मकवानपुर । साेनाम ल्होछारको अवसरमा हेटाैडामा शुभकामना अदानप्रदान गरिएकाे छ । नेपाल तामाङ घेदुङ मकवानपुुरको आयोजनामा ल्हाेछारकाे शुभकामना आदान–प्रदान कार्यक्रम भएको हाे । तामाङ समुदायले नयाँ बर्षको रुपमा हर्षोल्लासका साथ मनाउने सोनाम ल्होछार २८५८ ताक ल्हो बाघ वर्गको उपलक्ष्यमा घेदुङले शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
सोही अवसरमा घेदुङ मकवानपुरका सचिव अत्मराम मोक्तान लगायतको समूह मिलेर तयार पारिएको ल्होछार विशेष ‘आम्मैले होइ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा लक्ष्मण तितुुुङ, आत्मराम मोक्तान, निर्मला घिसिङ् र विमला थिङको स्वर रहेको छ । सुर्य तितुुुङको संगीत रहेको गीतमा सुर्य तितुङ, लक्ष्मण तितुुुङ, राजु वाइबाले शब्द रहेको छ । आग लामाले एरेन्ज गरेकाे गीतकाे म्यूजिक भिडियो बुधबार जिग्मे मिडियाबाट सार्वजनिक गरिएको हो ।
नेपाल तामाङ घेदुुङ मकवानपुरका कार्यबाहक अध्यक्ष कालु घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा घेदुङ केन्द्रीय सदस्य जानकी लामा, हेटौंडा १० का वडा अध्यक्ष कितावसिंह लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगर घेदुङ अध्यक्ष भीमलाल सिन्तानलगागतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्ष ल्होछार विशेष सांस्कृति कार्यक्रम गरेपनि यसपाली कोभिड १९ को संक्रमणको जोखिमका कारण सामान्य रुपमा मनाइएको घेदुङले जनाएको छ ।
मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे शब्द तथा संगीत रहेकाे म कहाँ खाेजु गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।
रवि मल्लकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे गीतमा सुरेश बजगाईंकाे स्वर रहेकाे छ । बानियाँद्वारा लिखित रेकर्ड भएको यो तेस्राे गीत हो । माघ १९ गते युटुबमा सार्वजनिक म कहाँ खाेजु गीतकाे एरेन्ज दिक्षीत पाैडेल, मिक्सिङ चन्द्र चाैधरी, रेकर्डिक्स अजय कार्की रहेका छन् । गीत एकाउस्टिट स्टुडियाे नक्शालमा रेकर्ड भएकाे हाे ।
मकवानपुरको हर्नामाडीका साहित्यकार तथा गितकार बानियाँ करिब ४ दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त शिक्षक हुन् । यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ तथा ‘तिमीसँग हास्न सकिन’ लिरिकल भिडियाे श्याम कार्कीकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे थियाे ।
उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौंडा १५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा बकैया गाउँपालिका ७ का शिव प्रसाद सुवेदीको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखाका ४६ बर्षीय थनक प्रसाद दुलाल रहेका छन ।
बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा पथलैया सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०२०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा दुर्घटनाग्रस्त भएको हो। ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन । आज सम्पर्क कार्यालयको उद्घाटन् गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन । लामिछाने समेत काग्रेस मकवानपुरको सभापतिमा ३ जनाले उमेदवारी घोषणा गरेका छन् ।
काग्रेस पाटीलाई थप सुदृढ गराउका लागि आफुले सभापतिमा उमेदवारी दिने लामिछानेले बताए । हेटौंडा २ कांग्रेस चोक पल्पसा रोड तर्फ सम्पर्क कार्यालयसमेत स्थापना गरेर उद्घाटन् गरिएको छ ।
अहिले सभापतिका लागि मात्र उमेदवारी घोषणा गरेपनि केही दिनमा आफ्नो चुनावी प्यानल नै सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए। कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायत, नेतृ रिता खनाल, इन्दिरा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
यसअघि कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र जिल्ला सचिव बुद्ध लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन। कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको जिल्लाका १ सय २ वटै वडा, १० स्थानीय तह र क्षेत्रगत अधिवेशन सम्पन्न भइसकेको छ । यस अघि मकवानपुर जिल्लाको अधिबेशनको मिति २ पटक घोषणा भएर स्थगित भएको छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने जनाएकाे छ ।
सङ्गम अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेकाे मङ्गलबारको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विद्यामा योगदान पुर्याएका ८ जना साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको हाे । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसै गरी संगमले स्थापना गरेकाे १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे मकवानपुर साहित्य श्री युवा साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष न्याैपानेले जनाकारी दिइन् । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गर्ने भएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गर्ने निर्णय भएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ । न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने जनाइएको छ । सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सङ्गम अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।