मकवानपुर । मकवानपुरमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएकाे छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बुधबार हेटौंडामा उद्घाटन् गरिएको छ ।
मकवानपुरकाे भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । भू–तथा जलाधार व्यवस्थापन कार्यालय यस अघी प्रदेशका ललितपुर र सिन्धुपाल्चाेक जिल्लामा मात्र रहेकाे थियाे । रामेछाप, नुवाकोट र मकवानपुर जिल्लामा भू–तथा जलाधार व्यवस्थापन कार्यालय थप गरिएको हो । कार्यालय थपिए सँगै अब भएका ५ वटा कार्यालयले प्रदेशका १३ वटा जिल्लाको भू–तथा जलाधार क्षेत्रकाे काम गर्ने छ ।
उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेल, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का निर्वाचित वडा अध्यक्षले एमाले राेजेका छन् । २०७४ को स्थानीय तहकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका दिपक खड्का एमाले मै बस्ने भएका हुन् ।
एमाले र माओवादी एकता भएर बनेको नेकपालाई सर्वोच्च अदालतकाे निर्णयले एकता पूर्वकाे अवस्थामा नै ब्युँताएपछी खड्काले एमालेमा बस्ने निर्णय गरेका हुन् । खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन अर्थात ओली पक्ष तिर खुलेरै लागेका थिए ।
सर्वोच्च अदालतलको फैसला पछि नेकपा एमाले र माओवादी ब्युँतिए पछि कुनै पार्टीमा खड्का खुलेका थिएनन् । उनले नेकपा माओवादीका नेताहरु पदमुखी भएपछी आफुले नेकपा माओवादी परित्याग गरी एमाले पार्टीमा बस्ने निर्णय गरेकाे बताए । यस अघी पार्टी हित विपरित कार्य गरेकाे भन्दै खड्का लागि नेकपा माऔवादी मकवानपुरले कारवाही समेत गरेकाे जनाएकाे थियाे ।
मकवानपुर । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा थाहा नगरपालिका मकवानपुरका सूचना अधिकारी भुजेल सम्मानित गरेकाे हाे ।
मंगलबार भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले भुजेललाई सम्मान गरेका हुन् ।
थाहानगरका भुजेलसंगै उत्कृष्ट कार्यसम्पादन गर्ने मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका राजेश चौधरी र जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी सरोज खतिवडालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो ।
त्यसैगरी सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा. मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ ।
‘राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउनु पर्छ’ कार्यक्रमको अवसरमा राष्ट्रियसभा अध्यक्ष तथा प्रमुख अतिथी तिमिल्सिना भने–‘सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको छ ।’

‘मुलुकमा सुशासन कायम गर्न नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन्’ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले भने, ‘स्थानीय तहका उजुरीको संख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको संकेत गरेको छ ।’
‘लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक छ‘ नेपाल पत्रकार महासंघका सभापति विपुल पोख्रेलले उनले भने, ‘सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ ।’
मकवानपुर । मकवानपुर प्रहरीले जवरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २८ वर्षीय ओम पुलामी मगर रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतको २०७७ साल चैत्र १८ गतेको फैसलाले जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद भुक्तान गर्न बाँकी भई फरार रहेका मगरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मगरलाई हेटौंडा उपमहानगरपालिका–९ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरले मकवानपुरका १० वटै पालिकाको इन्चार्ज ताेकेकाे छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीको पहिलो बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख तथा आर्थिक विभाग प्रमुख चयन गरेको छ ।
नेकपा (एस) मकवानपुरका उपाध्यक्ष मीनाकुमारी लामालाई हेटौंडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएकाे छ भने थाहा नगरपालिकामा ईश्वर रुम्बालाई इन्चार्जको रुपमा चयन गरिएको नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पाेखरेलले जानकारी दिए ।
गाउँपालिकाअन्तर्गत् मनहरी इन्चार्जमा भूमिनन्द अर्याल, भीमफेदी इन्चार्जमा शिवहरि बर्तौला, बागमती इन्चार्जमा खड्गबहादुर पुलामी तथा बकैया इन्चार्जमा नारायण तिमल्सिना तोकिएका छन् । यसैगरी मकवानपुरगढी इन्चार्जमा राजन दाहाल, ईन्द्रसरोबर इन्चार्जमा जीवन लामा, कैलाशमा कालु ढकाल र राक्सिराङ गाउँपालिका इन्चार्जमा कृष्ण चेपाङलाई चयन गरिएको छ ।
बैठकले ४९ सदस्यीय सचिवालय समिति गठन भएको छ । सचिवालय सदस्यमा जिल्ला कमिटीका अध्यक्ष पोखरेल, उपाध्यक्ष लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारी, पालिका इन्चार्जहरु, विभाग प्रमुखहरुसहित माधव तिमल्सिना, मनिला विष्ट, रघु आचार्यलगायत रहेका छन् ।
बैठकले जिल्लाभर साधारण सदस्यता वितरण गर्ने, सांगठनिक सदस्यता अध्यावधिक गर्ने, असोज १९ गतेसम्ममा मकवानपुर जिल्लाका सबै वडाहरुमा वडा कमिटी विस्तार गरिसक्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । जिल्लाका १ सय २ वडामध्ये ५ वडामा कमिटी विस्तार भइसकेको छ । बाँकी वडामा पनि तोकिएको मितिभित्रै वडा कमिटी निर्माण गरिने पार्टीले जनाएकाे छ ।