मकवानपुर । बागमती प्रदेश अन्तरगतका चेपाङ जाति बसाेबास गर्ने क्षेत्रमा कोभिड खोप अभियान प्रभावकारी बनाइने भएकाे छ । मकवानपुर सहित चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् ।
बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड-१९ विरूद्धको खोप लगाउने दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रका अगुवाहरूसँग छलफल थालेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।
मन्त्री लामाले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गरेका छन् । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिकास्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङफ तामाङ र दलित बर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफुहरूले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफुले संघका सबै जिल्लाका इकाईमार्फत सहजिकरण गर्ने बताए । उनले बिद्यालय, चर्च, स्वास्थ्य इकाई, वडा कार्यालय, चर्च जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिए ।
छलफलमा चेपाङ संघ मनहरीका अध्यक्ष प्रकाश चेपाङ, मनहरी गाउँपालिका ख्रिष्टियन समाजका सचिव बिष्णु मोक्तान, चेपाङ संघ राक्सिराङ अध्यक्ष सोम चेपाङ लगायतले अभियानलाई सफल बनाउन आफुहरूले समुदाय तहसम्म सकारात्मक प्रचारप्रसार गरि सहयोग गर्ने बताए ।
मकवानपुर । हेटाैडा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधिमाथि महेन्द्र मावि बकैयाले कब्जा जमाएकाे छ । शुक्रबार सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो ।
महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकर घाेषित भएका सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर घोषित भएका महेन्द्र माविका प्रकाश थापा मगरले जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
समापन कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालय टिम सहभागिता रहेको थियो ।
मकवानपुर । विद्यार्थीको लेखन क्षमता बृद्धि विस्तार गर्ने उद्देश्यका साथ हेटौंडा–४ स्थित नवोदय शिशु सदन सेकेण्डरी स्कुलले ३ दिने कथा लेखन कार्यशाला सुरु गरेको छ । काठमाडौं पब्लिकेशनसँगको समन्वयमा विद्यालयले कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यशाला सुरु गरेको हो ।
विद्यालयका निर्देशक दिपेश जोशीको सभाध्यक्षता तथा सर्जक संजाल मकवानपुरका संयोजक एवम् साहित्यकार निमेश निखिलको प्रमुख आतिथ्यतामा बुधबार कार्यशालाको उद्घाटन गरिएको हो । साहित्यमार्फत् विद्यार्थीलाई समाज रुपान्तरणको कार्यमा अग्रसर हुन प्रेरणा दिने उदेश्यका साथ कार्यशाला सुरु गरिएको विद्यालयले जनाएको छ ।
बालबालिकाहरुमा लेखनशैलीको विकास गराउने र उनीहरुको क्षमतालाई समाज रुपान्तरणका लागि प्रयोग गर्न प्रेरित गर्ने परिकल्पनाका साथ विद्यालयले सो कार्यक्रम अघि सारेको हो । कार्यशालाले साहित्य, कला क्षेत्रको विकासमासमेत थप प्रेरणा प्रदान गर्ने विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निखिलले कार्यशालाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन अग्रणी भूमिका खेल्ने बताए । उनले नवोदयले साहित्य र कला क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको र अन्य विद्यालयहरुले पनि यसलाई अनुशरण गर्दै आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । बालबालिकाहरुले पनि सिकेका कुरालाई व्यवहारमा उतारेर समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्ने निखिलले बताए ।
बाल साहित्य लेखक अनुराधा शर्माले ३ दिनसम्म कार्यशालाकोे सहजिकरण गर्ने छिन् । कार्यशाला समापन भएपछि विद्यार्थीको सामुहिक उपन्यास प्रकाशन गर्ने उद्देश्य रहेकोे कार्यक्रम संयोजक सिएम रिमालले जानकारी दिएका छन् । कार्यशालामा २० जना बालबालिकाको सहभागिता रहनेसमेत उनले बताए । नवोदयले बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ यसअघि पनि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरे साहित्यकार ऋषि के.बीद्वारा लिखित अभिमन्यु नयाँ भूमिकामा नामक कविता संग्रहकाे विमोचन गरिएकाे छ । बुधबार हेटौंडामा जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लिरत्न श्रेष्ठले के.बीको कविता संग्रह विमोचन गरेका हुन् ।
मुख्य न्यायाधीश श्रेष्ठले के.बीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने ‘ऋषि जी पत्रकारिता, चित्रकला, साहित्य, गीतसंगीत हुँदै कानून व्यवसायीको रुपमासमेत स्थापित भइसक्नुभएको बताए । ‘उहाँको बहुमुखी प्रतिभा साँच्चै प्रशंसनीय छ’ उनले भने –‘लेखनको बाटो भएर सत्यको यात्रामा अझै अघि बढ्नुहोस्।’
उनले साहित्य र कानूनको समेत ज्ञान भएका के.बीले ऐन, कानून, न्याय सम्पादनका विषय, जनस्तरसम्मका समस्या र त्यसको समाधानलगायतका विषयमा पनि कलम चलाउनुपर्ने बताए । समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचारको विरोध गर्दै देश र जनताप्रति अझै जवाफदेशी भएर लेखनको यात्रामा अघि बढ्न उनले सुझाव दिए ।
कार्यक्रममा कवि तथा समिक्षक पुरुषोत्तम आचार्यले कविता संग्रहमा के.बीको बहुमुखी प्रतिभाको प्रभाव झल्किएको बताए । पुस्तकका कतिपय कवितामा उनको अमूर्त चित्रकारिताको प्रतिछाँया भेटिने उनले बताए । कवितामा वर्तमान समाजमा भएका विकृति, विसंगतीविरुद्ध विद्रोहभाव झल्किनुको साथै राष्ट्रियता, दाम्पत्य प्रेम, भावुक प्रेमलगायतका विषयपनि समेटिएकोले उक्त संग्रह आम पाठकको रुचीको पुस्तक बन्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायधीसहरु क्रमश कमलराज बिष्ट, सीता शर्मा अधिकारी, मनकुमारी जि.एम.वि.क.को आतिथ्यता रहेको थियो । विमोचित कृति के.बी.को नवौ साहित्यिक पुस्तकार कृति हो । कविता सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै लेखक केबीले कृति प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले किवता सङ्ग्रहका बारेमा प्रकाश पारेका थिए । प्रकाशक पुण्यशिला श्रेष्ठ रहेकाे कवितासङ्ग्रहमा ३५ वटा कविताहरु समावेश गरिएका छन् ।
लेखक केबीले साहित्य , पत्रकारिता र कलाकारिता क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनि हाल कानुन व्यवसायमा आवद्ध छन् । के.बी मकवानपुर प्रतिभा (२०५९) , प्रे.ब. कार्कीं पुरस्कार, (उत्कृष्ट वर्ष युवा सन् –२००३), दशौं राष्ट्रिय चित्रकला प्रतियोगिता–२०५० (द्वितीय), द राइजिङ हेटौंडा अवार्डबाट पुरस्कृत भइसकेका छन् ।
विमोचन कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दना, झरना साहित्यिक परिवारको अध्यक्ष दीपक गौतम, नेपाली लेखक सङ्घका अध्यक्ष छवि अनित्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी लगायतको उपस्थिति रहेको थियो । प्रकाशक पुण्यशिला श्रेष्ठकाे सभाध्यक्षतामा भएको कार्यक्रम साहित्यकार सी.एम रिमालले सहजिकरण गरेका हुन् ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । २० किलो ५ सय ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलोसहित ३ जनालाई मनहरी–८, सिमपानीबाट प्रहरीले बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मनहरी–८, सिमपानीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीबाट लागूऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त बहादुर थिङ, २७ वर्षीय ललित बहादुर थिङ र चितवन जिल्लाको राप्ती नगरपालिका–११, भण्डराका २८ वर्षीय राम बहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडीसहित पक्राउ परेका तीनैजनालाई थपअनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।