानमा झुटा साबित भएका छन्, तिनमा विश्वास नगर्ने ।
– हरेक काममा खुशी हुने, । सन्तुष्ट र खुशी बन्न सिक्ने ।
– जीवनका रमाईला क्षणहरू याद गर्ने ।
– काम गराईमा सन्तुलन कायम गर्ने ।
– आफ्नो मनलाई बशमा राख्ने ।
यति गर्दा पनि तनाव व्यवस्थापन गर्न नसकेमा मनोबिमर्शकर्ताको सहयोग लिने ।
(पत्रकार चौधरी थारु र नेपाली भाषाको डिजिटल पत्रिका केर्नी न्यूज डटकम संचालन गर्नुहुन्छ ।)
महिलाखबरबाट
