मकवानपुर । हेटौंडा उपमहानगरपालिका ७ मा एक सय जना नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीमा प्रवेश गरेका छन् । शनिबार भदाै ५ गते विभिन्न पार्टी परित्याग गर्दै एक सय भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल ७ नंबर वडा कमिटिको बृहत युवा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा परित्याग गर्दै एक सय जना भन्दा बढी एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल, एमाले बागमती प्रदेश सदस्य देवराज रिमाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नगरअध्यक्ष शालिकराम पुडासैनी लगायतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
मकवानपुर । सरकारले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा हेटाैडामा प्रदर्शन गरिएकाे छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार हेटौँडामा प्रर्दशन गर्दै भण्डाफाेर कार्यक्रम गरेकाे हाे ।
अनेरास्ववियुले हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा तथा माधवकुमार नेपालको तस्बिर समेत जलाएका छन् । विद्यार्थीहरुले शेरबहादुर देउवा सरकारको राजिनामा समेत माग गरेका छन् । सरकारले जारी गरेको दल विभाजन सम्वन्धि अध्यादेशले लोकतन्त्र धरापमा परेको भन्दै अध्यादेश फिर्ताको लागि प्रर्दशन गरेको अनेरास्ववियु मकवानपुरले जनाएकाे छ । प्रर्दशनमा अनेरास्ववियुका केन्द्रीय तथा जिल्ला तहको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडामा अन्य पार्टी परित्याग गरी ८५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । हेटाैडा १८ हर्नामाडीमा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाल तरुण दल हेटौंडा १८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रम हेटौंडा १७ र १८ नम्बर वडाका युवाहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, नगर सभापति आनन्दराम पराजुली, कोभिड १९ अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनी, क्षेत्रीय सदस्य गोपाल न्यौपाने, महाधिबेशन प्रतिनिधि कमला खड्का, तरुण दल जिल्ला सचिव सचित थापा, कांग्रेस १८ नम्बर सभापति राजेन्द्रराज बानियाँ, सहसभापति पुरुषोत्तम अधिकारी, तरुण दल हेटौंडा १८ का उपाध्यक्ष मनोज पण्डित, जनक खतिवडा, रुद्र गोलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेकाे छ । हेल्प डेस्कबाट हेटाैडा उपमहानगरपालिकाका २ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरेको हाे ।
पल्पसा आइसोलेशन सेन्टर संचालन गर्दा खरिद गरिएका र सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु स्टक रहेकोले सहयोग गरिएको हो । हेटौंडा १२ पदमपोखरी र हेटौंडा १९ बस्तिपुरमा रहेकाे शहरी स्वास्थ्य केन्द्रकाे लागि औषधी, पिपिई, अक्सिमिटर, साबुनसहितको स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य बासु खतिवडा र व्यवसायी सरोज विडारीलगायतको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा हात्तीगाैडा शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको हाे । त्यसैगरी हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी र स्वास्थ्यकर्मीहरुहरुको उपस्थितिमा नेवारपानी शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले सुनकाे गहना चाेरी गरेकाे आरोपमा १ जना पक्राउ गरेकाे छ । मकवानपुरको हेटौंडामा सुनको गहना चोरी गरेको आरोपमा १ जना पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर प्रहरीले हेटौंडा-२ स्थित मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ७६ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा हेटौंडा १० राप्तिरोड बस्ने २५ वर्षीय सन्दिप जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
गत साउन २३ गते हेटौंडा-२ राईको सुन बनाउने ठाउँबाट गहना र नगर चोरी भएको निवेदन प्राप्त भएकोले चाेरी गरेको आरोपमा जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोशीलाई भदाै २ गते शुक्रबार हेटौंडा-१२ पदमपोखरीबाट पक्राउ गरिएको र थप अनुसन्धानका भईरहेको प्रहरी प्रवक्ता रिमालले बताए ।