मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्याैपानेले नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन हेटाैडा नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका युवा नेता न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । गतस्थानीय तहको निर्वाचनमा हेटौंडा १ नम्बर वडामा अध्यक्ष निर्वाचित भएका न्यौपानेले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा काँग्रेस सक्षम भए जिल्लामै नेपाली काँग्रेस पार्टी बलियो अवस्थामा पुग्ने भन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
‘हेटौंडा उपमहानगरमा काँग्रेसलाई सबल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा काँग्रेसका उमेदबारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेदवारी हो ।’, न्यौपानेले पार्टीको विधानमा व्यवस्था भएबमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता औंल्याए ।
‘पदमा पुग्न मरिहत्ते गर्ने तर, जितेपछि कार्यकर्ता र जनताको समस्या बेवास्ता गर्ने गलत परिपाटीको अन्त्य गर्न पनि मेरो जीत आवश्यक रहेको छ ।’, उनी डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर सक्रिय राजनीतिमा होमिएका हुन् । सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने घोषणा समेत गरेका छन् ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ‘अत्यावश्यक बाहेक राहदानी नबनाउन सूचित गरेकाे छ । हाल प्रयाेगमा रहेकाे एमआरपी राहदानीकाे सट्टा अबको ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने भएपछि मकवानपुर प्रशासनले तत्काल अत्यावस्यक बाहेक राहादनी नबनाउन सूचना जारी गरेकाे हाे ।
राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहादानी जारी गर्ने भएको छ । विद्युतीय राहादानीकाे लागि जिल्ला प्रशासन कार्यलय मकवानपुरले कार्यलयबाटै प्रत्यक्ष दर्ता मार्फत आवदन दिन सकिने जनाएकाे छ । आवेदन दिएकाे ७ दिन भित्रै सेवाग्राहीलाई विद्युतीय राहदानी उपलब्ध गराइने व्यवसथा समेत रहेकाे प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यसैगरी प्रशासन कार्यलयले राहदानी लिने प्रकृया परिवर्तन भएपनि विद्युतीय चिप्स सहितको हाल प्रयाेगमा रहेकाे एमआरपी भन्दा गुणस्तरीय र पुरानै शुल्कमा राहदानी उपलब्ध हुने समेत जानकारी गराएको छ ।
अबको ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने भएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले तत्काल अत्यावश्यक बाहेक राहादनी नबनाउन सूचित गरेको छ ।
राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहादानी जारी गर्ने भएको हो । जिल्ला प्रशासन कार्यलय मकवानपुरले कार्यलयबाटै प्रत्यक्ष दर्ता मार्फत राहदानीको लागि आवदन दिन सकिने र ७ दिन भित्रै सेवाग्राहीले राहदानी उपलब्ध गराउँने जानकारी दिएको छ ।
यसैगरी प्रशासन कार्यलयले राहदानी लिने प्रकृया परिवर्तन भए पनि विद्युतीय चिप्स सहितको हालको भन्दा गुणस्तरीय र पुरानै शुल्कमा राहदानी उपलब्ध हुने पनि जानकारी गराएको छ ।

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी–५ नं. वडा कमिटि अध्यक्षमा गाेविन्द सापकोटा चयन भएका छन् । असाेज ५ गते मंगलबार मनहरीकाे डिल्लीपुरमा भएकाे भेलाले सापकोटाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा सुब्बाप्रसाद शिलवाल, सचिवमा कान्छाराम मुक्तान, सहसचिवमा कुमार सुबेदी, कोषाध्यक्षमा शारदा सुबेदीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा श्यामबहादुर घलान, हिरालाल पाख्रिन, चन्द्रबहादुर रुम्बा,लिलाबहादुर रुम्बा, कृष्णप्रसाद लामिछाने, कुमार राना, सन्तबहादुर वाइबा, रिता रुम्बा, मिठू रिजाल, मोहन दर्लामी, अशोक स्याङ्तान, जीवन विष्ट, सुनमाया थिङ, बद्रीप्रसाद रिजाल, चन्द्रबहादुर राई, भरत मुक्तान, केदार खद्का क्षेत्रीलगायत रहेका छन् ।
माओबादी केन्द्र मनहरी– ५ का अध्यक्ष कृष्णप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र बागती प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला), मनहरीका ईन्चार्ज राज कुमार पाख्रिन, गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, वाईसिएिल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री) ,गाउँ कमिटी सदस्य केशब सुबेदी लगातयकाको उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै नेकपा माओबादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले एमाले अध्यक्ष केपी शर्मा ओलीको अराजक गतिविधिका विरुद्ध पार्टीबाट विद्रोह गर्न आवश्यक रहेको बताइन् । माओवादीकी केन्द्रीय सदुस्य समेत रहेकी मोक्तानले सम्पुर्ण जनतालाई एकजुट भई उक्त अभियानमा साथ दिन आह्वान गरिन् । कार्यक्रमलाइ नेकपा माओवादिका ५ नम्वर वडा इन्चार्ज दिपेन्द्र अधिकारिले सहजीकरण गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले महेन्द्र माविलाई बस हस्तान्तरण गरेकाे छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको बस सोमबार एक कार्यक्रमका बीच भीमफेदी गाउँपालिकास्थित महेन्द्र माविलाई बस हस्तान्तरण गरिएको हाे ।
भमिफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार घिसिङलाई बस हस्तान्तरण गरेका हुन् । विद्यालयबाट दूरीका हिसाबले टाढा रहेका विद्यार्थीलाई विद्यालयसम्मको पहुँच स्थापित गर्न प्रदेश सरकारले सरकारी विद्यालयहरुलाई बस उपलब्ध गराउँदै अाएकाे छ ।
बस हस्तान्तरण कार्यक्रममा अध्यक्ष लामाले नजिकैको आधारभूत तहका विद्यालयमा अध्ययन पूरा गरेपछि माथिल्लो तह अध्ययनका लागि टाढाका विद्यालय धाउन जोखिमपूर्ण रुपमा सुमोको छतमा यात्रा गर्न बाध्य विद्यार्थीलाई बसको उपलब्धताले सहज हुने बताए ।
महेन्द्र माविलाई प्राप्त भएको बसले भीमफेदी गाउँपालिका–४ निबुवाटारदेखि भीमफेदी–६, देउरालीसम्मका विद्यार्थी लाभान्वित हुने भीमफेदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द चौलागाईले जानकारी दिए ।
प्रदेश सरकारले अनुदानमा बस उपलब्ध गराए पनि नियमित सञ्चालनका लागि चालक, सहचालक, इन्धन खरिद, मर्मतमा हुने खर्च व्यवस्थापनका लागि विद्यार्थीसँग न्यूनतम् शूल्क लिइने बताइएको छ । बस मर्मतका लागि गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि बजेट विनियोजन गरिने चौलागाईले जानकारी दिए ।
मकवानपुर । महिला हिंसामुक्त पालिका घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएकाे छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटीले महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै बकैया गाउँपालिकामा असाेज ५ गते मैगलबार ज्ञापनपत्र बुझाएका छन् ।
गाउँ कमिटीले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएकाे हाे । माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटी अध्यक्ष लक्ष्मी सिलवालले केन्द्रीय योजना अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत बकैयामा पनि ज्ञापन पत्र बुझाईएको जानकारी दिइन् । ज्ञापन पत्र बुझ्दै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले गाउँपालिकाले सम्बन्धित विषयहरुमा ध्यान दिने बताए । यस्ता संवेदनशील विषयहरु उठाइदिएकोमा महिलाहरुलाई धन्यवाद दिँदै अध्यक्ष खनालले कतिपय विषयहरु सम्बाेधन भइसकेकाे र बाँकी विषयमा पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइ मागहरु सम्बाेधन गरिने उनले बताए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिन, केन्द्रीय सदस्य लक्ष्मी माझी लगायत संगठनका नेतृहरुको उपस्थिती रहेको छ ।